Saturday, June 22, 2024

-->

राजनीतिका विरासतधारी नेताको  ध्यान : मस्त जीवन र भ्रष्ट सन्तान

आपराधिक र भ्रष्ट संस्कारमा हुर्केर वंशपरम्पराको राजनीति सम्हाल्न दुस्साहस गर्ने जो जति छन् तिनको हातमा सत्ता र शक्तिको तालाचाबी सुम्पिने गल्ती हामीबाट अब हुनुहुँदैन।

राजनीतिका विरासतधारी नेताको  ध्यान  मस्त जीवन र भ्रष्ट सन्तान

सबै आमाबाबुको इच्छा हुन्छ- उनका सन्तान सुबाटोमा लागून् नैतिकताले युक्त होऊन् कुलको नाम 'रोशन' गरून्। कसैले चाहँदैन आफ्ना सन्तान गैरकानूनी काममा लागून् अपराधमा लागेर अनैतिक काम गरून् र कुल–खानदानकै हुर्मत लिऊन्। तर हामीकहाँ राजनीतिमा रजगज गरेका केही नेताहरूको सन्तानको चर्तिकला हेर्न र सुन्न पनि लायक छैन। 

उनीहरू विशुद्ध दलाली,मानव तस्करी,बिनालगानी व्यापारमा हिस्सेदारी र तस्करीमा खुलेआम लागेका छन्। त्योभन्दा पनि खतरनाक चाहिँ यो हो कि उनीहरू राजनीतिका हर्ताकर्ता भएर शक्तिको अभ्यास गर्दै आएका तिनका बाबुआमाको स्पष्ट जानकारी र सक्रिय सहयोगमै त्यस्ता गतिविधि गरिरहेका देखिए। 

यसबाट यति त किटेरै भन्न सकिन्छ कि त्यो वर्गमा पर्ने कतिपय नेतारूपी आमाबाबुले आफ्ना छोराछोरीलाई आमनागरिकसरह आफ्नो जीवनयापन सहज बनाउने दिगो र भरपर्दो ज्ञान/सीप/कला/उद्यम सिकाउनुको सट्टा बिनामेहनत सत्ताको दुरूपयोग गरेर जसरी पनि पैसा कमाउने र मोजमस्तीमा रमाउने संस्कारबाहेक केही पनि सिकाएका रहेनछन्। त्यस्ता नेताको विरासत पछ्याएर आफ्नो दु:खमुक्ति र देशको समृद्धि अलाप्ने तिनका इमानदार कार्यकर्तालाई यो देख्दा कति ग्लानि भइरहेको होला! 

यसमा एउटै सान्दर्भिक उदाहरण हेरौँ। सुन तस्करीको अपराधमा पूर्व उपराष्ट्रपतिका पुत्र जितेन्द्र पुनको संलग्नता देखियो। त्यति मात्र होइन, पुनले तस्करी गर्न सहयोग पुर्‍याउने नक्कली परिचयपत्र बनाएको पाइयो। बाबुले पाएको पद र सुविधाको दुरूपयोग गर्दै अपराधका सहज शैली र त्यसमा सरकारका विभिन्न निकायले गरेका सघाउबारे पनि खुलस्त भयो। यी तमाम सूचना आफ्नै घरमूलीलाई जानकारी थिएन भनेर कसैले विश्वास गर्नेवाला छैन। 

त्यस्ता अभिभावक आफ्नो र परिवारको सुखसयलभन्दा बढी देश र जनताको भलाइप्रति एक रतीभर सरोकार राख्थे भने  कुनै व्यवस्थित व्यवसायबिना छोराछोरीले बाँचेको वैभवशाली जीवनको बारेमा पक्कै चासो राखेर कम्तीमा पनि प्रश्न गर्ने थिए।  तर नजानेको, नबुझेको या थाहा नपाएको मामिलामा मात्र प्रश्न गर्नु मानवीय स्वभाव नै हो। त्यसकारण जवाफ जान्न बाँकी नरहेको जिज्ञासा राखेर उनीहरू आफ्नो महँगो समय किन पो खेर फाल्थे र! 

अझ उदेक लाग्दो कुरा चाहिँ त्यस्ता हर्कत थाहा पाएकै बेला चासो राखेर सोधखोज नगर्दा पछि कोही छोरा फरार र कोही थुनामा बस्नुपर्ने अवस्था आउन सक्छ भन्ने तिनलाई किन कहिल्यै लागेन होला? अहिले जगहँसाइ हुँदा उनीहरूमा बुद्धिमता नपुगेको विगत सम्झेर महसुस हुने पश्चात्तापको मात्रा कति होला? 

राजनीतिमा भएको पुरानो पुस्ता कामभन्दा पनि भ्रष्टाचारमा लिप्त भयो भन्ने 'न्यारेटिभ' सर्वत्र फैलिएका बेला राजनीतिज्ञ आमाबाबुको छत्रछायामा हुर्कंदै गरेको नयाँ पुस्ताले ऊर्जाशाली उमेरका नवयुवालाई नराम्ररी निराश बनाएको छ, जसको मूल्य देशले पछिसम्म चुकाउनुपर्ने हुन्छ। यस खालको चरित्रले आमनागरिकलाई एउटा पाठ पनि सिकाएको छ- राजनीतिज्ञका सन्तानको  राजनीतिमा आउने उद्देश्य र उनीहरूले सत्तामा आउन सकेमा गर्ने कृत्य कस्तो हुन्छ त्यसको अनुमान गर्ने अवसर बेलैमा प्राप्त भयो। आफूलाई निराश र विचलित बनाउनुहन्दा बरु त्यसैमा पो सन्तोष मान्ने कि? 

केही वर्षअघि म काठमाडौँको ‘बबरमहल रिभिजिट’मा विदेशी साथीहरूससँग लन्च मिटिङका लागि गएको थिएँ।  त्यहाँ के देखियो भने नेपालमा कामले भन्दा पनि पद ओगटेर  ठूला भएका ‘पदीय विद्वानहरू’ हाबी हुँदा रहेछन्। उनीहरूका युरोप/अमेरिकाबाट भर्खर 'मास्टर्स' गरेर फर्केका युवा छोराछोरी उमेर र विचार नमिल्ने नेपालका बदनाम 'दलालहरू'का बीचमा बसेर गफिँदै खाइरहेको देख्दा राजनीतिज्ञका सन्तानले केका लागि राजनीतिमा भविष्य देख्छन् भन्ने बुझ्न गार्‍हो भएन। किनकि नेपालजस्तो देशमा राजनीति लगानीबिनाको उद्योग भएको छ, जसमा कुनै नियमकाइदा मानिराख्नुपर्दैन। 

आफ्ना छोराछोरीको सरसंगत र अपराधबाट आर्जित रकमको राशिबारे आमाबाबुलाई थाहा छ। तर आफैँ पनि भ्रष्ट मतिले डोरिएका त्यस्ता राजनीतिकर्मीहरूलाई यो पनि थाहा छ कि आफ्नो सन्तानले त्यस्ता आपराधिक पेसाबाहेक अरू केही गरी खानेवाला छैनन्। सायद त्यसैकारण यसरी कमाएको धनको आयु लामो हुँदैन र उनीहरू स्वयं तथा तिनका सन्तानको राजनीतिक/आर्थिक/सामाजिक/नैतिक स्वास्थ्यलाई त्यसले राम्रो गर्दैन भनेर जान्दाजान्दै पनि आँखा चिम्लिन विवश छन्। 

हामी आमनागरिकले विचार पुर्‍याउनुपर्ने चाहिँ एउटै कुरामा हो- आपराधिक र भ्रष्ट संस्कारमा हुर्केर वंशपरम्पराको राजनीति सम्हाल्न दुस्साहस गर्ने जो जति छन् तिनको हातमा सत्ता र शक्तिको तालाचाबी सुम्पिने गल्ती हामीबाट अब हुनुहुँदैन। त्यसको सर्वोपरि औजार चुनावमा अभिव्यक्त हुने हाम्रै अमूल्य मत हो। कम्तीमा यति मात्र भुलेनौँ भने अपराध गरेर कानूनका छिद्र खोजी खोजी उम्केकाहरूले पनि फेरि कहिल्यै उठ्न नसक्ने गरी जनमतको जगमुनि भासिनुपर्ने दिन अवश्य आउँछ। 


सम्बन्धित सामग्री