Monday, May 06, 2024

-->

इजरायलका बंकरबाट गुहार माग्दै नेपाली, समय घर्काउँदै सरकार

युद्धको चपेटामा परेको इजरायलमा रहेका कतिपय नेपालीले सामाजिक सञ्जालमा भिडियो र चिठी राखेर आफूहरूको उद्धार गर्न आग्रह गरिरहेका छन्। तर सरकारले अहिलेसम्म उद्धारको लागि ठोस निर्णय गर्न सकेको छैन।

इजरायलका बंकरबाट गुहार माग्दै नेपाली समय घर्काउँदै सरकार

काठमाडौँ– लगातारको गोलाबारुदले इजरायलको अलुमिम क्षेत्रको आकाशमा धुवाँ मडारिइरहेको छ। एउटा अँध्यारो बंकरभित्र पाँच नेपाली युवा छन्। उनीहरू आफूलाई बचाइदिन सरकारसँग गुहार मागिरहेका छन्।

प्यालेस्टाइनको गाजा क्षेत्रबाट सैन्य समूह हमासले स्थानीय समयअनुसार शनिबार बिहान इजरायली भूमिमा अचानक आक्रमण गरेपछि युद्ध भड्किएको छ। हमासको आक्रमणमा परेर इजरायलमा रहेकामध्ये १० जना नेपाली कृषि प्रशिक्षार्थीले ज्यान गुमाएका छन्। केही घाइते भएर अस्पतालमा छन्।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि विषय पढिरहेका २६५ विद्यार्थी इजरायल पुगेका थिए। जसमध्ये कृषि विश्वविद्यालयका ११९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थी छन्। आक्रमण भएको क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका कृषि विद्यार्थी कार्यरत थिए। उनीहरूमध्ये १० जनाको निधन भएको हो।

सकुशल रहेका विद्यार्थीले अहिले सामाजिक सञ्जालमार्फत आफूहरूको उद्धार गर्न पटकपटक आग्रह गरिरहेका छन्। कृषि प्रशिक्षार्थीको रूपमा इजरायल पुगेका विपीन सुवेदी पाँच जना साथीसहित अहिले बंकरमा बसिरहेका छन्। उनले फेसबुकमा भिडियो राख्दै आफूहरूको उद्धार गरेर बचाउन आग्रह गरेका छन्। “सरकार बैठक बसिरहेका छ भनेर नसुनाउनुस्, जतिसक्दो चाँडो यहाँबाट हाम्रो उद्धार गर्नुस्,” भिडियोमा उनले भनेका छन्।

अहिले पनि गाजा क्षेत्रलाई नियन्त्रण गरेका हमास र इजरायलबीच युद्ध भइरहेको छ। बंकर छाडेर बाहिर निस्किने अवस्था नरहेको त्यहाँ भएका नेपालीले बताएका छन्। तुलनात्मक रूपमा दिउँसो केही शान्त भए पनि राति गाजा आसपासको आकाशमा रकेटहरू चल्न थाल्ने उनीहरूले बताएका छन्। हमासका लडाकु बन्दुक बोकेर बंकरभित्रै आएर पनि आक्रमण गने सक्ने सामाजिक सञ्जालमा राखेको भिडियोमा सुवेदीले बताएका छन्।

लगातार तीन दिनदेखि बंकरभित्रै बस्नु परेको उनको भनाइ छ। आफ्नैअगाडि १० जना साथीहरूले ज्यान गुमाएको देखेको कारण राति निन्द्रा पनि नलागेको उनको भनाइ छ।

“राति निन्द्रा लाग्दैन, मुटु फुट्ला झैँ हुन्छ, अब हामी कुर्न सक्दैनौँ,” सुवेदीले भनेका छन्, “हामी मानसिक रूपमा विचलित छौँ। बिहान भएर बोल्न आँट आइरहेको छ। जब साँझ पर्छ डर लागेर आउँछ।”

दूतावासबाट उद्धार गर्न कोही आइहाल्छ कि भनेर आफूहरू आइतबारदेखि नै तयार भएर बसेको उनको भनाइ छ। “बंकरभित्र सुरक्षित ठानेर दूतावास नआएको हो कि! बंकरभित्रै छिरेर हाम्रो छातीमा गोली हाने को जिम्मेवार हुने?” सुवेदी भन्छन्।

सुवेदीले सामाजिक सञ्जालमा राखेको भिडियो भाइरल भएपछि र सञ्चारमाध्यममा समाचारसमेत आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसँग कुराकानी गरेका छन्। दाहालको सचिवालयले कुराकानी गरेको भिडियो सार्वजनिक गरेको छ। उनले ‘भिडियो कल’मार्फत सुवेदीसँग उद्धारको प्रयास गरिरहेको र त्यसै विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाएको बताएका छन्। 

दाहालले भनेका छन्, “इजरायली राजदूतावासमा पनि लगातार कुरा भइरहेको छ। सायद परराष्ट्रमन्त्रीस्तरमा पनि कुरा होला। यी सबै कुरा तपाईंले त्यहाँ विद्यार्थीहरूलाई कम्युनिकेट गरिदिन पर्‍यो। एकथरि मान्छे ह्याभोक्रेट क्रिएट गर्ने (त्रास फैलाउने) पनि हुन्छन्।”

सुवेदीले भने आफूहरूलाई दूतावासले डेढ घन्टामा लिन आउने जानकारी दिएको र एकजोर कपडा तथा पासपोर्ट झोलामा हालेर बस्न तथा लाइभ लोकेसन शेयर गर्न भनेको र त्यो पनि गरेको बताउँछन्। तर प्रधानमन्त्री दाहालले उनी बोल्दाबोल्दै ‘ल ल बाँकी कुरा रमेशजीसँग (स्वकीय सचिव रमेश मल्ल) गर्नुस्’ भन्दै फोन अर्कै व्यक्तिलाई दिन्छन्।

उता, इजिप्टको सिमाना नजिक पर्ने इजरायलको कडेश बर्नामा ३९ नेपाली उद्धारको पर्खाइमा छन्। अहिलेसम्म त्यो क्षेत्र सुरक्षित भए पनि जुनसुकै बेला आक्रमण हुन सक्ने डरले पिरोलिएको उकालोको सम्पर्कमा आएका कास्की घर भएका सुरज भण्डारीले बताए।

“कतिबेला यता पनि हान्ने हुन् भनेर डर लागिरहेको छ। हामी पनि उद्धारको पर्खाइमा छौँ,” भण्डारीले भने, “यो युद्ध लामो समय चल्छ, हामीलाई अहिले नै नेपाल फर्किनु छ।”

भण्डारीका अनुसार उनीहरू त्यहाँ घरभित्र छन्। लुक्नको लागि बंकर छैन। उनले प्रधानमन्त्रीका नाममा पत्र लेखेर फेसबुकमा पोष्ट गर्दै उद्धारका लागि आग्रह गरेका छन्। आकाशमा चरा उडेको देखेको आफूहरूले अहिले मिसाइल र फाइटर उडेको देखिरहेको पत्रमा उल्लेख गरेका छन्। तिहारमा पटाका पड्काउँदै खुशी हुने आफूहरू अहिले आफ्नै अगाडि बन्दुक पड्केको देखेर त्रसित भएको र गाजापट्टीमा पड्केका बमका आवाजले आक्रान्त बनिरहेको उनको भनाइ छ। 

“आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा तपाईं नै हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन। हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुस्,’ भण्डारीले पत्रमा लेखेका छन्।

यस्तै, त्यही क्षेत्रमा रहेका बर्दियाका लुइस रिजालले आइतबार फेसबुकमा ‘लाइभ’ गर्दै सरकारले तत्काल उद्धार नगरे आफूहरूको ज्यान जे पनि हुनसक्ने बताएका थिए। “तीन दिनदेखि खाना पनि खाएको छैन। बंकरका चिसो भुईंमा बस्नुपर्दा स्वास्थ्य बिग्रिएको छ,” उनले भनेका छन्, “दूतावासलाई फोन गर्दा आश्वासन मात्र दिन्छन्। आश्वासनले ज्यान जोगिन्छ कि जोगिँदैन भनेर बुझिदिनुपर्‍यो।”

शनिबारको आक्रमणमा गोली लागेर छटपाइरहेका आफ्नै ब्याजका १० जना साथीहरूलाई सम्झेर छटपटी मात्र हुने गरेको रिजालले बताएका छन्। “आफ्नै आँखाअगाडि ढलेर बचाउन गुहार मागिरहेका साथीहरूलाई आफूले केही पनि गर्न नसकेको त्यो क्षण सम्झिँदा अहिले पनि छटपटी भइरहन्छ,” उनी भन्छन्।

यस्तो डरत्रासपूर्ण अवस्थामा रहेका नेपालीहरूको पहिलो आशा त्यहाँस्थित दूतावास नै रहेको प्रवासी नेपाली मञ्च इजरायलकी सचिव मिना चुडालले बताइन्। तर दूतावासले सक्रियता नदेखाएको उनको आरोप छ। “थाइल्यान्ड, भारतलगायत देशका दूतावासहरू आफ्ना नागरिकको अवस्था बुझ्न उनीहरू भएको क्षेत्रमा पुगिरहेका छन्। हाम्रो देशको दूतावासले राम्रोसँग रेस्पोन्स नै गर्दैन,” उनले भनिन्, “हामीले सम्पर्क गरेर बुझ्दा आक्रमण भएको क्षेत्रमा रहेका धेरै भाइहरूले खाना सकियो भनिरहेका छन्।”

शव ल्याउन जहाज तयार
सरकारले इजरायलको बंकरमा बसेका र घाइते भएकाहरूको उद्धारभन्दा अगाडि मृत्यु भएका १० जनाको शव नेपाल ल्याउने तयारी थालेको थियो। परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको सोमबार बिहान बसेको बैठकले शव ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो। 

सरकारले आइतबार साउदको संयोजकत्वमा उक्त संयन्त्र बनाएको थियो। संयन्त्रको बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्नेसमेत निर्णय गरेको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपालीको उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठकपछि दाहालले साँझ ५ बजे सिंहदरबारमा सर्वदलीय बैठक पनि बोलाएका छन्।

तत्काल उद्धार गर्न आफन्तको आग्रह
इजरायलमा फसेका विद्यार्थीलाई तत्काल उद्धार गर्न आफन्तले सरकारसँग आग्रह गरेका छन्। सोमबार बिहान परराष्ट्र मन्त्रालय पुगेर उनीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग द्वन्द्वको चपेटामा परेका विद्यार्थीलाई तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन्।

हमासले आक्रमण गरेको गाजा क्षेत्रनजिकै रहेका उनीहरू आक्रमणको चपेटामा पर्ने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको इजरायलमा रहेका विद्यार्थी लोकेन्द्र विष्टकी काकी चन्द्राले बताइन्। उनीहरू सुदूरपश्चिम विश्वविद्यालयमार्फत इजरायल पुगेका हुन्। उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको र आक्रमणको डरले उनीहरू तनावमा रहेको चन्द्राको भनाइ छ।

“छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार भनिरहेका छन्। फोन गरिरहेका छन्। सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेऊ सरकार,” उनले भनिन्।

आफन्तले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदको भिडियो कुराकानी पनि गराएका थिए।


सम्बन्धित सामग्री