Wednesday, May 08, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ: बालेन–ई:बीच सहमति, आन्दोलनमा चिकित्सक

काठमाडौँ महानगरका मेयर बालेनसँग जवाफ माग्दै राष्ट्रिय सभागृहअगाडि उभिएर विरोध जनाएका अभियन्ता ईःसँग भएको सम्झौता, सुरक्षाको माग गर्दै चिकित्सकहरूको आन्दोलनसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ बालेन–ईबीच सहमति आन्दोलनमा चिकित्सक

गत भदौ २७ गते हटौँडास्थित सन्चो अस्पतालमा कार्यरत दुई चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो। बिरामीको मृत्यु भएको ३२ दिनपछि उपचारमा अस्पतालले लापरबाही गरेको आरोपमा आफन्तले उनीहरूमाथि कुटपिट गरेका थिए।

त्यसैगरी, असोज ८ गते पोखरास्थित मणिपाल हस्पिटलमा उपचारका क्रममा महिलाको मृत्‍यु भएपछि भेला भएका आफन्तले चिकित्सकको टोलीले कुरुवालाई थुनेको भन्दै अस्पतालमा तोडफोड शुरू गरे। करिब १ बजेतिर शुरू भएको सो तनाव राति १० बजेसम्म चलेको थियो। आफन्तले आक्रमण शुरू गरेपछि चिकित्सक र कर्मचारीले पनि प्रतिकार गरेका थिए।

यसरी पटक–पटक भीडले आक्रमण गर्ने गरेका कारण असुरक्षित भएको भन्दै डाक्टरहरू एमर्जेन्सीबाहेक सबै सेवा ठप्प पार्दै सडकमा आएका छन्। मूलत: 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल' भन्ने मागका साथ चिकित्सकहरूको आन्दोलन शुरू भएको हो।

भदौको अन्तिम सातादेखि शुरू भएको आन्दोलनले यो हप्ता अझै फराकिलो स्वरूप लिएको छ। अहिले चिकित्सक सम्बन्धित विभिन्न संघ-संगठनले काठमाडौँलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन्।

यसैबीच शुक्रबार नेपाल चिकित्सक संघले डाक्टरहरूले उठाएका माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ लाई लागू गर्दै उठाइएको मागहरू तत्काल सम्बोधन नभएको खण्डमा थप आन्दोलनका कार्यक्रम अगाडि सार्ने संघले बताएको छ।

मणिपालमा भएको 'झडप'बारे बिस्तृतमा बुझ्न पढ्नुहोस् : मणिपालमा बिरामीको मृत्युपछि किन निम्तियो तनाव?

सम्बन्धित- बढ्दो छ डाक्टर तथा बिरामीबीचको दूरी र द्वन्द्व : डा. डम्बरबहादुर खड्काको टिप्पणी 

चिकित्सकको आन्दोलनले गति लिइरहँदा अर्को एउटा 'आन्दोलन' भने चारबुँदे सहमति भएको छ।  

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित सभागृहअगाडि उभिएर आन्दोलन गरेका अभियन्ता ई: र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सम्झौता भएलगत्तै ई:को आन्दोलन रोकिएको थियो।

उक्त सहमतिमा फुटपाथ, सार्वजनिकस्थलमा व्यापार गर्नेको महानगर प्रहरीले जफत गरेका सामग्रीहरू सम्बन्धितलाई फिर्ता दिने उल्लेख छ भने अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति पनि भएको छ। यस समितिमा महानगर, ई: का प्रतिनिधि तथा सरकार प्रतिनिधि रहनेछन्।  

सम्बन्धित - बालेनलाई स्थापित गर्नेहरू नै किन उत्रिए विरोधमा?

चुनावताका बालेनका सहयोगी ईः राष्ट्रिय सभागृहअगाडि उभिएर उनैसँग जवाफ मागिरहेका छन्। युट्युबर विनायक कुइँकेल विरोधका भिडियो बनाइरहेका छन्। बालेन भने पूर्व सहयोगीविरुद्ध सामाजिक सञ्जाल तताउँदैछन्।  

साताभरका विशेष हेडलाइन

फेवाताल जोगाउन गरिएको आदेश पालना नभएपछि सर्वोच्चको परमादेश, फर्किएला त फेवातालको अतिक्रमित जग्गा? : सर्वोच्चले वर्षायाममा तालको पानीले जहाँसम्म छुन्छ, त्यहाँबाट ६५ मिटर नापेर सीमा कायम गर्नू भनेको छ। अदालतको यो परमादेशसँगै फेवातालको अधिकारक्षेत्र कहाँसम्म पर्छ भन्ने विवाद टुंगिएको छ।

असहिष्णुताको जन्जालमा सामाजिक सञ्जाल, तर्क होइन गाली बर्सिन्छ : सामाजिक सञ्जाल तर्कवितर्क गर्ने चौतारी भए पनि इतर विचार राख्नेलाई अस्वाभाविक गाली गर्ने जमात बढ्दैछ। गाली खानेहरू सर्वसाधारणदेखि नागरिक अगुवा र नेताहरू पनि छन्। किन असहिष्णु बन्दैछ समाज?

सर्लाहीको मलंगवामा दुई समुदायबीच किन भइरहेछ तनाव? : प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्- 'विवादमा जोडिएका दुवै पक्षको कुरा सुनिरहेका छौँ। सामाजिक सद्भाव नखल्बलिने गरी कामकारबाही अगाडि बढाइरहेका छौँ। मलंगवा शान्त छ भन्ने सन्देश चाँडै नै आउनेछ।'

भिडियो कथा: एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ गौशालामा रहेको मारवाडी सेवा समितिको धर्मशालाले खुट्टा नहुनेहरूका लागि कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दे आएको छ। २०५९ सालदेखि हालसम्म करिब ६ हजार जनाले यो सेवा लिइसकेका छन्।

मलमा ‘माफिया’: इरानबाट झुक्याएर आयातित ३० हजार टन युरियाको प्रमाणपत्र नै नक्कली, बन्दरगाहबाटै जहाज फिर्ता : एफएटीएफले कालो सूचीमा राखेको र अमेरिकी प्रतिबन्धका कारण इरानसँग नेपालले सोझै वित्तीय कारोबार गर्न नसक्ने भएपछि भारतीय कम्पनीलाई उभ्याएर नेपालकै केही माफियाहरूले यस्तो खेल रचेको देखिन्छ।

तस्वीर: इन्द्रजात्रा शुरू : इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्चपदस्थहरू तथा जनप्रतिनिधिहरू जुद्ध सालिकदेखि हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका थिए।

प्रधानमन्त्रीलाई ‘न्यानो’ स्वागत गरिरहँदा चीनले देखाएको संशय : प्रधानमन्त्री दाहालले चीनमा पाएको न्यानो स्वागत एउटा पाटो हो। तर नेपालमा मूलतः दाहालकै कारण बढ्नथालेको चिनियाँ संशय र त्यसअनुसार दाहाललाई दिइएको ‘सन्देश’ले अर्कै संकेत गर्छ। 

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका यी हुन् ८ कीर्तिमान : चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियासँग भएको पहिलो खेलमा विश्व कीर्तिमानी जितसँगै अनेक कीर्तिमानको ओइरो लगाएको छ। 

सहकारी नियमनको सकस: २ दशकदेखि योजनामै सीमित दोस्रो तहको नियामक : बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू मर्म र सिद्धान्त नाघेर चल्न थालेपछि तिनको नियमनका लागि दोस्रो नियामकीय निकाय  स्थापना  गर्ने विषय दुई दशकदेखि उठेर पनि कार्यान्वयन हुनसकेको छैन।

उखुको अनुदानमा ४० करोड बजेट अपुग, छुट्याइएको रकम पनि पाएनन् किसानले : सरकारले यो वर्षको बजेटमै उखु किसानलाई अनुदान दिन ८० करोड छुट्याएको छ, तर चिनी मिलले दिएको भुक्तानीका आधारमा १ अर्ब २० करोड आवश्यक हुन्छ। कृषि मन्त्रालयले भने न रकम यकिन गरेको छ, न त बाँडेको नै छ।

आरतीलाई न्याय माग्दै धर्नाका १०१ दिनः संसदीय समितिको चेतावनी, तर सुन्दैन सरकार : जनकपुरमा आरती साहको रहस्यमय मृत्यु भएपछि काठमाडौँ आएका माइतीपक्ष न्यायका निम्ति धर्ना बसेको १०१ दिन पुग्यो। संसदीय समिति चेतावनी दिँदैछ, तर नजिकै रहेको गृहमन्त्रालय सुनेको नसुन्यै गरिरहेछ।

भिडियो कथा - नौबिसे–नागढुंगा सुरुङमार्गको असर: स्थानीय मुहान सुक्दा पानीको अभाव चर्किंदै : चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा साबिकका करिब २१ वटा पानीका मुहानमध्ये ६-७ वटा सुकिसकेका छन्। बाँकी पनि क्रमश: सुक्ने अवस्थामा छन्।


सम्बन्धित सामग्री