काठमाडौँ– बिहान उठ्ने बित्तिकै चिया। कोहीसँग गफिनु पर्दा चिया। पाहुना आउँदा चिया। थकाइ मार्दा चिया। कसैलाई पर्खिनु पर्दा चिया। चिया नेपालीहरूको अभिन्न अंगजस्तो बनिसकेको छ। प्रायः सबैजसो ठाउँमा चिया पिउनेहरू भेटिन्छन्।
सामान्यतः चिया भनेपछि दूध, चियापत्ती र चिनीको मात्रा टक्क मिलेको, रङ खुलेको पेय भनेर बुझिन्छ। चिया पारखीहरूमाझ एक भनाइ चर्चित छ–रङ कडा, चिनी बढा, दुध हाल्न नडरा।
कतिपयले चियालाई अझै स्वादिष्ट बनाउन अलैँची, अदुवा, मरिच, सुकुमेल, दालचिनी पनि मिसाउँछन्। कसैकसैलाई भने ‘ब्ल्याक टी’ खुब मनपर्छ। ‘ग्रिन टी’ पिउनेहरू पनि धेरै भेटिन्छन्।
अहिले ‘ब्रु’ चियाको बजारसमेत विस्तार भइरहेको छ। काठमाडौँका विभिन्न ठाउँमा ब्रु चिया बेच्ने क्याफेहरू भेटिन्छन्।
एक महिनाअघि ठमेलमा खुलेको ‘नेपाल टी कलेक्टिभ’ले विशेषगरी ब्रु चिया बेच्ने गर्छ। निश्चित तापक्रमको पानीमा चियापत्ती राखेर ब्रु चिया तयार गरिन्छ। तर चियापत्ती हालिसकेपछि पानी उमालिँदैन।
ब्रु चिया बेच्ने यस ‘टी बार’का संचालकहरू हुन्– निश्चल बास्कोटा, प्रतीक रिजाल र अमिगो खड्का। उनीहरूले अमेरिकामा समेत नेपाली चियाको व्यापार गर्दै आएका छन्।
सन् २०१५ मा निश्चलले शुरू गरेको चिया व्यवसायमा ६ वर्षपछि प्रतीक पनि जोडिन आइपुगे। त्यसैगरी, सन् २०२२ मा अमिगो आफ्नो बाल्यकालदेखिको साथीको व्यवसायमा जोडिए।
काठमाडौँमा ब्रु चियालाई चर्चित बनाउने उनीहरूको लक्ष्य छ। अमिगो भन्छन्, “मान्छेहरू आइरहेका छन्, ब्रु चियाको बास्नाले धेरैलाई लोभ्याएको छ। काठमाडौँमा चियाको व्यापार धेरै बढ्ने देख्छु।”
उनका अनुसार यस ‘टी बार’मा थरिथरिका चिया पाइन्छ। उलंग टी, हर्बल टी, अग्र्यानिक ब्ल्याक प्रिमियम, रिजर्भ टी, ग्रिन टी, सिल्भर टीप्स, ह्वाइट टी यहाँका चर्चित चिया ‘आइटम’ हुन्। यिनलाई तयार पार्ने तरिका पनि फरक छन्। अझै रोचक त के छ भने, चियाअनुसार पानीको तापक्रम भिन्न–भिन्न राखिन्छ। प्रतीक भन्छन्, “कुनै चियालाई सेलाएको पानी चाहिन्छ, कुनैलाई एकदमै तातो पानी। हामी पानीको तापक्रम जाँचेर चिया बनाउछौँ।”
प्रतीक ‘सुरूप्प’ आवाज निकालेर चिया पिउन सुझाव दिन्छन्। “चिया भनेको आवाज निकालेर खाने हो, पानी पिएजस्तो गर्नु हुँदैन। यहाँ आउने ग्राहकहरूलाई पनि म आवाज निकालेर मज्जासँग पिउन सुझाव दिन्छु,” उनी भन्छन्।
चिया भनेको के हो?
प्रतीकको छोटो जवाफ छ, “क्याटलिस्ट!”
अमिगो पनि छोटोमा जवाफ दिन्छन्– “कनेक्सन!”
थप कथा भिडियोमा