इरानले शनिबार राति इजरायलस्थित सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गरेसँगै यी दुई देशबीच युद्धको सम्भावना बढेको छ। दुई साताअघि इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम आक्रमण गरी इरानी रिभोल्युसनरी गार्ड्स कोर्प्सका वरिष्ठ कमान्डर मोहम्मद रेजा जाहेदीको हत्या गरेपछि इरानले त्यसको कठोर प्रतिक्रिया जनाउने चेतावनी दिएको थियो।
शुक्रबार मात्रै अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायलमाथि इरानको आक्रमण छिट्टै हुन सक्ने र आफ्नो देश इजरायलको प्रतिरक्षाका लागि सहयोग गर्न तत्पर रहेको अभिव्यक्ति दिएका थिए। त्यसले पनि युद्धको सम्भावना उच्च रहेको संकेत दिएको थियो र अहिले इरानको क्षेप्यास्त्र आक्रमणले त्यसलाई झनै बढाएको छ।
युद्धको यस सम्भावना विगत सात महिनादेखि इजरायलले प्यालेस्टिनीमाथि गरिरहेको अत्याचारको परिणाम हो। गत अक्टोबर ७ मा हमासका लडाकूहरूले इजरायलमाथि आक्रमण गरी एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरेपछि इजरायलले हमासविरुद्ध प्रतिकारबाहीका नाममा निहत्था प्यालेस्टिनीमाथि गरिरहेको आक्रमण नरसंहारकै हदमा पुगेको छ। यस नरसंहारमा ३३ हजारभन्दा बढी प्यालेस्टिनीहरूले ज्यान गुमाइसकेको तथ्यांक अलजजीरा सञ्चारमाध्यमले दिएको छ। इजरायलले गरिरहेको मानवताविरुद्धको अपराध तथा युद्ध अपराधलाई संसारभर निन्दा गरिएको छ।
इजरायलको यस घृणित कदमको यसरी चौतर्फी निन्दा हुन थालेपछि इजरायललाई अन्धसमर्थन गर्ने अमेरिकामाथि पनि यो कारबाही रोक्न दबाब पर्न थालेको छ। त्यसैले अमेरिकी राष्ट्रपतिले गत साता युनिभिजिन सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा नेतान्याहुले अपनाइरहेको तौरतरिकाको आलोचना गर्दै फौजी कारबाही रोक्न आग्रह गरेका थिए। विशेषगरी इजरायली सेनाको कारबाहीका कारण प्यालेस्टिनीहरूलाई भोजन गराइरहेको परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचनका सातजना कर्मचारीको मृत्यु भएपछि अमेरिकी प्रशासनमा आक्रोशको वातावरण बनेको छ र बाइडेनले अन्तर्वार्तामार्फत त्यसलाई अभिव्यक्त गरेका हुन्।
यसरी आफ्नो कट्टर समर्थक मुलुक अमेरिकाबाट पनि आलोचना बेहोर्नुपरेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथिको दबाब हटाउन सिरियाली भूमिमा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गराएको देखिन्छ। उक्त आक्रमणको प्रतिकार गर्न इरान बाध्य हुने र त्यसैको बहानामा युद्ध शुरू भएर अमेरिकाको ध्यान प्यालेस्टाइनबाट सरेर इरानलाई रोक्नतिर जाने रणनीति नेतान्याहुले बनाएको निष्कर्ष निकाल्न सकिन्छ।
हुन त इरानले इजरायलको यस कारबाहीको कठोर प्रतिकार गर्ने भनिरहेको छ तर उसले ठ्याक्कै कस्तो किसिमको रणनीति अपनाउँछ भन्ने प्रस्ट भएको थिएन। इरानले आफ्नै भूमिबाट इजरायलको कुनै सैन्य अखडामा आक्रमण गर्न सक्ने भनी विश्लेषकहरूले अनुमान गरेका थिए। हुन पनि त्यस्तै भयो र इरानी आक्रमणका कारण इजरायली सैन्य अखडामा सामान्य क्षति पुगेको तथा केही सैनिक घाइते भएको इजरायलले जनाएको छ।
त्यससँगै अहिले इजरायलले इरानी क्षेप्यास्त्रहरूलाई बाटैमा ध्वस्त पार्ने काम (इन्टरसेप्ट) गरिरहेको छ र बेलायती तथा अमेरिकी सेनाले उसलाई यसमा सहयोग गरिरहेका छन्। तर अहिलेको कारबाही इरानी भूमिमाथि इजरायलको प्रत्याक्रमणका रूपमा विकसित हुने सम्भावना पनि छ। त्यसो भएछ भने युद्ध चर्किँदै जानेछ र यसको दायरासमेत पश्चिम एसियाभरि फैलिन सक्नेछ।
आफैँले आक्रमण गरेसँगै इरानले आफ्नो समर्थक लडाकु समूह हिज्बुल्लाह वा अनसरअल्लाहमार्फत इजरायलमाथि आक्रमण गराउन सक्ने सम्भावना पनि छ। लेबनानमा रहेको हिज्बुल्लाहले कुनै इजरायली शहरमा आक्रमण गरेछ भने इजरायलले लेबनानी भूमि (शायद राजधानी बेरुत) मा आक्रमण गर्नेछ र युद्ध चर्किनेछ।
तत्कालका लागि इरान आफैँले इजरायलको दक्षिणी भागमा रहेको सैन्य अखडामा आक्रमण गरेको छ। त्यसका अतिरिक्त अर्को कुनै देशमा रहेको इजरायलको दूतावास वा वाणिज्य दूतावासमा इरान वा उसका समर्थक लडाकु समूहहरूले आक्रमण गर्न सक्छन्। त्यस्तो अवस्थामा इजरायलले प्रत्याक्रमण त गर्नेछ, तर युद्धको हदसम्म नपुग्ने किसिमको सीमित दायराको आक्रमण हुन सक्नेछ त्यो।
अमेरिकी राष्ट्रपति बाइडेनले इरानलाई इजरायलमाथि आक्रमण नगर्न दिएको चेतावनीलाई विचार गर्दा इरानले निकै ठूलो सैन्य कारबाहीको तयारी गरिरहेको र त्यसको सन्देश गोप्य रूपमा अमेरिकीहरूलाई पनि दिइसकेको संकेत पाइएको थियो। अब युद्ध रोक्नका लागि अमेरिका लगायतका विश्वशक्तिहरूले कस्तो योगदान गर्नेछन्, हेर्न बाँकी नै छ। यसैबीच इजरायलले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक बसाउन अनुरोध गरेको छ र इरानको रिभोल्युसनरी गार्ड कोर्प्सलाई आतंकवादी संगठन घोषणा गर्न माग गरेको छ। आजै सुरक्षा परिषद्को बैठक बस्ने कार्यक्रम तय भएको छ।
अक्टोबर ७ पछि इजरायलले गरिरहेको प्यालेस्टिनी नरसंहारलाई अमेरिकी नेतृत्वको समग्र पश्चिमले रोक्न खासै प्रयास नगरेको देख्दा उनीहरूले नैतिक धरातल गुमाइसकेको जगजाहेर भएको छ। इजरायललाई आलोचना गरेजस्तो गर्ने तर हातहतियार तथा नैतिक सहयोग गरिरहने पश्चिमा सम्भ्रान्तहरूको ढोंगकै कारण इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दुस्साहस बढिरहेको हो।
संयुक्त राष्ट्रसंघका मानवअधिकार विशेष प्रतिनिधिदेखि अन्तर्राष्ट्रिय न्याय अदालतले समेत प्यालेस्टिनीका विरुद्ध इजरायलले गरेको सैन्य कारबाही नरसंहार हो भनिरहँदा अमेरिकीहरूले त्यसलाई अस्वीकार गर्दै इजरायलको बचाउ गरिरहेका छन्। गाजामा लगातार बम प्रहार गरेर त्यसलाई ध्वस्त बनाएको इजरायलले गाजावासीलाई खाद्यान्नमा पहुँच पाउनबाट समेत रोकेर भोकमरीको स्थिति ल्याउँदाखेरी पनि इजरायललाई रोक्न नसक्ने पश्चिमाहरूले नियममा आधारित विश्व र अन्तर्राष्ट्रिय कानूनको पाठ पढाउने हैसियत गुमाइसकेका छन्। पश्चिमाहरूकै प्रश्रयका कारण इजरायलले पूर्णतः दण्डहीनताका साथ मानवताविरोधी क्रियाकलाप गरिरहेको हो।
त्यसो त नेतान्याहुविरुद्ध इजरायलमै पनि विरोध प्रदर्शन भइरहेका छन् र त्यहाँको उदारवादी जमातले नेतान्याहु नेतृत्वको उग्रदक्षिणपन्थी सरकारको आलोचना गरिरहेको छ। प्रख्यात यहुदी विचारक, कलाकार तथा अन्य प्रभावशाली व्यक्तित्वहरूले इजरायल सरकारको वर्तमान कदम यहुदीहरूको नरसंहार गर्ने हिटलरकै प्रतिरूप भएकोसमेत भनिरहेका छन्।
यसरी देशभित्रै अलोकप्रियता र आलोचनाको सामना गरिरहेका नेतान्याहुले नयाँ युद्धको सम्भावना बढाएर आफ्नो सत्ता लम्ब्याउन खोजेको देखिन्छ। अहिले इरानको क्षेप्यास्त्र आक्रमणमा सीमित रहेको कारबाही कथंकदाचित् युद्धमा परिणत भइहालेछ भने सम्पूर्ण देशवासीहरू एकजुट भई ‘र्याली अराउन्ड द फ्ल्याग’ अर्थात् सरकारको साथ दिन बाध्य हुनेछन्।
अहिले नै युद्धकालीन मन्त्रिपरिषद् बनाएर सरकारी कामकारबाही चलाइरहेका नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व अक्षुण्ण राख्नसमेत इरानविरुद्धको युद्ध चर्काउन भरमग्दुर प्रयास गरिरहेको देखिन्छ। प्यालेस्टाइनको अस्तित्वलाई पूर्ण रूपमा समाप्त पार्ने नेतान्याहु तथा उनका उग्रवादी मन्त्रीहरूको आकांक्षालाई पनि इरानविरुद्धको युद्धले मद्दत गर्नेछ किनकि उनले त्यसलाई इजरायल राज्यकै ‘सर्भाइभल’ महत्त्वपूर्ण रहेको अनि प्यालेस्टाइनी विषय गौण भएको भाष्य बनाएर प्रस्तुत गर्नेछन्।
आफ्नो राजनीतिक अस्तित्वको जगेर्नाका लागि यसरी देशलाई युद्धमा होम्ने नेतान्याहुको रणनीतिलाई पश्चिमले साथ दिँदा यसबाट पश्चिम एसियाको शान्तिमा खलल पुग्ने सक्का छ र यसले विश्वलाई नै पनि नकारात्मक असर पार्न सक्छ।
विश्व राजनीतिमा आमूल परिवर्तन हुँदै जाँदा अमेरिकाको एकध्रुवीय प्रभुत्व समाप्त भएको छ र त्यसको साइड इफेक्टका रूपमा विभिन्न ‘फ्ल्यासपोइन्ट’ हरूको द्वन्द्व चर्किँदै गएका छन्। त्यसो त आफूलाई नियममा आधारित विश्वव्यवस्थाको हिमायतीका रूपमा प्रस्तुत गर्ने अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाइरहेको नेतान्याहु नेतृत्वको इजरायललाई खुला छुट दिएर युद्धको स्थिति निम्त्याएको छ।
इरानले निकै धैर्य प्रदर्शन गरेर युद्धको दायरा फराकिलो नबनाउन कोशिश गरिरहेको देखिन्छ। तर इजरायलले लगातार गरिरहेको उत्तेजनात्मक कारबाहीको सन्दर्भमा कतिन्जेलसम्म उसले संयम कायम राख्न सक्ला भन्न सकिँदैन।
दाहाल वैदेशिक मामलाका जानकार हुन्। यहाँ व्यक्त विचार लेखकका निजी हुन्।