Sunday, April 28, 2024

-->

२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका

नक्सालको बालमन्दिर प्रबलीकरणको काम तोकिएभन्दा दोब्बर समय बित्दा पनि ६२ प्रतिशतमा सीमित छ। पुनर्निर्माणमा विलम्ब हुँदा बाल संगठनमा आश्रित बालबालिका ८ वर्षदेखि सास्ती खेपिरहेका छन्।

२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै टहरामा उकुसमुकुस छन् बालबालिका
निर्धारित म्यादको दोब्बर समय बितिसक्दा पनि प्रवलीकरणको काम ६२ प्रतिशतमा सीमित बालमन्दिरको मूल भवन। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– गर्मी बढिरहँदा काठमाडौँको नक्सालस्थित बाल संगठनको संरक्षणमा रहेका बालबालिका जस्तापाताको टहरामा उकुसमुकुस भएर बस्न बाध्य छन्। बाल संगठनसँग पूर्वाधार नभएर होइन, क्षतिग्रस्त भएको सुविधायुक्त भवन समयमै पुनर्निर्माण नहुँदा संगठनको संरक्षणमा रहेका बालबालिको यो हबिगत भएको हो। 

यहाँका बालबालिकाले यसपालि मात्र यस्तो सास्ती भोगेका होइनन्, यसअघिका आठ वर्षको गर्मी पनि उनीहरूले यसरी नै कटाइसके। २०७२ सालको भूकम्पले बालमन्दिर अर्थात् ‘सीता दरबार’ को नामले चिनिने बालबालिकाको आश्रयगृहलाई क्षति पुर्‍याएको थियो।

भवन तयार नहुँदा बालबालिकाको आवासमा प्रयोग गरिएको टहरो।

भूकम्पको विनाशपछि टहरामा बस्न बाध्य यहाँ आश्रित बालबालिकाले त्यसयता सहिनसक्नुको गर्मी र कठ्यांग्रिँदो जाडो खपिरहेका छन्। बर्षाद्को बेला त झन् ओछ्यानमै बाढी पसेर उनीहरूलाई बिल्लीबाठ बनाउने गरेको बालमिन्दरका कर्मचारीहरू बताउँछन्। 

४ पटक म्याद थप, प्रगति ६२ प्रतिशत 
भूकम्पले सीता दरबारको दक्षिणी भागमा बस्नै नमिल्ने गरी क्षति पुर्‍याएपछि जोखिमयुक्त भनी सरकारले सिंगो भवनलाई नै ‘सी’ ग्रेडमा राखेको थियो। उक्त भवनको प्रबलीकरण गर्न दुई वर्षभित्र काम सक्ने गरी सरकारले लुम्बिनी–रबिना जेभी भरतपुर, चितवनलाई २०७६ सालमा जिम्मा दिएको थियो। तर काम शुरू भएको चार वर्ष बितिसक्दा पनि ६२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। 

कोरोना महामारी, स्थानीय तथा राष्ट्रिय निर्वाचन लगायतका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ। यसका साथै काम थपिएकाले पनि समय बढी लागेको कम्पनीका फिल्ड प्रबन्धक कल्याण घिमिरेले बताए। “भवनको फाउन्डेसन र स्टिल ज्याकेटिङको काम सकियो। अब प्लास्टर, काठको काम, बुट्टा, रङरोगन र विद्युतीय तार जडानजस्ता बाहिरी कामहरू बाँकी छन्,” उनले भने। 

प्रबलीकरणको अनुमानित लागत ५२ करोड ५४ लाख ५५ हजार रुपैयाँ रहेको छ। काम शुरू भएपछिका आठ महिना डिजाइन परिवर्तनमै बितेको थियो। भवनको जगमा समस्या देखिएका कारण डिजाइन बदल्नुपरेको प्रबन्धक घिमिरे बताउँछन्। भवनको पुरातात्विक अवलोकनले पनि समय लिएको उनको भनाइ छ। त्यसबाहेक भारतबाट ल्याउनुपर्ने कतिपय निर्माण सामग्री कोभिड महामारीका बेला ल्याउन नसकिएको उनले बताए।  

सरकारसँगको पहिलो सम्झौतामा तोकिएको म्याद सकिएयता मात्र चार पटक म्याद थप भइसकेको छ। चौथो पटक थपिएको म्याद पनि आगामी असारमा सकिँदैछ। तर भवनको काम ३८ प्रतिशत बाँकी नै छ। भवन तयार हुन अझै एक वर्ष लाग्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक रामगोपाल श्रेष्ठ बताउँछन्। “ढिलो गर्न हामीलाई पनि मन छैन। किनभने घाटा भइरहेको छ। अबको एक वर्षभित्र सक्ने गरी काम भइरहेको छ,” उनले भने।

समयमा काम नसकिँदा बसोबासमा कठिनाइ
भवन समयमा नबन्दा संगठनको संरक्षणमा रहेका बालबालिकाको बसोबासमा कठिनाइ भइरहेको केन्द्रीय बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपाने बताउँछिन्। उनी भन्छिन्, “नक्सालको मुख्य भवन भनेकै सीता दरबार थियो। तर भूकम्पले भत्काएको आठ वर्षसम्म पनि मर्मत नसकिँदा हामीलाई बालबच्चा जोगाउन मुस्किल परेको छ। उनीहरू वर्षौंदेखि टिनको टहरामा बसिरहेका छन्।” 

भूकम्पमा बाल संगठनले चलाइरहेको आदर्श आधारभूत विद्यालयको भवनसँगै अनाथ बालबालिका बस्ने मूल भवन पनि क्षतिग्रस्त बनेपछि उनीहरूको आश्रय र पढाइ दुवै टहरामै सीमित भएको छ।

बालमन्दिरको इतिहास
२०१७ सालताका तत्कालीन राजा महेन्द्रको पालामा अनाथ बालबालिकाका लागि आाश्रयस्थल बनाउने योजना बनेको थियो। त्यसबेला व्यक्तिगत जग्गा अधिग्रहण गर्नुपर्ने भयो। राणा प्रधानमन्त्री भीम शमशेरको मृत्युपछि उनको जग्गामध्ये कान्छी पत्नी सीतालाई केही जग्गा भोगचलन गर्न दिएर बाँकी जमिन सरकारले अधिग्रहण गर्‍यो। ‘सीता भवन’मा सीता एक्लै बस्थिन्। अनाथ बालबालिकाका लागि एकाले उनले सरकारको निर्णयमा सहमति जनाउँदै जग्गा छाडिदिइन्।  

२०२१ साल मंसिर १७ गते प्रकाशित राजपत्र (गजेट) मा ‘सार्वजनिक हितका लागि सरकारले जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ को उपदफा १ बमोजिम सीताको ११९ रोपनी १२ आना ३० पैसा क्षेत्रफलको जग्गा अधिग्रहण गरेको’ उल्लेख छ। सहाराबिहीन अवस्थामा रहेका बालबालिकाको संरक्षणका लागि बाल संगठन स्थापना भएको हो। २०२१ सालमा महेन्द्रकी रानी रत्नको संयोजकत्वमा नेपाल बाल संगठन बन्यो। उनले नै संस्थाको नाम ‘नेपाल बाल संगठन’ राखेकी थिइन्। 

वि. सं. १९४६ मा वीर शमशेरले भाइ भीम शमशेरको लागि वास्तुविद् जोगलाल स्थापितद्वारा यस दरबार बनाउन लगाएका थिए। भीम शमशेर करिब ४० वर्ष यस दरबारमा बसेको इतिहास छ। उनी प्रधानमन्त्री भएपछि सिंहदरबार सरेका थिए। अहिले बालमन्दिर परिसरमा रहेको जग्गामध्ये ४९ रोपनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले प्रयोग गरिरहेको छ भने ५२ रोपनी संठनको नाममा छ। भूकम्प अघिसम्म यहाँ बालबालिकाको आश्रयस्थलका साथै आदर्श माध्यमिक विद्यालय सञ्चालनमा थियो। 

अहिले नेपाल बाल संगठनले देशभरका विभिन्न स्थानमा ११ वटा बालगृह सञ्चालन गरिरहेको छ। सबै गृहमा गरी करिब ४०० सहाराबिहीन बालबालिकाले संरक्षण पाएका छन्। 


सम्बन्धित सामग्री