Sunday, May 12, 2024

-->

मणिपालमा बिरामीको मृत्युपछि किन निम्तियो तनाव?

सोमबार दिउँसो १ बजेबाट शुरू तनाव राति १० बजे साम्य भए पनि मणिपाल अस्पतालको अवस्था सामान्य भइसकेको छैन। चिकित्सकले आक्रमणमा संलग्नलाई कारबाही गर्न र मृतकका आफन्तले मृत्युको कारण माग गरिरहेका छन्।

मणिपालमा बिरामीको मृत्युपछि किन निम्तियो तनाव

पोखरा— लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुरालाई आइतबार ज्वरो आयो। उनको ढाड पनि दुखेको थियो। मिर्गौलाकी रोगी उनलाई आफन्तले स्थानीय अस्पताल पुर्‍याए। त्यहाँ उपचार गरे पनि थप उपचारका लागि विदेशबाट भर्खरै फर्किएका छोराले पोखरा लैजाने निर्णय गरे।

सुकमायाका छोरासहितका आफन्तले त्यही दिन अपरान्ह ४ बजेतिर मणिपाल अस्पताल पोखरा पुर्‍याए। त्यहाँ भर्ना गराएपछि उपचार शुरू भयो।

भोलिपल्ट सोमबार उनको स्वास्थ्य अवस्था झन् जटिल भयो। अस्पताल स्रोतका अनुसार बिरामीको अवस्था नाजुक भएपछि आकस्मिक कक्षबाट सुकमायालाई आईसीयूमा राखियो। भेन्टिलेटर पनि जोडियो। तर उपचारकै क्रममा करिब १ बजे उनको मृत्यु भयो।

बिरामीका आफन्तले भने आईसीयूमा बिरामीको अप्रेसन भएको, तर त्यसको जानकारी चिकित्सकले नदिएको दाबी गरेका छन्। अप्रेसनको अनुमति पनि नलिइएको उनीहरूको दाबी छ। बिरामीको मृत्युको कारण सोध्दा चिकित्सकहरूबाट दुर्व्यवहार भएको आफन्त नवीन लामा बताउँछन्।

“लमजुङबाट ल्याउँदा स्वास्थ्य अवस्था जटिल होइन। खाली थप उपचार गर्ने हिसाबले मात्र छोराले पोखरा ल्याउनुभएको हो,” उनी भन्छन्, “हामीलाई मृत्युको कारण अहिलेसम्म भनिएको छैन।”

बिरामीको मृत्यु हुँदा त्यहाँ एक जना मात्र कुरुवा थिए। मृत्यु भएको जानकारी दिनेबित्तिकै कुरुवाले डा. अनिल शाहमाथि हातपात गरेको एक स्वास्थ्यकर्मीले बताए। हातपातपछि अन्य चिकित्सकले प्रतिकार गरेका थिए। त्यसबेलासम्म अस्पताल परिसरमा मृतकका केही आफन्त भेला भइसकेका थिए।

भेला भएका आफन्तले चिकित्सकको टोलीले कुरुवालाई थुनेको भन्दै अस्पतालमा तोडफोड शुरू गरे। यसरी करिब १ बजेतिर शुरू भएको तनाव राति १० बजेसम्म चलेको थियो। आफन्तले आक्रमण शुरू गरेपछि चिकित्सक र कर्मचारीले पनि प्रतिकार गरेका थिए। त्यसक्रममा अस्पतालका झ्यालका सिसा फुटेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार विज्ञप्ति जारी गरेर सोमबार अस्पतालमा तनाव शुरू भएपछि क्षति हुन नदिन प्रहरी परिचालन गरिएको जनाएको छ। त्यस्तै, चिकित्सकमाथि कुटपिटमा संलग्न मृतकका आफन्त विनय गुरुङलाई नियन्त्रणमा लिइएको र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ।

नाराबाजी र होहल्लामा संलग्न रहेको भन्दै फिस्टेल अस्पतालका डा. दिनेशकुमार विकलाई समेत प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको थियो। तर उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर रायमाझीको रोहबारमा डा. गिरधारी शर्माको जिम्मा लगाएर मंगलबार बिहान रिहा गरिएको प्रहरीको भनाइ छ।

सोमबार दिनभरिको तनाव राति साम्य भए पनि अस्पतालको वातावरण सामान्य भइसकेको छैन। अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरूले आफूहरूमाथि आक्रमण गर्नेलाई कारबाही नभएसम्म सेवा नै ठप्प पार्ने घोषणा गरेका छन्। 

यता मृतकका आफन्तले बिरामीको अवस्थाबारे जानकारी लिन खोज्दा गुमराहमा राख्न खोजिएको आरोप लगाएका छन्। “हामीले आफ्नो मान्छे त गुमाइसक्यौँ। तर के भएको हो सोध्न त पायौँ नि! हाम्रो अधिकार त छ नि त! मान्छे मरेको हो, कुखुरा मरेको त होइन नि,” आफन्त नवीन लामा भन्छन्, “चार पाँच जना बसेर समाधान हुने कुरामा ढुंगा, रड लैजाने उहाँहरू नै हो। पढ्न आउनुभएको हो कि राजनीति गर्न आउनुभएको हो? उहाँहरूले रिपोर्ट देखाउनुभयो भने हामी कानूनी बाटो पनि समाउँला।”

उपचारका क्रममा के–के भयो भनेर सोध्दा महिला कुरूवालाई कोठामा लगेर थुनिएको उनको आरोप छ। उनी भन्छन्, “जुनै अस्पताल जाँदा पनि गम्भीर अवस्थामा पुगेको भए अब सकिन्नँ भनेर जानकारी दिन्छन्। मनपरि औषधि चलाउने, हाम्रो मान्छे गम्भीर अवस्थामा पुगेको हामीलाई थाहै छैन।”

मृतकका आफन्तले आवाज उठाउँदा कर्मचारी र चिकित्सकहरूको टोलीले आवाज नै नसुनी भागोस् भनेर धम्क्याएको लामाको आरोप छ। अन्य अस्पतालसमेतबाट आएका चिकित्सक र एमबीबीएस पढिरहेकाहरूले उल्टै आफूहरूमाथि ढुंगामुढा गरेको उनले बताए। घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने आफूहरूको माग रहेको उनको भनाइ छ।

मणिपाल अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले दुवै पक्षले कानूनी उपचारमा जाने बाटो खुला रहेको बताए। “के भएको हो, के रोग लागेर ल्याएको हो भन्ने सबै जानकारी भएन। सबै जानकारी पाएको भए भन्न सकिन्थ्यो,” उनले भने, “अस्पतालले पनि कानूनी उपचारका लागि जाहेरी दिएको छ। उताको पक्षबाट पनि उजुरी आएको होला।” 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी श्रवण विकले चिकित्सक पक्षको उजुरी आएको बताए। घटनाबारे छानबिन चलिरहेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी मोहन थापाले मृतकका आफन्त विनय गुरुङविरुद्ध कारबाहीका लागि चिकित्सकहरूले जाहेरी दर्ता गराएको बताए। थापाले भने, “डाक्टरलाई हातपात गर्नेलाई कानूनी कारबाही भैहाल्छ, अस्पताल र मृतक पक्षबीच पनि छलफल भइरहेको छ। त्यसपछि शव उठाउने काम हुन्छ।”

अहिले जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पतालबीच छलफल चलिरहेको छ। चिकित्सकहरूले भने आफूमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने अडान राखेका छन्।


सम्बन्धित सामग्री