Thursday, April 25, 2024

-->

सर्लाहीको मलंगवामा दुई समुदायबीच किन भइरहेछ तनाव?

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्- 'विवादमा जोडिएका दुवै पक्षको कुरा सुनिरहेका छौँ। सामाजिक सद्भाव नखल्बलिने गरी कामकारबाही अगाडि बढाइरहेका छौँ। मलंगवा शान्त छ भन्ने सन्देश चाँडै नै आउनेछ।'

सर्लाहीको मलंगवामा दुई समुदायबीच किन भइरहेछ तनाव

काठमाडौँ–  असोज ४ गते राति ८ बजे जिल्ला प्रशासन कार्यालय सर्लाहीले अचानक कर्फ्यु आदेश जारी गर्‍यो। राति १० बजेदेखि लागू हुने गरी पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्प) भित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै किसिमको उच्छृंखल गतिविधि गर्न नपाउने भन्दै अर्को आदेश नआउन्जेलसम्मका लागि कर्फ्यु लगाइयो। 

बिहीबार साँझ करिब ६ बजे गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच गणेश चोकमा भएको विवादले उग्र रूप लिएपछि प्रशासन कर्फ्यु जारी गर्ने निर्णयमा पुगेको थियो। शुरूको सामान्य विवाद केही समयमै झडपमा परिणत भएको थियो जसमा स्थानीय युवक रुपेश यादवमाथि चक्कु प्रहार भयो भने सार्वजनिक सम्पत्तिहरू तोडफोडमा परे। 

त्यसपछि अप्रिय घटना निम्तिन सक्ने भन्दै जिल्ला प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चित समयका लागि कर्फ्यु आदेश जारी गरे पनि मंगलबार दिउँसो स्थानीयहरूले सडकमा निस्केर प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयमाथि ढुंगामुढा गर्न खोजेपछि प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गरेको थियो।

अवस्था अनियन्त्रित हुँदै गएपछि ५ गते दुई समुदायबीचको तनाव साम्य पार्न सर्वपक्षीय समन्वय सहजीकरण बैठक बसेको थियो। बैठकले गणेश पूजा भएको सबै स्थानको मूर्ति एकै ठाउँमा विसर्जन गर्ने र आक्रमण गर्ने दोषी पत्ता लगाएर कारबाही गर्ने सहितका चार बुँदे निर्णय गर्‍यो। जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एव‌ं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले सृजित समस्या समाधान एवं धार्मिक र जातीय सद्भाव कायम गर्ने प्रतिबद्धता पनि जनाएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारूका अनुसार अहिले स्थिति सामान्य बन्दै गएको छ। दुवै समुदायले एकअर्काको अस्तित्व स्वीकार नगरेका कारण यस्तो घटना भएको उनी बताउँछन्। “कोही झुक्न नचाहेपछि अवस्था बिग्रिएको हो। हामीले दुवै समूहसँग वार्ता गरेर उनीहरूलाई सम्झाई बुझाई गरेका छौँ,” उनले उकालोसँग भने, “यसको सूक्ष्म रूपले अनुसन्धान पनि गरिरहेका छौँ।”

मलंगवामा शान्ति र सद्भाव कायम गर्न जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्षा एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको 'समन्वय सहजीकरण बैठक'ले गरेका निर्णयहरू।

४ गते राति लगाइएको कर्फ्यु चार दिनपछि असोज ८ गते मात्र हटाइयो, त्यो पनि दिउँसोभरिको लागि। स्थानीय वासिन्दा र व्यवसायीहरूले जनजीविका कष्टकर बन्न थालेको भन्दै प्रशासनसँग आग्रह गरेपछि दिउँसोको कर्फ्यु हटाएर राति ८ बजेदेखि बिहान ४ बजेसम्मको लागि कायम राखियो। अहिले पनि त्यहाँ कर्फ्यु हटेको छैन।

कसरी शुरू भयो विवाद?
४ गते साँझ गणेशको मूर्ति सेलाउन भन्दै हिन्दू सम्प्रदायका व्यक्तिहरु गणेश चोकबाट र्‍याली निकालेर कामत पोखरीतर्फ जाँदै थिए। मलंगवा वडा नं ३ मा पर्ने गणेश चोकबाट केही दूरी पार गरेपछि कुनै एक घरबाट फोहोर पानी फालिएको र त्यसपछि र्‍याली रोकिएको त्यसका एक सहभागीको दाबी छ। उनका अनुसार एकछिन पछि त्यहाँका केही घरहरूबाट निस्केका मानिसहरूसँग विवाद र झडप भएपछि भागदौड मच्चियो र र्‍याली तितरबितर भयो। 

र्‍यालीमा सहभागी नभएका व्यक्तिको घरबाट फोहोर पानी फालिएपछि नै विवाद शुरू भएको आफू प्रत्यक्षदर्शी रहेको बताउने अर्का एक स्थानीयको भनाइ छ। “उनीहरू नाचगान गर्दै गइरहेका थिए। त्यत्तिकैमा एक्कासि घरको छतबाट फोहोर पानी फालिएपछि शुरू भएको विवाद नै झडप र भागदौडमा बदिलयो,” उनी भन्छन्। सोही झडपमा चक्कु प्रहारबाट घाइते भएका स्थानीय रुपेश यादवको वीरगन्जस्थित बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। 

प्रमुख जिल्ला अधिकारी यादव भने चक्कु प्रहार भएको घटना सत्य भए पनि विवाद भएको ठाउँमा प्रहार भयो भन्ने कुरामा कुनै सत्यता नभएको बताउँछन्। “विवाद भएको ठाउँ र चक्कु प्रहार भएको घटनाका बीच कुनै साइनो नभएको हाम्रो अनुसन्धानबाट खुलेको छ,” उनी भन्छन्, “शंकाको आधारमा हामीले केही व्यक्तिलाई पक्राउ गरेका छौँ। तर कसले र किन चक्कु प्रहार गर्‍यो भनेर यकिन भइसकेको छैन।”

प्रमुख जिल्ला अधिकारीको यो भनाइले नै परिस्थिति उत्तेजित बनाउन र तनाव बढाउन मलंगवा र आसपासमा केसम्म भइरहेको छ भन्ने देखाउँछ।

यो पनि: धरानको सन्देशः सामाजिक सञ्जाल बन्नसक्छ समाजमा द्वन्द्व निम्त्याउने कारण

वडा नं ३ का वासिन्दा राजा मिक्रानी भने प्रशासनले सुरक्षा व्यवस्था कडा नगरेकै कारण यस्तो परिस्थिति सिर्जना भएको बताउँछन्। “दुई–चार जनाको अराजक व्यवहारले हाम्रो समुदायमाथि अनेकन् आरोप लागिरहेका छन्,” उनी भन्छन्, “यस्तो अराजक गतिविधि गर्नेहरूको पहिचान गरी कानूनी कारबाही गरिनुपर्छ। यसमा प्रहरी प्रशासन गम्भीर हुन जरुरी छ।” 

६ दिनदेखिको कर्फ्युले मलंगवावासीमा त्रास बढ्दै गएको स्थानीय रमेश सिंह बताउँछन्। सोमबार दिउँसोबाट (दिउँसोका लागि) कर्फ्यु हटाइए पनि जनजीवन पुरानै अवस्थामा नफर्केको उनले बताए। “यहाँ मान्छेहरूमा डर बढ्दै गएको छ। पटकपटक यसरी विवाद हुँदा दुवै पक्षले आफूलाई सुरक्षित महसुस गर्न पाएका छैनन्,” उनी भन्छन्, “प्रहरी प्रशासनले पनि सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा यहाँको शान्त वातावरण खल्बलिएको छ।” 

'पुरानै घटनाले निम्त्याएको नयाँ विवाद'
असोज ५ गते भएको विवाद नयाँ भए पनि यसको साइनो पुरानै घटनासँग जोडिएको कतिपय स्थानीयको बुझाइ छ। भदौ २२ गते कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा पनि मलंगवाको सोही स्थानमा दुई समूहबीच विवाद र झडप भएको थियो। त्यतिबेला पनि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो।

त्यतिखेर प्रशासनले घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउने भनेपछि स्थिति सामान्य बन्दै गएको थियो। तर प्रशासनले यसबीचमा सम्भावित तनावलाई साम्य पार्न अग्रसरता नलिँदा उस्तै घटना दोहोरिएको स्थानीय पत्रकार धिरज यादव वताउँछन्। 

प्रमुख जिल्ला अधिकारी यादव भने प्रशासनले यसलाई गम्भीर ढंगबाट हेरिरहेको दाबी गर्छन्। “विवादमा जोडिएका दुवै पक्षको कुरा सुनिरहेका छौँ। तर दुवैले आ-आफ्नो गल्ती होइन भनिरहेका छन्,” उनी भन्छन्, “अनुसन्धान प्रक्रिया अगाडि बढेको छ। हामी सामाजिक सद्भाव नखल्बलिने गरी कामकारबाही अगाडि बढाइरहेका छौँ। मलंगवा शान्त छ भन्ने सन्देश चाँडै नै सबैतिर पुग्नेछ।” 

सामाजिक सञ्जालको दुरूपयोग गरी धर्मको नाममा अफवाह फैलाउनेहरूले यसअघि धरानमा गाईपूजक हिन्दू र उनीहरूको भन्दा फरक संस्कृति अंगाल्ने आदिवासी तथा जनजाति समुदायबीच तनाव निम्त्याउने प्रयत्न गरे पनि त्यसको डरलाग्दो संकेत आकलन गरेका धरानका पूर्वमेयरहरू, प्रहरी–प्रशासन र दलका नेताहरूले सुझबुझका साथ सम्भावित संकटलाई बेलैमा टारेका थिए। सर्लाहीको मलंगवामा उस्तै प्रकृतिको तनाव सिर्जना गरेर शान्ति खल्बल्याउन भइरहेको प्रयासलाई जहाँको तहीँ निभाउन नसके मधेशका अन्य जिल्लामा पनि धरानको जस्तै खतरा निम्तिन सक्ने सूचना सुरक्षा संयन्त्रहरुले दिइरहेका छन्। एक उच्च सुरक्षा अधिकारी भन्छन्, “कानून व्यवस्थाको समस्या त हामी हल गरौँला, समाजमा ल्याउन खोजिएको बिग्रह रोक्न राजनीतिक नेतृत्व, राजनीतिक दलहरु नै अघि सर्नुपर्छ।” 


सम्बन्धित सामग्री