Wednesday, May 22, 2024

-->

डेरावालबीच लोकप्रिय छन् काठमाडौँका यी घरबेटी

काठमाडौँ उपत्यकामा घरबेटीले गर्ने व्यवहारले अधिकांश डेरावाल हैरान हुन्छन्। तिनैका बीच केही यस्ता अनुहार पनि छन्, जसलाई डेरावालले औधी रुचाएका छन्।

डेरावालबीच लोकप्रिय छन् काठमाडौँका यी घरबेटी
काठमाडौँको चावहिल गंगाहिटीकी घरबेटी सावित्री भट्टराई (दायाँ) र उनको घरमा डेरा बस्ने धनमाया पाण्डे।

काठमाडौँ– चाबहिल, गंगाहिटी बस्ने धनमाया पाण्डे करिब ४० वर्षअघि कटुबहाल क्षेत्रमा कोठा भाडामा लिएर परिवारसहित बस्थिन्। कोठा लिएको डेढ वर्ष भइसकेको थियो। एक दिन घरबेटीले घरबाट निस्केर जान भने। घर पुरानो भएको र पुर्ननिर्माण गर्नुपर्ने भन्दै उनीहरूलाई चाँडै अन्यत्र बसाइँ सर्न घरबेटीले जनाउ दिएका थिए। 

पाण्डेका साथमा श्रीमान‍्सहित वृद्ध आमा र बालबच्चा पनि थिए। कोठा खाली भए पनि भनेको ठाउँ र खोजेको समयमा पाइँदैनथ्यो। भाग्यवश नजिकैको एउटा घरमा खाली कोठा पाएर सरे। त्यहाँ केही वर्षको बसाइपछि करिब तीन दशकअघि उनीहरू चावहिलको गंगाहिटीमा सरेका हुन्, जुन ठाउँ अहिलेसम्म बदल्नुपरेको छैन।

३० वर्ष नाघिसक्दा पनि घरबेटी सावित्री भट्टराई र पाण्डेको परिवार एकै परिवारजसरी बस्छन्। उनीहरूले चाडपर्व पनि सँगै मनाउने गरेका छन्। बसिरहेको घरसँग लगाव भएको भन्दै अब कहीँ सर्न नसक्ने पाण्डे बताउँछिन्। 

“यो घर छोड्नै मन लाग्दैन। अब त झन् छाडेर जान पनि सकिँदैन। घरबेटी बुझ्ने छन्। आफ्नै जस्तो लाग्छ, सबै कुराको सुविधा छ भने किन छोड्नु! यत्रो समय त यहीँ बिताइयो, दुःखसुख यहीँ काटियो,” पाण्डेले हाँस्दै भनिन्, “अब त हाम्रा घरबेटीलाई निस्किएर जाऊ भन्ने अधिकार पनि छैनजस्तो लाग्छ।”

उनकी घरबेटी सावित्री भट्टराई हँसिली र दयालु स्वभावकी छिन्। घरधनीहरूले डेरावालको समस्या बुझ्नुपर्ने उनको भनाइ छ। उनको घरका ११ वटा कोठामा नेपालको पूर्वदेखि पश्चिमसम्मका मानिसहरू भाडामा बस्दै आएका छन्। तिनमा अधिकांश विद्यार्थी छन् भने केही परिवार पनि बसेका छन्।

कहिलेकाहीँ पानीको अभाव देखिए पनि अरू समस्या नरहेको डेरावालहरूको अनुभव छ। डेरावालको समस्या बुझ्ने र विश्वासिलो भए मात्रै उनीहरूबीच सम्बन्ध राम्रो हुने सावित्री बताउँछिन्। उनी भन्छिन्, “सबैभन्दा पहिलो कुरा त उनीहरू (डेरावाल) को समस्या बुझ्नुपर्छ, अनि घरधनीको समस्या पनि डेरावालले बुझ्नुपर्छ। सबै सुविधा दिन नसकिएला, तर घरवालाको व्यवहार मात्र राम्रो भयो भने डेरावालले कम्प्रमाइज गरेर बस्न सक्छन्।” 

झापा घर भएकी सीमा श्रेष्ठ काठमाडौँ आएको १५ वर्षभन्दा बढी भयो। त्यसयता विभिन्न ठाउँमा उनले बहालमा कोठा लिएर बसिन्। सबैजसो ठाउँमा आफूले घरधनीबाट नराम्रो व्यवहारको अनुभव गर्नु नपरेको उनले बताइन्। अहिले उनी भक्तपुरको नयाँ थिमीमा परिवारसहित बहालमा बस्दै आएकी छन्। उनको परिवार त्यस घरमा बसेको आठ वर्ष भइसकेको छ। 

उनीहरूबीच घरधनी र डेरावालको भन्दा बढी पारिवारिक सम्बन्ध गाँसिएको सीमाले बताइन्। आवश्यक सुविधा दिएर समस्या पनि बुझ्ने घरधनी पाएको भन्दै उनले खुशी व्यक्त गरिन्। सीमा भन्छिन्, “घरमा बालबच्चा छन्, कतिपय घरबेटीले झर्काे मान्छन्। तर हामीकहाँ कुनै समस्या छैन। घरजग्गा मात्र आफ्नो नाममा नभएको हो, नत्र आफ्नो घरभन्दा कम छैन।” 

आफूले भोग्नु नपरे पनि घरधनीका कारण मानसिक समस्यामा परेका डेरावालहरूको समस्याबारे उनले धेरै पटक सुनेकी छन्। “अस्ति भर्खरै कोठा लिएको मेरो चिनजानको मान्छे बसेको घरमा पानी पनि छैन, व्यवहार पनि राम्रो छैन, भाडा दिन एक दिन ढिलो भयो भने किचकिच गरेर हैरान बनाउने रहेछन्। बस्नै नसकेर फेरि अर्काे घरमा सर्न बाध्य भइसके,” उनले सुनाइन्।

भक्तपुरका दिलबहादुर मुग्राती पछिल्लो समय कतिपय डेरावालहरू नियतवश नै घरबहाल नतिरी सम्पर्कविहीन हुने गरेका कारण घरधनीहरू सशंकित हुने गरेको बताउँछन्। “केहीले घरबहाल नतिरी दुःख दिने गरेका कारण डेरावाललाई सजिलै विश्वास गर्न समस्या पर्न थालेको छ। त्यसैले पनि घरधनीहरू कडा व्यवहार देखाउन बाध्य हुनुपरेको हो,” उनी भन्छन्। 

तर सबै डेरावाललाई एकैनास ठान्न नहुने मुग्राती बताउँछन्। कतिपय अवस्थामा डेरावाल  र घरधनीको विचार र व्यवहारमा पनि आपसी सम्बन्ध निर्भर हुने उनको अनुभव छ। “घरबेटी वा डेरावाल नराम्रो भन्ने हुदैन। मात्र यति हो, उनीहरूको कम्बिनेसन मिल्दैन। कसैको विचार मिल्छ, तर कसैको ठ्याकै उल्टो हुन्छ। त्यसैले उनीहरूको सोचाइ र व्यवहार नमिलेको हो। कोही नराम्रा होइनन्।” 

घरधनीले घर बहालमा लगाउँदा पैसाका लागि नभई डेरावालको आवश्यकता पूर्ति गर्ने सोच राख्नुपर्ने अनामनगर घर भएका जयकुमार कार्की बताउँछन्। पहिले आफ्ना लागि पर्याप्त भएपछि बचेका कोठाहरू भाडामा लगाउने चलन थियो। तर पछिल्लो समय व्यावसायिकरूपमै घर–कोठा बनाएर भाडामा लगाउने प्रचलन बढेको छ।

बढ्दो व्यावसायिकताकै कारण घरधनी र डेरावालले एक अर्कालाई बुझ्न नसकेको कार्कीको भनाइ छ। यसले घरधनी र डेरावालबीच खाडल पैदा गर्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, “घरभाडामा दिँदा पैसाका लागि मात्र होइन, कसैको आवश्यकता पूर्ति गरिरहेको छु भन्ने सोच्नुपर्छ। डेरावालले पनि आफ्नै घरसरह ठान्नुपर्छ। घरबेटी र डेरावाल खुशी हुने यो नै मुख्य सूत्र हो।”


सम्बन्धित सामग्री