Tuesday, May 07, 2024

-->

फलो अप
बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’

तत्कालीन पदाधिकारीसँगको मिलेमतोमा बाल संगठनको जग्गा ६० वर्षलाई ‘लिज’मा हात पारेको व्यापारिक घराना विशाल ग्रुपले त्यहाँ १० तलाको भवन बनाउन अघि बढाएको प्रक्रिया जनप्रतिनिधिले रोकिदिएका छन्।

बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’

काठमाडौँ– सबै कुरा योजनाअनुसार अघि बढेको भए यतिबेला काठमाडौँको नक्सालस्थित नेपाल बाल संगठनको जग्गामा व्यापारिक घराना विशाल ग्रुपले १० तले भवन निर्माणको काम अघि बढाइसकेको हुन्थ्यो। ‘डिग्री कलेज’ लगायतका नयाँ व्यावसायिक संरचना खडा गर्ने भन्दै त्यहाँ १० तले आधुनिक कम्प्लेक्स निर्माण गर्ने योजना बनाएर भवन निर्माणको प्रक्रिया अघि बढाइएको थियो।

सरकारले अधिग्रहण गरेर नेपाल बाल संगठनलाई अनाथ र सहाराविहीन बालबालिका संरक्षणका लागि बालमन्दिर सञ्चालन गर्न दिएको जग्गामध्ये २८ रोपनी जग्गा संगठनको तत्कालीन नेतृत्वले बृहस्पति विद्या सदनलाई लामो अवधिका लागि ‘लिज’मा दिएको छ। बृहस्पति विद्या सदन व्यापारिक घराना विशाल ग्रुपले अधिकांश स्वामित्व ओगटेको संस्था हो। पछिल्लोपटक भएको लिज सम्झौताअनुसार यो जग्गा आउँदो २१३२ सालसम्म बृहस्पतिको नियन्त्रणमा रहनेछ।

कुल २८ रोपनी ५ आना जग्गामध्ये बृहस्पतिले ९ रोपनी जग्गा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धनप्राप्त ‘राय स्कुल’लाई ‘सब–लिज’मा दिएको छ भने बाँकी जग्गामा बृहस्पतिले नै स्कुलसँगै अरू ठूल्ठूला पक्की संरचना बनाएको छ। बृहस्पति विद्या सदनजस्तै राय स्कुलमा पनि अधिकांश स्वामित्व विशाल ग्रुपकै छ। यी दुवै स्कुलले ओगटेर बाँकी रहेको जग्गामा १० तले कम्प्लेक्स बनाउन विशाल ग्रुपले प्रक्रिया अघि बढाएको थियो।

नेपाल बाल संगठनसँग लिजमा लिएको यो जग्गामा बृहस्पतिले १० तले भवन बनाउने योजना बनाएको हो।

बाल संगठनको तत्कालीन नेतृत्वले कसरी विधि मिचेर संगठनको जग्गा लिजमा दिएको थियो भन्नेबारे उकालोले शृंखलाबद्ध रूपमा यसको नालीबेली उजागर गरेको थियो। बृहस्पतिका संस्थापक (हाल सेयर सदस्य) पुरुषोत्तमराज जोशीले केही समयअघि हामीसँग कुरा गर्दा आफूसहितको कम्पनी (बृहस्पति विद्या सदन प्रालि)ले दायरा विस्तार गर्न बाल संगठनसँग लिजमा लिएको जग्गामध्ये खाली रहेको जग्गामा १० तले नयाँ भवन बनाएर स्नातक र स्नातकोत्तर तहको पढाइ लगायतका गतिविधि शुरू गर्ने बताएका थिए। त्यहीअनुसार बृहस्पतिले १० तले भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र नक्सा पास गर्ने प्रक्रिया नै अगाडि बढाएको थियो।

यो पनि : बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा

पहुँचवाला व्यापारिक घरानालाई विधि मिचेर लिजमा दिइएको यो जग्गामा स्थायी संरचना बनाउन नदिन स्थानीय सरकार जुर्मुराएको छ। काठमाडौँ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिले बालमन्दिरको जग्गामा निर्माण गर्न लागिएको १० तले भवनको निर्माण प्रक्रिया अघि बढाउन नहुने अडान राख्दै त्यसलाई रोकिदिएका छन्। यसमा स्थानीय अभिभावकहरूले समेत साथ दिएपछि बालमन्दिरभित्रै कम्प्लेक्स ठड्याउने विशाल ग्रुपको योजनामा तत्कालका लागि अंकुश लागेको छ।

बालमन्दिर जोगाउन अग्रसर जनप्रतिनिधि
बाल संगठनमा झन्डै तीन दशक निरन्तर अध्यक्ष रहेकी थिइन् रीता सिंह। नेपाली कांग्रेसका दिवंगत संस्थापक नेता गणेशमान सिंहपुत्री रीताको कार्यकालमा, मुख्यतः उनकै जोडबलमा बाल संगठनको २८ रोपनीभन्दा धेरै जग्गा विशाल ग्रुपको कब्जामा पुगेको थियो।

नेपाल बाल संगठनबाट लिजमा लिइएको जग्गा सब-लिजमा लिएर सञ्चालित राय स्कुल।

त्यो जग्गामा निजी विद्यालय बृहस्पति विद्या सदन र राय स्कुल सञ्चालन गरिरहेको विशाल ग्रुपले यही जग्गा ‘लियन’ राखेर बैंकहरूबाट ऋण लिनेदेखि व्यापारिक लाभका निम्ति अरू स्थायी संरचना निर्माण गर्दै आएको छ। बाल संगठनभित्रका बेथितिको चाङ पहिलोपटक २०७७ सालमा सरकारले नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेपछि बाहिर आएको हो। आयोगले छानबिनपछि तयार पारेको प्रतिवेदनमा लिज सम्झौता खारेज गर्नुपर्ने र त्यसमा सरकारको हस्तक्षेप आवश्यक भएको सुझाव दिएको थियो।

यो पनि : लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन

त्यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा लिज सम्झौतामाथि पटक–पटक प्रश्न उठाए पनि धेरैको ध्यान भने आयोगको छानबिनपछि नै तानिएको थियो। काठमाडौँ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई झकझक्याउने पनि त्यही थियो।‍

यसको शुरूआत गएको फागुन अन्तिम साता भयो। त्यसबेला बृहस्पतिको व्यवस्थापनले स्थानीय जनप्रतिनिधि, अभिभावकसहितको एउटा बैठक राखेको थियो। त्यो बैठकमा बाल संगठनसँग लिजमा लिएको जग्गामा १० तले भवन निर्माण गर्न लागिएको भन्दै व्यवस्थापनले त्यसमा सहयोग गर्न स्थानीय जनप्रतिनिधि र अभिभावकलाई आग्रह गरेको थियो। यस्तो आग्रहले त्यहाँ उपस्थित जनप्रतिनिधि र अभिभावकलाई नै अचम्मित बनायो।

यो पनि: बाल संगठनको जग्गा हडप्न गरिएको सम्झौतालाई सरकारकै टेको!

उनीहरूले त्यसो गर्न नसकिने र गर्न नमिल्ने बताए। त्यसक्रममा जनप्रतिनिधि र अभिभावकहरूले बाल संगठनको जग्गामा १० तले भवन निर्माण गर्ने योजना बनाइनु नै गलत भएको उल्लेख गरेका थिए।

नेपाल बाल संगठनको नक्सालस्थित जीर्ण प्रवेशद्वार।

काठमाडौँ महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठ तिनैमध्ये हुन्। श्रेष्ठ बृहस्पति विद्या सदनको सञ्चालक समितिकै सदस्य हुन्। सम्बन्धित वडाको वडाध्यक्ष सञ्चालक समिति सदस्य रहने प्रावधानअनुसार बृहस्पतिसँग जोडिएका श्रेष्ठले व्यवस्थापनले १० तले भवन निर्माण गर्ने योजना ल्याउनसाथ आफूले विरोध गरेको बताए।

“म चाहिने कुरामा समर्थन गर्छु, नचाहिने कुराको विरोध गर्छु,” श्रेष्ठले भने, “बृहस्पति स्कुल बाल संगठनबाट भाडामा लिइएको जग्गामा चलिरहेको छ। भाडाको जग्गामा एकैपटक १० तलाको भवन बनाउँदा दुवै पक्षलाई असहज हुनसक्छ। एक त भाडामा लिएको जग्गामध्ये निकै कम मात्र बचेको छ, त्यसमै १० तलाको भवन बनाउँदा आसपासका बासिन्दालाई कस्तो असर पर्छ भनेर पनि सोच्नुपर्छ।”

यो पनि : अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान

उनले आफूले विरोध गरेपछि बाल संगठनको जग्गामा १० तले भवन बनाउने बृहस्पतिको योजना त्यहीँ रोकिएको बताए। “अहिले भवन बनाउने योजना अघि बढेको छैन, हामीले विरोध गर्दागर्दै भवन निर्माण योजना अगाडि बढाएर कुनै अर्थ छैन पनि छैन,” उनले भने, “नक्सा पास गर्न त वडामै आउनुपर्ने हुन्छ नि।”

काठमाडौँ महानगरपालिका वडा नम्बर १ को सिमानामै पर्छ, महानगरको वडा नम्बर ५। वीरेन्द्र प्रजापति काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष हुन्। प्रजापति तिनै हुन् जो दुई दशकभन्दा लामो समयदेखि यो क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा सक्रिय छन्। बाल संगठनको जग्गा संगठनकै तत्कालीन नेतृत्वले बदनियतपूर्वक व्यापारीलाई सुम्पेकोबारे भलिभाँती जानकार प्रजापति शुरूदेखि नै बाल संगठन र बृहस्पति विद्या सदनबीच अहिलेसम्म भएका जग्गा लिजसम्बन्धी सबै सम्झौता खारेज हुनुपर्ने पक्षमा उभिएका छन्।

यो पनि : बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

“बाल संगठन देशभरका गरिब, दुःखी बालबालिकालाई हेर्ने संस्था हो। संगठनको जग्गा बृहस्पतिले लिजमा लिँदा अपनाइएको प्रक्रिया र बनाइएका कागजात गलत छन्। बाल संगठनको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिन मिल्दैन, यो पूरै गलत छ,” प्रजापतिले भने, “सार्वजनिक निकायका रूपमा रहेको कुनै संगठनको जग्गा या सार्वजनिक जग्गा संरक्षण गर्ने काठमाडौँ महानगरपालिकाको नीति नै छ। वडा फरक परेकाले यसमा हस्तक्षेप गर्ने अधिकार मसँग छैन, मैले सम्बन्धित वडासमक्ष कुरा राखिरहेको छु।”

बृहस्पति विद्या सदन।

प्रजापतिले बाल संगठनबाट लिजमा लिएको जग्गामा स्कुल चलाउने नाममा व्यापारीले कमाउने धन्दा चलाइरहेको बताए। “अनाथ बालबालिका संरक्षणका लागि सरकारले दिएको जग्गामा व्यापारमाथि व्यापार भइरहेको छ। लिजमा लिएको जग्गा अर्कोलाई दिने र अर्कोले अर्कोलाई दिने काम भइरहेको छ,” उनले भने, “यो जग्गा चाँडोभन्दा चाँडो बाल संगठनमा फिर्ता ल्याउनुपर्छ।”

बाल संगठनको त्यही जग्गामा १० तले भवन बनाउन खोज्ने प्रयत्नविरुद्ध पनि उनी त्यसैगरी उभिएका छन्। जुन बैठकमा बृहस्पतिको व्यवस्थापनले त्यहाँ १० तलाको भवन बनाउन सहयोग मागेको थियो, त्यो बैठकमा प्रजापतिलाई पनि बोलाइएको थियो। उनले बाल संगठनबाट लिजमा लिएको जग्गामा १० तले भवन बनाउने योजनाको तत्काल विरोध गरे।

यो पनि : बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार

“१० तले भवन बनाउने योजना कार्यान्वयनमा सहयोग गरिदिनु पर्‍यो भनेर मलाई पनि बैठकमा बोलाइएको थियो। मैले यो हुनै सक्दैन, यसो गर्न मिल्दै मिल्दैन भनेर विरोध गरेँ,” प्रजापतिले भने।

बृहस्पतिको व्यवस्थापनले केही समयपछि फेरि अर्को बैठक राख्यो र त्यो बैठकमा पनि प्रजापतिलाई बोलायो। त्यहाँ उनले पुरानै अडान दोहोर्‍याए। “त्यसपछि भने मलाई बैठकमै बोलाउन छाडियो,” उनले भने।

बाल संगठनले जग्गा लिजमा दिनु नै गलत भएको, त्यहाँ १० तले भवन बनाउनु अर्को गलत काम हुने र त्यो जोखिमपूर्ण पनि हुने प्रजापति बताउँछन्। “१० तलाको भवन बनाउँदा सँगै रहेको सडक आसपासका घरहरूलाई समेत असर पर्छ,” उनले भने, “बाल संगठनमा आश्रय पाइरहेका बालबालिका बस्ने र पढ्ने ठाउँमै त्यसको असर पर्छ।”

यो पनि : बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा

बृहस्पति स्कुलमा बालबच्चा पढाइरहेका एक अभिभावकले आफूहरूले समेत विरोध गरेपछि त्यहाँ १० तले नयाँ भवन बनाउने योजना अघि बढ्नबाट रोकिएको बताए। “गलत सम्झौता गरेर नेपाल बाल संगठनबाट जग्गा लिजमा लिई स्कुल चलेको भन्ने सुनेका थियौँ। त्यसैले त्यहाँ यति ठूलो संरचना बनाउनु गलत हुन्छ भन्ने हामीलाई लाग्यो,” आफ्नो नाम उल्लेख गर्न नचाहने ती अभिभावकले भने, “स्कुलले हामीबाट महँगो शुल्क उठाउँदै आएको छ। तर महानगरपालिकामा भने हामीबाट लिने शुल्कभन्दा निकै कम शुल्क लिएको सूची बुझाएको भन्ने सुनेका छौँ। त्यस्तो रहेछ भने हामी विरोधमा उत्रिन्छौँ।”

बृहस्पति विद्या सदनको मुख्य भवनको भित्री भाग।

बृहस्पति स्कुलमा करिब २ हजार विद्यार्थी अध्ययनरत छन्। २०४२ सालमा स्थापना भएको यो स्कुल २०५९ साउन २२ गते नाफा कमाउने कम्पनीमा रूपान्तरण भएको थियो। त्यही बेलादेखि नै यसले बाल संगठनको जग्गा सकेसम्म लामो समय लिजमा लिन उसले जोडबल गर्न थालेको थियो।

बालमन्दिर मास्न खोजिएको त्यो गल्ती सच्याउने अवसर
२०२१ सालमा तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाहको सक्रियता र अध्यक्षतामा अनाथ तथा सहाराविहीन बालबालिका संरक्षणका निम्ति भनेर नेपाल बाल संगठन स्थापना भएपछि सरकारले बालबालिका लगायत अन्य क्षेत्रमासमेत परोपकारी काम गर्ने भन्दै जग्गा अधिग्रहण गरेर संगठनलाई दिएको थियो। त्यसक्रममा जग्गा प्राप्ति ऐन २०१८ अनुसार तत्कालीन श्री ३ (राणा प्रधानमन्त्री) भीमशमशेरकी पत्नी सीताको नाममा रहेको नक्सालस्थित ११९ रोपनी १२ आना ३० पैसा जग्गा अधिग्रहण गरिएको थियो। अहिले नक्सालमा ६६ रोपनी जग्गा संगठनको नाममा छ।

यो पनि – बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए

त्यसपछि संगठनले नक्सालसहित विभिन्न जिल्लामा बालगृह तथा शिशु स्याहार केन्द्र विस्तार गर्दै गयो। संगठनले चलाएका बालगृह तथा शिशु स्याहार केन्द्रलाई सघाउन विदेशी दातासमेत स्वःस्फूर्त अघि सर्थे। २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीसँगै पञ्चायतमा खुलेका थुप्रै संघ–संगठन खारेज भए, तर परोपकारी कार्य गरिरहेको बाल संगठनलाई फरक परेन।

टहरामा सीमित नेपाल बाल संगठनको नक्सालस्थित बालगृह

प्रजातन्त्र पुनर्बहालीसँगै २०४७ वैशाख ६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्दा ठाकुरप्रसाद मैनाली बाल संगठनको अध्यक्ष थिए। लगत्तै उनलाई अध्यक्षबाट हटाएर रीता सिंहलाई बाल संगठनको अध्यक्ष बनाइयो। घटनाक्रमले यहीँबाट बाल संगठनको जग्गामा व्यापारीको हालीमुहाली हुन थालेको देखाउँछन्। त्यसको शुरूआत बाल संगठनको विधान संशोधनबाट भएको थियो।

यो पनि– बालमन्दिर बेथिति : बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा

सिंह नेतृत्वमा आउनसाथ व्यापारीको हितअनुकूल हुनेगरी विधान संशोधन गरिएको, त्यसपछि संगठनले वर्षौंदेखि जोगाएको र बालग्राम बनाउन ठिक्क पारिएको ९ रोपनी जग्गा २०४९ माघ २७ गते  निजी विद्यालय बृहस्पति विद्या सदनलाई प्रक्रिया पनि पूरा नगरी सिधै लिजमा दिने सम्झौता गरिएको थियो। त्यसपछि सिंहकै पहलमा लिज अवधि र जग्गा थपिइरह्यो। २०७२ सालसम्म आइपुग्दा पुरानो सम्झौता कार्यान्वयनको मूल्यांकन नै नगरी बृहस्पतिलाई २१३२ सालसम्मका लागि कुल २८ रोपनी ५ आना १ पैसा जग्गा बिनाप्रतिस्पर्धा लिजमा दिइसकिएको थियो। यो सबै सिंहकै जोडबल र नेतृत्वमा भएको फेहरिस्त उकालोले उजागर गरेको थियो।

बृहस्पति विद्या सदनका संस्थापक एवं लगानीकर्ता पुरुषोत्तमराज जोशी।

२०७२ सालको सम्झौतापछि बृहस्पतिका संस्थापक पुरुषोत्तमराज जोशीले जोशीले त्यहाँ लगानीकर्ताका रूपमा विशाल ग्रुपका सदस्यहरूलाई भित्राएका थिए। २०६९ वैशाख ३ गते बृहस्पतिमा जोशी र उनका  दुई छोराहरू (प्रवीणराज जोशी र प्रज्जवलराज जोशी) सँगै मुरारीनिधि तिवारी र मीनकुमारी जोशीसमेत ५ जनाको लगानी थियो। २०७४ जेठमा आइपुग्दा बृहस्पतिमा अनुज अग्रवाल, अर्पित अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल श्रद्धा संघई र ‘ग्रिनफिल्ड इंक प्रालि’ भित्रिइसकेका, मुरारीनिधि र मीनकुमारी त्यहाँबाट बाहिरिइसकेका थिए।

यो पनि : बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ

अनुज, अर्पित, विशाल र निकुञ्ज विशाल ग्रुपका निर्देशक हुन्। ‘ग्रिनफिल्ड इंक प्रालि’ मा पनि अधिकांश विशाल ग्रुपकै सदस्यहरू छन्। यहाँबाट बृहस्पति स्कुलमा अधिकांश स्वामित्व विशाल ग्रुपकै हुन पुग्यो। त्यहीँबाटै बाल संगठनको जग्गामा १० तले भवन बनाउने योजना अघि बढेको देखिन्छ।

स्थानीय जनप्रतिनिधि र अभिभावकले विरोध गरेपछि रोकिएको १० तले कम्प्लेक्स निर्माणको योजना जुनसुकै बेला अघि बढ्न सक्ने जोखिम रहेको बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपाने बताउँछिन्। “विगतमा बाल संगठनको नेतृत्वले जसरी विधि मिचेर व्यापारीलाई मात्र लाभ हुनेगरी जग्गा लिजमा दियो, त्यसबेलाका सबै लिज सम्झौता त्रुटिपूर्ण छन्। ती सम्झौता भंग गर्दा संगठनलाई फाइदा या नोक्सान के हुन्छ भन्नेबारे हामी कानूनी परामर्श गरिरहेका छौँ,” न्यौपाने भन्छिन्, “यस्तो अवस्थामा लिजमा लिइएको संगठनको जग्गामा हाम्रो अनुमतिबिना ठूल्ठूला संरचना बनाउन दिने कुरै हुँदैन। तर यसमा हामी मात्र नभई सबैले निगरानी गर्न आवश्यक छ।”

यो पनि : बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज


सम्बन्धित सामग्री