दरभंगामा जन्मिए पनि बाल्यकालमै मद्रास (अहिले चेन्नई) बसाइँ सरेकाले रामनाथ गोयनका तमिलभाषी हुनपुगे। स्वतन्त्रता संग्राममा सक्रिय रहेका उनी हमेशा धोती–कुर्तामै देखिन्थे। तिनै मारवाडी साउजीले भारत आजाद हुनुअघि नै शुरू गरेको ‘इण्डियन एक्सप्रेस’ सन् ७० को दशकमा जयप्रकाश नारायण (जेपी)को नेतृत्वमा चलेको इन्दिरा गान्धीविरोधी आन्दोलनको केन्द्रमा थियो। अर्कातिर दून स्कुलमा राजीव गान्धीको सहपाठी अरुण पुरीले ‘लण्डन स्कुल अफ इकनोमिक्स’मा चार्टड एकाउण्टेन्ट पढेर फर्केपछि इमर्जेन्सीको छैटौँ महिनामा शुरू गरेको ‘इण्डिया टूडे’ सत्ताको स्तुतीगानमा लिन थियो। जेपीको आन्दोलनले श्रीमती गान्धी दबाबमा थिइन् नै, इलाहाबाद उच्च न्यायालयले चुनावमा धाँधली गरेको कारण देखाई संसद् सदस्यता नै खारेज गरिदिएपछि प्रधानमन्त्रीले सन् १९७५–७७ मा इमर्जेन्सी लगाएकी थिइन्। इमर्जेन्सीमा कडा प्रेस सेन्सरसिपको आलोचना र प्रेस स्वतन्त्रताको पक्षमा गोयनकाको इण्डियन एक्सप्रेस समूहले डटेर पत्रकारिता गर्यो। सेन्सरद्वारा निर्धारित सम्पादकीय छाप्नुको सट्टा इण्डियन एक्सप्रेसले सम्पादकीय खण्ड नै खाली छोड्दिन उपयुक्त देख्यो।
देशको ख्यातनाम स्कुल र विश्वविख्यात शिक्षण संस्थाबाट उच्च शिक्षाप्राप्त अरुण पुरीले सत्तासामु आत्मसमर्पणबाटै प्रकाशन शुरू गरे। ‘भ्रष्टाचार, कर्मचारी–व्यापारीको अपवित्र गठबन्धन समाप्त हुने, गरिबी र महँगी घट्ने, नयाँ रोजगार सिर्जना हुने’ सम्पादकीय लेख्दै इण्डिया टूडे इमर्जेन्सीको बचाउमा उत्रियो। ‘प्रेसमा लगाइएको अंकुशलाई लिएर विश्वव्यापी चिन्ता प्रकट भएको छ। प्रधानमन्त्री गान्धीले म प्रेसको घाँटी निमोठ्न चाहन्नँ भनेर बारम्बार भन्नुभएकै छ। लोकतन्त्रको समस्यै भनेको के भने यसले स्वतन्त्रताको उत्पत्ति र दायित्वको अन्त्य कहाँ हुने भनेर निर्क्योल गर्न सक्तैन। इमर्जेन्सी जारी रहँदा पनि सरकारी नीतिको रचनात्मक आलोचनाको अनुमति दिनका लागि प्रेस सेन्सरसिप नियममा सुस्तरी शिथिलता ल्याइँदै छ,’ उसले लेखेको थियो।
‘विडम्बना, पाको उमेरका पूर्ण देशी गोयनका मिडियाको शक्ति स्वतन्त्रताको प्रतीक बने,’ लेखक सञ्जय बारु लेख्छन्, ‘अर्कोतिर अरुण पुरी शहरी जीवनशैलीमा केन्द्रित थिए।’ (इण्डियाज पावर एलिट) तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको प्रेस सल्लाहकार रहिसकेका बारु लेख्छन्, ‘इण्डियन एक्सप्रेसले सत्ता राजनीतिमा मिडियाको भूमिकाको नयाँ मानक खडा गर्दियो भने इण्डिया टूडेले कुलीनता पक्षधर नयाँ पत्रकारिताको शुरूआत गर्यो। इमर्जेन्सीको दाग–धब्बा धुन लक्षित उसले श्रीमती गान्धीलाई शासन सञ्चालनमा विश्वमै अव्वल प्रतीक बनाउने प्रयत्न गरिरह्यो।’
‘द टाइम्स अफ इण्डिया’को प्रकाशक ‘बेनेट अर कोलम्यान एण्ड कम्पनी’को स्थापनै अंग्रेजद्वारा अंग्रेज शासनको स्तुतीगानका लागि भएको थियो (सन् १८३८)। अंग्रेज मालिकसँग सन् १९४६ मा भारतीय उद्यमी रामकृष्ण डालमियाले किनेर ज्वाइँ शान्तिप्रसाद जैनलाई दिएको कम्पनी अहिलेसम्म जैन परिवारले चलाइरहेको छ। बिडला परिवारले स्थापना गरेको ‘हिन्दूस्तान टाइम्स’ले अंग्रेज शासनमा त राष्ट्रवादी मिडियाको पहिचान पायो, इमर्जेन्सीमा सत्ताको स्तुतीगानमा लिन भयो। बौद्धिकको छवि बनाएका सम्पादक बीजी भर्गिसलाई श्रीमती गान्धीको आलोचना गर्ने छुट त दिइएन नै पदमुक्तै गरियो। मालिक केके बिडलालाई श्रीमती गान्धीले राज्यसभा सदस्यको पगरीद्वारा गुन फिर्ता गरेकी थिइन्।
टाइम्स समूहलाई शुद्ध नाफामूलक मिडियामा रूपान्तरण गर्ने समीर जैनको एउटा किस्सा प्रचलित छ। सन् नब्बेको दशकको प्रारम्भिककालमा एक जना वरिष्ठ पत्रकारले जैनलाई सोध्छन्, ‘टाइम्स अफ इण्डिया सरकार समर्थक हो कि सरकारविरोधी?’ जैन उत्तर दिन्छन्, ‘न हामी सरकार समर्थक हौँ, न विरोधी, हामी नै सरकार हौँ।’ भारतमा अस्थिर सरकारको दौर चलिरहेको नब्बेको दशकमा टाइम्स समूहचाहिँ राजस्व र प्रभावको नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको थियो। ‘पुरीको व्यापारिक मोडल नै जैनले अपनाए,’ बारु लेख्छन्, ‘चौथो स्तम्भ भनिने मिडियालाई विशुद्ध व्यापारमा रूपान्तरण गर्नमा यिनै दुईको ठूलो भूमिका छ।’
सन् २०१४ मा नरेन्द्र मोदीको सत्तारोहणसँगै सत्ताको स्तुतीगानमा लिन भएको भनेर भारतको मिडिया जगतै आलोचित छ। हिन्दीभाषी मिडिया त बढी नै आलोचित छन्। आलोचकले प्रयोग गर्ने गोदी मिडिया हिन्दीभाषी क्षेत्रका जनजनमा प्रचलित छ। गोदी शब्द चलनचल्तीमा ल्याउने पत्रकार रविशकुमारका अनुसार इराकमा अमेरिकी आक्रमणको समयमा प्रचलित ‘एम्बेडेड’ मिडिया/पत्रकारजस्तै शब्दको खोजीमा थिए उनी। मोदीसँग अनुप्राश मिल्ने र पाल्तुको अर्थ पनि दिने भएकाले गोदी शब्द चयन गरेका थिए।
अहिले त यो यति प्रचलित भइसक्यो कि सत्ताप्रति आलोचनात्मक मिडिया (युट्युब च्यानल) चलाएबापत प्रवर्तन निर्देशनालय (ईडी)को छापामारीमा परिसकेका पत्रकार परन्जोय गुहा ठकुर्टाले निर्माण गरी भख्खरै सार्वजनिक गरेको म्युजिक भिडियोको बोल छ:
गोदीजी
गोदीजी गोदीजी गोदीजी
कुछ तो अच्छा बोलो
अफवाहका जहर न घोलो
नफरतके तुम बोल नाबोलो
आखे तो तुम खोलो
चारोओर आगलगी है
देखो कितना कोलाहल
झूलस रहे है कितना दिल कितने इन्सान है घायल
गोदीजी
गोदीजी गोदीजी गोदीजी।
सत्तासँग सुमधुर सम्बन्धका कारण अघि पनि भारतीय मिडिया आलोचनामुक्त थिएन। इमर्जेन्सीकालमा अपवादबाहेक भारतीय मिडियाले प्रेस सेन्सरसिपको प्रतिरोध गरेन। यसैले तत्कालीन विपक्षी लालकृष्ण आडवाणीले भनेको ‘सत्ताले त झुक्न भनेको थियो, मिडिया त घिस्रियो पो’ अहिले पनि चर्चित छ। पत्रकार विनोद शर्मा त प्रेस स्वतन्त्रता बिनाकुनै संघर्ष आजादीपछि ‘प्लाटर’मा प्राप्त गरेको हुनाले भारतीय मिडियाले यसलाई गम्भीरतापूर्वक लिनै नसकेको टिप्पणी गर्छन्। भाजपा सत्ताको सदाबहार आलोचक रविशकुमार सन् २०१४ अघि मिडियामा कमजोरी भए पनि कसैले सत्ताको विरोध गर्नासाथ त्यसविरुद्ध क्रूर रूपमा प्रस्तुत हुने पत्रकार, एंकर यसअघि कहिल्यै थिएनन् भन्छन्। ‘त्यसअघि एंकरले सरकारी नीतिविरुद्ध प्रदर्शन गर्ने किसानलाई खालिस्तानी भन्ने कल्पना गर्न सकिन्थेन,’ उनी थप्छन्, ‘प्रदर्शनकारीलाई ग्याङ भन्थेनन्।’
मोदीको सत्तारोहणपछि मिडियाले सत्ताको स्तुतीगान त गरे नै, सत्ताको रणनीतिअन्तर्गत कतिपय न्युज एंकरले हिन्दू–मुस्लिम तनाव उत्पन्न गराउन पुरजोर प्रयत्न गरिरहे। यसपालि चुनाव घोषणा गरेपछि भाजपाले नारा दियो, ‘अबकी बार, चार सय पार।’ ५४३ सदस्यका लागि भइरहेको लोकसभा चुनावमा लक्ष्य नै चार सय पार बनाएपछि जित सुनिश्चित छ, खालि सिटचाहिँ कति जित्ने भन्ने मात्र रह्यो भन्ने सन्देश दिने गरी। भाजपाले नारा लगाउनासाथ गोदी मिडिया भनेर आलोचित भारतीय पत्रकारिताको मूलधारले यसैको सेरोफेरोमा बहस केन्द्रित गरिहाले। भाजपाले चुनाव त जितिसक्यो, चार सय पार हुन्छ कि हुँदैन भनेर बहस चलाई मतदातामा भाजपा अविजित छ भन्ने सन्देश दिनु तिनको ध्येय देखिन्थ्यो। ‘अर्नव गोस्वामी व्यावसायिक र व्यक्तिगत रूपले मिलनसार पत्रकार हुन्,’ बारु लेख्छन्, ‘क्यामेरासामु पुगेपछि उनी व्यावसायिक एंकर नभई अभिनेता हुन पुग्छन्।’ गोस्वामी नेतृत्वको ‘रिपब्लिक टिभी’लाई बारुले ‘मोदी समर्थक बेपरवाह गुरिल्ला’ भनेका छन्।
‘भाजपाले नारा लगाइदिएपछि हामीसमेत यही सेरोफेरोमा बहस गरिरहेका छौँ भनेपछि भाजपाले जतिसुकै सिट जितोस् बहसलाई यसैमा केन्द्रित गर्ने सफलता त पाएको छ,’ भारतीय सत्ताको सदाबहार आलोचक विश्लेषक/अभियन्ता योगेन्द्र यादव टिप्पणी गर्छन्, ‘तर यो लक्ष्य पूरा नहुने मात्र होइन छेउछाउ पनि नपुग्ने निश्चित छ।’
भाजपा सत्तारुढ भएपछि भारतमा एउटा डरमर्दो अवस्था बनेको छ, राजनीतिक टीकाटिप्पणी (खासगरी भाजपा र मोदीबारे) गर्न। कञ्चन झा केही वर्षअघि भारत यात्राको एउटा घटना सम्झिन्छन्। उनी साथीहरूसहित रेलमा थिए। मोदी उच्चारण गर्दै उनीहरू भारतीय राजनीतिका कुराकानीमा मग्न थिए। ‘अर्को बर्थमा रहेका एक जना भारतीयले थर्काए, क्या मोदी मोदी बोलरहा है, मोदीजी बोल,’ कञ्चन झा सम्झिन्छन् ‘अनि हामीलाई बदलिएको भारत एहसास भयो।’
केही दिनअघि दिल्लीमा गफ गरिएका सर्वसाधारण (खासगरी ट्याक्सी/अटोचालक) पनि शुरूमा मोदीबारे खुल्न चाहेनन्। कुरा गरिएकाहरूमा एउटा समानता थियो, शुरूमा खुल्न नचाहने तर हामी मोदीका समर्थक होइनौँ भन्ने बुझेपछि चाहिँ खुलेर मोदीको आलोचना गर्ने। उनीहरू यस्तो हुनुको कारण पनि एउटै थियो, मोदीले फेरि जित्दै छन् भन्ने मिडियाले गाढेको भाष्य। मोदीलाई नरुचाउनेहरू गोदी मिडियाको झनै आलोचक सुनिए– रवि लामिछानेको मिडियाप्रति आक्रामक आलोचनाले भरपुर पत्रकार सम्मेलनपछि बाह्र भाइ भनेर यहाँकै मिडिया/पत्रकारको आलोचना भएजस्तै।
भारतमा अवस्था भाजपाले आफ्ना प्रचार संयन्त्र अनि मिडियामार्फत खडा गरेको भाष्यजस्तो छैन भन्ने कुरा अरू कुराहरूले पनि पुष्टि गर्दै गएका छन्। तैपनि मिडियाले गाढेको भाष्य र मध्यप्रदेश, राजस्थान र छत्तिसगढ विधानसभा चुनावले भाजपा सत्ताबाटै हात धुनुपर्ने अडकल गर्न सकिरहेका छैनन्। योगेन्द्र यादवजस्ता घाग चुनावी पण्डित पनि भाजपाको सिट जित्ने दाबी गरे पनि सत्ताबाटै बाहिरिन्छ भन्न जोखिम ठानिरहेका सुनिन्छन्।
त्यसो त पहिलो चरणमा भाजपाले अपेक्षा गरेअनुरूप मतदान नभएको चर्चासँगै मिडियाबाट ‘अबकी बार, चार सय पार’ करिब–करिब गायब छ। जितिहाल्छ नि भनेर ०४८ सालको आमचुनावमा बानेश्वरतिरका कांग्रेस समर्थक मतदान गर्न नजाँदा कृष्णप्रसाद भट्टराई हारेझैँ यस्तो नाराका कारण भाजपा समर्थक मतदाता मतदान केन्द्रमा नपुग्ने गम्भीर खतरा देखिएकाले पनि मिडियाले यो बहस बन्द गरेका हुन सक्छन्।
लेखक बारुले दिल्लीको मिडियालाई शुद्ध व्यावसायिक, सरकार समर्थक, विपक्ष समर्थक र भ्रष्ट गरी चार समूहमा वर्गीकरण गरेका छन्। मोदीले धेरैभन्दा धेरैलाई सरकार समर्थक बनाउने भरपुर प्रयत्न गरे। र, खासगरी हिन्दीभाषी मिडिया र पत्रकारमा आफ्नो समर्थन सुनिश्चित गरे। भारतमा मिडिया–राजनीतिक दल गठबन्धनको पहिलो सफल प्रयोग सन् ८० को दशकको शुरूतिर आन्ध्र प्रदेशमा भएको थियो, तेलुगुदेशम पार्टी– इनाडु गठबन्धनमार्फत। तेलुगु फिल्मका सुपरस्टार एनटी रामारावले पार्टी गठन गरी राजनीतिमा छिरेपछि तेलुगु भाषाको प्रख्यात अखबार इनाडु उनको मुखपत्रजस्तो हुन पुग्यो। सन् १९८३ एनटीआर–इनाडु गठबन्धनले कांग्रेस र रेड्डीको एकाधिकार अन्त्य गरिदिएको थियो। एनटीआर कम्मा समुदायको पहिलो मुख्यमन्त्री बन्न पुगे।
तामिलनाडुको डीएमकेमा सक्रिय मारन परिवारको लगानीमा सन् १९९३ मा ‘सन टिभी’ शुरू भयो भने जयललिता नेतृत्वको प्रतिस्पर्धी एआईएडीएमकेले ‘जया टिभी’ शुरू गर्न ६ वर्ष (सन् १९९९) कुर्यो। आन्ध्र प्रदेशका वर्तमान मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले पनि साक्षी अखबार र टिभी शुरू गराए। हैदराबादको ‘डेक्कन क्रनिकल’को स्वामित्व कांग्रेस नेता टी चन्द्रशेखर रेड्डीसँग रहन्थ्यो। महाराष्ट्रमा ‘लोकमत’ समूहको स्वामित्व कांग्रेसी दर्डा परिवारसँग छ भने ‘सकाल’मा पवार परिवारको पैसा छ। ‘नेता कि मिडिया मालिकै बनिरहेका छन् या नियन्त्रण कायम गरेका छन्,’ बारु लेख्छन्।
भाजपा समर्थकचाहिँ कांग्रेस शासनमा सत्ता समर्थक नै अहिले मिडियालाई सत्ता समर्थक भयो भन्दै चिच्याइरहेको आरोप लगाउने गर्छन्। बारुले पनि किताबमा सन् २०१४ मा मोदी सत्तारोहणसँगै सत्ताले तारो बनाएपछि अडानीले किन्दिएको ‘एनडीटिभी’का तत्कालीन प्रमुख प्रणय राय स्वयम राजीव गान्धीले औधी रुचाएको र फाइदासमेत उठाएका मिडिया सञ्चालक/पत्रकार हुन् भनेर लेख्छन्। गान्धी र कांग्रेसलाई प्रणय प्रिय भएजस्तै ‘इण्डिया टिभी’का रजत शर्मा अटलविहारी वाजपेयीका खासमखास थिए। अर्नव गोस्वामीलाई टेलिभिजन च्यानल रिपब्लिक टिभी खोल्न भाजपानिकट लगानीकर्ताको समूहले लगानी गरिदिएको उनले लेखेका छन्। टाइम्स अफ इण्डियाले कुनै सत्ता र पार्टीको निकटस्थ हुनबाट आफूलाई जोगाइरहन सफल भए पनि समूहको ‘टाइम्स नाऊ’ सत्ताको प्रपोगाण्डामा रमाइरहेकाले पनि त्यहाँ सत्ताको स्तुतीगान गर्न सिर्जित दबाब अनुमान गर्न सकिन्छ।
सोसल मिडियाले मिडियाको शक्तिलाई विभाजित गरिदिएका कारण आजको अवस्था कुनै समीर जैनले हामी नै सरकार हौँ भन्न सक्ने अवस्था रहेन। नेपालमै पनि ‘कान्तिपुर’ राजाविरुद्ध आन्दोलन गर्ने आठौँ दलको अवस्था गौरवशाली विगत मात्र भइसकेको छ। अधिनायकवादी चरित्रको सरकारको दबाबको कारण पनि मिडियाको शक्ति क्षयीकरण भएको छ।
भारतमै गोदी मिडिया भनेर जसरी मिडिया आलोचित र विवादित हुँदै गएको छ, वैकल्पिक मिडियाले तिनको स्पेस खोसिरहेको छ। भारतमा संसारमै सबैभन्दा बढी ४६० मिलियन (४६ करोड) युट्युबर दर्शक छन् (श्रीनिवासन जैन, अलजजिराको रिपोर्टमा)। टेलिभिजनकै कार्यक्रममा पनि युट्युबमै हेर्नेको संख्या बढ्दै गएकाले पनि सत्ताकै स्तुतीगानले अब धेरै टिक्न नसक्ने अवस्था बन्दैछ। भारतीय सत्ताको आलोचक ध्रुव राठीले नरेन्द्र मोदीलाई पूर्ण अधिनायकोन्मुख शासक चित्रण गरी बनाएको भिडियो एक महिनामा ३१ मिलियन (३ करोड १० लाख) भ्युज छ। मोदी र भाजपाले कसरी सर्वसाधारणको ब्रेनवास गरिरहेको छ भनेर बनाएको अर्को भिडियोको भ्युज नौ दिनमा १७ मिलियन (१ करोड ७०) लाख छ। जबकि रजत शर्माको तीन दशक पुरानो ‘आपकी अदालत’कै युट्युबमा भ्युज राठीको भिडियोको छेउछाउ पनि पुग्दैनन् (भलै टेलिभिजनमा हेर्ने दर्शक धेरै होलान्)। एनडीटिभी छाडेपछि रविशकुमारले शुरू गरेको युट्युब च्यानलका सब्स्क्राइबर्स छोटो समयमै १० मिलियन (१ करोड) पुग्न थालेको छ। दैनिक एकाध भिडियो अपलोड गर्ने रविशको भिडियोमा पनि मिलियन भ्युज सामान्यजस्तै छ। शायद यही दबाबले हो कि गोदीकै उपनाम पाएका मिडिया/एंकरले पनि मोदीको भाषणका झूटलाई ‘फ्याक्ट चेक’ गर्न थालेका छन्।
तर गोदी मिडियाले सत्ताको स्तुतीगान गरेजस्तै सत्ताप्रति आलोचनात्मक पत्रकारहरूको सामग्री पुरै सत्ताविरोधी छन्, विपक्षीको भाषण/लेखजस्तै, अझ कहिलेकाहीँ विपक्षीभन्दा पनि कडा। जसमा सन्तुलन अपेक्षा गरिँदैन।
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्)