Thursday, March 28, 2024

-->

समाचार प्रभाव
बाल संगठनबाटै बालक 'बेपत्ता' प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान

संरक्षणको जिम्मा लिएर नेपाल बाल संगठनले बेपत्ता पारेका टुहुरा बालक पोकलप्रसाद दाहालको खोजी र घटना अनुसन्धान गर्न गृह मन्त्रालयको निर्देशन लगत्तै मानव बेचबिखन ब्यूरो सक्रिय बनेको छ।

बाल संगठनबाटै बालक बेपत्ता प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान

​​​​काठमाडौँ– नेपाल बाल संगठनले संरक्षणको जिम्मा लिएर बेपत्ता बनाएका टुहुरा बालक पोकलप्रसाद दाहालको अवस्थाबारे तत्काल अनुसन्धान अघि बढाएर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोलाई यसबारे निर्देशन दिएका हुन्। ब्यूरोका प्रमुख, एसएसपी जीवन श्रेष्ठलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले पोकलको तत्काल खोजी गरी त्यसमा सलंग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।

उकालो डटकममा प्रकाशित समाचार र त्यहाँ समावेश गरिएका कागजात अध्ययन गर्दा पोकलप्रसाद दाहाललाई नेपाल बाल संगठनकै कर्मचारीले बेचेको देखिन्छ। दाहालको वास्तविक अवस्था के हो यसमा खोजी गर्नुहोस्। दाहाललाई बेपत्ता पार्नेहरूलाई नछोड्नुहोस्,” गृहमन्त्रीले श्रेष्ठले निर्देशनका क्रममा भने।  

गृहमन्त्रीको निर्देशनपछि ब्यूरोले नेपाल बाल संगठनबाट पोकललाई के कसरी बेपत्ता पारियो भन्ने विषयमा सोमबारदेखि नै अनुसन्धान तीव्र पारेको एसएसपी श्रेष्ठले बताए। ओखलढुंगाबाट काठमाडौँ ल्याएर संगठनको नक्सालस्थित बालगृहमा भर्ना गरिएका उनलाई संगठनको नेतृत्वसँग निकट कर्मचारीले १७ वर्षदेखि बेपत्ता पारेको विषयबारे यही वैशाख २१ गते उकालोले खोजमूलक रिपोर्ट प्रकाशित गरेको थियो। 

यो पनि: बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा

रिपोर्टमा बुबा बेपत्ता र आमाको हत्या भएपछि दुई वर्षका बालक पोकललाई संरक्षणका लागि २०६० जेठ १५ गते उनका मामा उमाकान्त दाहालले बालगृहमा भर्ना गरेको उल्लेख छ। १६ वर्षपछि संरक्षणको जिम्मेवारी आफैँले लिने शर्तमा उमाकान्तले पोकललाई बाल संगठनको जिम्मा लगाएका थिए। तर, २०६३ साउनमा उमाकान्त पोकललाई भेट्न बालगृहमा आउँदा उनी त्यहाँ थिएनन्। 

संगठनले पोकललाई त्यसअघि नै बेपत्ता बनाएको थियो। उनलाई धर्मपुत्रका रूपमा कतै पठाएको पनि देखिन्न। बालगृहमा आउँदा भेट्न नपाएपछि आफूले भान्जाको सोधीखोजी गरेको र संगठनका तत्कालीन उप–निर्देशक बालकृष्ण डंगोलले पोकललाई भारत पठाइएको जवाफ दिएको उमाकान्त बताउँछन्। आफ्नो स्वीकृतिबिना भान्जालाई भारत पठाइएको सुनेर उमाकान्त तनावग्रस्त बनेका थिए। 

उनले २०६३ साउन ५ गते संगठनका निर्देशकलाई सम्बोधन गर्दै पोकललाई भारतको कुन ठाउँमा, कुन प्रयोजनका लागि, कहिलेदेखि पठाइएको हो त्यसबारे सम्पूर्ण विवरण माग गरेर निवेदन दिएका थिए।  उमाकान्तले निवेदन पेश गरेको १४ दिनपछि संगठनका तत्कालीन उप–निर्देशक डंगोलले उनका नाममा पत्र लेखेर जवाफ दिएका थिए। पत्रमा पोकललाई न्यू लिंक रोड अनबढेरी (पश्चिम) मुम्बईमा बस्ने धीरजकुमार कोछरले प्रतिष्ठित विद्यालयमा पठनपाठन, स्वास्थ्य, बसोबास आदिका लागि स्थानीय अभिभावका रूपमा सम्पूर्ण व्यवस्था मिलाई १६ वर्ष उमेर तथा माध्यमिक शिक्षा पूरा नगरुञ्जेलसम्मका लागि पठाइएको उल्लेख थियो।

पत्रमा डंगोलले कोछरको इमेलमार्फत प्राप्त पत्र र फोनबाट पाएको जानकारीअनुसार आउँदो जाडो बिदामा पोकललाई काठमाडौँ ल्याई उमाकान्तसँग सम्पर्क गराउने प्रतिबद्धता जनाएका थिए। पोकललाई कोछरको जिम्मा लगाउने निर्णय बाल संगठनको कार्यसमितिले २०६३ जेठ १५ मा गरेको पनि उनले पत्रमा लेखेका थिए। 

२०६३ साउन ११ र १२ गते बसेको संगठनको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयको प्रतिलिपिमा पोकललाई कोछरसँग एक सम्झौता गरी पढाइ तथा अन्य आवश्यक व्यवस्था मिलाउने गरी स्थानीय अभिभावकको रूपमा उनको जिम्मा लगाएको उल्लेख छ। तर, कोछरसँग संगठनको के सम्झौता भएको थियो भन्नेबारे निर्णयको प्रतिलिपिमा केही लेखिएको छैन। त्यो बेला कोछर र संगठनबीच के सम्झौता भएको रहेछ भनेर हामीले बाल संगठनसँग सूचना मागेका थियौँ। तर, अध्यक्ष विद्या उपाध्याय न्यौपानेले संगठनको कार्यालयमा यससम्बन्धी सम्झौता आफूहरूले नभेटेको बताएकी छन्। 

डंगोलले पत्रमा जनाएको प्रतिबद्धता अनुसार उमाकान्तले पोकललाई भेट्न पाएनन्। त्यसपछि उनले भान्जा पोकललाई भारतबाट झिकाउन र आफूलाई भेटाउन डंगोललाई नै भेटेर पटकपटक आग्रह गरेको बताएका छन्। तर, डंगोलले पोकललाई नेपाल झिकाउन कुनै सक्रियता नदेखाएको बरू बिस्तारै जबाफदेहिताबाट पन्छिएको उमाकान्तको भनाइ छ। 

डंगोलले नै भान्जा बेपत्ता पारेको निष्कर्ष निकाल्दै उनीविरुद्ध कानूनी उपचार खोज्ने योजनासहित २०७६ भदौमा उमाकान्त काठमाडौँ आएका थिए। तर, त्यसको १ महिनाअघि, साउन २९ गते नै बलात्कृत १४ वर्षीया बालिकाबाट जन्मिएको शिशु बिक्री गरेको आरोपमा डंगोल पक्राउ परिसकेका थिए। 

यो पनि : बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

बाल संगठनको निर्देशक रहेकै बेला, साउन १२ गते बेलायती नागरिक डोना स्मिथलाई ११ लाख रुपैयाँमा शिशु बेचेको आरोप डंगोलमाथि लागेको थियो। त्यसबेला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको थियो। मुद्दा किनारा नलाग्दासम्मको साढे दुई वर्ष जेलमै रहेका डंगोल २०७८ माघ २९ मा काठमाडौँ जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए। तर, उक्त फैसला चित्त नबुझेपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध दिएको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ।  

घटनाबारे सुनेपछि आफ्ना भान्जा पोकललाई पनि डंगोलले भारतमा बेचेको निष्कर्षमा मामा उमाकान्त पुगेका थिए। उनी डंगोललाई भेट्न केन्द्रीय कारागारमै पुगेका थिए, तर कारागार प्रशासनले भेट्न दिएन। त्यतिञ्जेलसम्ममा संगठनको केन्द्रीय नेतृत्व र कार्यसमिति बदलिइसकेको थियो। उमाकान्तले पोकलको खोजी गरिदिन माग गर्दै २०७८ वैशाख ८ गते फेरि संगठनको वर्तमान नेतृत्वलाई पत्र लेखेका थिए। त्यसपछि संगठनले पोकललाई के–कसरी बेपत्ता पारिएको रहेछ भनेर खोजबिन शुरू गरेको थियो।

तर, पोकलको फाइल अध्ययनका लागि आवश्यक सबै कागजात संगठनले फेला पारेन। कतिपय कागजात उमाकान्तसँगै मागेर संगठनले अध्ययन अघि बढाएको थियो। अध्ययनका क्रममा संगठनबाटै बेचिएको आशंका गरिएका बालकबारे आवश्यक अनुसन्धान तथा कारबाही गरी उनको उद्धारसमेत गरिदन आग्रह गर्दै बाल संगठनले २०७८ वैशाख ९ गते प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो।

यो पनि : बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा

संगठनको पत्र प्रहरी प्रधान कार्यालयले मानव बेचविखन ब्यूरोलाई पठाएको थियो। ब्यूरोले पोकलबारे थप विवरण पठाउन पुनः संगठनलाई नै आग्रह गरेको थियो। संगठनले उनीबारे उपलब्ध विवरण पठाएपछि अनुसन्धान अघि बढाउनु पर्नेमा प्रहरीले बेवास्ता गरेको उमाकान्तको गुनासो थियो। तर, गृहमन्त्रीको निर्देशनसँगै पोकलको खोजी, उद्धार र दोषीमाथि कारबाहीको अपेक्षा बढेको उनले बताए। 

“प्रहरीले मेरो भान्जाको खोजी गरेर उनलाई बेच्नेमाथि हदैसम्मको सजाय दिनुपर्छ। म र मेरो भान्जामाथि बाल संगठन र त्यसबेलाका उप–निर्देशक डंगोलले अत्याचार गरेका छन,” उमाकान्तले ओखलढुंगाबाट फोनमा भने। 

यसअघि अनुसन्धानमा प्रहरीले बेवास्ता गरेको बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले पनि बताउँदै आएकी थिइन्। “पोकल संगठनबाटै बेचिएको हाम्रो आशंका छ। उनको उद्धारका लागि हामीले प्रहरीलाई भेटेरै र लिखित रूपमा समेत अनुरोध गर्‍यौँ। तर, हाम्रो अनुरोधलाई गम्भीरतापूर्वक नलिएको प्रहरीले गृहमन्त्रीको निर्देशनपछि उनको खोजी गर्ला र दोषी पहिल्याएर कारबाही गर्ला भन्ने आशा जागेको छ,” न्यौपानेले उकालोसँग भनिन्। 


सम्बन्धित सामग्री