Thursday, April 25, 2024

-->

बालमन्दिर बेथिति
बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा

सहाराविहीन बालबालिकाका निम्ति खुलेको बाल संगठनको सम्पत्तिमा रजगज गरेका पदाधिकारी र कर्मचारीले त्यहाँ आश्रित अनाथ बालबालिकाको जीवनसितै कसरी खेलबाड गरे भन्ने ज्युँदोजाग्दो उदाहरण हुन्, प्रकाश महर्जन।

बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा

काठमाडौँ– २०५५ वैशाख २ गते, वडा प्रहरी कार्यालय कालीमाटीबाट गस्तीमा खटिएको टोलीले अन्दाजी तीन–चार वर्षका एक बालकलाई सडकमा अलपत्र अवस्थामा फेला पारेको थियो। त्यसबेला उनी आफ्नो नाम (प्रकाश)बाहेक अरू केही बताउन सक्दैनथे। सडकमा रोइरहेका बेला प्रहरीले उनलाई भेट्टाउँदा उनीसँग उस्तै उमेरका अर्का एक बालक पनि थिए। उनले पनि आफ्नोबारे केही बताउन सकेनन्।

प्रहरीले उनीहरू दुवैलाई कार्यालयमा ल्यायो। एक महिनासम्म खोज्न कोही आएनन्। त्यसपछि प्रहरीले दुवैलाई नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन)को रविभवनस्थित बालगृहमा पुर्‍यायो। त्यसबेला वडा प्रहरी कार्यालयले सिविनलाई लेखेको पत्रमा उल्लेख छ, “निजहरूको अभिभावक कोही पनि नभएको भन्ने बुझिन आएअनुसार निजहरूलाई सिविनमा पठाइएको छ।”

वडा प्रहरी कार्यालय कालीमाटीले सिविनलाई पठाइको पत्र।

सिविनले उनीहरूको ठेगाना र अभिभावक पत्ता लगाउन थप खोजीनिती गर्‍यो। तर, केही पत्ता नलागेपछि दुवै बालकलाई दीर्घकालीन संरक्षणका लागि भन्दै नेपाल बाल संगठनले नक्सालस्थित केन्द्रीय बालमन्दिरमा सञ्चालन गरिरहेको बालगृहमा बुझाउने निर्णय गर्‍यो। हामीलाई प्राप्त सिविनले बालमन्दिरलाई २०५५ असोज २६ गते लेखेको पत्रमा भनिएको छ, “पूर्वसमझदारीअनुसार उक्त बालकहरूलाई बालगृहमा नै स्थानान्तरण गरेका छौँ।”

पत्रमा सिविनले बालमन्दिरमा स्थानान्तरण गर्दा दुवै बालकको हक र अधिकार सुरक्षित हुनेसमेत उल्लेख गरेको छ।

सिविनको यस्तो अपेक्षा स्वाभाविक किन थियो भने त्यसबेला यो देशकै ठूलो बालगृह थियो। बाल संगठनको केन्द्रीय कार्यालय भएकै ठाउँमा बालगृह सञ्चालनमा रहेकाले दाताहरू सहयोग गर्न प्रस्ताव लिएर आउँथे। “हामीलाई आशा छ, त्यस संस्थामार्फत यी बालकहरूले उचित शिक्षा पाएर भविष्य बनाउने छन्। उनीहरूका सम्बन्धमा समय–समयमा आवश्यक जानकारी आदानप्रदान भइरहने अपेक्षा पनि राखेका छौँ”, सिविनका बालगृह प्रमुख कृष्ण श्रेष्ठले नक्सालस्थित नेपाल बाल संगठनको बालमन्दिरलाई लेखेको पत्रमा उल्लेख छ।

सिविनले नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिरलाई लेखेको पत्र।

कागजात केलाउँदा नक्सालस्थित बालगृहले प्रकाश र उनीसँगै आएका अर्का बालकलाई २०५५ असोज २८ गते पालनपोषण गर्ने र शिक्षादीक्षा दिने जिम्मेवारी लिएको देखिन्छ। त्यसपछि प्रकाश र बेवारिस अवस्थामा फेला परेका अरू ७ जना बालकको तस्वीरसहित आमा, बुवा वा हक लाग्नेले २१ दिनभित्र आफूलाई सम्पर्क राख्न भन्दै बाल संगठनले २०५५ कात्तिक १४ गते पत्रिकामा सूचना जारी गर्‍यो। तर, बाल संगठनले तोकेको समयभित्र उनीहरूमाथि हक लाग्ने भनेर कोही पनि सम्पर्कमा आएनन्। अनि बाल संगठनले प्रकाशसहित बाँकी ७ बालकलाई पनि बालगृहमा भर्ना गर्ने निर्णय गर्‍यो।

हकदाबी गर्न आउनका लागि जारी गरिएको सूचना

बाल संगठन टुहुरा, अनाथ र संरक्षकविहीन शिशुदेखि बालबालिकाको लालनपालनसँगै शिक्षादीक्षाका लागि भनेर स्थापित परोपकारी संस्था हो। त्यहीकारण यो संस्थालाई सहयोग गर्न विदेशबाट मनकारी दाताहरू पनि आइरहन्थे। सहाराविहीन बालबालिकको आश्रयका लागि संगठनले काठमाडौँलगायत विभिन्न जिल्लामा बालगृह र विद्यालय (बालमन्दिर) सञ्चालन गर्दै आएको छ। बाल संगठनले त्यस्ता बालबालिकाको हकहित, स्वास्थ्य तथा पौष्टिक आहारका कार्यक्रम पनि चलाउँछ।

सहाराविहीन बालबालिका संगठनको बालगृह र बालमन्दिरमा प्रवेश गरेसँगै कहालीलाग्दा विगत भुल्न थाल्छन्। बिस्तारै सुन्दर भविष्यको सपना देख्न शुरू गर्छन्। नक्सालको बालगृहमा पुगेपछि प्रकाशले पनि सम्भवतः त्यस्तै सपना देख्नथालेका थिए।

प्रकाशले देखेको त्यो सपना
नक्सालस्थित बालगृहमा भर्ना भएको ६ महिनापछि प्रकाश स्कुल जान थाले। बालगृहले २०५६ मा आफ्नै स्कुल (द बालमन्दिर किन्डरगार्डेन) मा उनलाई ‘एलकेजी’मा भर्ना गरिदियो। त्यतिबेला उनको नामको पछाडि थर ‘महर्जन’ पनि बालमन्दिरले नै राखिदियो। २०५७ चैत ३० गते ‘द बालमन्दिर किन्डरगार्डेन’द्वारा जारी प्रकाशको मार्कसिटले त्यही देखाउँछ।

प्रकाशको एलकेजीको मार्कसिट।

स्कुल भर्ना गरिए पनि प्रकाशको जन्मदर्ता भने धेरै पछि मात्र गराइएको रहेछ। काठमाडौँ महानगरपालिकामा २०६७ वैशाख १६ गते दर्ता भएको जन्मदर्ता प्रमाण–पत्रमा प्रकाशको जन्ममिति २०५१ असार १५ गते उल्लेख छ।

प्रकाशको जन्मदर्ता।

बालगृहमा आश्रय पाएर बालमन्दिरमा पढ्न थालेपछि प्रकाशले जेहेन्दार र मिहिनेती विद्यार्थीको परिचय बनाएका थिए। त्यसबेला बालगृहमा कार्यरत एक कर्मचारीका अनुसार उनी मिलनसार थिए। बानी बेहोरा असल थियो। खास घर कहाँ थियो भन्ने त उनलाई थाहै थिएन, बालगृहलाई नै आफ्नो घर ठानेका थिए। “मेरो आमा–बुवा हुनुहुन्छ या हुनुहुन्न भन्ने त आज पनि थाहा छैन। सिविन भन्ने संस्थाले मलाई बालमन्दिरको जिम्मा लगाएको रहेछ भन्ने मैले धेरै पछि थाहा पाएँ,” अहिले २८ वर्ष पुगेका प्रकाशले केही दिनअघि हामीसँग भने, “मैले चिनेको, मैले थाहा पाएको बालमन्दिर थियो। त्यही मेरो घर थियो।”

बालमन्दिरमा पढ्न थालेपछि उनको जीवनमा खुशी भित्रिएको थियो। मिल्ने साथीहरू थिए। उनीहरूसँग खेल्थे, सुखदुःख साट्थे। “आमाहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले धेरै माया गर्नुहुन्थ्यो,” बालगृहमा बिताएका क्षण सम्झेर प्रकाशका आँखा टिलपिलाए।

प्रकाश महर्जन। तस्वीर: गोविन्द खत्री/उकालो

समय बित्दै गयो। प्रकाश केही बुझ्ने हुँदै गए। के देखेर हो या कसलाई देखेर भन्ने त थाहा छैन, उनले इन्जिनियर बन्ने सपना देख्न थालेका थिए। “इन्जिनियर बन्छु भनेर साथीहरू, गुरुआमा, बालमन्दिरका आमाहरूलाई सुनाउँथेँ। उहाँहरूले यसैगरी पढ्यौ भने इन्जिनियर बन्छौ भनेर हौसला दिनुहुन्थ्यो,” प्रकाशले सुनाए। 

तर, यस्तो खुशी र उत्साह धेरै समय टिकेन। उनको सहारा खोसियो। पढाइ छुट्यो। र, त्यसपछि जीवन अन्धकारतर्फ मोडियो।

आफ्नै संरक्षकबाट उजाडिएका प्रकाश
२०६५ सालमा प्रकाशले ‘रिलायन्स रेसिडेन्सल हाइएर सेकेन्डरी स्कुल’ बाट ७ कक्षा उत्तीर्ण गरे। त्यसबेला यो स्कुल बाल संगठनले नै चलाउँथ्यो। ७ कक्षामा उनी तेस्रो भएका थिए। स्कुलको त्यसबेलाको रिपोर्टमा उनले अध्ययनमा प्रगति गर्दै गएको देखिन्छ।

रिलायन्स रेसिडेन्सल हाइएर सेकेन्डरी स्कुलबाट प्राप्त प्रकाशको ७ कक्षाको मार्कसिट।

७ कक्षा उत्तीर्ण गरेपछि कक्षा ८ मा भर्ना हुने हतारो जोकोहीलाई हुन्छ। प्रकाश पनि व्यग्रसाथ त्यो दिनको पर्खाइमा थिए। “अब जिल्लास्तरीय परीक्षा दिन पाइने भयो भन्दै खुशी भएको थिएँ। चाँडै ८ कक्षामा भर्ना हुन चाहन्थेँ। तयारीका लागि साथीहरूसँग किताब मागेर पढ्नसमेत थालेको थिएँ,” बोल्दाबोल्दै प्रकाश भक्कानिए, “तर त्यसपछि बाल संगठनले मलाई बास नै नदिने भयो।”

८ कक्षामा भर्ना हुने सपना बुनिरहेका बेला त्यहाँ बाल संगठनका पदाधिकारी र हर्ताकर्ताहरूले उनलाई अचानक बालगृहबाट बाहिर पठाउने तयारी गरेको चर्चा चल्न थालेको थियो। यस्तो चर्चा सुनेपछि उनको मनमा चिसो पस्यो। केही दिनमा त्यो चर्चा सत्य साबित भयो। बाल संगठनका तत्कालीन उपनिर्देशक बालकृष्ण डंगोलले बोलाएर भने, ‘प्रकाश, अब तिमी एडप्सनमा जानुपर्छ। तयार हुनू।’

डंगोल त्यतिबेला बालबालिकाको विकास हेर्ने जिम्मेवारी सम्हालेका बाल संगठनका उपनिर्देशक थिए। संगठनमा लेखा र प्रशासन हेर्ने अर्का उपनिर्देशक थिए। तर, डंगोल नै यसमा अग्रसर भएका थिए। उनको निर्देशनपछि आफू छाँगाबाट खसे झैँ भएको प्रकाश बताउँछन्।

यो पनि : बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए

बालगृह छाडेर जाने उनको इच्छा थिएन। त्यहीकारण उनले डंगोल र उनीभन्दा माथि रहेका निर्देशक राजेश्वर निरौलालाई पटक–पटक भेटेर अनुरोध गरे। “मैले डंगोल सर, निरौला सर, शाह सर (बाल संगठनका तत्कालीन महासचिव कृष्णशंकर शाह) र रीता म्याम (बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह)लाई समेत भेटेर कुरा गरेँ, म बालमन्दिरमै बसेर पढ्न चाहन्छु भनेँ। तर, उहाँहरूले सुनेको नसुन्यै गर्नुभो,” प्रकाशले सुनाए।

अनेक यत्न गर्दा पनि केही लागेन। उनलाई बालगृहले त्यहाँबाट निकाल्ने नै भयो। उपाय केही नदेखेपछि र डंगोलले पनि ‘एडप्सनमा गए पढ्न पाइने, भविष्य राम्रो हुने’ भनेर ‘कन्भिन्स’ गरेपछि प्रकाश बालगृहबाट निस्कन तयार भए।

नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिरमा रहेका बालबालिका। तस्वीर : उकालो

आफूमाथि बाल संगठनका पदाधिकारी र हाकिमहरूले गरिरहेको षड्यन्त्रबारे प्रकाश पूरै बेखबर थिए। किनभने, बाल संगठनका पदाधिकारी र उच्चपदस्थ कर्मचारीले उनलाई धर्मपुत्रका रूपमा नभएर कसैको घरमा कामदारका रूपमा पठाउने तयारी गरेका थिए।

त्यसबेला प्रकाश १५ वर्षका थिए। १५ वर्षका बालबालिकालाई श्रममा लगाउन मिल्दैन। नेपाल पक्षराष्ट्र रहेका बालबालिकासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिले त यसलाई बन्देज गरेकै छन्, बाल संगठनकै गृह व्यवस्थापन नियमावली २०५६ ले पनि यसमा बन्देज लगाएको छ।

नियमावलीले संरक्षक भएको प्रमाणसहित कोही लिन आएमा बालगृहका बालबालिकालाई उनीहरूको जिम्मा लगाएर बिदाइ गर्न सकिने व्यवस्था गरेको छ। तर, प्रकाशलाई त्यसरी दाबी गरेर लिन कोही संरक्षक वा आफन्त आएका थिएनन्। नियमावलीअनुसार बालगृहमा आश्रय लिइरहेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा बिदाइ गर्न सकिन्छ। तर, प्रकाशलाई धर्मपुत्र बनाएर बालगृहबाट पठाइएको पनि होइन।

यो पनि : बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

नियमावलीले कोही पनि जिम्मा लिन नआएको अवस्थामा १० कक्षा उत्तीर्ण गरेपछि कुनै प्राविधिक कक्षा वा व्यावसायिक तालिममा भर्ना गर्ने अथवा कुनै रोजगारीको अवसर दिलाएर संरक्षकको जिम्मामा पुनर्स्थापना केन्द्रहरूमा पठाउन सक्ने व्यवस्था गरेको छ।

प्रकाशले भर्खर ७ कक्षा उत्तीर्ण गरेका थिए। १६ वर्ष पुगिसकेका हुन्थे भने नियमावलीअनुसार उनी आफ्नो इच्छामा बालगृहबाट बाहिर निस्कन पनि पाउँथे। तर, उनी जम्मा १५ वर्षका थिए। त्यसमाथि उनी बालगृहमै बस्न चाहन्थे।

बाल संगठनको नियमावलीमा बालगृहका बालबालिकालाई बिदाइ गर्न सकिने अर्को सर्त पनि छ। १४ वर्ष उमेर पूरा भइसकेको बालक अत्यन्तै खराब लतमा लागेमा, खराब आचरण भएमा वा त्यस्तो बालकलाई बालगृहमा राख्दा अरू बिग्रने तथा सम्पूर्ण गृहकै वातावरण नराम्रो हुने भएमा सुधारगृह, उपचार केन्द्रहरूमा वा संरक्षकहरू भए उनैलाई जिम्मा लगाएर पठाउने व्यवस्था नियमावलीमा छ।

धर्मपुत्र/धर्मपुत्रीसम्बन्धी नेपाल बाल संगठनको गृह व्यवस्थापन नियमावलीमा रहेको प्रावधान।

प्रकाशको खराब लत वा आचरण कतैबाट पुष्टि हुन्न। हामीले त्यसबेला बालगृहमा कार्यरत आमालगायत कर्मचारीहरू, प्रकाशसँगै पढेका साथीहरूलाई भेट्यौँ। उनीहरूले प्रकाशको खराब लत वा आचरण नभएको बताए। “म उनको हेरविचार गर्थें। उनी असल थिए। हामीले भनेको मान्थे, साथीभाइसँग कहिल्यै झगडा गरेको पनि थाहा पाइएन,” त्यसबेला बालगृहमा कार्यरत एक कर्मचारीले भनिन्।

बाल संगठनकै स्वयंसेवकबाट घरेलु बालश्रमिक
ललितपुर उपमहानगरपालिका वडा नम्बर ३, धोबीघाटमा छ शशि रजकको घर। त्यसबेला बाल संगठनभित्र उनी हर्ताकर्ताजस्तै थिइन्। आफूलाई बाल संगठन र बालगृहको स्वयंसेवक भनेर चिनाउँथिन्। उनले आफूलाई बाल संगठनको कार्यसमितिमा सदस्य बनाउन तत्कालीन नेतृत्व मात्र होइन, वर्तमान नेतृत्वलाई समेत दबाब दिएको खुलेको छ।

सिंहदरबारदेखि राष्ट्रपति कार्यालयसम्म आफ्नो पहुँच रहेको भन्दै उनले बाल संगठनको सदस्य हुने प्रयत्न गरेको तर, त्यसमा सफल नभएको त्यसबेलादेखि संगठनमा कार्यरत एक कर्मचारीले बताए। “बालबालिकाको सेवा गर्न मन पराउने मान्छु हुँ भन्नुहुन्थ्यो, बालगृहमा सहयोग आउँछ भन्दै नयाँ–नयाँ मान्छे ल्याउनुहुन्थ्यो, तर सहयोग भने कहिल्यै, केही आएन,” ती कर्मचारीले भने।

*तर रजकले आफूले स्वयंसेवकको रूपमा सरकार र निजी क्षेत्रबाट बजेट तथा सहयोग जुटाउन मध्यस्थता गरेको र त्यसको आधारमा बाल संगठनलाई सहयोग आएको दाबी गरिन्।

यो पनि : ‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’

बालमन्दिरको सम्पत्ति हिनामिनालगायत बाल संगठनको तत्कालीन नेतृत्वबाट भएका बेथितिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका सदस्यहरूले पनि रजकका गतिविधि शंकास्पद रहेको निष्कर्ष निकालेका थिए।

“आयोग बनेपछि सबभन्दा पहिले उहाँ नै (शशि रजक) सम्पर्कमा आउनुभो। मसँग बालमन्दिरबारे सूचना छ, तपाईंहरूलाई सहयोग गर्छु भन्नुहुन्थ्यो। तर, उहाँसँग केही सूचना हुँदैन्थ्यो। पछि त हामीलाई किन यसरी पिछा परेको होला भनेर शंका लाग्यो। अनि हामीले रेस्पोन्स गर्नै छाडिदियौँ,” आयोगका एक सदस्यले भने।  

तिनै रजकले बाल संगठनका तत्कालीन निर्देशक राजेश्वर निरौला, उपनिर्देशक बालकृष्ण डंगोल र कार्यसमितिका पदाधिकारीहरूसँगको मिलेमतोमा नाबालक प्रकाशलाई आफ्नो घरमा *लगेको देखिन्छ।

बाल संगठनको नक्सालस्थित बाल मन्दिरमा रहेका बालबालिका। तस्वीर : उकालो

रजकको धेरै निकटता डंगोलसँगै थियो। यसको पुष्टि डंगोलले नै गरे। “शशि म्यामले संगठनलाई सहयोग गरिरहनु हुन्थ्यो। उहाँसँग मिलेर हामीले धेरै काम गरेका छौँ। उहाँ निकै दयालु र सम्मानित मान्छे हो। त्यही भएर हामीले प्रकाशको लालनपालनको जिम्मा लगाएको हो। म्यामले प्रकाशलाई पढाउने कुरा गर्नु भएको थियो,” डंगोलले भने। 

यति भनेपछि डंगोललाई हामीले प्रकाशको जन्मदर्ता प्रमाण–पत्र देखायौँ। उनी त्यो बेला १५ वर्षका मात्र थिए भन्ने कागजात नै देखाएपछि डंगोलले तत्कालै बोली फेरे। “संगठनले बेवारिस बच्चाहरूलाई बालगृहमा राख्दै आएको छ। उनीहरू कहिले जन्मिएका थिए भन्ने यकिन हुन्न। उनीहरूको व्यवहार हेरेर हामीले उमेर थाहा पाउने हो। प्रकाश कागजमा लेखिएको भन्दा धेरै उमेरका थिए। त्यसैले शशि म्यामसँग उनलाई पठाइएको हो,” उनले तर्क गरे।

बाल संगठनले नै बनाएको जन्मदर्ता प्रमाण–पत्रलाई चाहिँ आधार मान्नु पर्दैन त? डंगोलले फेरि अर्को तर्क गरे, “प्रकाश बदमास थिए। साथीहरूलाई बाधा पुर्‍याउँथे, बालगृहमा बसेर पढ्न पनि चाहँदैन्थे। त्यही भएर उनलाई शशि म्यामको जिम्मा लगायौँ।” डंगोलले यस्तो तर्क गरे पनि त्यसबेला बाल संगठनमा कार्यरत कर्मचारी र प्रकाशका साथीहरू उनको भनाइ पूर्णतः गलत रहेको बताउँछन्।

शशि रजकले प्रकाशलाई २०६६ कात्तिक १३ गते बालगृहबाट जिम्मा लिएको कागजातले देखाउँछन्।

प्रकाशलाई शशि रजकले जिम्मा लिँदा बालमन्दिरमा राखिएको अभिलेख 

तर, रजकले ‘आफूसँग लिएको’ देखाउनेबाहेक यससम्बन्धी कुनै पनि कागजात बाल संगठनसँग छैनन्। रजकले संरक्षक बनेर प्रकाशलाई लिएको भए वा धर्मपुत्र बनाएर उनलाई जिम्मा लिएको भए त्यससम्बन्धी कागजात बाल संगठन र बालगृहमा हुनुपर्ने हो। डंगोलले भने सबै कागजात बनाएको, रजकको घरमै पुगेर पटक–पटक अनुगमन गरेको अनि मात्र प्रकाशलाई जिम्मा लगाएको दाबी गरे।

अर्को, संगठनको नियमावलीअनुसार कुनै बालबालिकालाई संरक्षकको जिम्मा लगाएर बालगृहबाट बिदाइ गर्नुपर्ने भएमा संरक्षकको व्यक्तिगत विवरण संगठनमा पेस गर्नुपर्छ। संरक्षकले ती बालबालिकाप्रति निर्वाह गर्ने दायित्वबारे स्पष्ट खुलाएर निवेदन दिनुपर्छ। अनि त्यसलाई संगठनले स्वीकार गरेको हुनुपर्छ। बाल संगठनसँग यी कुनै कागजात छैनन्। 

आफूलाई झुक्क्याएर रजकको घरमा पुर्‍याइएको भेउ प्रकाशले त्यहाँ पुगेपछि मात्र पाएका थिए। “मलाई उहाँको घरमा गएको पहिलो दिन नै घरेलु काममा लगाइयो,” प्रकाश भन्छन्।

त्यसपछि दिनहुँ उनले गर्ने काम थपिँदै गयो। पढ्न पाइएला भन्ने आसमा उनले चुपचाप त्यसलाई सहिरहे। तर, समय बित्दै गए पनि प्रकाशले आफूलाई स्कुल भर्ना गर्ने कुनै संकेत पाएनन्। “मलाई शशि म्यामले घरमा लग्नसाथ कुचो लगाउने, भुईं–झ्याल पुछ्ने जस्ता काममा लगाउनुभयो। स्कुल कहिले भर्ना गरिदिनुहुन्छ भनेर सोध्दा पहिले राम्ररी काम गर, स्कुल त भर्ना गरिहाल्छु नि भन्नुहुन्थ्यो,” प्रकाश भन्छन्, “उहाँको व्यवहार अपमानजनक हुँदै गयो। मलाई अनाथ भनेर हेप्नुहुन्थ्यो।”

स्कुल भर्ना हुने आसैआसमा प्रकाशले रजकको घरमा तीन महिना* बिताए। तर, कुनै आशा नदेखेपछि उनले त्यो घरबाट भाग्ने निधो गरे।

*रजकले भने प्रकाशलाई अलग्गै कोठा दिएर राखेको र त्यसको सरसफाई गर्न आग्रह गरिएको दाबी गर्दै भनिन्, "प्रकाश मसँग जम्मा २ हप्ता बसेको हो र उसलाई नयाँ स्कुल भर्ना गर्ने क्रममा नै ऊ भागेर गएको हो।"

तर, भागेर कहाँ जाने? उत्तर थिएन। बालगृहले आफूलाई जबरजस्ती बाहिर पठाएको उनले बिर्सन सक्ने घटना थिएन। तर, बालगृहबाहेक जाने ठाउँ पनि त थिएन। त्यसैले उनी फेरि बालगृहमै हारगुहार गर्न पुगे।

नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिरको भवन। तस्वीर : नेपाली टाइम्स

त्यहाँ पुगेपछि आश्रय मिल्ने उनको आशा थियो। आफूले रजकको घरमा भोगेको पीडाबारे उनले डंगोललाई नालीबेली सुनाए। तर, डंगोलले उनलाई उल्टै हकारे। ‘हामीले जिम्मा लगाएर पठाएको घरमा किन नबसेको? किन भागेर आएको?’ भनेर डंगोलले आफूलाई थर्काएको सम्झँदै प्रकाशले भने, “त्यहाँ बसेर पढ्न नपाइने भएपछि भागेर आएँ भनेको थिएँ। तर, सर (डंगोल) ले भागेर आउनु तिम्रै गल्ती हो भन्नुभो, उल्टै गाली गर्नुभो।”

अनि शुरू भो अँध्यारो नै अँध्यारो
रजकको घरबाट भागेर प्रकाश फेरि बालगृह आइपुग्नुलाई डंगोलले आफ्नो आत्मसम्मानमै ठेस पुर्‍याएको रूपमा लिए। त्यहीकारण उनले प्रकाशलाई बालगृहमा बस्न दिएनन्। “तिमी अब बालगृहमा बस्न पाउँदैनौँ, बाहिरै साथीहरूसँग बस भन्नुभो,” प्रकाश भन्छन्, “म बालगृहमै बसेर रोकिएको पढाइ अगाडि बढाउन चाहन्थेँ। तर, उहाँले दिनु भएन। राम र लक्ष्मण नामका दुई व्यक्तिसँग मलाई बालकुमारी पठाउनुभो। म उहाँहरूलाई चिन्दिनथेँ।”

राम र लक्ष्मण बालमन्दिरकै सिफलस्थित बालगृहबाट उमेर पुगेर बिदाइ भएका थिए। उनीहरू बालकुमारीमा उज्यालो पनि नछिर्ने एउटा अँध्यारो कोठा बहालमा लिएर बस्थे। दुवै जना केही कामको खोजीमा थिए। उनीहरूकै कोठामा कोचिएर बस्न थालेपछि प्रकाशलाई आफ्नो जीवन नै अन्धकारतर्फ मोडिएको लाग्न थाल्यो। झन् धेरै उकुसमुकुस भयो। तर, डंगोलले यसमा पनि अर्कै जिकिर गरे, “पढ्न नचाहेर ऊ शशि रजकको घरबाट भागेको हो। बालगृहमा आइसकेपछि साथीहरूसँग बाहिर बस्छु भन्यो, अनि हामीले साथीहरूसँग पठाइदिएको हो।”

नेपाल बाल संगठनका पूर्वनिर्देशक बालकृष्ण डंगोल। तस्वीर : किसन पाण्डे/उकालो

बाहिर बस्दा बाल संगठनले प्रकाशलाई एक वर्ष मासिक तीन हजार रुपैयाँ दिएको थियो। तर, त्यसले के गर्न पो पुग्थ्यो र! बाल संगठनको नियमानुसार १६ वर्ष पुगेर वा प्रवेशिका उत्तीर्ण गरेर बिदाइ भएको भए उनले तालिम खर्च भनेर १० हजार रुपैयाँ पाउने थिए। तर, उनी त्यसबाट पनि वञ्चित भए।

यो पनि : लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन

प्रकाशसँग कोठामा बस्ने दुई युवा (राम र लक्ष्मण) दिनभर कामको खोजीमा भौँतारिन्थे। गुजाराका निम्ति प्रकाशले पनि त्यही बाटो समात्नुपर्ने भयो। बाँच्नलाई मान्छे के पो गर्दैन। प्रकाशले होटलमा भाँडा माझे। अरू कैयौँ श्रम गरे। यो सब गर्दा उनको पढाइ धेरै पर छुटिसकेको थियो।

“बालमन्दिरले निकालेपछि र फेरि आश्रय नदिएपछि पनि म पढ्न चाहिरहेको थिएँ। तर, पढ्नलाई पैसा भएन,” प्रकाशले सुनाए, “न पैसा, न गाइड गर्ने कोही अभिभावक। पढेर इन्जिनियर बन्छु भन्ने सपना देखेको थिएँ, त्यो सपना नै रह्यो।”

नागरिक हुन्, अनागरिक बनाइए
पढाइ छुटे पनि केही काम गरेर जीवन चलाउने आशा छँदैथियो। प्रकाशले होटलमा भाँडा माझ्दामाझ्दै ‘कुकिङ’ सिकेका थिए। ‘कुक’ बनेर जीवन सहज बनाउने योजना बनाएका थिए। तर, काम माग्न जाँदा होटलहरूले नागरिकता माग्न थाले। 

प्रकाशको नागरिकता थिएन। काम गर्दा यसरी नागरिकता चाहिन्छ भन्ने पनि उनलाई थाहा थिएन। अभिभावक थिएनन्, उनलाई अभिभावकसरह पालनपोषण र शिक्षादीक्षा दिने जिम्मेवारी बाल संगठनले लिएकाले नागरिकता बनाइदिने जिम्मेवारी उसकै थियो। नागरिकता नभएर अप्ठ्यारो परेपछि बनाइदिन अनुरोध गर्दै प्रकाश फेरि बाल संगठनमै पुगे। संगठनको माथिल्लो तहमा पुरानै अनुहार थिए। उनले डंगोललाई भेटेर नागरिकता बनाइदिन अनुरोध गरे। “तर, उहाँले वास्तै गर्नुभएन। नागरिकता बनाइदिन पहल नै गर्नुभएन,” प्रकाश भन्छन्।

डंगोलले बेवास्ता गरेपछि उनले संगठनका अरू कर्मचारी र पदाधिकारी गुहारे। उनीहरूले कहिले निवेदन लेखेर ल्याउन भने, कहिले फारम भर्न लगाए। कहिले भोलि आउनू भन्दै फर्काए। एवं रीतले ११ वर्ष बिते, तर प्रकाशको नागरिकता बनेन। प्रकाश भन्छन्, “मेरो घर भनेकै बालमन्दिर थियो, उसैले मेरो जीवनमाथि खेल्ने काम मात्र गर्‍यो। नागरिकतासम्म बनाइदिएको भए म काम गरेर जिन्दगी त चलाउँथे।”

प्रकाशलाई बालगृहबाट बाहिर पठाउँदा डंगोल बाल संगठनको उपनिर्देशक थिए। उनी नागरिकताका लागि धाउँदा डंगोल निर्देशक बनिसकेका थिए। तर, उनले एक जना अनाथको नागरिकता बनाइदिने गुहारलाई सुनेको नसुन्यै गरिदिए।

त्यसको कारण डंगोलले बाल संगठनमा रहेर सञ्चालन गरिरहेका अनेक ‘धन्दा’ थिए। जस्तो कि, निर्देशक रहेकै बेला २०७६ साउन २९ गते उनी मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर कसुरमा मुछिएका थिए। यो मुद्दामा जेल पनि गए। बलात्कृत बालिकाबाट जन्मिएको नवजात शिशुलाई नर्स र चिकित्सकसँगको मिलेमतोमा नक्कली कागजात बनाई बेलायती नागरिक डोना स्मिथलाई बिक्री गरेको अभियोगमा उनी संगठनबाटै पक्राउ परेका थिए।

डंगोल त्यसपछि अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिए। मुद्दाको किनारा नलाग्दासम्म दुई वर्ष ६ महिना जेल बसे। पछि उनलाई काठमाडौँ जिल्ला अदालतले सफाइ दियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा गरेको पुनरावेदनको मुद्दा अहिले विचाराधीन छ।

डंगोल बाल संगठनको कार्यविधिविपरीत मनपरी कर्मचारी भर्ना गरेको, संगठनको धनकुटा जिल्ला कार्यसमितिको गाडी काठमाडौँ तानेर आफूले प्रयोग गरेको लगायत आरोपमा पनि मुछिएका छन्। यसमा उनले आफूआबद्ध दल र राजनीतिको आड लिने गरेका छन्। डंगोल नेपाली कांग्रेसका ललितपुर महानगरस्तरीय नेता हुन् र अहिले राजनीतिमा अझ बढी सक्रिय छन्। कांग्रेसका नेताहरू उनको प्रकाशमान सिंहदेखि बालकृष्ण खाँणसम्म राम्रो सम्बन्ध रहेको बताउँछन्। तर, डंगोलले आफू बाल संगठनमा हुँदा बालबालिकाको हित मात्र हेरेको, त्यहीकारण आफूलाई सबैतिरबाट फसाउन खोजिएको दाबी गरे। 

प्रकाशले बाल संगठनका तत्कालीन निर्देशक राजेश्वर निरौलालाई भेटेर पनि नागरिकताका लागि हारगुहार गरेका थिए। तर, निरौलाले पनि उनको गुहार सुनेनन्। डीभी परेपछि दुई वर्षमै निर्देशकबाट राजीनामा दिएर निरौला अमेरिका पुगेका छन्। हामीले यो घटनाबारे बुझ्न प्रयास गर्दा उनी सम्पर्कमा आएनन्।

प्रकाशले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंहलाई भेटेर पनि आफ्नो व्यथा सुनाएका थिए। तर, व्यापारीसँग मिलेर संगठनको जग्गा हिनामिनामा रत्तिएकी सिंहलाई उनको पीडा सुन्ने फुर्सद भएन। २०४७ मा अध्यक्ष बनेकी सिंह तीन दशक निरन्तर बाल संगठनको नेतृत्वमा रहँदा नक्सालमा रहेको संगठनको जग्गा व्यापारीलाई सुम्पन्न शृंखलाबद्ध रूपमा लागिपरेको खुलासा उकालोले गरेको थियो।

बालमन्दिरको जग्गालगायत सम्पत्ति हिनामिना र अन्य बेथितिबारे अनुसन्धान गर्न सरकारद्वारा गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि २०७७ साउन १२ गते सिंहलाई अध्यक्षबाट हटाइएको थियो। बाल संगठनको सम्पत्ति हिनामिनामा सिंहलाई संगठनको महासचिव रहिसकेका कृष्णशंकर शाहले पनि साथ दिएको देखिन्छ। 

२०७२ सालमा बाल संगठन र बृहस्पति स्कुलबीच संगठनको जग्गा भाडामा लगाउन भएको संशोधनसहितको पूरक सम्झौतामा शाह पनि साक्षी बसेका छन्। त्यसबेला भने शाह संगठनका कार्यसमिति सदस्य एवं श्रोत व्यवस्थापन तथा परिचालन उपसिमितिका संयोजक थिए। संगठन र बृहस्पतिबीचको २८ रोपनी ५ आना १ पैसा जग्गा बहाल सम्झौता २०८९ सालमा सकिँदै थियो। तर, शाह साक्षी बसेको पूरक सम्झौताबाट त्यो बहाल अवधि बढाएर २१३२ सालसम्म पुर्‍याइयो।

प्रकाश नागरिकताका लागि भौँतारिँदा शाह बाल संगठनको महासचिव थिए। उनले शाहलाई पनि भेटेर पीडा सुनाएका थिए। अरू पदाधिकारी र कर्मचारीजस्तै शाहले पनि प्रकाशलाई वास्तै गरेनन्। २०६५ देखि २०७० सालसम्म बाल संगठनको महासचिव रहेका र पछि पनि कार्यसमितिमा बसेका शाहसित हामीले यसबारे बुझ्न खोज्दा उनले आफू यो विषयमा अनभिज्ञ रहेको दाबी गरे।

धर्मपुत्र बनाइएका भए अंश पाउँथे
बाल संगठनका पदाधिकारी र कर्मचारीले प्रकाशलाई धर्मपुत्र बनाएर पठाएका भए उनले उचित संरक्षण र पढ्ने अवसर पाउँथे। त्यति मात्र नभएर त्यो परिवारमा अंश पाउने हक पनि राख्थे। मुलुकी (संहिता) ऐन २०७४ मा धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा वा छोरीसरह आफ्नो इज्जत, मनोरञ्जन र उचित शिक्षाको व्यवस्था गर्नुपर्ने उल्लेख छ। ऐनले धर्मपुत्र वा धर्मपुत्रीको हक र हितको संरक्षण गर्ने, धर्मपुत्र या धर्मपुत्री बनाएर राख्न नसके अंश दिएर छुटाउनुपर्ने व्यवस्थासमेत गरेको छ।

यही कानूनी व्यवस्थाकै कारण पनि प्रकाशलाई धर्मपुत्रका रूपमा कसैको जिम्मामा पठाइएको भए अहिले जस्तो बिजोग हुने थिएन।

त्यो बेला उनलाई धर्मपुत्र बनाएर पठाउन कानूनले पनि छुट दिएको थियो। मुलुकी ऐन २०२० मा धर्मपुत्र बनाउने र बन्नेबीच ३० वर्ष उमेर फरक हुनुपर्ने व्यवस्था थियो। तर, मुलुकी देवानी (संहिता) ऐन २०७४ मा १४ वर्षभन्दा माथिका बालबालिकालाई धर्मपुत्र/धर्मपुत्री बनाउन नमिल्ने व्यवस्था गरेको छ।

मुलुकी देवानी (संहिता)को व्यवस्था

११ वर्षदेखि नागरिकताका लागि भौँतारिइरहेका प्रकाशको जीवन–गति त्यहीकारण अवरुद्ध छ। पढ्न पाएनन्, आफैँ सिकेको सीपबाट आत्मनिर्भर बन्न खोज्दा नागरिकताकै अवरोध तेर्सिएको छ। गुजाराका निम्ति कतै–कतै आक्कलझुक्कल ‘कुक’को काम पनि गरिरहेका छन्। थोरै–थोरै पैसा जम्मा गर्ने, अनि विदेश गएर केही गर्ने उत्कट चाहना छ। तर, नागरिकता नहुँदा त्यो पैसा जम्मा गर्ने बैंक खाता खोल्न पाएका छैनन्। नागरिकता नभए विदेश जान पनि पाइने छैन। 

पछिल्ला केही दिनयता भने प्रकाश थोरै आशावादी बनेका छन्। कारण बाल संगठनका वर्तमान अध्यक्ष विद्या उपाध्याय न्यौपानेले उनलाई सहयोग गर्ने वचन दिएकी छन्।

प्रकाशको पीडा सुनेपछि आफू आश्चर्यचकित बनेको न्यौपाने सुनाउँछिन्। “उनको जीवनमाथि खेलबाड भएको छ। यसको जिम्मेवारी त्यस बेलाका पदाधिकारी र कर्मचारीले लिनुपर्छ। बाल संगठनको बालगृहमा राखिएको बालकलाई कामदार बनाएर पठाउन मिल्दैन। पढ्न या नागरिकता पाउनबाट पनि वञ्चित गर्न मिल्दैन,” न्यौपानेले भनिन्।

प्रकाशको नागरिकता कसरी बनाउने भन्नेबारे छलफल भइरहेको उल्लेख गर्दै उनले भनिन्, “समय लाग्ला, तर हामी उनलाई नागरिकता दिलाउन लागिपरेका छौँ।”

प्रकाशलाई बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले धर्मपुत्र होइन, घरेलु कामदार बनाएर बालगृहबाट बाहिर पठाएको, त्यहीकारण उनको जीवन बरबादीमा पुगेको घटनाक्रमले छर्लंग पारिसकेका छन्। तर, बाल संगठनभित्र त्यसबेला यी र यस्ता अरू कैयौँ ‘धन्दा’ चलेको छानबिनले नै देखाएको छ।

नेपाल बाल संगठनभित्र भइरहेका बेथितिबारे छानबिन गर्न सरकारले २०७६ कात्तिक १७ गते गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ, “विशेष गरी अभिभावक भएका बालबालिकालाई धर्मपुत्र/धर्मपुत्री दिई पठाएका, गैरकानूनी तरिकाले धर्मपुत्र/धर्मपुत्री दिने कार्यमा संगठनका उपल्लो तहका कर्मचारी र पदाधिकारी संलग्न भएका, पूर्वपदाधिकारी, कर्मचारी तथा स्वयंसेवकहरूले धर्मपुत्र/धर्मपुत्री लिने दिने सम्बन्धमा संस्थाहरू स्थापना गरिरहेका घटनाहरूबाट संगठनबाट धर्मपुत्र/धर्मपुत्री लिने दिने सम्बन्धमा भएका क्रियाकलापहरू शंस्कास्पद र अनुसन्धानयोग्य विषय देखिन्छ।” प्रतिवेदनले ‘विदेशी नागरिकहरूसँग मोटो रकम लिएर धर्मपुत्र वा धर्मपुत्री पठाउन बाल संगठनभित्र बिचौलियाहरू सक्रिय रहेको’ समेत उल्लेख गरेको छ।


*शशि रजकको भनाइसहित सम्पादित।


सम्बन्धित सामग्री