काठमाडौँ– सामाजिक अभियन्ता ईः राष्ट्रिय सभागृहअगाडि उभिएको १६० घन्टाभन्दा बढी भएको छ। उनका खुट्टा सुन्निएका छन्। दिउँसोको घाम र रातिको चिसोले अनुहारको छालाको पत्रसमेत उक्किन थालेको छ।
ईः असोज २ गतेदेखि सभागृहअगाडि सडकपेटीमा निरन्तर उभिइरहेका छन्। उनी बिहान ५ बजेदेखि राति ११ बजेसम्म उभिन्छन् भने बाँकी ६ घन्टा नजिकै राखिएको कुर्सीमा बस्छन्। शुरूमा उनले ७७ घन्टा उभिएर प्रदर्शन गर्ने जनाएका थिए। त्यसपछि १२३ घन्टा पुर्याउने बताए। अहिले उनी १९९ घन्टा उभिने लक्ष्यमा छन्।
ईःको हातमा ‘प्लाकार्ड’ छ। प्लाकार्डमा लेखिएको छ, “हाम्रो चिनारी क्रुरता कि करुणा?”
उनले निरन्तर एउटै नारा लेखिएको प्लाकार्ड बोकेका छैनन्। उनको हातमा प्लाकार्ड फेरिइरहन्छ। यसअघि उनले बोकेको प्लाकार्डमा अंग्रेजीमा लेखिएको थियो, “अ सिटी फर कार्स अर अ सिटी फर पिपल?”
ईःका समर्थकले पनि विभिन्न नारा लेखिएका प्लाकार्डसहित साथ दिइरहेका छन्। एउटा प्लाकार्डमा लेखिएको छ, “गरिब होइन, गरिबी हटाऊ।”
अर्का एक जनाको प्लाकार्डमा लेखिएको छ, “सडक–साइकल–गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ।”
ईःलाई साथ दिन पुगेकी एक महिलाले बोकेको प्लाकार्डमा भने काठमाडौँ महानगरका प्रमुख र उपप्रमुखलाई व्यंग्य गरिएको छ। त्यसमा लेखिएको छ, “मेयर बाल् ऐन! उपमेयर सुन्दिन! काम् नपा प्रहरी! रमिते टिकटक निर्देशित समाज! यो देश कता जाँदैछ?”
यी प्लाकार्डमा लेखिएका नाराबाटै स्पष्ट हुन्छ, ईः अहिले काठमाडौँ महानगरका प्रमुख बालेन शाहविरुद्ध आन्दोलनमा छन्। उनले राखेकामध्ये एउटा माग हो सडक व्यवसायीको उचित व्यवस्थापन।
फेरिएको छैन ‘महानगरको रवैया’
काठमाडौँ महानगरले गएको पुस २६ मा एक सूचना प्रकाशित गरी फुटपाथमा सडक व्यवसाय गर्न नपाउने जनाएको थियो। त्यस खालको व्यवसाय संचालन गरेमा साइकल, ठेलागाडा जफत गरिने सूचनामा उल्लेख थियो।
अहिले पनि महानगरले साइकल वा ठेलामा व्यापार गर्नेबाट ती सामग्री जफत गर्ने गरेको छ। जफत गरिएका ठेला र साइकललाई कवाडी बनाएर महानगर प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना इकाई टेकुमा थुप्रो लगाइन्छ। यी सामान काठमाडौँ महानगरले कवाडीसरह लिलामी गर्ने गरेको छ।
फुटपाथ व्यापारीको ठेला र साइकल खोसेर रोजीरोटीबाटै विमुख गराएको भन्दै ईः प्रदर्शनमा उत्रिएका हुन्। तर महानगरको रवैया फेरिएको छैन।
गत शनिबार उता ईः प्रदर्शनमा बसिरहेको बेला हाँडीगाँउस्थित धन्यन्तरी मन्दिर परिसरमा पवन कुमारको साइकल नगरप्रहरीले जफत गरे। पवनले रुँदै एकपटकलाई छाडिदिन बिन्ती गरेको प्रत्यक्षदर्शी तथा स्थानीय राजेश महर्जन बताउँछन्। केहीबेर पवन र नगरप्रहरी बीच तानातान भएको थियो। तर बेच्न राखिएका केरा भुईंमा छरिदिएर नगरप्रहरीले साइकल खोसेका थिए।
पवनले आफ्ना साथीमार्फत टोकरी मगाएर भुईंमा छरिएका फलफूल उठाए। स्थानीयले केही फलफूल किनिदिए। “कस्तो माया लागेर, हामीले पनि एक किलो केरा किनिदियौँ,” महर्जनले भने।
केही दिनअघि मात्र भारतबाट फर्किएका पवन फलफूल बेचेर गुजारा चलाउँछन्। आफूले त्यस दिन बिहान मात्र ५ हजार रुपैयाँ बराबरको केरा कालीमाटीबाट किनेर ल्याएको उनले बताए। नगरप्रहरीलाई छल्न उनी केरा लिएर गल्लीको बाटो हुँदै हाँडीगाँउ आइपुगेका थिए।
सामाजिक अभियन्ता ईःले व्यवसायीको सामान जफत गर्नेभन्दा पनि निश्चित समय र स्थानमा व्यवसाय संचालन गर्न दिन माग गरेका छन्। यद्यपि, यो माग ईःले प्रतिपादन गरेका होइनन्। चुनावमा नगरप्रमुखको उम्मेदवार रहेका बालेन शाहले एपी वान एचडी टेलिभिजनको रजतपट कार्यक्रममा आफैँले बताएका थिए। आफूले बालेनलाई उनले गरेको प्रतिबद्धता मात्र सम्झाएको ईःको भनाइ छ।
उनी भन्छन्, “नगर प्रहरीको काम कसैको सामान फालिदिने होइन, म्यानेज गर्ने हो। मेयरको काम पनि त्यही हो। त्यस्तो व्यापारको लागि सीमित क्षेत्रहरूमा बिहान र बेलुका साढे ५ देखि ७ बजेसम्म समय तोक्न सकिन्छ। हाल ललितपुर महानगरले त्यही गरिरहेको छ।”
चुनावअघि समर्थक, अहिले आमुन्नेसामुन्ने
गत वर्ष भएको स्थानीय निर्वाचनअघि ईः पनि बालेनका समर्थक थिए। उनले प्रचारप्रसारमा समेत सहयोग गरेका थिए। “त्यतिबेला युवा नेतृत्वको आशा र पुराना पार्टीप्रतिको वितृष्णाका कारण हामीले पनि (बालेनलाई) साथ दिएका थियौँ,” केही समयअघि उकालोसँग अन्तवार्ताको क्रममा ईःले भनेका थिए।
तर निर्वाचनमा गरेको वाचाविपरीत गएपछि आफूहरूले उनको विरुद्धमा बोल्नु परेको ईःको भनाइ छ। राष्ट्रिय सभागृहअघि उभिएर उनी बालेनसँग जवाफदेहिता र करुणामयी नेतृत्वको माग गरिरहेका छन्। “संविधानमा नभएको व्यवस्थामा एउटा स्थानीय तहको निर्णयमार्फत आममानिसको दैनिक नै प्रभावित पार्नु कतिको न्यायोचित होला?” उनी प्रश्न गर्छन्।
बालेनले अहिलेसम्म औपचारिक रूपमा वार्तामा नबोलाएको ईःले बताएका छन्। वार्ताकै विषयलाई लिएर बालेन र ईःबीच सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा जुहारी चलेको छ।
बालेनले आफू अभियन्ताहरू उभिएकै ठाउँमा वार्ता गर्न गए पनि संवाद नगरेको स्टेटस लेखेका छन्। “लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने हामीले बुझेका छौँ, शायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नुभएको होला भन्ने हामीले बुझेका छौँ,” उनले लेखेका छन्, “के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने?”
ईःले बालेन त्यहाँ नगएको र अन्य साथीहरू पनि साक्षी भएको सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा जवाफ दिएका छन्। उभिइरहेको ठाउँमा अकस्मात एक नगरप्रहरीले हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाएको र आफूहरूले ३० मिनेट समय माग्दा पनि नपाएको उनको भनाइ छ। ईःले लेखेका छन्, “हामीले कानूनविज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए– त्यसो भए मेयरले भेट्दैनन्!”
स्वकीय सचिव भुपदेव साहका अनुसार बालेन ईःलाई भेट्न राष्ट्रिय सभागृह गएका थिए। खुला रूपमा कुरा गर्न उचित नहुँदा ईःलाई बोलाउन प्रतिनिधिको रूपमा नगरप्रहरीलाई पठाइएको उनले बताए।
“हाम्रो प्रतिनिधि १० मिनेट पर्खंदा पनि उहाँहरू आउनुभएन। के हो, कसो हो, तपाईंको माग कति जायज छन् भन्ने विषयमा छलफल गर्नु थियो भनेका हौँ। तर उहाँहरूले अहिले आउँदैनौँ जस्तो कुरा गर्नु भयो,” साह भन्छन्, “कारण थाहा भएन, उहाँहरूको नेतासँग कुरा गर्नु पर्ने होला।”
ईःले बालेनका क्रियाकलापविरुद्ध यसअघि महानगरपालिकाको कार्यालय बागदरबारअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत गाउने अभियान पनि चलाएका थिए। स्थानीय निर्वाचनमा मत माग्न बालेन समर्थकले यही गीत गाउने गरेका थिए। महानगरअघि उभिएर यो गीत गाउन उनलाई फुटपाथ व्यवसायीहरूले समेत साथ दिएका थिए।
पूर्वसमर्थकहरू विरोधमा
निर्वाचनताका बालेनको कोर टिममा नभए पनि डिजिटल माध्यमबाट समर्थन गरेको समूह हो प्यारेडाइम टीभी। चर्चित युट्युबर सिसन बानिया, विनायक कुइँकेल, आभास घिमिरेलगायत रहेको यो समूहले चलाएको पडकास्ट र युट्युब च्यानलको ‘फ्यान फलोअर्स’ धेरै युवा छन्। यही समूहका विनायक कुँइकेलले केही समयअघि आफ्नो व्यक्तिगत युट्युब च्यालन ‘ह्वाइ सो अफेन्डेड’मार्फत सिहंदरबार जलाउने बालेनको अभिव्यक्तिविरुद्ध भिडियो बनाएका थिए। आफू समर्थकबाट आलोचक बन्नुको एउटा कारण पहिले गरिएका वाचा भुल्नु र केही विवादित क्रियाकलाप भएको उनी बताउँछन्।
बालेन आफ्नो वाचाबाट पन्छिन थालेको विनायकको भनाइ छ। “चुनावअघि चरणबद्ध रूपमा पूरा गर्ने भनिएका वाचाहरू पूरा भएका छन् कि छैनन्? भएका छैनन् भने अब प्रश्न गर्ने बेला आयो,” उनले भने, “चुनावअघि बाँडिएका धेरै सपना पूरा हुन बाँकी छन्। कहिलेसम्म बेनिफिट अफ डाउट (शंकाको सुविधा) दिने?”
चुनावका बेला आफूहरूको पडकास्टमा ठूला नेताहरूले बोलाउन आग्रह गरे पनि अस्वीकार गरेर युवा अनुहारलाई स्थान दिएको विनायकको दाबी छ। अबको नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ भन्ने लागेर बालेनलाई सहयोग गरेको उनले बताए। “हुन त हाम्रै कारणले मात्र जित्नु भयो भन्दिनँ, तर ती नै युवामध्ये कोही संसद्मा हुनुहुन्छ, कोही प्रमुखको पदमा हुनुहन्छ,” उनी भन्छन्।
सिंहदरबार जलाउने अभिव्यक्तिको विरोधमा युट्युबमा सामग्री बनाएपछि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पनि धेरै पाएको विनायक बताउँछन्। यसबाट ‘साइलेन्ट मेजोरिटी’ले ‘पपुलिस्ट’ कुरा पत्याउने क्रम घटेको आफूले अनुमान गरेको उनको भनाइ छ।
राजनीतिमा विरोध सुन्न सक्ने योग्यता चाहिन्छ। विरोधलाई सम्बोधन गर्ने तत्परता चाहिन्छ। तर बालेनको समूहमा आलोचनात्मक चेत भएका सल्लाहकार आफूले नदेखेको विनायकको भनाइ छ। “वरपर यस म्यान हुँदा सबै राम्रो र म एक्लै गर्छु भन्ने सोचमा हुनुहुन्छ,” उनी भन्छन्, “नेपालको युट्युबमा साउथ इन्डियन फिल्म ट्रेन्डिङमा आइरहेका हुन्छन्। यस्ता मुभीमा हिरो एक्लो मसिहा देखाइन्छ। चलचित्र मनोरञ्जनको लागि हो। देश चलाउनको लागि टिमको जरुरत पर्छ। यो देशलाई म बचाउँछु भन्ने सोचले अन्तत आफू डुब्नु पर्नेछ।”
पूर्व मिस नेपाल अर्थ (२०२०) डा. सरिशा श्रेष्ठ सडक व्यवसायीको विषय वर्ष दिन बितिसक्दा पनि सम्बोधन नभएको बताउँछिन्। ईःको प्रदर्शन कुनै व्यक्तिप्रति लक्षित नभई महानगरसँगको जवाफदेहिता माग मात्र भएको उनको भनाइ छ।
आफू बालेनलाई मत दिने ठाउँको नभए पनि उति बेला समर्थन र सहयोग गरेको सरिशा बताउँछिन्। “उहाँ फरक खालको उर्जासहित आउनु भएको थियो। म पनि केही युवा नेतृत्वको पक्षमा थिएँ,” उनी भन्छिन्, “एक जना युवा आइरहँदा अरू युवाहरूलाई पनि प्रेरणा भएको थियो। तर जवाफदेहिता भएन।”
विकास अर्थशास्त्रका जानकार मोहमद अयुब एक वर्षअघि काठमाडौँका चिया पसलमा बसेर जसको समर्थनमा गफ हुन्थ्यो, अहिले त्यही जमात उही व्यक्तिको विरोधमा गफ गरिरहेको बताउँछन्। नयाँ नेतृत्वले आफ्ना समर्थक र प्रशंसक दुवै गुमाइरहेको उनको भनाइ छ।
“बालेनबाट हामीलाई धेरै आशा थियो। अन्य नेताले गलत गरिरहँदा पहिला उहाँले विरोध गर्नुभएको थियो। अहिले उहाँले गरेको कतिपय निर्णय र काम अरूभन्दा के फरक रह्यो त?” अयुब भन्छन्, “सीमान्तकृत, बहुसंख्यक र अल्पसंख्यकका परिभाषा धेरै हुनसक्छन्, तर एक तहमा हेर्ने हो भने काठमाडौँ बाहिरका मान्छेहरू धेरै तरिकाले सीमान्तकृतमा पर्छन्। यसो हुँदा पपुलिजमको एउटा धरातल सही वा गलत तरिकाले बहुसंख्यकसँग जोडिएको हुन्छ।”
‘पपुलिस्ट’ चरित्रबारे अयुबले टर्किएका राष्ट्रपति इर्दोगानको उदाहरण दिए। इर्दोगान सन् १९९४–१९९८ मा राजधानी स्तानबुलका मेयर थिए। मेयर हुँदा उनले इस्तानबुलको भौतिक तथा आर्थिक संरचना परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेले।
“इर्दोगानको स्वभाव नेपालका केही पपुलिस्ट नेतासँग मिल्छ। उनले पपुलिस्ट हुनको लागि पहिले भौतिक संरचना र सुविधाको व्यवस्था गरिदिएका थिए, सुकुमबासी बस्तीलाई नभत्काइ संस्थागत गरिदिएका थिए,” अयुब भन्छन्, “बत्ती, पानी, हस्पिटल पुर्याइदिएका थिए। गैरकानूनी र अपहेलित स्थानलाई एउटा सम्माननीय स्थानको रूपमा स्थापित गरिदिएका थिए। पपुलिस्ट नेताले कसरी आफूलाई डोर्याउँछ उनले देखाएका थिए।”
उनको यो संकेत बालेनले सुकुमबासी बस्तीमा गरेको हस्तक्षेपतर्फ लक्षित छ। चुनावअघि उनै बालेनले सुकुमबासी बस्तीलाई आफ्नो भोट बैंक बनाएका थिए। तर चुनावपछि बस्ती उठाउन डोजर पठाए। सुकुमबासी प्रतिकारमा उत्रिँदा केही नगरप्रहरी घाइतेसमेत भएका थिए। उनीहरूले महानगरको डोजर बस्तीमा पस्नै दिएका थिएनन्।