Monday, May 06, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ: इजरायलमा नेपाली त्रास, चिनीको तितो चर्चा र व्यापारीका निम्ति बर्बाद निगम

हमासको आक्रमणमा इजरायलमा १० नेपालीको मृत्यु, २५४ जनाको उद्धार, त्रिवेणी ग्रुपको ‘हित’मा चिया विकास निगम निजीकरण, १ महिनालाई पुग्ने चिनी व्यापारीका गोदाममा सहित यो साता यी खबरले बनाए हेडलाइन।

उकालो साप्ताहिक ब्रिफिङ इजरायलमा नेपाली त्रास चिनीको तितो चर्चा र व्यापारीका निम्ति बर्बाद निगम

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ। तेल अविवस्थित नेपाली दूतावासका अनुसार शनिबार बिहान आक्रमणकारीको मुख्य निशानामा परेको किबुज अलुमिम भन्ने क्षेत्रमा रहेका कृषि फार्ममा १७ जना नेपाली कृषि प्रशिक्षार्थी कार्यरत थिए। तीमध्ये १० जनाको आक्रमणमा परेर निधन भएको हो। उक्त आक्रमणमा घाइते भएका तीन जनाको उपचार भइरहेको र एक जनाको अवस्था अज्ञात रहेको छ। मृतकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका छन्। इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू एक महिना पहिले मात्रै इजरायल गएका थिए।

२५४ जनाको उद्दार
नेपाल सरकारले युद्धग्रस्त मुलुक इजरायलबाट २५४ जना नेपालीको हवाई उद्दार गरेको छ। उनीहरू शुक्रबार बिहान नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौँ आइपुगेका छन्

युद्धका कारण अलपत्र परेका उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी टोली बिहीबार इजरायलतर्फ प्रस्थान गरेको थियो। नेपाल फर्कन चाहना राखेका नागरिकलाई ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले बताएको छ।

उक्त आक्रमणपछि इजरायलमा रहेका कतिपय नेपालीले सामाजिक सञ्जालमा भिडियो र चिठी राखेर आफूहरूको उद्धार गर्न आग्रह गरिरहेका थिए। 

सम्बन्धित:
इजरायलमा अस्ताएका गणेश जसलाई देशको ‘यही अवस्था’ले हामीमाझ रहन दिएन 
हमासले हानेको ग्रिनेड बाहिर फ्याँकेर विपिनले साथी बचाए, अब हामीलाई उनकै चिन्ता छ

मृत्यु भएका विद्यार्थीमध्ये कसैले एक करोड रूख रोप्ने प्रण गरेका थिए भने कसैले नेपालमै राम्रो कृषि फार्म सञ्चालन गर्ने सपना बुनेका थिए। उनीहरू अब केही दिनमा रातो बाकसमा नेपाल आइपुग्नेछन्।

विशेष रिपोर्ट
“सरकारले संघईसँँग सम्झौताको तयारी गरिरहँदा चिया बगानहरूको जग्गा लिज–भाडा व्यक्तिले तिर्ने कि कम्पनीले भन्ने विवाद देखा परेको थियो। अर्थ मन्त्रालयका अधिकारीहरूले संघईले निगममा ६५ प्रतिशत शेयर ओगट्ने भएकाले उनले नै लिज–भाडा तिर्नुपर्ने अडान राखेका थिए। निजीकरण समितिको सिफारिसअनुसार २०५६ असोज २६ गते मन्त्रिपरिषद्ले भाडा संघईले नै तिर्नुपर्ने निर्णय गर्‍यो।

तर मन्त्रिपरिषद्को निर्णय मान्न इन्कार गरेका संघईले व्यक्तिगत रूपमा भाडा नतिर्ने, बरु आफूसमेत संलग्न कुनै कम्पनीको जमानी (कर्पोरेट ग्यारेन्टी) उपलब्ध गराउन सकिने लिखित जानकारी गराए। संघईको माग पुरा गराउन त्यसपछि निजीकरण समिति आफ्नो पूर्वनिर्णयबाटै पछि हट्यो। २०५७ जेठ ५ गते निजीकरण समितिले ‘व्यक्तिगत रूपमा भाडा नतिर्ने संघईको भनाइ औचित्यपूर्ण नै देखिएकाले संघईसमेत संलग्न कम्पनीको जमानी लिने गरी सम्झौता गर्न सरकारलाई सिफारिस गर्ने’ निर्णय गर्‍यो।

यो निर्णयमा तत्कालीन अर्थमन्त्री महेश आचार्य, कृषि तथा सहकारी राज्यमन्त्री बलदेव शर्मा मजगैया, प्रतिनिधिसभाको अर्थ समितिका सभापति स्मृतिनारायण चौधरी, प्रतिनिधिसभा सदस्य गोपालमान श्रेष्ठ र राष्ट्रिय योजना आयोगका सदस्य डा. शंकर शर्माले हस्ताक्षर गरेका छन्।”

प्रचुर सम्भावनायुक्त चिया विकास निगमलाई तात्कालिक समस्या देखाएर हतारहतार निजीकरण गरिनुको स्वार्थ एउटा व्यापारिक घरानाको लाभसँग जोडिएको थियो भन्ने साढे दुई दशकका घटनाक्रमले छर्लङ्ग पार्छन्। विस्तृतमा पढ्नुहोस्– त्रिवेणी ग्रुपको ‘हित’मा गरिएको चिया विकास निगम निजीकरण, ८ हजार बिघा सरकारी जग्गा हडप्ने खेल
 


उकालोमा यस हप्ता प्रकाशित प्रमुख सामग्री 

भिडियो कथा: चिया अर्थात्, ‘कनेक्सन—— चिया पसलमा कोही गफिन, कोही थकाइ मार्न र कोही कसैलाई पर्खिन पुग्ने गर्छन्। घरमा पाहुनाको सत्कार चियाबाटै हुन्छ। एक चिया पसलका सञ्चालक भन्छन्- चिया मान्छेहरूबीचको 'कनेक्सन' हो।

भिडियो

घरमा प्रयोग गरिने रङमा भेटियो अत्यधिक सिसा, उच्च जोखिममा मानव स्वास्थ्य —— घरमा प्रयोग हुने इनामेल पेन्टमा सरकारले तोकेभन्दा २५४ गुणासम्म धेरै सिसा मिसाइएको पाइएको छ। सिसा शरीरमा पर्दा बालबालिकाको स्नायु प्रणालीका साथै वयस्कको मिर्गौला तथा प्रजनन् स्वास्थ्यमा असर पुग्छ।

बेलायतकी डा. शेर्ली हेवुडले कर्णालीलाई दिएका २० वर्ष —— नेपालमा स्वास्थ्य सेवाकै लागि बेलायती नागरिक शेर्ली हेवुड चिकित्सक बनेकी थिइन्। २० वर्षअघि नेपाल आएकी डा. शेर्लीको कारण कर्णालीका महिलाको लागि ‘निको नहुने रोग’ बनेको फिस्टुलाको उपचार सामान्य भएको छ।

भिडियो

सुन छुटाउन पहल गरेका माओवादी नेता महरालाई उन्मुक्ति, छोरा राहुलसहित चारजनाविरूद्ध मुद्दा —— तस्करीको सुन छुटाउन पूर्वसभामुख महराका बाबुछोरा दुवैले समान भूमिका निर्वाह गरेको प्रहरीकै अनुसन्धान प्रतिवेदनले छर्लङ्ग पार्छ। तर बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र मुद्दामा प्रतिवादी बनाइएको छ।

मन्त्री र मेयरको स्वार्थमा अस्तव्यस्त हरिपुर्वा नगरपालिकाः ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन्, गएका टिक्दैनन्  —— खानेपानीमन्त्री महेन्द्र राय यादव र मेयरबीचको टसलले सर्लाहीको हरिपुर्वामा पछिल्लो ६ महिनामा ६ पटक नै प्रमुख प्रशासकीय अधिकृत फेरिए। कतिपय त सरुवा भएर पनि गएनन्, गएका समेत २४ घन्टा नबित्दै फिर्ता भए।

बझाङमा पुनः भूकम्पको धक्का —— बझाङमा असोज १६ को भूकम्पमा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो।

इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन: परराष्ट्र मन्त्रालय  —— इजरायल सरकारको आफ्नै प्रोटोकल भएका कारण शव व्यवस्थापनमा केही समय लाग्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

कोशी प्रदेश एक वर्ष नपुग्दै मध्यावधि निर्वाचनतिर जान लागेको हो? —— १० महिनाको बीचमा बनेका चारवटा सरकार नटिकेपछि पाँचौँ सरकारको तयारीमा रहेको कोशी प्रदेशसभा एक वर्ष नपुग्दै विघटन हुने र मध्यावधि निर्वाचनतिर सोझिने संकेत देखापरेका छन्।

डब्ल्यूएचओको चुनावमा डा. शम्भु आचार्यलाई जिताउन नेपालको ‘लबिइङ’ कमजोर भएको हो? —— बंगलादेशकी प्रधानमन्त्री वाजेद हरेकजसो अन्तर्राष्ट्रिय ‘फोरम’मा उम्मेदवार बनेकी आफ्नी छोरी साइमासँग देखिइरहँदा नेपाल सरकारले भने डा. आचार्यको पक्षमा खास ‘लबिइङ’ नगरेको गुनासो सुनिन थालेको छ।

देशभर एक महिनालाई पुग्ने चिनी व्यापारीका गोदाममा, बजारमा हाहाकार हुँदा सरकार लाचार ——  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानका गोदाममा १८ हजार ८५१ टन चिनी फेला पारेको छ जसले औसतमा देशभरको झन्डै एक महिनाको माग धान्न पुग्छ।

चिनी अभावः उद्योगीले टेरेनन् मन्त्रीको आग्रह, उद्योगहरूमा भण्डार गरिएको चिनी गएन बजारमा —— भण्डारण गरेको चिनी बजारमा पठाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले गरेको आग्रह उद्योगीले बेवास्ता गरेका छन्। उक्त चिनी पेय तथा जुस उद्योगलाई बेचिसकेको उद्योगीहरूको दाबी छ।

एशियाडमा आशा नै नगरिएको पदक जिताउने कबड्डीको कथाः प्रशिक्षण स्थलसमेत थिएन ——  चीनमा भएको १९औँ एशियाली खेलकुद अन्त्यतिर पुग्दै गर्दा पदक तालिकामा महिला कबड्डीमार्फत नेपालको नाम चढेको थियो। पदक आशै नगरेको यो खेलले कास्य जित्नु राखेपका लागि पनि 'सर्प्राइज' थियो।

क्यान साधारणसभामा 'बोल्ड आउट' लाक्पा लामाका आँसु, जो हुन् सुनौलो पुस्ताका क्रिकेटर ——  लाक्पा लामाले कुनै बेला यू-१७ फुटबलको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। तर उनी चर्चित क्रिकेटर बने। सन् २००२ मा नेपालले पहिलोपटक यू-१९ विश्वकप क्रिकेट खेल्दा उनी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए।

'भीआईपी' र 'भीभीआईपी'को पर्खाइमा दशकौँदेखि रित्तै छन् वीर अस्पतालका महँगा बेड —— वीर अस्पतालले ‘अतिविशिष्ट’ र ‘विशिष्ट’हरूका लागि भनेर अलग्गै वार्ड छुट्ट्याएको चार दशक नाघिसक्यो। तर केही अपवाद बाहेकका उच्चपदस्थहरू उपचार लिन नगएपछि महँगा बेडको रेखदेखमै राज्यको लगानी खेर गइरहेको छ।


सम्बन्धित सामग्री