Friday, May 03, 2024

-->

बढ्दो छ डाक्टर तथा बिरामीबीचको दूरी र द्वन्द्व

कर्णाली प्रदेश अस्पतालमा १५० कर्मचारी दरबन्दीको जनशक्तिले ३०० बेडको अस्पताल चलाएका छौँ। तोकिएभन्दा दुई गुणा बढी समय दिएर सेवा गर्नुपरेको छ। त्यही भएर बिरामको काउन्सिलिङ र जाँच गर्न लामो समय हुँदैन।

बढ्दो छ डाक्टर तथा बिरामीबीचको दूरी र द्वन्द्व

केही समययता अस्पताल क्षेत्रमा भएको विकृतिलाई लिएर समाचारहरू आइरहेका छन्। हेटौँडामा डाक्टरमाथि भएको कुटपिट र त्यही दिन साँझ भएको मेलमिलाप, काठमाडौँको कान्ति बाल अस्पतालमा अस्पतालले स्वीकार गरेको लापर्बाही र पीडित पक्षलाई गरिदिएको क्षतिपूर्ति व्यवस्थादेखि भक्तपुरस्थित ख्वप अस्पतालमा लापर्बाहीको कारण भएको किशोरीको मृत्युलगायत समाचारले चर्चा पाए। 

तीन दिनअघि यहाँ प्रदेश अस्पतालमै पनि एक सुत्केरीको मृत्यु भयो। मृतकका आफन्तले पोस्टमार्टमका लागि अनुरोध गर्नुभयो। हामीले उहाँहरूको मागअनुसार पोस्टमार्टम गरायौँ।

अघिल्लो दिन अप्रेसन गरेर दोस्रो दिन वार्डमा सार्दासम्म अवस्था ठीक थियो। त्यसपछि ती सुत्केरीलाई एक्कासि सास फेर्न गाह्रो हुन थालेछ। उहाँलाई मुखबाट फिज आउने तथा कम्पन (कम्बसन फिट) आयो। ड्युटीमा रहेको नर्सले थाहा पाउनु बित्तिकै अन ड्युटी डाक्टरलाई बोलाएर एक मिनेटको बीचमा डाक्टरको उपस्थितिमा उपचार भयो। तर तुरुन्तै एरेस्ट (फोक्सोमा हावा जाने ठाँउमा रगतको चोक्टा आउनु) मा जानु भयो। डाक्टर आएर सीपीआर र इन्ट्यिुबेसन गरी औषधि दिई दुई मिनेटभित्रै आईसीयूमा सार्‍यौँ। उहाँलाई सीपीआर गर्दैगर्दा भेन्टिलेटरमा पनि राख्यौँ। यद्यपि, बचाउन सकिएन।

कुनै रोग यस्तो हुन्छ, हामीलाई पनि थाहा हुँदैन। उहाँको केसमा हामीले निदान गरेको फम्बो इम्बोलिजम हो। पाठेघरमा बच्चा बस्ने ठाँउको स्वास नलीबाट जान नपर्ने ठाँउमा जाँदा रगतको चोक्टा भएर बसिदिन्छ। उदाहरणको लागि यसरी पानी फोक्सोमा जाँदा हावा जानु पर्ने ठाउँमा रगतको चेक्टा भएर बसिदियो। हामीलाई खानाको एक दाना सर्कदा खोकी लाग्ने, निसासिने हुँदा पनि एकदम गाह्रो हुन्छ। माथि भनिएको अवस्था त्योभन्दा खतरनाक हो। कारण, खाना हाम्रो मुख हुँदै जान्छ, यस केसमा रगत नलीबाट फोक्सोको दुवै भागमा रगतको चोक्टा बसिदिन्छ। 

हरेक गर्भावस्था खतरामुक्त हुँदैन। उहाँलाई भएको जटिल अवस्था हजार वा दुई हजार सुत्केरीमध्ये एक जनामा हुने गर्छ। हाम्रो अस्पतालमा वर्ष–दुई वर्षको अन्तरालमा हुने गरेको थियो। उहाँ एकदम स्वस्थ हुनुहुन्थ्यो, उहाँलार्ई नै यस्तो हुनपुग्यो। 

यो खास गरी सुत्केरीलाई हुन्छ, त्यो पनि एक्कासि। यसको मुत्यु दर उच्च हुन्छ। यसलाई रोक्न युरोप, अमेरिकामा पनि सम्भावना एकदम न्यून छ। बिरामीका आफन्तले नबुझिदिने हुनाले डाक्टर, नर्सको लापर्बाही भनिदिन्छन्। त्यो कदापि होइन। यस्तो अस्वथाबारे हामीले पनि बुझाउन नसकेको हुनसक्छ। अर्को कुरा, उहाँहरूले पनि बुझ्न नखोज्ने अथवा बुझेर पनि बुझ पचाउने प्रवृत्तिले र फेसबुक, टिकटकका कारण डाक्टर, बिरामी, बिरामी कुरुवाबीचकोे दूरी बढ्दो छ।

असुरक्षित र अविश्वसनीय देखिएको अस्पताल सेवा र त्यस कारणबाट असुरक्षित भएका स्वास्थकर्मीका विषयलाई एक पक्षबाट नभई त्रिपक्षीय दृष्टिबाट हेर्नुपर्छ। कुनै अराजकता हुँदा एक पक्ष मात्र नभई तीनै पक्ष दोषी हुन सक्छन्। हामी डाक्टर/स्वास्थ्यकर्मी पनि शतप्रतिशत सही भन्न सक्दिनँ। सुधारिनु पर्ने धेरै कुराहरू छन्। जस्तै, काउन्सिलिङकै कुरा गरौँ। बिरामीको रोग र अवस्थाबारे हामी यकिन भए पनि बिरामीको परिवार वा कुरुवालाई सम्भावित सहजता अथवा जटिलताको विषयमा समयसमयमा कुराकानी गर्न, जानकारी दिन सकेको हुँदैन। तर काउन्सिलिङको लागि बढी समय दिनुपर्छ।

गुणस्तरीय सेवा दिन स्वास्थ्यकर्मी दत्तचित भएर, यो मेरै घरको बिरामी हो भन्ने सोच लिएर काम गर्न सक्नुपर्छ। यसबाट ठूलै परिवर्तन हुन्छ। यसमा पनि दक्ष जनशक्ति हुनुपर्‍यो, दिनदिनै डाक्टर, स्वास्थकर्मीहरू अपडेट भइरहनु पर्‍यो। डाक्टरी पेसा भनेको आफूजस्तै अन्य व्यक्तिको स्वास्थ्य हेरचाहको विषय भएको कारण यसलाई सेवा गर्ने पेसा हो भन्ने दिमागमा राखेर कर्तव्य निर्वाह गर्नुपर्छ। म फेरि पनि भन्छु, यो भावना स्वास्थ्यकर्मीको अन्तरआत्माबाटै आउनु पर्छ।

यो चिकित्सकले पालना गर्नुपर्ने विषय भयो। तर अराजकतामा एउटा पक्षले मात्र काम गरेको हुँदैन भनेर माथि नै भनियो।

बिरामी र बिरामी कुरुवा वा आफन्तबाट पनि केही अराजकता बढेको महसुस भएको छ। वास्तविकता नबुझी प्रतिक्रिया जनाउन भएन। कतिपय अवस्थामा अस्पतालको लापर्बाही पनि होला र कतिपय बिरामीको स्वास्थ्य अवस्थामा अप्रत्यासित जटिलता पनि हुनसक्छ। बिरामीको अवस्थाको सतही बुझाइले एक पक्षीय रूपमा आक्रोशमा आउनु ठीक हुँदैन।

हामी डाक्टरहरू अलिकति ‘बिजनेस माइन्डेड’ हुन थालेका छौँ। अलिकति पैसातिर ढल्किएको हो कि भन्ने भएको छ। हाम्रो पाटो सुधार भयो भने बिरामी वा बिरामीका आफन्तलाई सम्झाउन सकिन्छ।

स्वास्थ्य सेवामा सुधार गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ। पहिले डाक्टरी पढ्न सरकारबाटै प्रशस्त छात्रवृत्ति थिए। हामी त पहिलो पिँढी पर्‍यौँ, जसले आफ्नो डाक्टरी पढाइमा एक पैसा पनि खर्च गर्नु परेन। तर अहिले त्यस्तो छैन। १०० जना एमबीबीएस पढ्नेमध्ये १० जनाले छात्रवृत्ति पाउलान्, ९० जनाले पैसा तिरेर पढ्नुपर्ने हुन्छ। ९० जनामा पनि ‘मैले सेवा गर्नु पर्छ, यो सेवा र इज्जतको लागि हो’ भन्ने भावना नहुन सक्छ। डाक्टरी पढ्न आउनेसँग कर्तव्यबोधको भावना भए/नभएको अन्तर्वातामार्फत परख गर्न सकिन्छ।

तर हामीकहाँ त्यो प्रणाली नै छैन। पैसाभन्दा सेवालाई महत्त्व दिनुपर्छ भन्ने समूहबाट छानेर वा काउन्सिलिङ गरेर प्रवेश गराएको हुनु पर्नेमा, त्यसरी छनौट हुनै सकेको छैन। खालि आफ्नो रहर पूरा गर्न डाक्टर बन्ने वा बाउआमाको रहर पूरा गर्न पैसा खर्च गरेर पढ्ने चलन छ। तर कर्तव्यबोध। सेवाभावको काउन्सिलिङ नहुँदा स्वास्थ्य सेवा सुधार हुँदैन।

डाक्टरी पेसाको महत्त्व नबुझी, जनताको सेवा गर्ने पेसा हो भन्ने नबुझी आउनेको संख्या धेरै भयो। यसले गर्दा सेवा, धर्म, कर्तव्य, जिम्मेवारी बुझ्न वा बुझाउन सकिएन। त्यसैले द्धन्द्ध बढ्दै गएको छ। 

अस्पतालमा काम गर्ने कर्मचारी समूहमा पर्ने नर्समा पनि अहिले सेवाभाव कम देखिन्छ। पहिला नर्सहरू  बिरामीको सेवामा जति मलमपट्टि लगाउने भावना थियो, त्यो घट्दो छ। 

पहिला बिरामीले पनि डाक्टर तथा कर्मचारीलाई भगवान मान्थे, विश्वास गर्थे। त्यो पनि हराएको छ। विभिन्न कारणले डाक्टर तथा बिरामीबीचको दूरी र द्धन्द्ध बढ्दो छ।

डाक्टरहरूमा आएको निराशामा तलब सुविधा नदेखिएको पाटो हुनसक्छ। ४०¬–५० हजार तलबमा एउटा डाक्टरले आफ्नो दैनिकी चलाएर परिवार र बालबच्चाको खर्च धान्नु पर्छ। अरू पेसामा जस्तो डाक्टरी पेसामा घुस खाने हुँदैन। महँगी बढिरहेको अवस्थामा शुद्ध तलबले छोराछोरी पढाउन, विदेश पठाउन सक्छ त? कि पैतृक सम्पति हुनुपर्‍यो। डाक्टरको तलब एकदम कम छ। अनि हामी उहाँहरूबाट सेवा भने धेरै खोज्छौँ।

कर्णाली प्रदेश अस्पतालले प्रदेश सरकारलाई आग्रह गरी अस्पतालका कर्मचारीको तलबमा वृद्धि गराएको छ। जस्तै, मेडिकल अफिसरलाई ५० प्रतिशत, कन्सल्ट्यान्ट अफिसरलाई ७५ प्रतिशत,  ११ औँ तहका डाक्टरलाई ८० प्रतिशतसहित अस्पतालको कमाइबाट हुने ९ प्रतिशत थप भत्ता दिने व्यवस्था भएको छ। यसले स्वास्थकर्मीको मनोबल बढाउन केही हदसम्म राम्रो भूमिका खेलेको छ। यो काम त संघीय सरकारले गर्नुपर्ने थियो।

त्यस्तै, कर्णाली प्रदेश अस्पतालमा १५० कर्मचारी दरबन्दीको जनशक्तिले ३०० बेडको अस्पताल चलाएका छौँ। त्यो कुरा हामीले जनतालाई बुझाउन सकेका छैनौँ। तोकिएको भन्दा दुई गुणा बढी समय दिएर सेवा गर्नुपरेको छ। त्यही भएर काउन्सिलिङ र जाँचको लागि हामीसँग लामो समय हुँदैन। सोही कारण अस्पतालको क्षमताअनुसार दरबन्दी हुनु पर्छ, तब मात्र बिरामीलाई समय दिन सक्छौँ। खुशी साथ बिरामीलाई बढी सेवा दिन सक्छौँ। 

चार पाँच वर्षदेखि हामीले गरेको माग संघीय सरकारले पूरा गरेको छैन। यद्यपि, आफ्नै बलबुतामा हामीले कर्णाली प्रदेश अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाएका छौँ। किनभने, हाम्रो व्यवस्थापकीय पाटो बलियो छ। 

अस्पतालमा शैय्या अनुसारको दरबन्दी तथा डाक्टर, नर्सलगायत दक्ष जनशक्ति पर्याप्त नहुँदा सेवाग्राहीसँग द्वन्द्व बढिरहेको छ। व्यवस्थापकीय पाटो बलियो बनाउनु बिरामी र चिकित्सकबीचको दूरी कम गर्ने मुख्य उपाय हो।

यद्यपि, स्वास्थकर्मीमाथिको हातपात भने कदापि मान्य छैन। यस्तोमा कानून कडा हुनुपर्छ। अनाहकमा दोष लगाउने, हातपात गर्नेलाई तत्कालै कानूनी दायरामा ल्याउनुपर्छ। टिकटक र फेसबुकको भरमा एक पक्षीय धारणा बनाइ कसैले पनि स्वास्थ्य सेवाप्रति आक्रामक र आक्रोशित हुन हुँदैन। सबैले आत्मआलोचना गरेर, कमजोरी सुधार गर्दै सभ्य समाज सिर्जना गर्न पहल गर्नुपर्छ।


(कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बरबहादुर खड्कासँग उकालोकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानीमा आधारित)


सम्बन्धित सामग्री