बालमन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्यो, कोही पक्राउ परेनन्

बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’

काठमाडौँ– गत वैशाख २७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट प्रवाहित एउटा सूचनाले राजनीतिक वृत्तदेखि धेरैतिर तरंग ल्यायो। त्यो सूचना थियो– नेपाल बाल संगठनको नक्साल, काठमाडौँस्थित जग्गा हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २० जना व्यक्तिविरुद्ध जारी गरेको पक्राउ पुर्जी।

अनाथ र सहाराविहीन बालबालिकाका निम्ति सरकारले जोहो गरिदिएको जग्गा मिलेमतोमा व्यापारीलाई सुम्पेको ‘बालमन्दिर प्रकरण’को फेहरिस्त उकालोले उजागर गरेको थियो। यो विषय उजागर भएपछि अनुसन्धान शुरू गरेको सीआईबीले यो प्रकरणमा संलग्न बाल संगठनका पूर्वपदाधिकारीदेखि त्यो जग्गाबाट अहिले आर्थिक लाभ लिइरहेको व्यापारिक घराना विशाल ग्रुपका सदस्यसम्मलाई पक्राउ गर्न अनुमति मागेको थियो। त्यसकै आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। 

बाल संगठनको करिब २९ रोपनी जग्गा हिनामिनाको यो प्रकरणमा सीआईबीले २० जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको बिहीबार दुई साता (१४ दिन) पुग्यो। तर २० जनामध्ये एक जना पनि पक्राउ परेका छैनन्। 

अदालतबाट पुर्जी लिएको दुई सातासम्म पनि सीआईबीले कसैलाई किन पक्राउ गरेन त? हामीले बिहीबार सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीलाई यही प्रश्न सोध्यौँ। उनले पक्राउ पुर्जी जारी भएकै दिन नेपाल बाल संगठनका पूर्वअध्यक्ष रीता सिंह बिरामी रहेको जानकारी पाएको, अन्य प्रतिवादीहरू पनि फरार भएकाले पक्राउ गर्न नसकिएको दाबी गरे। साथै फरार भएकाहरूलाई खोजिरहेको बताए। 

“हामीले पक्राउ गर्नकै लागि अदालतबाट अनुमति लिएका हौँ, तर मुख्य प्रतिवादी रीता सिंह बिरामी हुनुहुन्छ। अन्य प्रतिवादीहरू त्यसै दिन फरार भए। उनीहरूको खोजी भइरहेको छ,” बोगटीले भने, “प्रतिवादीहरू फरार भए पनि हाम्रो अनुसन्धान रोकिएको छैन। खोजी भइरहेको छ।”

‘ग्रिन सिग्नल पाइएन’
बालमन्दिरको जग्गा प्रकरण उजागर भएसँगै यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले छुट्टाछुट्टै अनुसन्धान शुरू गरेका थिए। अनुसन्धान जारी रहेकै बेला बाल संगठनको वर्तमान कार्यसमितिले यसअघिका पदाधिकारीहरूको जोडबलमा भएको जग्गा लिज सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै संगठनको वर्तमान कार्यसमितिले जग्गा प्रकरणमा संलग्नहरूमाथि कारबाहीका लागि सीआईबीमा जाहेरी दिएको थियो। 

जाहेरीकै कारण हुनसक्छ, यसबारे अनुसन्धान गरिरहेको सीआईबी पहिले यो प्रकरणमा जोडिएका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउने हतारोमा देखियो। तर त्यस्तो हतारो देखाएको सीआईबीले दुई सातासम्म पनि किन कसैलाई पक्राउ गरेको छैन त? 

पक्राउ पुर्जी जारी भएकामध्ये बाल संगठनको जग्गा हिनामिना प्रकरणमा जोडिएकी संगठनकी पूर्वअध्यक्ष रीता सिंह नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी छोरी र काठमाडौँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता प्रकाशनमान सिंहकी दिदी हुन्। त्यस्तै, देशका प्रभावशालीमध्येको व्यापारिक घराना विशाल ग्रुपका सदस्यहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूको यही प्रभावका कारण सीआईबी पक्राउ गर्न हच्किएको टिप्पणीसमेत हुन थालेको छ। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा आफूमाथि छानबिनको माग गरिरहेको कांग्रेसका नेताहरूलाई तर्साउन हतार–हतार पक्राउ पुर्जी लिन लगाएको, तर पछिल्लो समय भने त्यसलाई अघि बढाउन आलटाल गरेको प्रहरी अधिकृतहरू नै बताउँछन्।

सीआईबीका एक अनुसन्धान अधिकृतले त्यसलाई यसरी प्रस्ट्याए, “रवि लामिछाने गृहमन्त्री बन्नु भन्दा पहिले नै सीआईबीले यो विषयमा अनुसन्धान शुरू गरेको थियो। गृहमन्त्री भएपछि उहाँले बालमन्दिर प्रकरणमा संलग्नहरूलाई पक्राउ गर्न तारनतार निर्देशन दिनुभयो। त्यही भएर पक्राउ पुर्जी पनि लियौँ। तर पुर्जी जारी भएपछि उहाँले पक्राउ गर्नलाई ग्रिन सिग्नल दिनुभएको छैन। यसको कारण हामीले पनि बुझ्न सकेनौँ।”

संसद्मा प्रमुख प्रतिपक्ष कांग्रेस र गृहमन्त्री लामिछानेबीच टकराब बढिरहेको छ। सँगै गृहमन्त्रीले कांग्रेससँगको सम्बन्ध सुधारमा पनि भित्रभित्रै पहल गरिरहेको भित्रियाहरू बताउँछन्। त्यसकै असर बालमन्दिर प्रकरणमा परेको हुनसक्छ। 

नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपाने पक्राउ पुर्जी जारी भइसक्दा पनि सीआईबीले जग्गा हिनामिना प्रकरणसँग जोडिएका व्यक्तिहरूलाई पक्राउ नगर्दा अनेक आशंका जन्मिएको बताउँछिन्। “बाल संगठनको सम्पत्ति गैरकानूनी रूपमा कब्जा गरिएको छ। यो प्रकरणसँग जोडिएका व्यक्तिहरूलाई पक्राउ पुर्जी जारी भएर पनि प्रहरीले पक्राउ नगर्दा हामीलाई आशंका हुन थालेको छ,” उनले भनिन्, “कतै गल्ती गर्नेलाई बचाउन खोजिएको त होइन?” 

जोविरुद्ध जारी गरिएको छ पक्राउ पुर्जी
सीआईबीले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, विभिन्न कालखण्डमा संगठनका महासचिव रहेका श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेललाई पक्राउ गर्न गत वैशाख २७ गते नै काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको थियो।   

त्यस्तै, बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

प्रहरीले बृहस्पतिका सञ्चालकहरू प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई समेत पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ। 

सिंह अध्यक्ष रहेका बेला बाल संगठनका तत्कालीन पदाधिकारीले नक्सालस्थित अनाथ तथा सहाराविहीन बालबालिकाका लागि जोहो गरिएको बालमन्दिर परिसरको २८ रोपनी ५ आना १ पैसा जग्गा निकै सस्तो भाडादरमा लामो समयका लागि लिजमा दिने निर्णय गरेका थिए। त्यो जग्गामा अहिले व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेका बृहस्पति स्कुल र राय स्कुल सञ्चालन भइरहेका छन्।

बाल संगठनसँग जग्गा लिज सम्झौता भने बृहस्पति स्कुलले गरेको थियो। त्यो जग्गामध्ये ९ रोपनी जग्गा उसले नै राय स्कुललाई सबलिजमा दिएको थियो। गत वैशाख १४ गते जग्गा लिज सम्झौता नै गैरकानूनी रहेको ठहरसहित बाल संगठनले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। 

२०४७ सालमा रीता सिंह वैद्य बाल संगठनको अध्यक्ष बनेपछि नै जग्गा लिजमा दिने चलखेल शुरू भएको थियो। उनी २०७७ सालसम्म बाल संगठनमा निरन्तर अध्यक्ष रहेकी थिइन्। 

बाल संगठन र बृहस्पति स्कुलबीच २०४९ माघ २७ गते पहिलोपटक ९ रोपनी जग्गा लिजसम्बन्धी सम्झौता हुँदा संगठनका तर्फबाट महासचिव श्यामकुमार आलेले हस्ताक्षर गरेका थिए। त्यस्तै, संगठनका तर्फबाट अञ्जु, बस्नेत, राजेन्द्रमान जोशी, प्रमोद पौडेल साक्षी बसेका थिए। सम्झौतामा बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले हस्ताक्षर गरेका छन् भने पुरुषोत्तमराज जोशी, मधुर शर्मा र मुरारी तिवारी साक्षी बसेका छन्। 

२०५३ सालको जग्गा लिज सम्झौतामा संगठनका तर्फबाट महासचिव प्रचण्डराज प्रधानले हस्ताक्षर गरेका छन् भने साक्षीको नाम स्पष्ट छैन। बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले नै हस्ताक्षर गरेका छन्। पुरुषोत्तमलाल जोशी साक्षी बसेको देखिन्छ। अहिले चिरञ्जीवी तिवारीको निधन भइसकेको छ।

२०५८ जेठ २ गतेको जग्गा लिज सम्झौतामा बाल संगठनका तर्फबाट महासचिव गणेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्, योगेन्द्रबहादुर शाही साक्षी बसेका छन्। सम्झौतामा बृहस्पतिका तर्फबाट पुरुषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन् भने साक्षीहरूको नाम स्पष्ट छैन। 

२०५९ भदौ ११ गते १३ रोपनी १२ आना १ पैसा जग्गाका लागि भएको लिज सम्झौतामा बाल संगठनका तर्फबाट महासचिव रामकाजी कोनेले हस्ताक्षर गरेका छन्। बाल संगठनका केन्द्रीय कार्यसमिति सदस्य मनोहरगोपाल श्रेष्ठ, शाखा प्रमुख टीकामणि न्यौपाने साक्षी बसेका छन्। बृहस्पतिका तर्फबाट भने पुरुषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन्, साक्षीहरूमा प्रिन्सिपल आनन्द गुरुङ, प्रमुख प्रशासक मुरारिनिधि तिवारी र शैक्षिक संयोजक रोहितरत्न प्रधान छन्। 

२०७२ जेठ २१ गते बाल संगठन र बृहस्पतिबीच मिलापत्र गर्ने सम्बन्धमा भएको समझदारी–पत्रमा संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले नै हस्ताक्षर गरेकी छन्। त्यो सम्झौतामा संगठनका तर्फबाट कोही पनि साक्षी बसेका छैनन्। समझदारी–पत्रमा बृहस्पतिका तर्फबाट पुरुषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन्। त्यसबेला बृहस्पतिका तर्फबाट पनि कोही साक्षी बसेका छैनन्। 

सोही समझदारी–पत्रका आधारमा २०७२ साउन ३ गते भएको संशोधनसहितको पूरक सम्झौतामा बाल संगठनका तर्फबाट रीता सिंहले नै हस्ताक्षर गरेकी छन्। सम्झौतामा संगठनका तर्फबाट उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव सुवासकुमार पोखरेल, कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, सदस्य एवं स्रोत व्यवस्थापन तथा परिचालन उपसमितिका संयोजक कृष्णशंकर साह साक्षी बसेका छन्। 

सम्झौतामा बृहस्पतिका तर्फबाट पुरुषोत्तमलाल जोशीले हस्ताक्षर गरेका छन् भने बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, प्रिन्सिपल सुमन थिङ लामा, परीक्षा संयोजक रोहितरत्न प्रधान, लेखा अधिकृत उत्तमराज विष्ट र प्रशासनतर्फका अधिकृत विनोदप्रसाद बडाल साक्षी बसेका छन्। 

सोही सम्झौताबाट बृहस्पतिले संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा २१३२ सालसम्मका लागि भोगचलन गर्ने अधिकार पाएको थियो।

बालमन्दिर प्रकरण : सम्बन्धित समाचार
बालमन्दिर प्रकरण: रीता सिंहदेखि सिद्धार्थ केडियासम्मलाई पक्राउ पुर्जी, कसको के भूमिका?
बालमन्दिर जग्गा हिनामिना प्रकरणः बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी
‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा..

सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता
बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा
२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका
बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग
बाल संगठनको घरजग्गामा आँखा : नमूना नगर भक्तपुरमा बालगृहलाई नै ‘बारबन्देज’
बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’
बाल संगठनबाटै बालक 'बेपत्ता' प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा
बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज
बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार
बाल संगठनको जग्गा हडप्न गरिएको सम्झौतालाई सरकारकै टेको!
बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार– बृहस्पतिलाई जग्गा दिने सम्झौता खारेज गरिदेऊ
बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन
बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए
‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ