काठमाडौँ– वीर अस्पतालले राष्ट्रका 'भीभीआईपी' र 'भीआईपी' अर्थात् अतिविशिष्ट र विशिष्ट व्यक्तिहरू बिरामी भएर आएमा उपचारका लागि भर्ना गर्न सर्वसाधारण बिरामीको भन्दा छुट्टै बेडको व्यवस्था गरेको छ। उच्चपदस्थहरू उपचारका लागि राज्यकोषमा भार पार्दै विदेश जाने क्रम नरोकिए पनि सरकारी अस्पतालमा उनीहरूका लागि भनेर सुविधासम्पन्न उपचारकक्ष बनाइएको छ। तर पछिल्लो एक दशकमा त्यहाँ केवल एक जना भीभीआईपी र ४५ जना भीआईपीको मात्र यहाँ उपचार भएको छ।
अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार २०७१ सालदेखि यही असोज १४ गतेसम्म भीआईपी र भीभीआईपी वार्डबाट जम्माजम्मी ती ४६ जनाको उपचार गरिएको हो। अस्पतालमा पञ्चायतकालमै तत्कालीन राजपरिवारका सदस्य र सरकारका विशिष्ट व्यक्तिहरूलाई लक्षित गरी २०३५ सालमा भीआईपी/भीभीआईपी कक्ष स्थापना गरिएको देखिन्छ। त्यहाँ २०७१ सालअघि उपचार लिएका उच्चपदस्थहरूको अभिलेख भने अस्पताल प्रशासनसँग छैन।
वीरको पुरानो भवनको भीआईपी/भीभीआईपी वार्डमा २०७१ सालमा एक, २०७२ मा दुई, २०७३ मा दुई, २०७४ मा चार, २०७५ मा पाँच, २०७६ मा नौ, २०७७ मा पाँच, २०७८ मा आठ, २०७९ मा चार र २०८० साल असोज १४ गतेसम्म तीन जना भीआईपीहरूले उपचार गराएका छन्। भीआईपी वार्डमा उपचार गराउनेहरू सरकारका सचिव, सांसद, न्यायाधीश, मन्त्री, सभामुख र पूर्वप्रधानमन्त्रीसम्म छन्।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलेले भीआईपी/भीभीआईपी वार्डमा उपचार गर्न आउनेको संख्यामा फेरबदल भइरहेको बताए। “राज्यले सम्मान गर्नुपर्ने व्यक्तिको कदरस्वरूप उपचारका लागि वीर अस्पतालले छुट्टै कक्ष व्यवस्था गरेको छ। तर उहाँहरूको उपचार प्रक्रिया पनि सर्वसाधरणको जस्तै हो,” उनले भने।
भीआईपी/भीभीआईपी वार्डमा उपचार गराउनेहरू
वीर अस्पताल प्रशासनका अनुसार अम्बिका खवास राजवंशी, कमला शर्मा (दुई पटक), कमलादेवी महतो, न्यायधीश गोविन्द शर्मा, प्रभादेवी बज्रचार्य, सांसद कृष्ण धिताल, गिरीराजमणि पोखरेल, तारानाथ रानाभाट, रामकुमारी चौधरी, भरतकुमार शाह, चन्द्रकुमार घिमिरे, ज्ञानेन्द्रबहादुर कार्की, धर्मशिला चापागाईं, जितेन्द्रनारायण देव, उमाकान्त चौधरीले भीआईपी वार्डमा उपचार गराएका छन्।
यस्तै शिवराज जोशी, उमाशंकर, प्रमिला देवान, शशिकला दाहाल, डा. सुरेन्द्रकुमार यादव, कल्याणी खड्का, सोमनाथ अधिकारी, बेलीमाया घले (दुई पटक), शान्ता चौधरी, मीनबहादुर विश्वकर्मा, सुमित्रा बीसी, डा. बाबुराम भट्टराई, दमननाथ ढुंगाना, सुरेश आचार्य (दुई पटक), योगेश भट्टराई, रामकुमारी झाँक्रीले पनि भीआईपी वार्डमा भर्ना भएर उपचार लिएका छन्।
यसैगरी हृदयराम थानी, उमा रेग्मी, मधुसुधन बुर्लाकोटी, भवानीप्रसाद खापुङ (दुई पटक), हिराचन्द्र केसी, डिगबहादुर लिम्बू (दुईपटक), महेन्द्र यादव र मीना श्रेष्ठले विगत एक दशकयता भीआईपी वार्डमा उपचार गराएको अभिलेख अस्पताल प्रशासनमा छ।
त्यसबाहेक अस्पतालको नयाँ भवनमा सञ्चालित भीभीआईपी वार्डमा पहिलो पटक भदौ २४ गते पूर्वराष्ट्रपति डा. रामवरण यादवले उपचार लिएका छन्। सोही भवनको भीआईपी वार्डमा भर्ना हुन आएका प्रदेशसभा सदस्य एकराज कार्की उपचारपछि सात दिनमा डिस्चार्ज भएका थिए।
कसरी भइरहेको छ भीभीआईपी/भीआईपीको उपचार?
वीर अस्पतालमा अहिले पुरानो र नयाँ भवनमा गरी भीआईपी र भीभीआईपीका लागि पाँच वटा फोल्ड गर्न मिल्ने बेड छुट्ट्याइएका छन्। ती बेडहरूमा अक्सिजन, मोनिटरिङ, ईसीजी भेन्टिलेटर लगायतको सुविधा छ। “अस्पतालको पुरानो भवनमा भीभीआईपी र भीआईपीका लागि एक/एक गरी जम्मा दुई बेड थिए। अहिले भीभीआईपीको लागि एक र भीआईपीको लागि दुई थप गरेर जम्मा पाँच वटा फोल्ड गर्न मिल्ने बेड छुट्ट्याएका छौँ,” अस्पतालका निर्देशक डा. पौडेलले भने।
भीआईपी/भीभीआईपी वार्डमा रहेकाहरूलाई आईसीयू सेवा आवश्यक परेमा सर्वसाधारणका लागि छुट्ट्याइएको आईसीयू कक्षमै उपचार गर्ने व्यवस्था रहेको निर्देशक डा. पौडेलले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीआईपी कक्षमा उपचारसम्बन्धी सल्लाह दिनका लागि विज्ञको टिम बनाएको उनले जानकारी दिए।
“स्वास्थ्य मन्त्रालयले भीआईपीको उपचारमा राष्ट्रिय स्तरको टिम खडा गरेको छ। उहाँहरूले सल्लाह दिनुहुन्छ”, उनले भने, “भीआईपी वा भीभीआईपीहरू जुन स्वास्थ्य समस्या लिएर आउनुहुन्छ, त्यसैसँग सम्बन्धित विशेषज्ञ, विभागीय प्रमुख, अस्पतालको निर्देशक र नर्सिङ निर्देशक सहितको टिम उपचारमा खटिनुहुन्छ। आवश्यकताअनुसार विज्ञ समूह र विशेषज्ञले पनि सल्लाह दिनुहुन्छ।”
खाली बेडमा सर्वसाधारणले उपचार गर्न किन पाउँदैनन्?
वीर अस्पतालको भीआईपी/भीभीआईपी वार्डमा रहेका बेडहरू धेरैजसो खाली हुन्छन्। ती बेडहरूमा सर्वसाधारणको उपचार गर्न किन मिल्दैन त?
अस्पतालका निर्देशक डा. पौडेलले राज्यले सम्मान गरेर छुट्ट्याउन भनेको बेड सर्वसाधारणका लागि दिन नमिल्ने बताए। “सर्वसाधारणका लागि हामीले अस्पतालमा सयौँ बेड छुट्ट्याएका छौँ। तर यत्रो ठूलो अस्पतालमा पाँच वटा बेड राज्यमा विशिष्ट योगदान पुर्याएका व्यक्तिको उपचारका लागि छुट्ट्याउँदा समस्या ठान्नुहुन्न,” उनले भने।
अस्पतालका एक चिकित्सक भने भीआईपी/भीभीआईपी वार्डमा बेड खाली राख्नुभन्दा सर्वसाधारण बिरामीका लागि प्रयोगमा ल्याउँदा उपयुक्त हुने धारणा राख्छन्। “भीआईपी या भीभीआईपी कहिले आउलान् र उपचार गरौँला भनेर अस्पतालका बेड खाली राख्न जरुरी छैन, सर्वसाधारणका लागि पनि प्रयोग गर्न सकिन्छ। तर राजनीतिक दबाबमा अस्पताल प्रशासनले यस्तो गर्न सक्दैन,” उनले भने।