Tuesday, May 14, 2024

-->

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका यी हुन् ८ कीर्तिमान

चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियासँग भएको पहिलो खेलमा विश्व कीर्तिमानी जितसँगै अनेक कीर्तिमानको ओइरो लगाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका यी हुन् ८ कीर्तिमान

काठमाडौँ– विश्व जगत‍्मा फुटबलपछि क्रिकेटलाई सबैभन्दा मन पराउने खेल मानिन्छ। क्रिकेटमा ठूला प्रतियोगिता तथा लिग हुन्छन् जसमा कुनै न कुनै कीर्तिमान बनिरहेका हुन्छन्। समयक्रममा कतिपय कीर्तिमान भंग पनि भइरहेका हुन्छन्। धेरै खेलाडीले यस्तो कीर्तिमान बनाउछन् जुन बन्ने कल्पनासमेत गरेका हुँदैनन्। त्यस्तै कीर्तिमान नेपालले बुधबार निर्माण गरेको छ। 

चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन नेपाली पुरुष क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगायो। यसै खेलकुद प्रतियोगितामार्फत् टी-२० आईमा डेब्यु गरेको मंगोलियाविरुद्ध सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-२० विश्वकप खेलिसकेको नेपालले झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा ३ विकेट गुमाउँदै कीर्तिमानी ३१४ रन जोड्यो।

फराकिलो जित
जितको लागि ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदै अलआउट भयो। मंगोलियाका दावासुरेन जम्यानसुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र नेपाल २७३ रनले विजयी भयो।

नेपालले हासिल गरेको यो विश्व कीर्तिमानी जित हो। यसअघि यो कीर्तिमान चेक रिपब्लिकको नाममा थियो। उसले ३० अगस्ट २०१९ मा टर्कीविरुद्ध २५७ रनको जित हासिल गरेको थियो। चेक रिपब्लिकले दिएको २७८ रनको लक्ष्य पछ्याएको टर्की २१ रनमै अलआउट भएको थियो।

यस पटक मंगोलियाविरुद्ध नेपालका बलरले २३ अतिरिक्त रन दिएका थिए। नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २/२ विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा १/१ विकेट रह्यो।

विश्व कीर्तिमानी रन
करिब एक वर्षपछि टी-२० आई फर्म्याटमा फर्किएको नेपालले जोडेको यो कीर्तिमानी रन हो। यसअघि २३ फ्रेबुअरी २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध ३ विकेटको क्षतिमा २७८ को कीर्तिमानी रन बनाएको थियो।

नेपालले भने यसअघि २४ अप्रिल २०२१ मा मलेसिया र नेदरल्यान्डस् सम्मिलित थ्री नेसन्स् टी-२० आई सिरिजमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो। यो नै अहिलेसम्म नेपालले बनाएको कीर्तिमानी रन थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनर कुशल भुर्तेलको ७७, कुलश मल्लको अविजित ५० र दीपेन्द्रसिंह ऐरीको अविजित ४८ रनको सहयोगले नेपालले २३८ रन बनाएको थियो।

कप्तान ज्ञानेन्द्र मल्ल ३३ र अर्का ओपनर आशिफ शेख भने १६ रनमा आउट भएका थिए। बुधबार मंगोलियाविरुद्ध भएको खेलमा कुशल र आशिफ भने चल्न सकेनन्। उनीहरु १९ र १६ रनमा आउट भए।

तेस्रो विकेटका लागि विश्व कीर्तिमान
खेलमा दुई ओपनर चल्न नसकेपछि मल्ल र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि कीर्तिमानी १९३ रनको साझेदारी गर्दै नेपालको स्कोर ३-२५९ रन बनाए। रोहित २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनमा कट् एन्ड बोल्ड भए। उनले १९ बलमै अर्धशतक प्रहार गरेका थिए।

टी-२० आईमा कुनै पनि जोडीले तेस्रो विकेटका लागि गरेको यो उच्च साझेदारी हो। यसअघि यो कीर्तिमान न्युजील्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सको नाममा थियो। २८ जुन २०१९ मा वेस्ट इन्डिजविरुद्ध उनीहरूले १८४ रनको साझेदारी गरेका थिए।

नेपालका लागि भने यसअघि कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए। १९ फ्रेबुअरी २०२२ मा ओमानको अल इमिरेटमा भएको आईसीसी टी-२० विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध उनीहरूले यो कीर्तिमान बनाएका थिए। त्यो कीर्तिमान मंगोलियाविरुद्धको खेलमा रोहित र मल्लले भंग गरेका छन्।

मल्ल बने सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर
नेपालका खेलाडी मल्लले अविजित रहँदै ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ प्रहार गरे जुन उनको करिअरकै पहिलो शतक हो भने उनले बनाएको यो व्यक्तिगत कीर्तिमानी रन हो। यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा अविजित रहँदै ५० रन बनाएका थिए। मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक प्रहार गरेका थिए।

मल्ल टी-२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका डेविड मिलर, भारतीय कप्तान रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमशेखरको नाममा थियो। उनीहरूले ३५ बलमा शतक प्रहार गरेका थिए।

मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्धको टी-२० आई सिरिजमा उक्त कीर्तिमान बनाएका थिए। उनले ३६ बलमा ७ चौका र ९ छक्का प्रहार गरेका थिए। रोहितले भने सोही वर्ष भारतको इन्दौरमा भएको सिरिजमा श्रीलंकाविरुद्ध उक्त कीर्तिमान बनाएका थिए। उनले ४३ बलमा १२ चौका र १० छक्का प्रहार गरेका थिए।

सुदेशले भने ३० अगस्ट २०१९ मा टर्कीविरुद्ध ३५ बलमा शतक प्रहार गरेका थिए। कन्टिनेन्टल कपमा उनले अविजित रहँदै ३६ बलमा ८ चौका र १० छक्का प्रहार गरे।

नेपालबाट भने पारसले ४९ बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका थिए। सन् २०१९ मा सिंगापुरविरुद्ध भएको खेलमा पारसले ४९ बलमा शतक प्रहार गरेका थिए। ७ चौका र ९ छक्का प्रहार गर्दै उनी १०४ रनमा अविजित रहेका थिए।

मंगोलियाविरुद्ध मल्लले १२ छक्का प्रहार गरे। उनी कुनै पनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटर हुन्। टी-२० आईमा सन् २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का प्रहार गरेका थिए।

मल्ल टी-२० आईमा शतक प्रहार गर्ने चौथो नेपाली खेलाडी पनि बनेका छन्। उनीभन्दा अगाडि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए।

मल्ल टी-२० आईमा एकै इनिङ्समा सर्वाधिक धेरै रन बनाउने चौथो खेलाडी बनेका छन्। उनीभन्दा अगाडि अस्ट्रेलियाका अरोन फिन्च, अफगानिस्तानका हजरतुल्लाह जाजई र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले यसमा नाम राखेका थिए।

फिन्चले २९ अगस्ट २०१३ मा इंगल्यान्डविरुद्ध ६३ बलमा १५६ रन बनाएर कीर्तिमान कायम गरेका थिए। तर त्यो कीर्तिमान उनैले तोडे। उनले ३ जुलाई २०१८ मा जिम्बावेविरुद्ध ७६ बलमा १७२ रन बनाउँदै कीर्तिमान बनाए।

जाजईले भने अविजित रहँदै १६२ रन बनाएका छन्। उनले २३ फ्रेबुअरी २०१९ मा आयरल्यान्डविरुद्ध ६२ बलमा उक्त रन बनाएका थिए। म्याक्सवेलले चाहिँ ६ सेम्टेम्बर २०१६ मा श्रीलंकाविरुद्ध ६५ बलमा अविजित रहँदै १४५ रन बनाएका थिए।

दीपेन्द्रको सर्वाधिक छिटो अर्धशतक
एशियाली खेलकुद प्रतियोगितामा दीपेन्द्र सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। १० बलमा अविजित रहँदै ८ छक्का प्रहार गर्दै उनले ५२ रन बनाए। उनले ९ बलमा अर्धशतक प्रहार गरेका थिए। क्रिकेट विश्लेषकहरुले दीपेन्द्रको यो ९ बलमा अर्धशतक पूरा गर्ने यो कीर्तिमान अब बराबरी हुन सक्ने तर कहिल्यै तोडिन नसक्ने टिप्पणी गरिरहेका छन्।

यसअघि यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। उनले डुरबनमा १९ सेप्टेम्बर २००७ मा भएको आईसीसी टी-२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक पूरा गर्ने कीर्तिमान बनाएका थिए।

१८ रनले भारतले जितेको खेलमा उनले १६ बलमा ३ चौका र ७ छक्कासहित ५८ रन जोडेका थिए। यसअघि नेपालबाट यो कीर्तिमान पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको थियो। उनले २०१९ मा मलेसियाविरुद्ध २० बलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए।

दीपेन्द्र ६ बलमा ६ छक्का प्रहार गर्ने पाँचौँ खेलाडी बनेका छन्। यसअघि हर्शेल गिब्स, युवराज सिंह, किरोन पोलार्ड र जसकरण मल्होत्राले मात्रै ६ बलमा ६ छक्का प्रहार गर्न सकेका थिए। दीपेन्द्रले १९औँ ओभरका पछिल्ला पाँच बलमा ५ छक्का प्रहार गरेका थिए। अर्को ओभरको दोस्रो बलमा उनले छक्का प्रहार गर्दै ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाए।

दीपेन्द्रको यो सातौँ टी-२० आई अर्धशतक हो। योसँगै उनी नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्। उनीपछि कुशल भुर्तेलले ६ र पारस खड्काले ५ अर्धशतक प्रहार गरेका छन्।

दीपेन्द्रको उच्च स्ट्राइक रेट
टी-२०आईमा उच्च स्ट्राइक रेटमा रन प्रहार गर्ने कीर्तिमान दीपेन्द्रले बनाएका छन्। उनले ५२० को स्ट्राइक रेटमा मंगोलियाविरुद्ध रन जोडेका थिए। यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका ड्वेन स्मिथ र क्यानडका साद बिन जाफरको नाममा थियो। स्मिथले १३ सेम्टेम्बर २००७ मा आयोजना भएको टी-२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा ७ बलमा १ चौका र १ छक्कासहित २९ रन बनाउने क्रममा ४१४.२८ रनको स्ट्राइक रेट राख्न सफल भएका थिए। त्यस्तै, जाफरले भने १४ नोभेम्बर २०२२ मा बहराइनविरुद्ध ४१४.२८ रनको स्ट्राइक रेटमा ७ बलमा ४ चौका र २ छक्कासहित २९ रन बनाएका थिए।

एकै खेलमा सर्वाधिक छक्का
नेपालले एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएको छ। यसअघि यो कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको संयुक्त नाममा थियो। २३ फ्रेबुअरी २०१९ मा अफगानिस्तानले डुरबनमा भएको आयरल्यान्डविरुद्धको खेलमा २२ छक्का प्रहार गरेको थियो। उक्त कीर्तिमान वेस्ट इन्डिजले २६ मार्च २०२३ मा बराबरी गरेको थियो। उसले साउथ अफ्रिकाविरुद्ध २२ छक्का प्रहार गरेको थियो।

मंगोलियाविरुद्ध कुशल मल्ल एक्लैले १२ छक्का प्रहार गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ८ र रोहितकुमार पौडेलले ६ छक्का प्रहार गरे।

सर्वाधिक रन रेट
मंगोलियाविरुद्धको खेलमा १५.७ को रनरेटका साथ नेपालले टी-२० आईमा सर्वाधिक रनरेट कायम गर्ने अर्को कीर्तिमान पनि थपेको छ। यसअघि यो कीर्तिमान अफगानिस्तान र चेक रिपब्लिकको नाममा थियो। भारतको देहरादूनमा २३ फ्रेबुअरी २०१९ मा आयरल्यान्डविरुद्धको खेलमा अफगानिस्तानले १३.९ को रन रेटमा ३ विकेट गुमाउँदै २७८ रन बनाएको थियो। चेक रिपब्लिकले भने ३० अगस्ट २०१९ मा टर्कीविरुद्ध ४ विकेट गुमाउँदै २७८ रन बनाएको थियो। यी दुवैलाई अहिले नेपालले ताेडेको छ।


सम्बन्धित सामग्री