Saturday, April 27, 2024

-->

महानगरको बजेटबाट वडा सदस्यको घर वरपर सीसी क्यामरा, विवादपछि रोकियो काम

महानगरपालिकाको बजेटबाट किनिएका सीसीटीभी क्यामरा काठमाडौँ–१६ कि वडा सदस्य शारदा सुवेदीको घर वरपर राखिएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको छ। जडान भइसकेका दुई वटा क्यामरा पनि निकालिएको छ।

महानगरको बजेटबाट वडा सदस्यको घर वरपर सीसी क्यामरा विवादपछि रोकियो काम

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नं. १६ का लागि महानगरको बजेटमा १७ वटा सीसीटीभी क्यामरा जडान थालिएको थियो। वडाको पुस १९ गतेको बैठकले वनस्थलीको खरीबोट आसपास सत्यमार्गमा चार वटा, सामुदायिक भवन वरपर सात वटा र जनजागृति मार्गमा ६ वटा क्यामरा जडान गर्ने निर्णय गरेको थियो। तर सत्यमार्गमा जडान भएका चार वटामध्ये तीन वटा क्यामरा राखिएको स्थान विवादमा परेपछि जडान कार्य नै रोकिएको छ।

तीमध्ये दुई वटा क्यामरा वडा नं. १६ कि वडा सदस्य शारदा सुवेदीको घरअगाडि र  एउटा उनकै घरपछाडि राखिएको भन्दै स्थानीयले विरोध गरेका थिए। ती क्यामरा सडकभन्दा पनि सुवेदीको घरको सुरक्षाका लागि राखिएको स्थानीयको आरोप थियो। अहिले दुई वटा क्यामरा झिकिएको छ भने अर्को एउटालाई सडकतर्फ फर्काइएको छ।

सार्वजनिक स्थल (सडक)मा सुरक्षाका लागि दिइएका क्यामरा वडा सदस्य सुवेदीले आफ्नो घरको सुरक्षालाई ध्यानमा जडान गराएको स्थानीयको आरोप छ। अहिले घरपछाडि जडान गरिएको क्यामरा कैलाशनाथ गल्लीतर्फ फर्काइएको छ।

टोल सुधार समितिका अध्यक्ष पशुपति कठायत सीसी क्यामरा जडान भइसकेपछि मात्रै आफूले थाहा पाएको बताउँछन्। उनी भन्छन्, “सीसी क्यामरा जडान हुने भन्ने सुनेका थियौँ तर कहाँ कहाँ राख्ने थाहा थिएन। न त स्थानीयहरूसँग समन्वय गरियो न टोल सुधार समितिसँग। राखिसकेपछि मात्रै थाहा पाएका हौँ।”

तर वडाध्यक्ष सुवेदी भने सीसी क्यामरा टोल सुधार समितिका पदाधिकारी र स्थानीय अगुवाको नेतृत्वमा राखिएको दाबी गर्छिन्। उनले क्यामरा राखिएको स्थानबारे आफूलाई जानकारी नभएको पनि बताइन्। आफूले राम्रो काम गरे पनि टोल सुधार समितिका अध्यक्षले नै आफ्नो बदनाम गर्न खोजेको उनको आरोप छ। “मैले ती भाइ (प्राविधिक)हरूलाई विवाद हुन्छ भनेरै मेरो घर वरपर जडान नगर्नू भनेको थिएँ तर समितिका अध्यक्षले राख्न लगाएछन्। मलाई नराम्रो बनाउन नियोजित तरिकाले यस्तो गरिएको हो। अहिले पनि ती भाइहरूले यो कुरा बताउन सक्छन्,” उनले भनिन्।

क्यामरा राख्ने विषयमा टोल समितिका निवर्तमान अध्यक्षसँग कुराकानी भएको तर नयाँ अध्यक्ष आएपछि राजनीति गर्न खोजिएको सुवेदीको दाबी छ। तर निवर्तमान अध्यक्ष अर्जुन ढकाल सीसी क्यामरा जडानबारे आफूलाई जानकारी दिइए पनि राखिने ठाउँबारे कुरा नभएको बताउँछन्। पछि जुन ठाउँमा जुन तरिकाले क्यामरा राखियो त्यो गलत भएको उनको भनाइ छ। ढकाल भन्छन्, “सदस्यज्यूले क्यामरा ल्याइँदैछ भनेर फोन गर्नुभएको थियो। त्यति बेला म उपत्यकाबाहिर थिएँ, पछि फर्किंदा जडान गर्न स्टिमेट भइसकेको रहेछ।”

सीसी क्यामरा जडान गर्ने वान स्टेप ट्रेन्डिङ कम्पनीका कर्मचारी रमेश श्रेष्ठ आफूहरूले वडा कार्यालय र वडा सदस्यले भनेको स्थानमै जडान गरेको बताउँछन्। उनी भन्छन्, “हामीले त उहाँहरू (वडा र वडासदस्य)ले भनेको ठाँउमा नै जडान गर्ने हो, जहाँ भन्नुभयो त्यहीँ जडान गरेका हौँ।”

आफूहरूले कसैको दबाबमा क्यामरा जडान नगरिएको उनको भनाइ छ। तर पछि स्थानीयले अर्काे ठाउँमा पनि राख्नुपर्छ भनेपछि काम रोकेको उनी बताउँछन्। 

आर्थिक वर्ष २०८०/८१ को महानगरको बजेटमा सीसी क्यामरा खरिद गर्ने योजना स्वीकृत भएको थियो। त्यसका लागि महानगरबाट १० लाख रुपैयाँ विनियोजन भएको थियो। महानगर आफैँले सीसी क्यामरा खरिद गरी वडालाई दिएको थियो। क्यामरा खरिद तथा जडानका लागि भ्याटबाहेक ८ लाख ५९ हजार १०० रुपैयाँमा वान स्टेप ट्रेन्डिङ कम्पनीले ठेक्का लिएको थियो। 

सीसी क्यामरा जडानको विषयमा विवाद भएपछि कार्यबाहक वडाध्यक्ष पुष्प महर्जन अवलोकनका लागि पुगेका थिए। अवलोकनपछि उनले उकालोसँग क्यामरा राख्दा गल्ती भएको बताए। “गल्ती भएको देखिन्छ, राखेको मिलेको छैन भन्ने कुराहरू पनि आएको छ। अब महानगरपालिकाबाट प्राविधिक विज्ञ बोलाएर आवश्यकताअनुसार राख्छौँ,” उनले भने।


सम्बन्धित सामग्री