Tuesday, May 28, 2024

-->

बालमन्दिर प्रकरण: रीता सिंहदेखि सिद्धार्थ केडियासम्मलाई पक्राउ पुर्जी, कसको के भूमिका?

नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा सीआईबीले पक्राउ पुर्जी जारी गरेका पूर्वअध्यक्ष रीता सिंहदेखि बृहस्पति स्कुलका सञ्चालकहरूसम्म कसरी जोडिए? कसको के भूमिका थियो?

बालमन्दिर प्रकरण रीता सिंहदेखि सिद्धार्थ केडियासम्मलाई पक्राउ पुर्जी कसको के भूमिका

काठमाडौँ– अदालतबाट पक्राउ गर्न अनुमति लिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्साल, काठमाडौँस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणसँग जोडिएकाहरूलाई हिरासतमा लिने तयारी अघि बढाएको छ। काठमाडौँ जिल्ला अदालतले बिहीबार यो प्रकरणमा जोडिएका २० जनालाई पक्राउ गर्न सीआईबीलाई अनुमति दिएको थियो।

पक्राउ पुर्जी जारी गरिएकाहरूमा बाल संगठनका तत्कालीन पदाधिकारी र बाल संगठनको जग्गामा निजीक्षेत्रको विद्यालय सञ्चालन गरिरहेका व्यापारिक घरानाका सदस्यसम्म छन्। बाल संगठनका तत्कालीन पदाधिकारीले नक्सालस्थित अनाथ तथा सहाराविहीन बालबालिकाका लागि जोहो गरिएको बालमन्दिर परिसरको २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिने निर्णय गरेका थिए। त्यो जग्गामा अहिले व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेका बृहस्पति स्कुल र राय स्कुल सञ्चालन भइरहेका छन्।

बाल संगठनसँग जग्गा लिज सम्झौता भने बृहस्पति स्कुलले गरेको थियो। त्यो जग्गा उसले नै राय स्कुललाई सबलिजमा दिएको थियो। गत वैशाख १४ गते जग्गा लिज सम्झौता नै गैरकानूनी रहेको ठहरसहित बाल संगठनले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। त्यसपछि, गत मंगलबार संगठनले बृहस्पति विद्या सदन र संगठनबीच भएका जग्गा लिज सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति तथा बृहस्पति स्कुलका सञ्चालकहरूविरुद्ध सीआईबीमा जाहेरी दिएको थियो। 

बिहीबार अदालतले जारी गरेको पक्राउ पुर्जीअनुसार सीआईबीले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, विभिन्न कालखण्डमा संगठनका महासचिव रहेका श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेललाई पक्राउ गर्न अनुमति पाएको छ। 

त्यस्तै, बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

प्रहरीले बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई समेत पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ। 

२०४८ सालमा रीता सिंह वैद्य बाल संगठनको अध्यक्ष बनेपछि नै जग्गा लिजमा दिने चलखेल शुरू भएको थियो। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पुत्री रीतालाई राजनीतिक नियुक्तिबाट बाल संगठनको अध्यक्ष बनाइएको थियो। उनी २०७७ सालसम्म बाल संगठनमा निरन्तर अध्यक्ष रहिन्।

बाल संगठन र बृहस्पति स्कुलबीच २०४९ माघ २७ गते पहिलोपटक ९ रोपनी जग्गा लिजसम्बन्धी सम्झौता हुँदा संगठनका तर्फबाट महासचिव श्यामकुमार आलेले हस्ताक्षर गरेका थिए। त्यस्तै, संगठनका तर्फबाट अञ्जु, बस्नेत, राजेन्द्रमान जोशी, प्रमोद पौडेल साक्षी बसेका थिए। सम्झौतामा बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले हस्ताक्षर गरेका छन् भने पुरूषोत्तमराज जोशी, मधुर शर्मा र मुरारी तिवारी साक्षी बसेका छन्। 

२०५३ सालको जग्गा लिज सम्झौतामा संगठनका तर्फबाट महासचिव प्रचण्डराज प्रधानले हस्ताक्षर गरेका छन् भने साक्षीको नाम स्पष्ट छैन। बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले नै हस्ताक्षर गरेका छन्। पुरूषोत्तमलाल जोशी साक्षी बसेको देखिन्छ। अहिले चिरञ्जीवी तिवारीको निधन भइसकेको छ।

२०५८ जेठ २ गतेको जग्गा लिज सम्झौतामा बाल संगठनका तर्फबाट महासचिव गणेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्, योगेन्द्रबहादुर शाही साक्षी बसेका छन्। सम्झौतामा बृहस्पतिका तर्फबाट पुरूषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन् भने साक्षीहरूको नाम स्पष्ट छैन। 

२०५९ भदौ ११ गते १३ रोपनी १२ आना १ पैसा जग्गाका लागि भएको लिज सम्झौतामा बाल संगठनका तर्फबाट महासचिव रामकाजी कोनेले हस्ताक्षर गरेका छन्। बाल संगठनका केन्द्रीय कार्यसमिति सदस्य मनोहरगोपाल श्रेष्ठ, शाखा प्रमुख टीकामणि न्यौपाने साक्षी बसेका छन्। बृहस्पतिका तर्फबाट भने पुरूषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन्, साक्षीहरूमा प्रिन्सिपल आनन्द गुरुङ, प्रमुख प्रशासक मुरारीनिधी तिवारी र शैक्षिक संयोजक रोहितरत्न प्रधान छन्। 

२०७२ जेठ २१ गते बाल संगठन र बृहस्पतिबीच पूरक सम्झौता र मिलापत्र गर्ने सम्बन्धमा भएको समझदारी–पत्रमा संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले नै हस्ताक्षर गरेकी छन्। त्यो सम्झौतामा संगठनका तर्फबाट कोही पनि साक्षी बसेका छैनन्। समझदारी–पत्रमा बृहस्पतिका तर्फबाट पुरूषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन्। त्यसबेला बृहस्पतिका तर्फबाट पनि कोही साक्षी बसेका छैनन्। 

सोही समझदारी–पत्रका आधारमा २०७२ साउन ३ गते भएको संशोधनसहितको पूरक सम्झौतामा बाल संगठनका तर्फबाट रीता सिंह वैद्यले नै हस्ताक्षर गरेकी छन्। सम्झौतामा संगठनका तर्फबाट उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव सुवासकुमार पोखरेल, कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, सदस्य एवं स्रोत व्यवस्थापन तथा परिचालन उपसमितिका संयोजक कृष्णशंकर साह साक्षी बसेका छन्। 

सम्झौतामा बृहस्पतिका तर्फबाट पुरूषोत्तमलाल जोशीले हस्ताक्षर गरेका छन् भने बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, प्रिन्सिपल सुमन थिङ लामा, परीक्षा संयोजक रोहितरत्न प्रधान, लेखा अधिकृत उत्तमराज विष्ट र प्रशासनतर्फका अधिकृत विनोदप्रसाद बडाल साक्षी बसेका छन्। 

सोही सम्झौताबाट बृहस्पतिले संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा २१३२ सालसम्मका लागि भोगचलन गर्ने अधिकार पाएको थियो।

बालमन्दिर प्रकरण : सम्बन्धित समाचार

बालमन्दिर जग्गा हिनामिना प्रकरणः बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा..
सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता
बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा
२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका
बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग
बाल संगठनको घरजग्गामा आँखा : नमूना नगर भक्तपुरमा बालगृहलाई नै ‘बारबन्देज’
बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’
बाल संगठनबाटै बालक 'बेपत्ता' प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा
बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज
बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार
बाल संगठनको जग्गा हडप्न गरिएको सम्झौतालाई सरकारकै टेको!
बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार– बृहस्पतिलाई जग्गा दिने सम्झौता खारेज गरिदेऊ
बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन
बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए
‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ


सम्बन्धित सामग्री