Monday, May 06, 2024

-->

फलोअप
सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन शुरू गरेपछि विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति विद्या सदनले आफ्नो गल्ती ढाकछोप गर्न सक्रियता देखाएको छ।

सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल बाल संगठनको जग्गा लगायतका सम्पत्ति हिनामिना प्रकरणबारे छानबिन शुरू गरेको छ। शुरूमा नक्सालस्थित संगठनको २८ रोपनी भन्दा धेरै जग्गा बृहस्पति विद्या सदनले गैरकानूनीरूपमा लिजमा लिएको विषयमा सीआईबीले अनुसन्धान केन्द्रित गरेको छ। 

व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति विद्या सदनले सीआईबीको छानबिन शुरू भएपछि आफ्नो बदमासी लुकाउन एकाएक सक्रियता बढाएको पाइएको छ। बृहस्पतिले २०४९ सालयता बाल संगठनका पदाधिकारीसँगको मिलेमतोमा पटक–पटक गरी लिएको २८ रोपनी ५ आना १ पैसा जग्गा बैंक अफ काठमाडौँमा ‘लियन’ राखेर २०७५ भदौ २६ गते ३० करोड रुपैयाँ ऋण लिएको थियो, जुन १० वर्षभित्र चुक्ता गर्ने बैंकसँगको शर्त थियो।

बृहस्पतिले २०७५ असोज १ गते बैंक अफ काठमाडौँबाटै थप एक करोड ३३ लाख रुपैयाँ ऋण एक वर्षका लागि भनी लिएको थियो। तर जग्गा लियनमा राखेर ऋण लिँदा बाल संगठनको अनुमति लिएको कुनै प्रमाण भेटिएको थिएन। आफ्नो सहमतिबेगर जग्गा लियनमा राखेर ऋण लिएको भन्दै संगठनले आपत्ति जनाएको थियो। 

बृहस्पतिका संस्थापक सञ्चालक पुरूषोत्तमलाल जोशी स्वयंले गत वर्ष पुसको अन्तिम साता संगठनको जग्गा लियनमा राखेर ऋण लिएको बताएका थिए। “हामीले संगठनसँग सम्झौता गरी जग्गा लिजमा लिएको हो। हाम्रो स्कुलको स्तरवृद्धिका लागि लिजमा लिएको जग्गा लियनमा राखेर ऋण लिएका छौँ,” उनले भनेका थिए, “तर, हामीले त्यो ऋण निर्धारित समयमा तिर्ने छौँ। यसमा बाल संगठनले आपत्ति जनाउनुपर्ने कुनै कारण छैन।” 

टहरामा सीमित नेपाल बाल संगठनको नक्सालस्थित बालगृह।

लिजमा लिएको जग्गा लियनमा राखेर ऋण लिएको प्रसंग नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी छानबिन, जाँचबुझ तथा सुझावसम्बन्धी प्रतिवेदन, २०७७ मा पनि समावेश छ। प्रतिवेदनमा भनिएको छ, “बृहस्पति विद्या सदनका पदाधिकारीहरू, नेपाल बाल संगठनका पदाधिकारीहरूसँगको सोधपुछ तथा बैंक अफ काठमाडौँबाट यस आयोगमा प्राप्त मिति २०६७/१२/०४ को च. नं. ५१४/०७६/७७ को पत्रबाट लिजमा लिएको बाल संगठनको जग्गा लियनमा राखेर ऋण लिएको पुष्टि हुन्छ। लियनमा राखिएको सम्पत्तिको हैसियत धितो धरौट सरह हुने कानूनी व्यवस्था छ।” 

संगठनका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता भीम ढकालले पनि  लियन भनेको धितो नै भएको बताएका थिए। त्यसैले लिजमा लिएको संगठनको जग्गा बृहस्पतिले लियनमा राखेर ऋण लिनु गैरकानूनी भएको उनको निष्कर्ष थियो।  

उकालोले २०७९ माघ ६ गते यस प्रकरणबारे विस्तृत खोजमूलक सामग्री प्रकाशन गरेको थियो। त्योसँगै संगठनको जग्गा तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर बृहस्पतिले गैरकानूनीरूपमा आउँदो २१३२ सालसम्मका लागि लिजमा लिएकोबारे खुलाइएको थियो। त्यसयता पनि यस प्रकरणबारे उकालोमा खोजमूलक सामग्रीहरू प्रकाशन हुँदै आएका छन्। विभिन्न संघसंस्था, सांसद र अधिकारकर्मीहरूले यो जग्गा बाल संगठनको नाममा फिर्ता हुनुपर्ने र जग्गा हिनामिना गर्ने संगठन तथा बृहस्पतिका पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग पनि गर्दै आएका छन्। 

संगठनको जग्गा हिनामिना र त्यहाँ आश्रित बालबालिकाको अवस्थाबारे छानबिन गरी तयार पारिएको प्रतिवेदन पनि सार्वजनिक हुनुपर्ने उनीहरूको माग छ। यसैका आधारमा सीआईबीले गत चैतबाट यो प्रकारणमाथि छानबिन शुरू गरेको हो। तर सीआईबीले छानबिन शुरू गरेपछि बृहस्पतिले बैंकबाट लिएको ऋण रातारात चुक्ता गरेर आफ्नो बदमासी लुकाउने प्रयास गरेको भेटिएको छ। 

बालमन्दिरमा अलपत्र परेको निर्माणाधीन भवन (अगाडि) र पृष्ठभूमिमा बृहस्पति विद्यासदनको भवन।

बृहस्पतिले त्यो बेला लियन राखेर ऋण लिएको बैंक अफ काठमाडौँ र ग्लोबल आइएमईबीच गत वर्ष असार २ गते मर्ज सम्झौता भएको थियो। 

सीआईबीले २०८० चैत २३ गते बाल संगठनलाई बृहस्पति विद्या सदनसँग २०५८ जेठ ८, २०५९ भदौ ११ र २०७२ साउन ३ गते भएका सम्झौताहरूको शर्त बमोजिम के कति मूल्य बराबरको सम्पत्ति अभिवृद्धि गरियो, शर्त बमोजिम दोस्रो पक्षले गर्नुपर्ने बीमा के, कति र कसरी गरियो र सोबापत तिर्नुपर्ने शुल्क दोस्रो पक्षले भुक्तान गरे नगरेको सम्बन्धमा विवरण खुलाई पठाइदिन अनुरोध गरेको थियो। 

त्यसै दिन संगठनले सीइआईबीले पठाएको पत्रको प्रतिलिपीसहित यसबारे बिस्तृत जानकारी दिन बृहस्पतिलाई अनुरोध गरेको थियो। साथै लियन भनेको धितो भएकाले संगठनबाट लिजमा लिएको जग्गा धितोमा राखेर कुन बैंकबाट कति ऋण लिएको हो भन्नेबारे खुलाई पठाउन बृहस्पतिलाई आग्रह गरेको थियो। 

तर बृहस्पतिले कुनै पनि वित्तीय संस्थामा नेपाल बाल संगठनको अचल सम्पत्ति धितो नराखेको दाबी गर्दै संगठनलाई जवाफी पत्र पठाएको थियो। बृहस्पतिले संगठनलाई लियन लिएकोबारे जानकारी नदिएपछि सीइआईबी आफैले हस्तक्षेप थालेको थियो। 

नेपाल बाल संगठनबाट लिजमा लिइएको जग्गा सब-लिजमा लिएर सञ्चालित राय स्कुल।

सीआईबीले चैत २३ गते नै ग्लोबल आइएमई बैंकलाई बृहस्पतिले संगठनको जग्गा लियनमा राखेर कहिले कति ऋण लिएको हो भन्नेबारे स्पष्ट पार्न आग्रह गरेको थियो। तर ग्लोबल आईएमई बैंकले बृहस्पतिको ऋणको स्थितिबारे सीआईबीलाई जानकारी गराउनुको सट्टा सीआईबीको पत्रबारे बृहस्पतिलाई जानकारी दिएको देखिन्छ। त्यसपछि चैत २८ गते बृहस्पतिले ग्लोबल आईएमईलाई संगठनको जग्गा लियनमा राखेर आफूले हालसम्म लिएको ऋण चुक्ता गरिदिनू भनेर पत्र लेखेको पाइएको छ। 

बैंकले पनि बृहस्पतिको अर्को कुनै बैंकमा जम्मा रहेको रकम तानेर उसको ऋण चुक्ता गरेको थियो। त्यसपछि चैत ३० गते मात्रै ग्लोबल आइएमईले आफूकहाँ बृहस्पतिको कुनै पनि ऋण नभएको पत्र सीआईबीलाई पठाएको थियो। त्यसमा शंका लागेपछि सीआईबीले ग्लोबल आइएमईलाई यसबारे ‘स्टेटमेन्ट’ पठाउन भनेको थियो। सीआईबीको निर्देशनपछि ग्लोबल आर्ईएमईले बाध्य भएर स्टेटमेन्ट पठाएको थियो। 

उक्त स्टेटमेन्टबाट बृहस्पतिले लिजमा लिएको संगठनको जग्गा लियनमा राखेर पटक–पटक गरी ४४ करोड रुपैयाँ ऋण लिएको देखिएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए। “हामीले कागजात माग्नासाथ बैंक र बृहस्पतिको मिलोमतोमा संगठनको जग्गा लियनमा राखेर लिएको करौडौँ रुपैयाँ रातारात चुक्ता गर्ने काम भयो,” उनले भने, “यसबाट बृहस्पति आफ्नो बदमासी लुकाउने प्रयासमा जुटेको देखिन्छ। तर अपराध जति लुकाउन खोजे पनि लुक्दैन। दोषी सजायको भागीदार हुनै पर्छ।” 

काठमाडौँको मुख्य केन्द्रमा रहेको जग्गा सस्तो भाडामा लामो समयसम्मका लागि लिजमा हात पारेको बहृस्पतिले त्यो जग्गामध्ये ९ रोपनी विशाल ग्रुपकै अधिकांश लगानी रहेको राय स्कुललाई ‘सबलिज’मा दिएको छ। राय स्कूल भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट मान्यताप्राप्त विद्यालय हो। बृहस्पतिले ९ रोपनी जग्गा र पाँचतले भवन राय स्कुललाई सबलिजमा दिएबापत मासिक एक लाख रुपैयाँ भाडा लिएको देखिन्छ। 

बालमन्दिरको जग्गा लिजमा लिएर बृहस्पति शिक्षाा सदनले बनाएको भवन। उकालो फाइल तस्वीर।

यो बीचमा संगठनको अनुमति नै लिएर लिजमा लिएको जग्गामा अर्को १० तले भवन निर्माणमा बृहस्पति जुटेको थियो। तर स्थानीय वासिन्दा, काठमाडौँ महानगरपालिकाका विभिन्न वडाहरू र बाल संगठन सबै पक्षबाट विरोध भएपछि भवन निर्माणबाट पछि हट्न बृहस्पति बाध्य भएको थियो। 

सीआईबीले छानबिन शुरू गरेपछि बृहस्पतिले बाल संगठनलाई पठाएको पछिल्लो विवरणअनुसार बृहस्पतिले लिजमा लिएको जग्गामा हालसम्म चार वटा पक्की भवनहरू (जम्मा एक लाख चौँतीस हजार वर्गफिट) बनाइएको छ। ती भवनहरूको निर्माण लागत ६८ करोड ८७ लाख ८४ हजार २७५ हजार रुपैयाँ रहेको जानकारी बृहस्पतिले संगठनलाई गराएको छ। 

तर बहृस्पतिले पूर्वसम्झौता अनुसार संगठनका लागि भवन निर्माण गरेको छैन। बृहस्पतिले निर्माण गरेका संरचनाहरूले संगठनको बालगृहमा रहेका टहराहरूमा घाम छोप्ने गरेको छ। टहराहरूमा ठाउँ अभाव हुँदा संगठनको संरक्षणमा रहेका बालबालिको दैनिकी लामो समयदेखि कष्टकर बन्दै आएको छ। 

बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने भन्छिन्, “बृहस्पतिले संगठनको सम्पत्तिमाथि बलमिच्याइँ गरिरहेको छ। एकपछि अर्को बदमासी गरिरहेको छ। सम्झौता खारेज गर्न गरिएको आग्रहलाई पनि सुनेको छैन।”


सम्बन्धित सामग्री