काठमाडौँ- 'डलरे, फण्डित, सोरोसको दलाल, मिशनरीको भरिया, १२ भाइ…'
यी शब्द पहिलोपटक सुन्दा साथीभाइले ठट्टा गरेर जिस्काउँदा प्रयोग हुने जस्तो लाग्नसक्छ। तर वास्तविकता त्यस्तो छैन। यी शब्द सामाजिक सञ्जालमा सर्वाधिक चल्तीमा रहेका आवेगयुक्त गाली हुन्।
यी गालीको उत्पत्ति र विकासक्रमको सन्दर्भ भिन्न होलान्, तर आशय एउटै छ– मन नपर्ने विचारको खारेजी। ‘किबोर्ड वारियर’ भनिने समूहले यी शब्द आफूलाई मन नपर्ने विषय, मुद्दा वा समूहका समर्थकविरुद्ध व्यक्तिगत रूपमा आक्रमणका लागि प्रयोग गर्ने 'एड होमिनेम’ हुन्।
सामाजिक सञ्जालमा हुने यस्तो आक्रमणमा नागरिक अगुवाहरू पनि पर्ने गरेका छन्। लेखक सञ्जीव उप्रेतीले केही दिनअघि ‘वृहत नागरिक आन्दोलन’को एक खबरदारीपत्र ट्विटरमा शेयर गरे। त्यसमा सुनकाण्डका दोषीहरूलाई अनुसन्धान र अभियोजनको दायरामा ल्याउन सरकारसँग माग गरिएको थियो। पत्रको तस्वीर शेयर गर्नेबाहेक उनले त्यहाँ आफ्नो विचार लेखेका थिएनन्।
उनको ट्विटमा थुप्रै प्रतिक्रियाहरू आए। त्यसमध्ये केहीले उनलाई गाली गरेका छन्, विभिन्न आक्षेप लगाएका छन्। एक जनाले त उनलाई ‘नागरिक अगुवा’ मान्न नसक्ने आशयमा व्यक्तिगत गाली नै गरेका छन्।
उप्रेती सामाजिक न्यायको आन्दोलनमा लामो समयदेखि सक्रिय छन्। ‘वृहत नागरिक आन्दोलन’ले गर्ने हरेकजसो कार्यक्रममा सडकमा भेटिन्छन्। सामाजिक न्यायका विषय सञ्जालमा पनि लेखिरहेका हुन्छन्। आफूविरुद्ध आउने कटु वचनमा पनि उनी प्रतिक्रिया दिइरहेका हुन्छन्। तर कसैलाई दुर्वाच्य प्रयोग गर्दैनन्, सकेसम्म नम्र ढंगले विषय बुझाउने प्रयत्न गर्छन्।
सबैलाई बुझाउन नसकिने भए पनि केहीलाई बुझाउन प्रयत्न गर्ने गरेको उप्रेती बताउँछन्। "सबैलाई सम्झाउने फुर्सद हुँदैन। कतिपय जात व्यवस्थाका समर्थक हुन्छन्, बुझ्न र बदलिन चाहँदैनन्। कतिपयले महिलाबारे पुरुषप्रधान समाजले जे मानेको छ त्यही गर्छन्," उनले भने, "केहीलाई भने मैले सम्झाउन सफल भएको छु। केही त परिवर्तन भएर नागरिक आन्दोलनमै पनि सहभागी भएका छन्।"
विशेषगरी ट्विटर र फेसबुक चाहार्ने हो भने, एकअर्कालाई अनेक लाच्छना लगाइरहेका प्रयोगकर्ता भेट्न गाह्रो पर्दैन। सामाजिक न्यायको पक्षमा बोल्नेहरूलाई प्राय: ‘डलर खाएको’, ‘फण्डित’, ‘विदेशीबाट सञ्चालित’, ‘एजेन्ट’लगायत आरोप लगाइन्छ।
सामाजिक सञ्जाल प्रविधिका माध्यमबाट तर्कवितर्क गर्ने चौतारी भए पनि असामाजिक बन्दै गएको आफूले पनि अनुभव गरेको लेखक उप्रेती बताउँछन्। "हाम्रो समाजमा नै एउटा असंवेदनशील वर्ग छ। आफूभन्दा फरक जात, वर्ग, लिंग र समुदायलाई हेर्ने दृष्टिकोण फरक बनाएर बसेको छ। मेरो समुदायलाई भयो भने भइहाल्यो भन्ने सोच छ," उनी भन्छन्, "अहिले दक्षिणपन्थको पनि संसारभरि विस्तार भएको छ। यसले पनि मानिसहरूलाई असंवेदनशील बनाएको छ।"
नागरिक अगुवालाई मात्र नभएर राजनीतिक दलका नेताहरूलाई पनि विभिन्न आरोप लगाउने गरिन्छ। केही दिनअघि नेपाली कांग्रेसका नेता गगन थापाले ‘तीज र क्रान्ती’बारे एउटा लिंक शेयर गरे। त्यसैगरी, पछिल्लो महिना संसद्मा आफ्नो प्रस्तुतिको भिडियो पनि शेयर गरेका थिए। उनका यी पोस्टमा विषयगत असहमति नराखेर उनलाई ‘स्टन्ट किङ’, ‘पनौती’, ‘गनगने’ जस्ता मात्र नभई निन्दनीय शब्दसमेत लेखेर गाली गरियो। थापाका प्राय: पोष्टमा आउने गाली उस्तै–उस्तै छन्।
राजनीतिप्रति सर्वसाधारणमा आक्रोश छ। यद्यपि, अन्य नेताको तुलनामा बाबुराम भट्टराई, गगन थापा र रवीन्द्र मिश्रलाई बढी गाली आउँछ। ट्विटरमा यी नेताको फलोअर्स पनि अन्यको भन्दा बढी छन्। भट्टराईका १४ लाख ९५ हजारभन्दा बढी, थापाका १२ लाख ६२ हजारभन्दा बढी र मिश्रका ११ लाख १३ हजारभन्दा बढी फलोअर्स छन्।
समाजमा नैराश्यता बढेको र त्यसको प्रतिबिम्ब सामाजिक सञ्जालमा देखिएको नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराई बताउँछिन्। उनी भन्छिन्, "राजनीतिक, आर्थिक र सामाजिक फ्रस्टेसन एकदमै धेरै छ। सामाजिक सञ्जालमा आउने गाली त्यसको नतिजा हो। अर्कोतिर, ठूला आन्दोलनपछि धेरै राजनीतिक परिवर्तन भइसकेको छ, तर मानिसहरूमा झनपछि झन् प्रतिगामी सोचहरू बढेको छ।"
पछिल्लो समय राजनीतिमा बालेन शाह, रवि लामिछाने, हर्क साम्पाङलगायतका नयाँ अनुहारहरू देखिएका छन्। बालेनलाई त विश्वप्रसिद्ध ‘टाइम’ म्यागेजिनले विश्वका उदयमान १०० नेताहरूको सूचीमा समेत राखिदियो। तर यी नेताहरूका समर्थक भने सामाजिक सञ्जालमा असहिष्णु देखिन्छन्। आफूले समर्थन गरेका नेताहरूको आलोचना गर्नेलाई सामूहिक रूपमै प्रतिवाद गर्ने गरेका छन्।
केही दिनअघि बालेनले ‘सिंहदरवार जलाइदिने’ आक्रोश पोख्दासमेत समर्थन गर्ने समूह सक्रिय भएको थियो। उनकी श्रीमती चढेको काठमाडौँ महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेकोमा उनको असन्तुष्टि थियो। उनको पोष्टमा एकैछिनमा हजारौँ लाइक आयो, आगो लगाउनुपर्नेमा धेरैले सहमति जनाए। बालेनको आलोचना गर्नेहरू पनि थिए, तर उनीहरूले समर्थकबाट कैयौँ दिन गालीगलौज सहनुपर्यो।
मानवशास्त्री जनक राई सामाजिक सञ्जालमा ‘हेट स्पिच’ चिन्ताजनक रूपमा बढिरहेको बताउँछन्। उनी भन्छन्, "अरूलाई गालीगलौज गर्ने र चरित्रहत्या गर्ने समूह संगठित तरिकाले आइरहेको छ। भारतमा यस्तो एकदमै धेरै देखिन्छ, अहिले नेपालमा पनि देखिन थालेको छ। असहमति हुने बित्तिकै बेस्सरी गाली गर्ने, आरोप लगाउने, धम्की दिने गरिन्छ। त्यहाँ तथ्यपूर्ण तर्क गरिँदैन। भर्बल अब्युजका माध्यमबाट अर्कालाई गलाउन वा निस्तेज पार्न खोजिन्छ।"
अराजक प्रतिकृया दिनेहरूमध्ये बिनापरिचय सकृय हुने छद्मभेषीको बर्चस्व छ। व्यक्तिगत तहमा उत्रिएर खोइरो खन्ने छद्मभेषी सञ्जाल प्रयोगकर्ताको संख्या बढिरहेको राई बताउँछन्।
लेखक उप्रेती पनि छद्मभेषीका कारण सामाजिक सञ्जाल असहिष्णु भएको तर्कमा सहमत छन्। प्रत्यक्ष भेट नहुने र अनुहारविहीन भइन सकिने कारण आफूले उल्लेख गरेका कुराको जिम्मेवारी लिनु नपर्ने हुँदा गालीगलौज गर्नेलाई सजिलो भएको उनको भनाइ छ।
अरूलाई असर नपर्ने गरी तस्वीर पोष्ट गर्दा वा आफ्नो विचार राख्दासमेत कतिपयले कटुवचन लगाएको देखिन्छ। केही समयअघि पत्रकार तथा लेखक नारायण वाग्लेले यस्तै सामान्य तस्वीर ट्विटरमा राख्दा पनि गाली खाए।
वाग्ले कुनै समय नागरिक आन्दोलनका प्राय: कार्यक्रममा सडकमा देखिन्थे। हिजोआज तनहुँतिर खेतीकिसानी गरिरहेका छन्। उनी आफ्ना बारीमा फलेका तरकारी, फलफूलहरूको तस्वीर ट्विटरमा हालिरहन्छन्। केही समयअघि ‘कुभिण्डोको विभिन्न परिकार बनाउन सकिन्छ भन्छन्, आफूलाई थाहा छैन’ भन्दै तस्वीर राखे। त्यति लेख्दा पनि उनीमाथि गाली बर्सियो। एकजनाले लेखे, "माइतीघरतिर डलर फल्न छाडे क्याहो!"
क्रिकेटर सन्दीप लामिछानेका समर्थक पनि यसैगरी 'उग्ररूपमा' प्रस्तुत हुने गरेका छन्। लामिछानेविरुद्ध बलात्कार अभियोगमा अहिले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा राख्ने गरेको छ। सर्वोच्चले नै उनलाई प्रतियोगिता खेल्न विदेश जाने अनुमति दिएको थियो। उनीप्रति अदालत र क्यानले देखाएको ‘सदाशयता’को आलोचना गर्नेविरुद्ध समर्थक खनिने गरेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ता लुना भट्टराईले एशिया कप प्रतियोगिताका बेला ‘नाबालिका बलात्कार आरोपित सम्मिलित टिमले मेरो देशको प्रतिनिधित्व गर्नसक्दैन’ भन्ने आशयको ट्विट लेख्दा उनले सन्दीपका समर्थकहरूको गाली सहनु परेको थियो। उनलाई शारीरिक हिंसा गर्नेसम्मका धम्की आए।
महिला अधिकारका कुरा गर्नेलाई पनि कतिपय सञ्जाल प्रयोगकर्ताले गाली गर्ने गरेका छन्। खासगरी महिलाहरूले सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गरेबापत 'डिजिटल हिंसा' हुने गरेको छ। जस्तो, नागरिकता ऐनका प्रावधानहरूका विषयमा महिला अधिकारकर्मीहरूले कुरा उठाउँदा हदैसम्म गाली खाएका थिए। कतिपयले त विदेशीलाई देश खुवाउन लागेको आक्षेप पनि लगाए। मानुषी यमी इन्टरनेटमा दलित, महिला, जनजातिका विषयलगायत समग्र सामाजिक न्यायको पक्षमा कुरा गर्ने बित्तिकै अनेक लान्छना सहनुपर्ने ‘टक्सिक’ संस्कृति विकसित भइसकेको बताउँछिन्।
मानुषी सामाजिक सञ्जाल असहिष्णु हुँदै गएको बताउँछिन्। जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृतिको विकास हुँदै गएको उनको भनाइ छ। "सामाजिक सञ्जालमा जसलाई जे भने पनि हुन्छ, त्यसको पुष्ट्याइँ गर्नुपर्दैन भन्ने ठानिएको छ। त्यसपछि त जति गाली गरे पनि भयो। दायित्व त हुन्छ होला नि! जथाभावी बोल्ने छुट त कसैलाई पनि हुँदैन। तर हाम्रोमा मानिसहरू एक्स्ट्रिममा पुगिहाल्छन्," उनले भनिन्।
मानवशास्त्री राई पनि सामाजिक सञ्जालमा गालीगलौज बढ्नुमा आममानिसमा बढेको असन्तुष्टिलाई प्रमुख कारण मान्छन्। यो प्रवृत्ति नेपालमा मात्र नभएर समग्र विश्वमा देखिएको उनले बताए। "सामाजिक सञ्जालले निराशा पोख्न सजिलो बनाइदिएको छ र अहिले त्यो छताछुल्ल भएको छ," उनले भने।
लेखक उप्रेती प्रश्न गर्नु जायज भए पनि आफूलाई परिवर्तन गर्नै नचाहने प्रवृत्ति बढेको बताउँछन्। "म त शिक्षक पनि हुँ। मैले विद्यार्थीलाई प्रश्न गर्न सिकाएको छु। तर केही मान्छे बारम्बार दोहोरिएर गालीगलौज गरिरहेका हुन्छन्। पहिला नै दिमाग बन्द गरेर बसेकालाई सम्झाउन सकिँदैन," उनी भन्छन्।