Saturday, May 11, 2024

-->

आन्दोलनरत चिकित्सक भन्छन्ः पहिले हाम्रो सुरक्षा  चाहियो अनि मात्रै बिरामी हेर्छौँ

चिकित्सकमाथि आक्रमण बढ्दै गएको तर आक्रमणकारीलाई कारबाही नभएको भन्दै उपत्यकाका आवासीय चिकित्सक फेरि सडकमा उत्रिएका छन्।

आन्दोलनरत चिकित्सक भन्छन्ः पहिले हाम्रो सुरक्षा  चाहियो अनि मात्रै बिरामी हेर्छौँ
तस्वीर: कृष्पा श्रेष्ठ/उकालाे

काठमाण्डौँ– आफ्नो सुरक्षाको माग गर्दै बिरामीको उपचार छोडेर उपत्यकाका आवासीय चिकित्सक फेरि पनि आन्दोलनमा होमिएका छन्।

उपचारका क्रममा बिरामी पक्षले आफूहरूमाथि कुटपिट गर्ने क्रम दिनप्रतिदिन बढेको र त्यो रोक्न माग गर्दै उनीहरू ओपीडी सेवा बहिस्कार गरेर सडकमा उत्रिएका हुन्। सोमबार पोखराको मणिपाल शिक्षण अस्पताल, त्यसअघि जिल्ला अस्पताल लमजुङलगायत जिल्लामा चिकित्सकमाथि भएको आक्रमणको विरोध गर्दै उपत्यकाका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले पहिले आफ्नै अस्पताल परिसर र त्यसपछि माइतीघरमा संयुक्त आन्दोलन गरे। 

उनीहरूले ‘नेता गफ चुट्ने बिरामी डाक्टर कुट्ने’, ‘डाक्टर कुट्न पाइँदैन’,‘कुटाई खाने कहिलेसम्म?, ‘पेशा छोडौँ कि देश छोडौँ?’  ‘दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट’ जस्ता नाराहरू लगाउँदै आन्दोलन गरेका थिए। 

बिरामीको उपचार छोडेर आन्दोलनमा होमिएका शिक्षण अस्पतालका जेनेरल फिजिसियन डा.सुमन आचार्यले यो आन्दोलन आफूहरूको रहर नभइ बाध्यता भएको बताए। 

“बिरामी तथा बिरामीका परिवारलाई डाक्टरमाथि केही कुरामा चित्त बुझेको छैन भने नेपाल मेडिकल काउन्सिलमा या प्रहरी चौकीमा दर्ता उजुरी गर्नुप्यो तर डाक्टरलाई पिट्न पाउनुहुन्न,”उनले भने। उनले अस्पतालमा सुरक्षाको ग्यारेन्टी नभएसम्म आफूहरू बिरामीको उपचार गर्न नसक्ने पनि बताए।

“सरकारद्वारा डाक्टरको कार्यस्थलमा सुरक्षा हुनुपर्‍याे, कार्यस्थलमा त दिएको छैन बाहिर झन् के दिन्थ्यो,”उनी आक्रोशित भए। 

माइतीघर मण्डलमा आन्दोलनका लागि पुगेका शिक्षण अस्पतालका मनोरोग विशेषज्ञ डा.निकोलस भुषालले सरकारी सेवा प्रणाली कमजोर हुँदा अहिले बिरामीसँगै चिकित्सक पनि पीडित भएको बताए। “सिस्टमले गर्दा आज डाक्टर बिरामी दुवै पिडित छन्। एउटा डाक्टरले ६४ जना बिरामी हेर्नुपर्छ।  दरबन्दी नखुलेको २० वर्ष भयो। देशमै बसेर सेवा गर्छु भन्ने वातावरण नै छैन,” उनी भन्छन् “हामी विगत १० वर्षदेखि आन्दोलनमा छौँ। माइतीघर, पोखरा, बुटवल, वीर र टिचिङ अस्पतालमा धेरै दिन आन्दोलन गरेका थियौँ।” उनले योबीचमा ७ जना फेरिएका स्वास्थ्यमन्त्रीसँग आफ्ना मागलाई लिएर वार्ता गरेको तर उनीहरूले आफ्ना समस्यालाई बेवास्ता गर्दै आएको गुनासो गरे।

“देशको स्वास्थ्य अवस्था कस्तो छ कसैलाई मतलब नै छैन। हामीले तलब नपाएको ३ महिना भयो,” उनले भने, “कमसेकम आनन्दले काम गरेर त खान पाउनुपर्‍याे नि। बिचरा ती डाक्टर बन्छु भनि दिन रात मिहिनेत गरेर पढेका भाइबहिनीले दैनिक यस्तो खबर सुन्दा के होला?”

स्वतन्त्र विद्यार्थी युनियन सभापति टिचिङ अस्पताल मेडिकल क्याम्पस तथा जनस्वास्थ्य केन्द्रीय विभाग इन्टर्न डा.आनन्द सिंहले पछिल्लो एक महिनायता लगातार चिकित्सक कुटिएको भन्दै चिन्ता व्यक्त गरे। उनी भन्छन्,“अघिल्लो एक महिनादेखि प्रत्येक दिनजसो २–३ वटा ठाँउहरूमा डाक्टरलाई कुटिएको छ।  हातपात गर्ने जो कोहिले पनि सजाय पाउनुपर्छ भनि हामीले जेल वीद्आउट बेल भनेर बटम लाइन नै राखेका छौँ।” तर, चिकित्सक कुट्नेलाई प्रहरीले पक्राउ गरे पनि केही दिनमै छोड्ने गर्दा झन् अराजकता फैलिएको उनको भनाइ छ। 

सोमबार मणिपाल शिक्षण अस्पतालमा लमजुङकी ५७ वर्षीया सुकुमाया दुराको उपचारका क्रममा मृत्यु भएको थियो। दुराको मृत्य भएलगत्तै मृतक पक्षले चिकित्सकमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणको विरूद्ध मणिपालका इन्टर्न चिकित्सक आन्दोलनमा उत्रिएका थिए। उनीहरूले एक साताका लागि ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। उनीहरूको आन्दोलनको समर्थन गर्दै उपत्यका आवासीय चिकित्सकले माइतीघरमा आन्दोलन गरेका हुन्। 

यसैबीच उनीहरूको आन्दोलनको नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ। संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ कार्यान्वयन हुनुपर्ने माग गरेको छ। यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार गृहमन्त्रालयमा संघ, नेपाल मेडिकल काउन्सिल, नर्सिङ एसोसिएसनका पदाधिकारीहरूसँगको छलफलमा स्वास्थ्यकर्मीमाथि भौतिक कारबाही गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। 


सम्बन्धित सामग्री