Monday, May 06, 2024

-->

हमासले हानेको ग्रिनेड बाहिर फ्याँकेर विपिनले‍ साथी बचाए, अब हामीलाई उनकै चिन्ता छ

एउटा ग्रिनेड विपिन जोशीले हातले समातेर बंकर बाहिर फालेको थियो रे। त्यसको ५ सकेन्डमै उक्त ग्रिनेड पड्केछ। त्यसपछि साथीहरू पानी खान भनेर बाहिर धारामा गएको बेला गोली प्रहार भएछ।

हमासले हानेको ग्रिनेड बाहिर फ्याँकेर विपिनले‍ साथी बचाए अब हामीलाई उनकै चिन्ता छ

हमासले आक्रमण गर्नुभन्दा अघिल्लो दिन शुक्रबार बेलुका ९/१० बजेसम्म हामी बाहिर घुमिरहेका थियौँ। त्यतिबेलासम्म आक्रमण र युद्धको कुनै सुइँको थिएन। सबैतिर शान्त थियो। सबै रमाएका थिए।

पछिल्लो दिन, शनिबार बिहान साढे ५ बजे उठ्दाखेरि त एकाएक घर नै हल्लेजस्तो भयो। आकाशमा मिसाइलहरू आइरहेका थिए। इजरायलले 'फायर ब्याक' गरिरहेको थियो। शुरूमा त सामान्य हो जस्तो लाग्यो।

पहिलोपटक आकाशमा मिसाइल देख्दा रमाइलो पनि लाग्यो। तर यो क्रम एकैछिनमा डरलाग्दो हुँदै गयो। एकैचोटी १२/१३ वटा मिसाइल सँगै आए। आकाशमा पड्किन थाले। त्यसपछि साइरन बज्न थाल्यो। अनि हामी बंकरमा गयौँ।

साइरन बजेपछि बंकरमा जानु भनेर हामीलाई शुरूमै भनिएको हुन्छ। आकाशमा मिसाइल विस्फोट हुँदा त्यसबाट खस्ने टुक्राहरूले नलागोस् भन्नकाे लागि मात्र सुरक्षित हो बंकर। तर यसपटकको आक्रमण आकाशमा मात्र सीमित नभएर हमासका लडाकुहरू घरघरमै घुसे। 

म बस्ने ठाउँ बेटागड्डीमा हामी चार जना थियौँ। सबै केटीहरू मात्रै। १७ जना साथी हामी भन्दा चार किलोमिटरको दूरीमा किबुज अलुमिम क्षेत्रमा थिए। साइरन बजेपछि हामीलाई डर लागिसकेको थियो। अरु साथीहरूसँग फेसबुकको ग्रुप म्यासेजमा कुराकानी भइरहेको थियो। शुरूमा त सबैतिर ठिकै थियो।

तर त्यसको केही समयमै किबुज अलुमिमा साथीहरू बसेको बंकरमै लडाकु घुसेछन्। त्यतिबेला बंकरभित्रै ग्रिनेड (बम) र अश्रु ग्यास फालेर हिँडेछन्। एउटा बम विपिन जोशीले हातले समातेर बंकर बाहिर फालेको थियो रे। त्यसको ५ सकेन्डमै उक्त बम पड्केछ। त्यसपछि साथीहरू पानी खान भनेर बाहिर धारामा गएका थिए। त्यहीबेला हमासको अर्को समूह आएर गणेश नेपालीमाथि फायर गर्‍याे। ऊ त्यहीँ ढलेछ। अरु साथीहरूले ‘वि आर नेपाली’, ‘वि आर हिन्दू’ भन्दै पासपोर्ट देखाइरहेका थिए। तर सबैमाथि गोली प्रहार गरेर लडाकुहरू त्यहाँबाट निस्के। 

हमासको तीन समूह त्यो बंकरमा पुगेको थियो। चारपाँच जना साथीहरूलाई छर्रा मात्र लागेको थियो। केही साथीहरूले तत्कालै एम्बुलेन्सलाई फोन गरे। विपिनले पनि फोन गरिरहेको थियो। ग्रुपमा म्यासेज गरिरहेको थियो। उद्धारको लागि सबैलाई आग्रह गरेको थियो। सायद उपचार पाएको भए उनीहरू बाँच्थे। तर त्यो अवस्थामा त्यहाँ एम्बुलेन्स पनि आउने चान्स थिएन। हमासहरूले बाटोमै उडाइहाल्थे।

त्यहाँ घाइते भएकालाई अस्पताल पुर्‍याइयो। सकुशल रहेकाहरूलाई अर्को बंकरमा लगियो। थाई नागरिकहरूलाई पनि राखिएको थिए। फेरि त्यो बंकरमा पनि लडाकुहरू छिरे। उनीहरूले त्यहाँबाट थाई नागरिकलाई बन्धक बनाएर लिए। त्यसमै विपिन पनि परेछ। नेपाली हो भन्दाभन्दै लिएर गएछन्। 

पछि सोमबार राति बल्ल इजरायली सेनाले गाजा नजिकको क्षेत्रमा रहेका हामी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई त्यस क्षेत्रबाट अलि सुरक्षित ठाउँमा लिएर गयो। इजरायली सेना साथमा भएपछि हामीलाई अलि ढुक्क भयो। तर पनि आकाशमा मिसाइल आक्रमण भइरहेका थिए। यस्तो अवस्थामा दूतावासले हामीलाई यहाँबाट लगेर जाओस् भन्ने त लाग्थ्यो, तर अवस्था डरलाग्दाे थियो। राजदूतकै गाडी आए पनि लडाकुहरूले छाड्दैन थिए होला। 

इजरायलमा त्यहाँको सरकारले पीडितको जिम्मेवारी लिने काम आफ्नै छोराछोरीलाई देखाउने व्यवहार जस्तै देखियो। यस्तो द्वन्द्वग्रस्त अवस्थामा पनि हामीलाई आफ्नै नागरिकजस्तै व्यवहार गरेको छ।

त्यहाँका अस्पतालमा हाम्रा साथीहरूको उपचार भइरहँदा उनीहरू कार्यरत फार्मका मालिकहरू उनीहरूलाई भेट्न गइरहन्छन्। आफ्नै छोराछोरीलाई झैँ व्यवहार गर्छन्। खानेकुराहरू लगिदिने, गितार बजाउने, जोकर बनेर हँसाउने गर्छन्। आफ्ना छोराछोरीको झैँ चिन्ता गर्छन्। डाक्टर र नर्सहरू आफ्नै सन्तानलाई झैँ ख्याल गरिरहन्छन्। त्यसैले अस्पतालमा उपचाररत साथीहरूबारे हामी ढुक्क छौँ।

तर हामीलाई विपिन जोशीको निकै चिन्ता लागिरहेको छ। ऊ अहिले कहाँ छ, थाहा छैन। मोबाइल पनि साथमा छ या छैन। ‘लोकेसन ट्रेस’ हुँदैन।

इजरायली सेनाले अस्पतालमा भएका विपिनको शारीरिक ढाँचा जस्तो देखिने दुई/तीनवटा लास देखाएको थियो। उनीहरूमध्ये कोही पनि विपिन थिएन। उनीहरू थाई नागरिक थिए। उनी सकुशल फर्केर आउँछन् भन्ने विश्वास छ।

बमकाे आक्रमणबाट आफ्ना साथीहरूलाई बचाउन विपिनले महान काम गरेको हो। उसले हातले टिपेर ग्रिनेड नफालेको भए अरु कति साथीहरू फर्किन पाउँदैन थिए होला। उसैले गर्दा फर्किन पाए। तर अहिले ऊ हामीसँग छैन। यो कुरा सम्झिँदा आफू फर्केर पनि खुशी हुन सकिएको छैन। मनमा विपिनकै पिरलो छ।

अब जसरी भए पनि विपनलाई हमासकाे कब्जाबाट सकुशल उद्धार गर्नुपर्छ। सरकारले याे कुरालाई गम्भीरताका साथ लिनुपर्छ।

(इजरायलबाट उद्धार गरी नेपाल फर्काइएकी चितवनकी विभुषा अधिकारीसँग गरिएकाे कुराकानीमा आधारित)


सम्बन्धित सामग्री