Saturday, October 05, 2024

-->

बालमन्दिर बेथिति
बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा

ओखलढुंगाबाट काठमाडौँ ल्याएर बाल संगठनको नक्सालस्थित बालगृहमा राखिएका पोकल दाहाल १७ वर्षदेखि बेपत्ता छन्। घटनाक्रमले उनी संगठनबाटै भारतमा बेचिएको देखाउँछन्, मामा उमाकान्त निरन्तर भान्जा खोजिरहेछन्।

बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा

काठमाडौँ– अनाथ बालबालिकाको संरक्षणका निम्ति जोरजाम गरिएको नक्साल, काठमाडौँस्थित नेपाल बाल संगठनको जग्गामा व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेका निजी विद्यालय, बृहस्पति विद्या सदन र राय स्कुलले कसरी रजाइँ गरे? यसबारे खोज्दै जाँदा शक्तिशाली व्यापारिक घरानालाई जग्गा सुम्पन बाल संगठनको तत्कालीन नेतृत्व नै कसरी भर्‍याङ बनिदिएको थियो भन्ने फेहरिस्त हामीले उकालोमा उजागर गरेका थियौँ।

यो पनि: बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ

नेपाल बाल संगठनमा तीन दशकसम्म एउटै व्यक्तिको एकछत्र नेतृत्व हुँदा जग्गा–जमिन हिनामिना र विधि उल्लंघनका घटनाले सीमा नाघेको त्यसपछि खुल्दै गयो। बाल संगठनको थप जग्गा व्यापारीलाई सुम्पन भएका खेल पनि त्यसपछि उजागर हुँदै गए। यही खोजबिनका क्रममा पछिल्लोपटक एउटा यस्तो घटनाक्रम पटाक्षेप भएको छ जसले बाल संगठनले नै एक अनाथ बालकलाई बेपत्ता बनाएको देखाउँछ। घटनाक्रम केलाउँदा ती बालकलाई बाल संगठनको तत्कालीन नेतृत्वसँग नजिक रहेका उच्चपदस्थ कर्मचारीले भारतमा कसैलाई बिक्री गरेको देखिन्छ।

दिदीको मृत्यु भएपछि संरक्षणका लागि २ वर्षको उमेरमा बाल संगठनको नक्सालस्थित बालगृहको जिम्मामा छाडेका उनका मामा बेपत्ता पारिएका भान्जाको खोजीमा १७ वर्षदेखि भौँतारिइरहेका छन्। भेटिएका भए उनका भान्जा अहिले २१ वर्षका हुन्थे। दुई वर्षको उमेरमै छाडेकाले भेटिए भने उनले मामालाई चिन्छन् या चिन्दैनन्, थाहा छैन। तर, मामाले भान्जा खोज्न गरिरहेको संघर्ष कहालीलाग्दो छ।

यो बाल संगठनको केन्द्रीय बालगृहबाट बेपत्ता भएका पोकल दाहालको कथा हो। उनको ठेगाना ओखलढुंगाको बर्नालुमा हो। यो कथा ओखलढुंगाबाटै शुरू हुन्छ।

पोकलको बियोग–कथा
२०५४ सालतिरको कुरा हो, ओखलढुंगाको दुर्गम गाउँ बर्नालुकी लक्ष्मीदेवी दाहालको भर्खर–भर्खर बिहे भएको थियो। तर, वैवाहिक सम्बन्ध लामो गएन। श्रीमान्को हेलाँ सहन नसकेपछि उनी माइतीमै आएर बसिन्। भाइ उमाकान्त दाहाल दिदीलाई औधी माया गर्थे।

दिन बित्दै थिए। त्यहीक्रममा एक दिन माइतीतर्फ हाडनाताभित्रका रूकुमराज दाहालले लक्ष्मीदेवीलाई बलात्कार गरे। उनी गर्भवती भइन्। रुकुमराज गाउँ छाडेर भागे।

यो पनि: बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा

२०५७ चैत २९ गते लक्ष्मीदेवीले छोरा जन्माइन्। दिदीलाई न्याय र भान्जालाई परिचय दिलाउन उमाकान्त आफैँ अघि सरे। वडा कार्यालय पुगे, तर कार्यालयले भान्जाको जन्मदर्ता गरिदिएन। त्यसपछि अदालत गए। अदालतले उनको कुरा सुन्यो। रूकुमराज नै बुवा भएको नाता प्रमाणित गरेर उनले भान्जा (पोकल दाहाल)को जन्मदर्ता गराए। “पहिले दिदीको, पछि भान्जाको पिर थपिएको थियो। जन्मदर्ता भएको दिन मेरा खुशीका आँसु झरे, ठूलै लडाइँ जिते झैँ भयो,” ओखलढुंगाबाट केही दिनअघि उकालोको कार्यालयमा आइपुगेका उमाकान्तले विगत सम्झिए।

लक्ष्मीदेवीको संघर्ष जारी थियो। माइतीले नै पाखोबारीमा बनाइदिएको टहरोमा छोरो हुर्काउँदै थिइन्। दिदी र भान्जालाई हेर्नुपर्ने भएकाले उमाकान्त पनि थप पसिना बगाइरहेका थिए।

२०६० वैशाख २७ गते, उमाकान्तको विवाहको दिन। परिवारका सदस्य, आफन्त, छरछिमेकी सबै उमाकान्तको विवाहमा रमाइरहेका थिए। लक्ष्मीदेवी नजिकै माइती (भाइ उमाकान्तलगायत)ले बनाइदिएको घरमा थिइन्। त्यहीँ उनको खुकुरी प्रहार गरेर हत्या गरियो। हत्या यति बीभत्स थियो कि टाउको छिनिन लागेको अवस्थामा उनको शव भेटिएको थियो। दुई वर्षका पोकल प्राण गइसकेकी लक्ष्मीदेवीको दुध चुसिरहेका थिए।

उमाकान्त र उनको परिवारलाई यो अकल्पनीय बज्रपात थियो। एकातिर आफ्नो विवाह उत्सव, त्यहीबेला दिदीको बीभत्स हत्या। उनले आफू मात्र होइन, होसहवास गुमाएको परिवार सम्हाले। दिदीका हत्यारालाई कानूनी कठघरामा ल्याइछाड्ने प्रण गरे।

“रूकुमराजले नै हत्या गरेको हो भन्नेमा म निश्चिन्त थिएँ,” उमाकान्त भन्छन्।

तर, रूकुमराज सम्पर्कबाहिर थिए।

दिदीको मृत्युपछि उमाकान्तसामु भान्जालाई हुर्काउने जिम्मेवारी थपिएको थियो। तर, दिन बित्दै जाँदा भान्जालाई आफैँसँग राख्ने वातावरण भएन। एक त नाबालक भान्जालाई हेरचाह गर्नै समस्या, त्यसमाथि दिदीको हत्या गर्नेले भान्जाको पनि हत्या गर्न सक्ने डर। उनी भान्जालाई तत्काल आफूसँग नराख्ने निर्णयमा पुगे।

यो पनि: ‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’

त्यहीबेला नेपाल बाल संगठनले टुहुरा, बेसहारा र अनाथ बालबालिकाको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी लिने गरेको उनलाई कोही आफन्तले सुनाए। १६ वर्ष पुगेपछि कोही आफन्त संरक्षक बस्न तयार भएमा बाल संगठनले उनीहरूलाई नै जिम्मा लगाउने गरेको पनि थाहा पाए। स्याहार हुने, पढ्न पाउने र १६ वर्ष पुगेपछि आफैँसँग ल्याउन पनि पाइने भएपछि भान्जालाई बाल संगठनमा पठाउनु ठीक लाग्यो।

तर, ओखलढुंगामा बाल संगठनको बालगृह थिएन। त्यहाँस्थित संगठनका कर्मचारीले काठमाडौँको नक्सालमा बाल संगठनको केन्द्रीय कार्यालयले सञ्चालन गरेको बालगृहमा लैजान सुझाए।

उमाकान्तले दिदीको दाहसंस्कार गर्दा दिइएको पुर्जीसँगै जिल्ला प्रशासन कार्यालय र गाउँ विकास समितिबाट सिफारिस–पत्र बनाए। बाल संगठनको जिल्ला कार्यसमितिले पनि सिफारिस–पत्र बनाइदियो। ती कागजातसहित भान्जालाई बोकेर उनी काठमाडौँ आइपुगे। २०६० जेठ १५ गते बाल संगठनको केन्द्रीय कार्यालयसमेत रहेको नक्सालस्थित बालगृहमा उनले भान्जा पोकललाई भर्ना गरेको कागजातले देखाउँछन्।

पोकललाई बालगृहमा राख्दा उनले १६ वर्ष पुगेपछि आफूसँगै लैजाने सर्त राखेका थिए। उनलाई यसमा विश्वस्त तुल्याउँदै बाल संगठनका तत्कालीन उपनिर्देशक बालकृष्ण डंगोलले ‘१६ वर्ष नपुगेसम्म धर्मपुत्र या अरू कुनै रूपमा बालगृहबाट बाहिर नपठाइने’ वाचा गरेको उमाकान्त बताउँछन्। परिवारका कोही सदस्य वा नातेदार संरक्षक बस्न तयार भएको अवस्थामा बालगृहका बालबालिकालाई बाहिर नपठाउने व्यवस्था बाल संगठनकै धर्मपुत्र तथा धर्मपुत्रीसम्बन्धी निर्देशिकाले गरेको छ। त्यसकारण पनि उमाकान्त ढुक्क भए।

केही समयपछि भान्जा भेट्न आउँदा डंगोलले ‘१६ वर्ष पुगेपछि आफूसँग लैजान जिल्ला प्रशासन कार्यालयको सिफारिस–पत्र पेस गरिराख्नू’ भनेका थिए। टाढा भएकाले तत्कालै जिल्ला फर्केर सिफारिस–पत्र ल्याइहाल्न समस्या देखाएपछि डंगोलले नै ‘हतार छैन, फुर्सदको समयमा ल्याउनू’ भनेको उमाकान्त अहिले पनि सम्झन्छन्।

यो पनि: बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

गाउँ फर्केपछि उनी दिदीका हत्याराको खोजीमा जुटे। केही समयपछि प्रहरीले लक्ष्मीदेवीको हत्या गरेको आरोपमा रूकुमराजलाई पक्राउ गर्‍यो। अदालतको आदेशबाट उनी पुर्पक्षका लागि कारागार चलान भए।  

उमाकान्त हुलाक कार्यालयमा जागिरे थिए, भनेका बेला विदा मिल्दैन्थ्यो। घरमा पनि कामको चाप उस्तै। डंगोलले सुझाएबमोजिम २०६३ असार १८ गते उनले १६ वर्ष पुगेपछि भान्जालाई आफूले जिम्मा लिइपाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा निवेदन दिए। प्रशासनले त्यही दिन नेपाल बाल संगठन केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखेको पत्रमा १६ वर्ष पुगेपछि पोकललाई मामा उमाकान्तको जिम्मा लगाउन सिफारिस गरेको देखिन्छ।

संरक्षणको जिम्मा लिएको बालगृहबाटै पारियो बेपत्ता
जिल्ला प्रशासन कार्यालयले सिफारिस–पत्र पठाएपछि उमाकान्त ढुक्क थिए। भान्जालाई भेट्न नपाएको धेरै भइसकेकाले २०६३ साउन ४ गते उनी काठमाडौँ आए। तर, नक्सालस्थित बालगृहमा पुगेपछि उनले पाएको खबर अकल्पनीय थियो। भान्जा भेट्न पुगेका उनलाई भनियो– ‘तपाईंका भान्जा बालगृहमा छैनन्।”

यो सुनेर उमाकान्त झस्किए। उनले त्यहाँका कर्मचारीसँग सोधखोज गरे, तर कसैले केही बताउन सकेनन्।

उमाकान्त बाल संगठनका उपनिर्देशक डंगोललाई भेट्न गए। डंगोलकै रोहबरमा उनले भान्जालाई बालगृहमा छाडेर गएका थिए। डंगोलले नै उनलाई ढुक्क बनाएका थिए। भेट्न पुगेका उमाकान्तलाई डंगोलले सजिलै भने– “हामीले उसलाई भारतमा पठाएका छौँ।”

“१६ वर्ष पुगेपछि भान्जालाई म आफै लिएर जान्छु भन्दाभन्दै तपाईंले कसरी भारत पठाउनुभो भनेर सोध्दा उनी केही बोल्दै बोलेनन्। अब भोलि आउनुस् भनेर फर्काइदिए,” उमाकान्तले हामीलाई सुनाए, “भोलिपल्ट फेरि नक्सालस्थित बालगृहमा पुग्दा उनले तपाइँको भान्जालाई पढ्नका लागि हामीले भारतको मुम्बई पठाएका छौँ भने। किन र केका लागि पठाउनुभो, कहिले पठाउनुभो र कसको जिम्मा लगाएर पठाउनुभो भनेर सोध्दा म व्यस्त छु भन्दै हिँडे।”

डंगोलको व्यवहार शंकास्पद लागेपछि उनले भान्जा (पोकल दाहाल) लाई कहिले, केका लागि र भारतको कुन ठाउँमा पठाइएको हो भन्ने जानकारी मागेर संगठनलाई पत्र लेखे। २०६३ साउन ५ गते बाल संगठनलाई लेखेको पत्रमा उनले भान्जालाई भेटाइदिनसमेत आग्रह गरेका छन्।

 

पोकल १६ वर्ष पुगेपछि उमाकान्तले जिम्मा लिने गरी जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले बाल संगठनको केन्द्रीय कार्यालयलाई सिफारिस–पत्र पठाउनुपूर्व नै उनलाई संगठनबाट बेपत्ता बनाइसकिएको रहेछ। उमाकान्त यसबारे पूरै बेखबर थिए।

१७ वर्ष बित्यो, भेटिएनन् पोकल
उमाकान्तले पत्र लेखेको १४ दिनपछि डंगोलले उनलाई सम्बोधन गरेर जवाफी पत्र पठाए। २०६३ साउन १९ गते डंगोलले पठाएको त्यही पत्रले पोकलमाथि गरिएको अत्याचार र बदमासी पनि उजागर गर्‍यो।

पत्रमा पोकललाई मुम्बईका धिरजकुमार कोछरले ‘१६ वर्ष उमेर र माध्यमिक शिक्षा पुरा नगरूञ्जेलसम्मका लागि जिम्मा लिएको’ उल्लेख छ जसमा डंगोलले उनलाई ‘मुम्बईको प्रतिष्ठित विद्यालयमा पढाउने र उचित हेरचाह गर्ने जिम्मेवारीका लागि स्थानीय अभिभावकको रूपमा कोछरको जिम्मा लगाएको’ बताएका छन्। त्यसमै लेखेका छन्, “आउँदो जाडो बिदाको समयमा पोकललाई काठमाडौँ ल्याउने जानकारी प्राप्त भएको छ।”

पत्रमा डंगोलले पोकललाई काठमाडौँ ल्याएपछि उमाकान्तलाई भेट्न बोलाउने प्रति‍बद्धतासमेत जनाएका थिए।

त्यही पत्रबाट बाल संगठनले पोकललाई २०६३ जेठ १५ गते कोछरको जिम्मा लगाउने निर्णय गरेको खुल्यो। तर, त्यो निर्णय कसले गरेका थिए भन्ने खुलेन। हामीले खोजबिन गर्दा बाल संगठनमा त्यस्ता कुनै कागजात नै फेला परेनन्।

यो पनि: लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन

पालनपोषण र शिक्षादीक्षाका लागि बाल संगठनको जिम्मा लगाएका बालबालिकालाई परिवारका कोही सदस्य वा नातेदार संरक्षक बस्न तयार भए उनीहरूको सहमतिबिना अरु कसैको जिम्मा लगाउन मिल्दैन। कोछरले पोकललाई पालनपोषण र शिक्षादीक्षाकै लागि लिएका भए बाल संगठनमा त्यससम्बन्धी कागजात हुनुपर्ने हो। तर, संगठनमा कोछरको नाममा एउटा निवेदनसमेत संगठनमा छैन। 

पोकललाई कतै धर्मपुत्र बनाएर कोछरको जिम्मा लगाइएको त थिएन? बाल संगठनमा त्यस्ता कुनै कागजात भेटिएनन्। धर्मपुत्र बनाएर पठाइएको थिएन भन्ने त संगठनका उपनिर्देशक बालकृष्ण डंगोलले उमाकान्तलाई लेखेको पत्रबाटै स्पष्ट हुन्छ जसमा धर्मपुत्रको प्रसंग नै छैन, भारतीय नागरिकलाई जिम्मा लगाइएको मात्र उल्लेख छ।

त्यसबेला विदेशीलाई कस्तो अवस्थामा धर्मपुत्र/धर्मपुत्री दिने भन्नेबारे कानून लागु भइसकेको थियो। मुलुकी ऐन २०२० को धर्मपुत्रसम्बन्धी को महलको १२ (क) अनुसार सरकारले धर्मपुत्र/धर्मपुत्री राख्न चाहने विदेशी नागरिकको चरित्र र आर्थिक अवस्था हेरी सम्बन्धित देशको सरकार वा राजदूतावासको सिफारिस भएमा शर्तसहित सरकारले स्वीकृति दिने व्यवस्था थियो। त्यसबेला धर्मपुत्र या धर्मपुत्री लिने र बन्नेको उमेर ३० वर्ष फरक हुनुपर्ने कानुनी व्यवस्था थियो। कोछरले पोकललाई धर्मपुत्र बनाएका भए उनको उमेर कति थियो भन्ने पनि खुल्दैन।

त्यसबेला कोछरले पोकललाई भारत लैजाँदा कानूनी प्रक्रिया नै पूरा गरेका छैनन्। उनले सरकारको स्वीकृति लिएको कतै पनि देखिँदैन।  

नेपाल बाल संगठनका कानुनी सल्लाहकार, वरिष्ठ अधिवक्ता भीम ढकाल घटनाक्रम र कागजात अध्ययन गर्दा कोछरले पोकललाई पठनपाठन या धर्मपुत्र बनाएर लिएको नदेखिएको बताउँछन्।

यो पनि : बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार

“सबै कागजात अध्ययन गर्दा पोकललाई भारतीय नागरिक कोछरले न पठनपाठनका लागि लगेको देखिन्छ, न धर्मपुत्रको रूपमा। पोकललाई बिक्री गरेको आशंका गर्ने ठाउँ प्रशस्त छ। उनका मामालाई थमथमाउन लागि पत्र लेखेको देखियो,” ढकालले उकालोसँग भने, “बाल संगठनको संरक्षणमा रहेका बालकलाई पढाउन पठाइएको हो भने अहिलेसम्म किन उनको अवस्था अज्ञात छ? धर्मपुत्र बनाएर लगिएको हो भने खोइ त त्यससम्बन्धी कागजात?”

ढकालले मौजुदा कानून र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको स्वीकृत शर्तबमोजिम मात्र धर्मपुत्र वा धर्मपुत्री दिन पाइने बताए। बालगृहमा भर्ना गरेको तीन वर्षमै पोकललाई कानूनी प्रक्रियासमेत पूरा नगरेर विदेशीको जिम्मा लगाउनु र अहिलेसम्म उनको अवस्थाबारे थाहा नै नदिइनुले पोकललाई बेचिएको हुन सक्ने उनले बताए।

पोकललाई भारतमा पठाइयो चाहिँ कसरी? यसबारे खोज्दै जाँदा भेटियो, २०६३ साउन ११ र १२ गते बसेको नेपाल बाल संगठन केन्द्रीय कार्यसमिति बैठकको माइन्यूट। त्यही माइन्यूटमा ‘२०६३ जेठ १५ गते पोकललाई पठनपाठनका लागि भारतीय नागरिक कोछरको जिम्मा लगाइएको’ उल्लेख छ। “यस संगठनमा भर्ना भएका बालक श्री पोकलप्रसाद दाहाललाई भारतीय नागरिक श्री धीरजकुमार कोछरसँग एक सम्झौता गरी उक्त बालकलाई पढाई तथा अन्य आवश्यक व्यवस्था मिलाउने गरी अभिभावकको रूपमा श्री धिरजकुमारको जिम्मामा पठाउनका लागि एक सम्झौता गरी मुम्बई पठाइएको,” माइन्यूटमा लेखिएको छ।

माइन्यूटमा लेखिएको पोकललाई कोछरको जिम्मा लगाउँदा गरिएको सम्झौतामा के थियो? हामीले खोजबिन गर्दा बाल संगठनमा त्यस्तो कुनै सम्झौता नै रहेनछ।

०००

डंगोलले जाडोमा भान्जा भारतबाट फर्कने र त्यसपछि भेट गराइदिने भनेर पत्र नै लेखेर दिएपछि उमाकान्त आशावादी भए। उनी पत्र बोकेर गाउँ फर्किए। तर, त्यस वर्ष जाडो याममा उनलाई केही खबर आएन।

उमाकान्त फेरि काठमाडौँ आए। नक्सालस्थित बाल संगठनको कार्यालयमा पुगेर डंगोललाई भेटे। तर, डंगोलले फेरि पनि उनलाई पन्छाउन खोजे, केही जवाफ दिएनन्।

उमाकान्तको मनमा चिसो पस्यो। उनले डंगोलसँग सोधीखोजी गर्न छाडेनन्। तर, डंगोलले ‘भारतबाटै खबर आएको छैन, खबर आउनसाथ तपाईंलाई जानकारी गराउँछु’ भनेर उनलाई बिदा गरे।

त्यसपछि गाउँ फर्केका उमाकान्त धेरै पटक भान्जालाई भेट्ने आशमा ओखलढुंगा–काठमाडौँ गरिरहे। तर, जति पटक भेट्दा पनि डंगोलको जवाफ उही हुन्थ्यो– “भारतबाट खबर आएको छैन, खबर आउनसाथ तपाईंलाई बोलाउँछु।”

त्यसपछि डंगोलको भर परेर भान्जालाई भेट्न पाइएला भन्ने आशा टुट्दै गयो। डंगोलले उनको फोन उठाउनै छाडे। अर्कै नम्बरबाट फोन गर्दा डंगोल ‘मैले तपाईंको भान्जालाई बोलाउने प्रयास गरिरहेको छु, मलाई अरू काम पनि गर्नु छ’ भनेर झर्किन्थे र फोन राखिदिन्थे।

डंगोल बाल संगठनको उपनिर्देशकबाट निर्देशकमा पदोन्नति भएपछि उमाकान्तलाई फेरि एकपल्ट उनले भान्जा खोजिदिन्छन् कि भन्ने आशा पलायो। तर, त्यसपछि पनि केही भएन।

सबै आशा सिद्धिएपछि उमाकान्तले डंगोलविरुद्ध कानूनी उपचार खोज्ने सुर कसे। त्यसकै लागि २०७६ भदौमा काठमाडौँ आए।

तर त्यसको एक महिनाअघि, साउन २९ गते नै डंगोल शिशु बेचबिखन गरेको आरोपमा पक्राउ परिसकेका थिए। डंगोलमाथि साउन १२ गते बेलायती नागरिकलाई ११ लाख रुपैयाँमा शिशु बेचेको आरोपमा उजुरी परेको थियो। उमाकान्त काठमाडौँ आइपुग्दा डंगोल अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पुगिसकेका थिए।

समाचार प्रभाव : बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज

यो थाहा पाएपछि उनी आफ्नो भान्जालाई डंगोलले बेचेको हुन सक्नेमा निश्चिन्त भए। तर, थुनामा रहेका डंगोलविरुद्ध मुद्दा कसरी हाल्ने भनेर उनले मेसो पाएनन्। यही अन्योलबीच उमाकान्त गाउँ फर्किए।

केही समयपछि फेरि काठमाडौँ आए। डंगोल जेलमै थिए। उनी डंगोललाई भेट्न केन्द्रीय कारागारमै पुगे। तर, कारागार प्रशासनले भेट्न दिएन।

त्यतिञ्जेल बाल संगठनमा केन्द्रीय नेतृत्व र कार्यसमिति फेरिइसकेको थियो। उमाकान्तले संगठनको नयाँ नेतृत्वलाई सम्बोधन गर्दै २०७८ वैशाख ८ गते भान्जाको खोजिदिन आग्रह गरेर पत्र लेखे।

फेरि पलाएको आशा
बाल संगठनमा आएको नयाँ नेतृत्व पोकल दाहालबारे पूर्णतः बेखबर थियो। उमाकान्तको पत्र पाएपछि संगठनले पोकलबारे खोजी शुरू गर्‍यो।

त्यसका लागि खोतल्ने भनेको कागजात नै हो। तर, बाल संगठनमा रहेको पोकलको फाइलमा उनलाई के आधारमा कोछरको जिम्मा लगाइयो भन्नेबारे कुनै कागजात भेटिएनन्। पोकललाई धर्मपुत्र बनाएर पठाइएको थिएन भन्ने छर्लङ भयो। उनलाई अरू कुनै हिसाबले कोछरको जिम्मा लगाइएका कागजात पनि थिएनन्।

कतिसम्म भने, डंगोलले उमाकान्तलाई सम्बोधन गरेर पोकलबारे उल्लेख गर्दै लेखेको पत्रसमेत त्यो फाइलमा थिएन। धन्न उमाकान्तले ती सबै पत्र आफूसँग सुरक्षित राखेका थिए। बाल संगठनले उनीसँगै ती पत्र लियो र खोजबिन अघि बढायो।

डंगोल बाल संगठनका तिनै उच्चपदस्थ कर्मचारी हुन् जसले संगठनको बालगृहमा आश्रय पाएका अनाथ बालक प्रकाश महर्जनलाई घरेलु कामदारका रूपमा जबर्जस्ती बाहिर पठाएका थिए। अहिले २७ वर्षका भइसकेका प्रकाश डंगोलकै कारण अहिलेसम्म अनागरिक रहन बाध्य छन्।

बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपाने अहिलेसम्म गरिएको खोजबिन र अध्ययनअनुसार पोकललाई भारतमा बेचिएको हुनसक्ने निर्क्योलमा आफूहरू पुगेको बताउँछिन्। “हामीले संगठनमा भएका सबै कागजात हेर्‍यौँ, त्यसबेलाको परिस्थिति नियाल्यौँ। पीडितका कुरा पनि सुन्यौँ। ती सबै केलाउँदा पोकल दाहाललाई बेचियो भन्ने हाम्रो ठम्याई छ,” न्यौपानेले भनिन्।

बाल संगठनका तत्कालीन पदाधिकारीले नै पैसा लिएर पोकललाई भारतमा बेचेको आशंकामा संगठनले यो प्रकरणको अनुसन्धान, पोकलको खोजी तथा उद्धारका लागि त्यसपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्यो। २०७८ वैशाख ९ गते गते लेखेको पत्रमा संगठनले ‘पोकल संगठनको संरक्षणमा भर्ना भएको देखिएको, तर संगठनले गरेको भनिएको २०६३ जेठ १५ को निर्णय लगायत उनलाई भारत पठाएको भन्ने कुनै पनि कागजात नभेटिएकाले’ उनको खोजीका लागि आग्रह गरेको छ।

“पोकलप्रसादबारे यस संस्थालाई अहिले कुनै जानकारी नभएको हुँदा बालबालिकाको हकहितमा स्थापित नेपाल बाल संगठन जस्तो पवित्र संस्थाका नामबाट तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट बालबालिकाको बेचबिखन गर्ने जस्ता जघन्य अपराध भएको हो भनी आशंका उत्पन्न भएको हुँदा,” पत्रमा उल्लेख छ, “नेपाल बाल संगठनको मिति २०६३ जेठ १५ गते निर्णय गर्ने व्यक्तिहरूलगायत घटनामा संलग्न अन्य व्यक्ति भए निजहरूको विरुद्धमा आवश्यक अनुसन्धान तथा कानूनी कारबाही गरी पोकलप्रसाद दाहालको उद्धारसमेत गरी पाऊँ।”

प्रहरी प्रधान कार्यालयले पत्र पाएपछि मानव बेचबिखन ब्युरोलाई यो विषय हेर्ने जिम्मेवारी तोक्यो। ब्युरोले त्यसपछि पोकलबारे आफूसँग रहेका सबै विवरण र विस्तृत जानकारी खुलाएर पठाउन २०७८ वैशाख १४ गते संगठनलाई पत्र लेख्यो।  संगठनले सोही दिन नै ब्युरोको आग्रहअनुसार विस्तृत विवरण खुलाएर पठाएको थियो।

तर, त्यसयता के प्रगति भयो भनेर प्रहरीले केही विवरण उपलब्ध गराएको छैन।

ब्युरोले संगठनलाई लेखेको पत्रमा ‘पोकललाई भारतीय नागरिकको जिम्मा लगाउँदा के कस्तो कानूनी प्रक्रिया अपनाइएको थियो’ भनेर सोधेको थियो। त्यसपछि बाल संगठनले आफूसँग रहेका पोकलसँग सम्बन्धित सबै विवरण पठाएको, तर पोकललाई भारतीय नागरिकको जिम्मा लगाउँदा के कस्तो कानूनी प्रक्रिया पुरा गरिएको थियो भन्नेबारे कुनै कागजात नभेटिएको जवाफ पठाएको देखिन्छ।

यो पनि- बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए

कोछरले पोकललाई जिम्मा लिँदा कुनै कागजी भर्पाई गरेको पनि नदेखिएको संगठनले प्रहरीलाई पेस गरेको पत्रबाट खुल्छ। बाल संगठन र मानव बेचबिखन ब्युरोबीच पत्र आदानप्रदान भइरहँदा उमाकान्त फेरि आशावादी बनेका थिए। तर, पोकलको खोजीमा चासो देखाएको प्रहरी पनि सुस्ताएपछि उनी निराश बनेका छन्।

बालकृष्ण डंगोल दुई वर्ष ६ महिनापछि जेलबाट छुटेका छन्। उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। हामीले यसबारे बुझ्न खोज्दा शुरूमा उनले इन्कार गरे। तर, निरन्तर पछ्याएपछि आफूलाई स्पष्ट जानकारी नभएको बताउँदै भने, “पोकलको भविष्य राम्रो हुन्छ भनेर त्यसबेला भारत पठाइएको हुन सक्छ। अब त ठ्याक्कै याद पनि छैन। पठनपाठन या त्यस्तै केहीको लागि पठाइएको होला। बाल संगठनमा रहँदा मैले कुनै बालबालिकाको भविष्य बिगार्ने काम गरेको छैन।”

डंगोलले यस्तो तर्क गरे पनि उमाकान्त भने डंगोलले अपराध गरेको र उनी अपराधबाट पन्छिन नमिल्ने बताउँछन्। “मेरो भान्जालाई बालकृष्ण डंगोलले नै बेचेका हुन् भन्नेमा अब कुनै शंका रहेन, अब काठमाडौँ आएर उनीविरुद्ध मुद्दा हाल्छु,” अहिले ओखलढुंगामा रहेका उमाकान्तले टेलिफोनमा भने, “उनी फेरि जेल जानुपर्छ।”

बालकृष्णको मुद्दा पहिल्यै अदालतमा विचाराधीन छ। त्यही मुद्दाले पनि उनी फेरि जेल पुग्न सक्छन्। उमाकान्त र बाल संगठनको वर्तमान नेतृत्वलाई भने एउटै चिन्ता छ– पोकल कहाँ होलान्, कहिले भेटिएलान्?


सम्बन्धित सामग्री