त्रिवि शिक्षण अस्पतालको बहिरंग सेवा विभाग अगाडि मंगलबार उपचारको प्रतीक्षारत बिरामी। तस्वीरहरू: पुष्पा/उकालो
काठमाडौँ– सधैँजसो बिरामीले भरिने महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बहिरंग (ओपीडी) कक्षहरू मंगलबार दिउँसो सुनसान थिए। यसअघि बिरामीको उपचारमा व्यस्त देखिने चिकित्सकहरू आन्दोलनका लागि माइतीघर मण्डलमा पुगिसकेका थिए।
चिकित्सकहरू आन्दोलनका लागि निस्केपछि उनीहरूसँग जाँच गराउन काठमाडौँ बाहिरका जिल्लाहरूबाट आएका बिरामी अस्पतालमा अलपत्र थिए। वीरगन्जको परवानीपुरबाट आएका २८ वर्षीय आमिर अख्तर मंगलबार सबेरै अस्पताल पुगेका थिए। मिर्गौलामा देखिएको पत्थरीको उपचार लिन आएका उनले चिकित्सकलाई भेट्न त पाएनन् नै, टिकट समेत काट्ने मौका पाएनन्।
“पत्थरीको उपचार गराउन हिजै वीरगन्जबाट काठमाडौँ आएको थिएँ। तर अस्पताल आइसकेपछि मात्रै डाक्टरले बिरामीको उपचार नगरी आन्दोलन गरेको थाहा पाएँ,” उनले भने, “यहाँ उपचार राम्रो हुन्छ भन्ने थाहा पाएर त्यति टाढाबाट आएको थिएँ। तर अब यत्तिकै फर्कनुपर्ने भयो।”
चिकित्सकको आन्दोलनका कारण अस्पतालमा पुगेर पनि उपचारबाट बञ्चित भएका बिरामीको भिड दिउँसो अबेरसम्म देखिन्थ्यो। उनीहरू डाक्टर आउने आशामा कुरिरहेका थिए। तिनैमध्ये दाङ तुलसीपुरका प्रकाश लामा पनि थिए जो निकै बेचैन देखिन्थे। उनले आफ्ना ६० वर्षीय ससुरालाई उपचार गराउन अस्पताल ल्याएका थिए। बिरामीको अवस्था गम्भीर देखिन्थ्यो।
“भदौ १० गते ससुरालाई फिस्टुला र मिर्गौलाको उपचार गर्न अस्पताल ल्याएको थिएँ। तर आर्थिक अभावले पिसाब नलीमा पाइप हालेर उहाँलाई गाउँ लगेका थियौँ, “लामाले भने, “आज डाक्टरहरूले फेरि बोलाउनुभएको थियो। तर उहाँहरू नै आन्दोलनमा हुनुहुँदो रहेछ।”
आर्थिक अभावका कारण उपचारका लागि काठमाडौँमा बसिरहन सम्भव नभएको दुखेसो उनले पोखे। “बिरामीको उपचार गर्न छोडेर डाक्टरहरू आन्दोलनमा गएको देख्दा हामी निकै दुःखी भएका छौँ। कम्तीमा बिरामीको उपचारमा प्रभाव नपर्ने गरी उहाँहरूले आन्दोलन गरेको भए हुने,” उनले भने।
लामाले चिकित्सकको आन्दोलनका कारण ससुराको उपचार नभएको गुनासो गरिरहेका बेला अघिल्तिर रहेका अर्का बिरामी आफ्नो गुनासो पोख्न हतारिए। उनी थिए बारा, कलैयाका ५५ वर्षीय मैसुद्धिन मन्सुर। मुटुका बिरामी उनी डाक्टरले यसअघि दिएको भाका छोप्दै ‘फलोअप’का लागि मंगलबार सबेरै अस्पताल आइपुगेका थिए। तर डाक्टरलाई भेट्न नपाउँदा उनी मर्माहत भए।
“मुटुको उपचारको लागि १० दिनअघि अस्पताल आएर फर्केको थिएँ। यतिञ्जेल काठमाडौँमै आराम गरेर बसेँ। घर जानुअघि फलोअप गर्नुपर्ने डाक्टरको सल्लाह थियो। त्यसैले आज अस्पताल आएको त डाक्टरलाई देख्न पनि पाइएन,” उनले भने, “१० दिनमा उपचारसँगै काठमाडौँको बसाइमा चार लाख रूपैयाँ खर्च भैसक्यो। अब यहाँ बसेर उपचार गर्ने पैसा छैन। त्यसै घर फर्कनुपर्ने अवस्था आयो।”
अस्पतालमा अलपत्र अवस्थामा भेटिएका रसुवास्थित सिनो हाइड्रोपावरमा कार्यरत २७ वर्षीय आर्यन चौधरीले डाक्टरको आन्दोलनले आफ्नो बिचल्ली भएको सुनाए। “टाउको र छातीको समस्याले हिजो अस्पताल आएँ। उपचार भएन। आज १२ बजे बोलाइएको थियो। तर डाक्टरको हडतालका कारण आज पनि उपचार भएन,” उनले भने। डाक्टरको आन्दोलनले आफू मात्रै नभएर अन्य बिरामीलाई पनि असर परेको देख्दा दुःख लागेको चौधरीले बताए।
अघिपछि बिहान ८ बजेदेखि नै ओपीडीमा बिरामी जाँच्न खटिने शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले मंगलबार भने ओपीडी कक्षमा नछिरी अस्पताल परिसरमा नाराबाजी गरे। डाक्टरमाथि बिरामी पक्षबाट हुने आक्रमणका घटना दिनप्रतिदिन बढेको भन्दै त्यो रोकिनुपर्ने मागका साथ शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सक बिरामीको उपचार गर्न छाडेर आन्दोलनमा होमिएका हुन्।
शिक्षण अस्पतालसँगै वीर र पाटन अस्पतालका आवासीय चिकित्सकहरू पनि मंगलबार आन्दोलनका लागि माइतीघर पुगेका थिए। सरकारले माग पूरा नगरे आफूहरूले बुधबार पनि अस्पतालहरूका ओपीडी सेवा बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन्।