Friday, April 19, 2024

-->

‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’

बृहस्पतिका सञ्चालकहरू बाल संगठनबाट लिएको जग्गा आफ्ना लागि अपुग भएको भन्दै ललितकला प्रज्ञाप्रतिष्ठानको एकल स्वामित्वमा रहेको जग्गा भाडामा दिनुहोस् भन्दै आएका थिए। तर, हामीले दिएनौँ।

‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’

नेपालको ठूलोमध्येको व्यापारिक घराना ‘विशाल ग्रुप’, नेपाल बाल संगठनले काठमाडौँको नक्सालमा अनाथ बालबालिकाका निम्ति बालमन्दिर सञ्चालन गर्न राखेको २८ रोपनी ५ आना जग्गा हडप्न कसरी योजनाबद्ध प्रयासमा लागेको छ भन्नेबारे माघ ६ गते उकालोले तथ्य–प्रमाणसहित उजागर गरेको थियो। बाल संगठनको तत्कालीन नेतृत्वले व्यक्तिगत लाभका निम्ति अनाथ बालबालिकाले आश्रय पाइरहेको बालमन्दिरको जग्गा कसरी व्यापारीको पोल्टामा पार्न भूमिका खेल्यो भन्ने फेहरिस्त त्यो रिपोर्टमा प्रस्तुत छ। तर, बृहस्पति विद्या सदनका नाममा बाल संगठनको जग्गा हडप्न लागिरहेको बृहस्पतिको मुख्य लगानीकर्ता ‘विशाल ग्रुप’ त्यो जग्गामा मात्र सीमित थिएन भन्ने तथ्य खुल्न थालेका छन्। 

नक्सालमा जहाँ नेपाल बाल संगठन र त्यसको जग्गा छ, त्यहाँ संगठनको छिमेकीका रूपमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान पनि छ। प्रतिष्ठान सरकारी संस्था हो। त्यहाँ कूल २९ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा त संगठन र प्रतिष्ठानको संयुक्त स्वामित्वमा छ। यसबाहेक २४ रोपनीभन्दा धेरै जग्गा प्रतिष्ठानको एकल स्वामित्वमा छ। त्यही जग्गामा छ, अनाथ बालबालिका बस्ने सीता दरबार। बृहस्पतिले बाल संगठनको २८ रोपनी ५ आना जग्गा हडप्दा प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा पनि हडप्ने प्रयास गरेको रहेछ। बाल संगठनको जग्गा ६० वर्षका लागि भाडामा लिँदा बृहस्पतिले प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा पनि भाडामा लिने भन्दै हडप्ने प्रयास गरेको प्रतिष्ठानका निवर्तमान कुलपति के के कर्माचार्यले बताएका छन्। तर, प्रतिष्ठानले सरकारले अधिग्रहण गरेर आफूलाई दिएको जग्गा भाडामा नदिने अडान लिएपछि त्यो जग्गा विशाल ग्रुपको कब्जामा जानबाट जोगिएको छ। उकालो सहकर्मी दिपा दाहालसँग कर्माचार्यले सुनाएको विवरण उनकै शब्दमा: 

सरकारले भीमशमशेर राणाकी पत्नी सीताबाट अधिग्रहण गरेर लिएको नक्सालस्थित पूरै जग्गा शुरूआतमा तत्कालीन रानी रत्नराज्यलक्ष्मी देवी शाह अध्यक्ष रहेको नेपाल बाल संगठनका लागि दिने निर्णय गरेको सुनिन्थ्यो। तर, त्यसलगत्तै नेपाल ललितकला संस्थाका लागि पनि सरकारले अधिग्रहण गरेको जग्गा उपलब्ध गराउनु पर्ने माग उठ्यो। त्यसपछि त्यो जग्गा नेपाल बाल संगठन र नेपाल ललितकला संस्थालाई बराबरजसो भाग लगाइएको थियो। चित्रकलामा निकै रुचि भएका कारण तत्कालीन राजा वीरेन्द्रको जोडबलमा ललितकला संस्थाको एकल स्वामित्वमा २४ रोपनी ५ आना १ पैसा ३ दाम जग्गा भाग परेको थियो। ऐतिहासिक महत्त्व बोकेको सीता दरबारसहित २९ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा भने नेपाल बाल संगठन र ललितकला संस्थाको संयुक्त स्वामित्वमा रहन पुग्यो। 

नेपाल ललितकला संस्था राम्रै चलेको थियो। तर, पछि वीरेन्द्र राजा भएपछि उहाँले यो संस्थाको विकासमा समय दिन सक्नु भएन। त्यसपछि संस्था संरक्षकविहीन जस्तो अवस्थामा पुग्यो। अनि ललितकला संस्था चलाउने जिम्मेवारी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानलाई दिइएको थियो। प्रतिष्ठान अन्तर्गतको कलाकौशल विभागले यो संस्थालाई हेर्ने भनिएको थियो। पछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको नाम नेपाल प्रज्ञाप्रतिष्ठान राखियो। यो निर्णयको हामी कलाकार मिलेर विरोध गर्‍यौँ। हामीले नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान भिन्नै हुनुपर्छ भन्ने आवाज पनि त्यहीबेला उठायौँ। 

यो विरोध लामै समय चल्यो। २०६२÷६३ को जनआन्दोलनपछि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान जन्मियो। प्रतिष्ठानलाई कहाँ र कसरी  सञ्चालन गर्ने भन्नेमा लामो छलफल भएको थियो। नेपाल ललितकला संस्था त्यसबेला निष्क्रिय थियो। त्यहीबेला नेपाल ललितकला संस्थाको एकल स्वामित्वमा रहेको २४ रोपनी ५ आना १ पैसा ३ दाम जग्गा सरकारले नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय गरेको हो। साथै २९ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा नेपाल बाल संगठनसँग संयुक्त स्वामित्वमा रहेकोमा नेपाल बाल संगठनको स्वामित्व यथावत् रहनेगरी नेपाल ललितकला संस्थाको स्वामित्वलाई पनि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको नाममा नामसारी गरिएको हो। 

हामी नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आइसकेपछि नेपाल बाल संगठनको त्यति राम्रो कुरा सुनेनौँ। बाल संगठनसँग जग्गाको साँधसीमानाको विषयलाई लिएर हामीसँग त्यति राम्रो सम्बन्ध हुन पनि सकेन। तर, हामी सानातिना कुरालाई ध्यान नदिएर अघि बढ्यौँ। बाल संगठनले आफ्नो एकल स्वामित्वमा रहेको जग्गा बृहस्पति विद्या सदनलाई वर्षौंसम्मका लागि भाडामा दिएको छ भन्ने सुनेका थियौँ। तर, आफ्नो एकल स्वामित्वमा रहेको जग्गा संगठनले बृहस्पतिलाई भाडामा दिएको विषयमा हामीले अनावश्यक चासो राख्नु सान्दर्भिक मानिँदैन्थ्यो। त्यही भएर पनि हामीले चासो राखेनौँ।

बाल संगठनसँग भाडामा लिएको जग्गामा हेर्दाहेर्दै बृहस्पतिले ठूल्ठूला भवनलगायत भौतिक संरचना निर्माण गर्दै गयो। यी भौतिक संरचना के आधारमा निर्माण भइरहेका छन् भन्ने हामीलाई थाहा हुने कुरा भएन।

त्यहीबेला नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको जग्गा पनि बृहस्पतिले लामो समयका लागि भाडामा लिन हामीलाई दबाब दियो। बृहस्पतिका सञ्चालकहरू बाल संगठनबाट भाडामा लिएको जग्गा आफ्ना लागि अपुग भएको भन्दै ललितकला प्रज्ञाप्रतिष्ठानको एकल स्वामित्वमा रहेको जग्गा भाडामा दिनुहोस् भन्दै आउनु भएको थियो। त्यो बेला बृहस्पतिको ठूलो भवन बनिसकेको थियो। बृहस्पतिले आफ्नो स्कूलका संरचनाहरू अझै विस्तार गर्न चाहेको देखिन्थ्यो। तर, हामीले सरकारले हाम्रो आफ्नो कामका लागि दिएको जग्गा भाडामा लगाउन ठिक नहुने सोच्यौँ। बृहस्पतिका सञ्चालकहरूले हामीसँग लामो समयका लागि जग्गा भाडामा लिन खोज्नु भएको थियो। त्यसका लागि दबाब दिइरहनुभएको थियो। तर, हामीले त्यसमा राम्रो चाल देखेनौँ। हिनामिना हुनसक्ने डर देख्यौँ। त्यही भएर हामीले भाडामा दिएनौँ।

अर्को कुरा, त्यसरी आफ्नो जग्गा भाडामा दिएपछि हाम्रा आफ्ना योजनाहरू अलपत्र पर्ने जोखिम हुन्थ्यो। सरकारबाट पाएको जग्गामा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नमुनायुक्त ग्यालरी निर्माण गर्ने गुरुयोजना बनाएको थियो। यद्यपि त्यो योजना लागू हुन सकेको थिएन। तर, सरकारले हामीलाई दिएको सम्पत्ति हिनामिना हुन दिन हुन्न भन्ने लाग्यो र दिएनौँ। 

प्रतिष्ठान बन्नुभन्दा अघि, नेपाल ललितकला संस्था हुँदा नै पनि बृहस्पतिका सञ्चालकहरूले लामो समयका लागि जग्गा भाडामा लिने प्रयास गरेका रहेछन् भनेर हामीले पछि थाहा पाएका थियौँ। त्यो थाहा पाएकाले पनि हामी सचेत भएका थियौँ। 

हामीले यसमा आफ्नो विवेक प्रयोग गरेका हौँ। कान र आँखामा ठोक्किइरहेका नेपाल बाल संगठनभित्रका गतिविधि र दृश्यले पनि हामीलाई झस्काइरहेका थिए। बाल संगठन र बृहस्पतिबीच भएको बहाल सम्झौतालाई लिएर पटक–पटक विवाद उत्पन्न भएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, सर्वोच्च अदालतमासमेत मुद्दा परेको भन्ने कुरा पटक–पटक सुनिएको थियो। बहाल सम्झौता गर्दा कानून पालना नगरिएको कुरा पनि सुनिन्थ्यो। हामीसँग जग्गा बहालमा दिनुहोस् भनेर अरू व्यापारीहरू पनि आएका थिए। तर, हामीले शुरूदेखि नै हामीलाई सरकारले उपलब्ध गराएको जग्गा बिक्री पनि नगर्ने, भाडामा पनि नदिने नीति लियौँ। 

हामी यस्ता झमेलामा फस्न पनि चाहँदैनथ्यौँ। जबकि जग्गा भाडामा लिन चाहेकाहरूले प्रचलित भाडा उपलब्ध गराउने भनेका थिए। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नेपालको परम्परा र इतिहाससँग जोडिएको संस्था हो। युवराज हुँदा वीरेन्द्रले निकै सद्भाव देखाएर अधिग्रहण गरेको जग्गा नेपाल ललितकला संस्थालाई उपलब्ध गराउन पहल गर्नुभएको थियो। हामीले जग्गा भाडामा दिन थाल्यौँ भने यसको उद्देश्य नै अन्धारमा धकेलिन्थ्यो। आफ्नो इतिहास मेटाउने काम कोही कसैबाट हुनुहुन्न भन्नेमा हामी सचेत थियौँ। 

बाल संगठन भिन्नै संस्था भएकाले उसले गरिरहेका निर्णयमा हामीले हस्तक्षेप गर्न मिल्दैन। तर, हामी छिमेकी मात्र नभएर केही जग्गा र सीता दरबारको साझेदार समेत भएकाले उसले गरिरहेका गतिविधि हाम्रो कानसम्म ठोक्किन्छन्। आफ्नो एकल स्वामित्वमा रहेको जग्गामा नेपाल बाल संगठनले नियम अनुसार काम गर्न पाउला। तर, हाम्रो संयुक्त स्वामित्वमा रहेको सम्पत्तिबारे कुनै निर्णय लिनु पर्ने अवस्था आएमा बाल संगठनले हामीलाई नसोधी निर्णय लिन मिल्दैन। अहिले त संयुक्त स्वामित्वको जग्गाबारे पनि त्यसबेलाको बाल संगठनको नेतृत्वले प्रतिष्ठानलाई नसोधी निर्णय लिएको भन्ने सुनिएको छ।

हाम्रो संयुक्त स्वामित्वमा रहेको सीता दरबारको आफ्नै ऐतिहासिक महत्त्व छ। त्यो बाल संगठन र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले संयुक्तरूपमा प्रयोग गर्दै आएको भवन हो। २०७२ सालको भूकम्पले यो दरबारमा निकै ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि हामीले आफ्नो कार्यालय सरकारले नै निर्माण गरिदिएको टहरामा सारेका छौँ। बाल संगठनले पनि सीता दरबारमा रहेका अनाथ बालबालिकालाई टहरामा सारेको छ। यो दरबार सरकारले नै आफै पैसा खर्च गरेर प्रबलीकरण गर्दै आएको छ। यस्ता सम्पत्तिको संरक्षण गर्ने दायित्व हामी सबैको हो।

योः बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ


सम्बन्धित सामग्री