Saturday, May 11, 2024

-->

घरमा प्रयोग गरिने रङमा भेटियो अत्यधिक सिसा, उच्च जोखिममा मानव स्वास्थ्य

घरमा प्रयोग हुने इनामेल पेन्टमा सरकारले तोकेभन्दा २५४ गुणासम्म धेरै सिसा मिसाइएको पाइएको छ। सिसा शरीरमा पर्दा बालबालिकाको स्नायु प्रणालीका साथै वयस्कको मिर्गौला तथा प्रजनन् स्वास्थ्यमा असर पुग्छ।

घरमा प्रयोग गरिने रङमा भेटियो अत्यधिक सिसा उच्च जोखिममा मानव स्वास्थ्य
अनुसन्धानका क्रममा संकलन गरिएका इनामेल पेन्ट्सका नमूनासँग सिफेडका कार्यकारी निर्देशक रामचरित्र साह र उनका सहयोगी।

काठमाडौँ– घरका भित्ता, झ्याल र ढोकामा लगाइने रङमा सिसा (लेड) को अत्यधिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ। तर नेपालका उद्योगहरूले सरकारले तोकेको मापदण्डभन्दा बढी सिसा प्रयोग गरेर रङ उत्पादन गरिरहेको पाइएको छ।

देशभरका ३७ वटा रङ उद्योगका ६२ उत्पादन (इनामेल पेन्ट) को नमूना संकलन गरेर भएको अध्ययनले ३० वटा उत्पादनमा सरकारले तोकेको मापदण्डभन्दा बढी सिसाको मात्रा पाइएको हो। यो अध्ययन जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्र (सिफेड)ले सन् २०२१ मा गरेर भर्खरै नतिजा सार्वजनिक गरेको थियो।

सरकारले घरका भित्ता, झ्याल र ढोकामा प्रयोग गरिने रङमा सिसाको मात्रा ९० पीपीएम (पार्ट्स पर मिलियन) भन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ। २०७१ पुस ९ गते राजपत्रमा सूचना प्रकाशन गरेर रङमा सिसाको मापदण्ड तोकिएको थियो। तर अध्ययनका क्रममा बजारमा पाइने इनामेलमा सरकारले तोकेको मापदण्डभन्दा सिसाको मात्रा २५४ गुणासम्म बढी पाइएको छ।

द लान्सेट प्लानेटरी हेल्थले गरेको अध्ययनले रङमा पाइने सिसाको मात्रा मानव शरीरमा प्रवेश गरे त्यसले सबै उमेर समूहका मानिसलाई असर गर्ने देखाएको छ। बालबालिका यसबाट अझ बढी प्रभावित हुन्छन्। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालका अनुसार सिसा शरीरमा प्रवेश गरे बालबालिकाको स्नायु प्रणालीको विकासमा असर पार्छ। यसले वयस्कको मिर्गौला खराब गर्छ भने प्रजनन् स्वास्थ्यमा पनि असर पुग्छ। 

बालबालिकाको रगतमा सिसा
एनएचआरसीले काठमाडौँ उपत्यकामा ६ देखि ३६ महिना उमेर समूहका बालबालिकाको रगतको नमूनामार्फत अध्ययन गरेको थियो। नमूना संकलन गरिएकामध्ये करिब ६५ प्रतिशतको रगतमा सिसाको मात्रा पाइएको थियो। अध्ययनका लागि काठमाडौँका त्रिवि शिक्षण र पाटनसहित बढी बालबालिका भर्ना हुने  अस्पतालका बालबालिकाको रगतको नमूना संकलन गरिएको थियो। 

अनुसन्धान समूहको नेतृत्व गरेका एनएचआरसीका अनुसन्धान शाखा प्रमुख डा. धिमालका अनुसार रगतमा ५ मिलिग्राम पर डेसीलिटर सिसा हुनु निकै बढी हो। ३१२ बालबालिकामा गरिएको अध्ययनमा २०३ जनामा सिसाको मात्रा उच्च भएको पाइएको थियो। 

अध्ययनका क्रममा सिसाको प्रमुख स्रोत इनामेल पेन्ट नै देखिएको धिमाल बताउँछन्। “गरिब तथा विपन्न बालबालिका धुलोमा खेल्छन्, पत्रपत्रिकामा राखिएको खानेकुरा खान्छन्। ती बालबालिकाहरूको रगतमा बढी लेडको मात्रा पाइएको छ,” उनी भन्छन्।

घरभित्र वा बाहिर धुलो तथा माटो खेल्दा बालबालिका त्यसमा मिसिएको सिसाको सम्पर्कमा पुग्छन्। अनि हात नधोइ खाना खाँदा सँगै सिसा पनि खाने डा. धिमाल बताउँछन्। खासगरी ६ वर्षभन्दा साना बालबालिकाले यसरी सिसाको सेवन गर्ने उनको भनाइ छ। सामान्यतः १ देखि ६ वर्षका बालबालिकाले दैनिक रूपमा १०० देखि ४०० मिलिग्रामसम्म धुलो तथा माटो सेवन गरिरहेका हुन्छन्।

कहिलेकाहीँ बालबालिकाले रङको छोक्रा जमिनबाट टिपेर सिधै आफ्नो मुखमा राख्छन्। रङको छोक्रामा सिसाको मात्रा सामान्य धुलो तथा माटोमा भन्दा बढी हुने हुँदा यो क्रियाकलाप झनै घातक हुन्छ। घरमा रङ लगाइएको कुनै खेलौना, फनिर्चर तथा अन्य वस्तुलाई बालबालिकाले टोक्दा वा चपाउँदा सिधै सिसा खान पुग्ने धिमाल बताउँछन्।

सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार ५/६ वर्ष उमेर समूहका बालबालिकाले घरको भित्ता, ढोका वा झ्याल समातेर हिँड्दा शरीरमा सिसा प्रवेश गर्ने सम्भावना अधिक हुन्छ। “रङ धुलोमा परिणत भएर हावा तथा अन्य माध्यममा फैलिन्छ। वयस्कभन्दा बालिबालिकाले छिटो सास फेर्ने भएकाले सिसा उनीहरूको शरीरमा पस्ने सम्भावना पनि धेरै हुन्छ,” साह भन्छन्, “त्यसकारण सिसाबाट बालबालिका धेरै जोखिममा छन् भनिएको हो।”

बढ्दैछ इनामेल पेन्टको बजार
सिफेडले अध्ययनका क्रममा २० वटा शहरका पसलमा बिक्रीका लागि राखिएका फरक कम्पनीका इनामेल पेन्ट खरिद गरेको थियो। संकलन गरिएका नमूनामध्ये सात वटा अर्थात्, ११.२९ प्रतिशत इनामेल पेन्टमा सिसाको मात्रा अत्यधिक पाइएको थियो। ती पेन्टमा सिसाको मात्रा १० हजार पीपीएम थियो।

सुनसरीमा रहेको मन्जरी पेन्ट्सको सुनौलो रङको पेन्टमा २२ हजार ८५० पीपीएम सिसा पाइएको थियो। यो सरकारले तोकेको मापदण्डभन्दा २५४ गुणा बढी हो। 

अध्ययनका लागि संकलन गरिएकोमध्ये ३२ वटा पेन्टले सरकारको मापदण्ड पूरा गरेका थिए। तीमध्ये पनि १८ वटामा सिसा नभेटिएको सिफेडका कार्यकारी निर्देशक साह बताउँछन्। बजारमा आउने सबै इनामेल पेन्टमा सिसाको मात्रा सरकारले तोकेको मापदण्डभन्दा कम हुनुपर्ने र त्यसका लागि सरकारको प्रभावकारी उपस्थिति जरुरी रहेको उनको भनाइ छ। 

मानिसको क्रयशक्तिमा भएको वृद्धि र घर निर्माण आदिका कारण इनामेल पेन्टको बजार बढ्दो छ। नेपालमा साना र मझौला गरी १०० वटा पेन्ट उद्योग दर्ता भए पनि करिब ४० वटा सञ्चालनमा छन्। सन् २०१२–२०१५ को तुलनामा इनामेल पेन्टको बजार प्रत्येक वर्ष ३५ प्रतिशतले बढिरहेको छ सिफेडको अध्ययनले देखाएको छ।

सन् २०१२ मा एशियन पेन्ट्सले ४० प्रतिशत, बर्जर पेन्ट्सले २७, पशुपति पेन्ट्सले २० र कन्साई पेन्ट्सले १३ प्रतिशत बजार हिस्सा ओगटेका थिए। २०२१ मा बजारमा तीबाहेक थप चार ब्रान्डका पेन्ट आएका छन्। 

मधेश प्रदेशमा मापदण्डभन्दा बाहिरका धेरै
सिफेडले सातवटै प्रदेशमा रहेका उद्योग र बजारमा बिक्रीका लागि राखिएको पेन्टको नमूना संकलन गरी अध्ययन गरेको थियो। त्यसमध्ये मापदण्ड पालना नभएका पेन्ट सबैभन्दा बढी मधेश प्रदेशमा पाइएको थियो। मधेशमा १४ वटा नमूना संकलन गरिएकोमा दुई वटामा मात्र सरकारले तोकेको मापदण्ड पूरा भएको भेटिएको थियो। 

अध्ययनमा कोशी प्रदेशमा सबैभन्दा राम्रो अवस्था पाइएको थियो। त्यहाँ १४ वटा नमूना परीक्षण गर्दा ११ वटाले मापदण्ड पूरा गरेको पाइएको थियो। बागमतीमा १८ नमूनामा ११ वटा मापदण्डभित्र थिए। सात वटामा मापदण्ड उल्लंघन गरिएको थियो। 

गण्डकी प्रदेशमा संकलन गरिएको पाँच नमूनामध्ये दुई वटामा सिसाको मात्र उच्च थियो। लुम्बिनीमा पाँच नमूनामध्ये तीन वटामा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तीन तीन नमूनामध्ये एक एक वटामा सिसाको मात्रा उच्च थियो।

बजारमा पाइने रङहरूको गुणस्तर जाँच गर्ने प्रमुख दायित्व नापतौल तथा गुणस्तर विभाग र वातावरण विभागको हो। तर यी दुई निकायको ध्यान मापदण्ड अनुगमनमा जान सकेको छैन। नापतौल तथा गुणस्तर विभागकी उपमहानिर्देशक एव्म प्रवक्ता ज्योति जोशी भट्ट तत्कालीन वातावरण मन्त्रालयले जारी गरेको मापदण्ड अहिलेसम्म  विभागको मापदण्डमा समावेश नभएकाले बजारमा ल्याइएका इनामेल पेन्टहरूको गुणस्तर जाँच नभएको बताउँछिन्।

“लेड सम्बन्धी मापदण्डलाई नापतौल तथा गुणस्तर विभागमा पनि कार्यान्वयन गर्नुपर्छ भनेर रिभिजनमा राखेका छौँ,” उनी भन्छिन्, “एनएस चिन्ह प्रदान गर्ने क्रममा लेडको मात्रा हेर्छौं र वातावरणकै मापदण्डभन्दा बढी नहुने कुरामा निश्चित गराएका छौँ। तर बजारको सन्दर्भमा हामी आफैँले हेरेका छैनौँ।”


सम्बन्धित सामग्री