Monday, May 06, 2024

-->

इजरायलमा अस्ताएका गणेश जसलाई देशको ‘यही अवस्था’ले हामीमाझ रहन दिएन

मृत्यु भएका विद्यार्थीमध्ये कसैले एक करोड रुख रोप्ने प्रण गरेका थिए भने कसैले नेपालमै राम्रो कृषि फार्म सञ्चालन गर्ने सपना बुनेका थिए। उनीहरू अब केही दिनमा रातो बाकसमा नेपाल आइपुग्नेछन्।

इजरायलमा अस्ताएका गणेश जसलाई देशको ‘यही अवस्था’ले हामीमाझ रहन दिएन

गणेश, मैले तिमीलाई फेसबुकमा पठाएको ‘मेसेज’ पहिलो र अन्तिम भइदियो। प्यालेस्टिनी विद्रोही समूहको आक्रमणमा परेर तिमी ढलिरहेका थियौ होला। बमको छर्राले थिलथिलो पारेको शरीरले मोबाइलको घन्टी बजेको के चाल पाउँथ्यौ र!

शनिबार बिदाको दिन के के गर्दै बित्यो। प्यालेस्टिनी विद्रोही समूहले इजरालयमाथि आक्रमण गरेको खबर त फेसबुकका भित्तामा देखेको थिएँ। तर त्यति ‘सिरियसली’ लिइनँ। किनकि त्यहाँ यस्ता गतिविधि पटक पटक भइरहन्छन् भन्ने सुनेको थिएँ। 

जब साँझ उक्त आक्रमणमा परेर नौ जना नेपाली पनि घाइते भएका भन्ने खबर पढेँ, तब झल्याँस्स तिम्रो याद आयो। त्यसपछि तिमीलाई मेसेज गरेको थिएँ।

एक महिना पनि भएको थिएन तिमी इजरायल पुगेको। पढाइमा अब्बल विद्यार्थी। कृषि विषयमा स्नातक सकाएपछि इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत तिमी त्यहाँ गएका थियौ।

मैले तिम्रो दाइ (मेरो साथी) विकासलाई फोन गरेँ। विकास काम विशेषले बझाङबाट धनगढी आएको रहेछ। कामको व्यस्तताले सामाजिक सञ्जालमा ‘अपडेट’ नहुँदा उसलाई इजरायलमा भएको युद्धबारे के थाहा हुन्थ्यो र। मैले खबर सुनाएपछि उसको स्वर एकाएक धोद्रो भयो। तिमीसँग अन्तिम पटक शुक्रबार साँझ मात्र कुरा भएको बतायो। अनि ‘म बुझ्छु है’ भन्दै फोन राख्यो।

मैले पनि इजरायलमा रहेको नेपाली दूतावासमा बुझ्ने प्रयास गरेँ। दूतावासका कर्मचारीलाई फोन गरेर गणेश नेपाली नामको कोही व्यक्ति सम्पर्कमा आएको छ कि भनेर सोधिरहेँ। त्यतिबेलासम्म इजरायल गएका कृषिका विद्यार्थी कार्यरत क्षेत्रमा आक्रमण भएको सूचना आइसकेको थियो। आइतबार बिहान बल्ल दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले गणेश नाम गरेको व्यक्ति सम्पर्कविहीनको सूचीमा रहेको बताए। उक्त भ्वाइस रकेर्ड मैले विकासलाई पठाएँ। वास्तविकता बताउन अप्ठेरो मानेजस्तो सुनिएको थियो घिमिरेको आवाज। त्यो सुनेर विकासले भन्यो, “हामीलाई प्यानिक नहोस् भनेर यस्तो भनेका त होइनन् नि बेद?”

‘होइन होला यार, कतै लुकेर पो बसेको छ कि’ भन्दै मैले उसलाई सान्त्वना दिएँ। दिउँसो प्रतिनिधिसभाको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले यस विषयमा थप पुष्टि गरे। उनले उक्त क्षेत्रमा रहेका केही नेपाली कृषि प्रशिक्षार्थी हताहत भएको हुनसक्ने बताए। त्यसपछि विकासलाई फोन गर्न ममा आँट आएन। तर मनले कहाँ मान्थ्यो र! अफिसबाट घर फर्किनेबेला एकपटक बुझौँ न त भनेर फोन गरेँ। ऊ भक्कानियो।

“डेथ भएकाहरूको एउटा लिस्ट आएको छ यार, त्यो गलत त नहोला नि?”

“गणेशको नाम छ र त्यसमा?,” मैले सोधेँ।

“अँ यार, डेथ भनेको छ,” उसले रुँदै फोन राख्यो। 

राति करिब ९ बजे विकास धनगढीबाट गाडी रिजर्भ गरेर बझाङ गयो। ‘मन दह्रो बनाउनू’ र ‘शुभयात्रा’ बाहेक मैले फोनमा केही भन्न सकिँन। 

समाचारमा आएअनुसार प्यालेस्टिनी विद्रोही समूह हमासका सेना नेपाली कृषि विद्यार्थीहरू बसेको बंकरमै छिरेर आक्रमण गरेका रहेछन्। सबैभन्दा पहिले गोली लागेर ढल्ने मेरो साथी विकास नेपालीको भाइ गणेश नै रहेछ। ऊसँगै १० जना नेपाली विद्यार्थीले त्यो हमलामा ज्यान गुमाए। घाइते भएका तीन जनाको उपचार भइरहेको छ। कञ्चनपुरका विपिन जोशी अझै सम्पर्कविहीन छन्। 

विकास र मेरो भेट हुँदा गाउँसमाज र देशको सन्दर्भमा कुराकानी भइरहन्छ। ऊ सरकारी जागिरे भएर देशमै अडिएको छ। म कहिलेकाहीँ विदेश जाने कुरा गर्छु। विभिन्न कुरामा तर्क वितर्क गर्दा हामीहरू दुवै जनाको निष्कर्ष निस्कन्छ– ‘यस्तै छ यार देशको अवस्था।’ 

गणेश इजरायल उड्नुभन्दा केही अगाडि विकाससँग मेरो कुराकानी भएको थियो। इजरायलले दिएको अवसर र आफ्नो भाइको प्रगतिप्रति निकै सन्तुष्ट थियो। 

‘एसएलसी’ परीक्षा दिएदेखि नै घरको जिम्मेवारी धान्दै आएको विकासका लागि आशाको उज्यालो दियो गणेश नै थियो। घरको कमजोर आर्थिक अवस्थाका बीच दाइले जति दुःख गरेर पढाएको थियो, गणेशले पनि तन मन लगाएर पढाइमा आफूलाई अब्बल साबित गरेको थियो। यसैमा खुशी थियो विकास। तर यतिबेला ऊ विक्षिप्त बनेको छ।

विकास मात्र होइन, विदेशी भूमिमा नेपाली विद्यार्थी आतंकवादीको हातबाट मारिएको यो घटनाले अहिले पूरै नेपाल स्तब्ध छ। नेपाली जनताका आँखा रसाएका छन्। 

रोजगारीका लागि विदेश गएकाहरूमध्ये महिनामा यतिले ज्यान गुमाए, वर्षमा यतिले गुमाए भनेर सरकारले तथ्यांक घोषणा गरिरहन्छ। तर यो घटनामा भने मृतक १० जनाको अवस्था यकिन गर्न निकै समय आलटाल गरेर सरकारले पछि ‘गोहीको आँशु’ खसाल्यो। हताहत भएका नागरिकको तत्काल उद्धार गर्नुको सट्टा बैठक र विज्ञप्तिमै समय कटायो। 

यता सरकारका बैठक र निर्णय भइरहँदा इजरायलका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थी सामाजिक सञ्जालमार्फत भनिरहेका थिए, “बैठकका निर्णय नसुनाऊ सरकार, हामीलाई तत्काल उद्धार गर।”

अहिले इजरायलमा ज्यान गुमाएका नेपालीहरू कृषिका प्रशिक्षार्थी हुन्। विश्वविद्यालयको प्रयोगात्मक कक्षास्वरुप त्यहाँ सिक्दै कमाउने उद्देश्यले उनीहरू इजरायल गएका थिए। 

देशमा उद्योगधन्दा छैन भनेर हामीले स्वीकारेको कुरा हो। तर कृषिप्रधान देश नेपालबाट कृषि के हो भनेर बुझ्न र केही कमाउनकै लागि द्वन्द्वग्रस्त मुलुकमा जानुपर्ने हामीहरूको बाध्यता सम्झिँदा उदेक लागेर आउँछ।

यता नेपाल कृषिप्रधान मुलुक भनेर पाठ्यपुस्तकमा घोकाइँदै छ। उता कृषि गर्ने तरिका सिक्नकै लागि इजरायल पुगेकाहरू गोलाबारुदको शिकार बनेका छन्। योजस्तो बिडम्बना अरू के हुन सक्छ? त्यसैमाथि समस्याग्रस्त क्षेत्रमा भएका आफ्ना नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन सरकारले तदारुकता नदेखाउँदा जोकसैको मन रसाइहाल्छ।

उद्धारको पर्खाइमा रहेका गणेशका साथी विपिन सुवेदीले इजरायलबाटै भनिरहेका थिए, “के देशमा हामीहरूको कुनै अस्तित्व छैन, के देशलाई हामीहरूले कुनै योगदान दिन सक्दैनौँ, नत्र उद्धारमा ढिलाइ किन गरेको?”

उनले त्यसो भनिरहँदा मलाई गणेशको याद आयो। गणेशलाई मैले सानैदेखि चिनेका कारण यहाँ उसकै उदाहरण दिइरहेको छु। ऊ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा क्रियाशील एक विद्यार्थी संगठनको सचिव पनि थियो। त्यसप्रकारले राजनीतिमा पनि सक्रिय गणेश भन्ने गथ्र्यो, “देशमा कृषि क्रान्ति गर्नुपर्छ।” 

देशले के के मात्र गुमाएन? गणेशजस्तै केही बन्ने सपना बोकेर गएका, देशका कर्णधार, भविष्यका कृषि विज्ञलाई हामीहरूले गुमायौँ। मृत्यु भएका विद्यार्थीमध्ये कसैले एक करोड रुख रोप्ने प्रण गरेका थिए भने कसैले नेपालमै राम्रो कृषि फार्म सञ्चालन गर्ने सपना बुनेका थिए। भविष्यका ती अभियन्ता, नेता र उद्यमी केही दिनमा रातो बाकसमा नेपाल आइपुग्नेछन्। 

यतिबेला देशको अवस्था सम्झेर मलाई पुरानो मेरो गजलको शेर याद आयो।

आउन थालेपछि जहाज कतारबाट

मेरा साथीभाइ हराए मैरै गाउँघरबाट।

यहाँ ‘कतार’लाई नेपालीहरूको श्रम रोजगार गन्तव्य देशहरूको विम्बका रुपमा बुझौँ। वैदेशिक रोजगारीको लागि हाम्रा गाउँघरबाट अहिले साथीभाइहरू हराइरहेका छन्। कोही केही समयको लागि हराएका छन् भने कोही सधैँ सधैँका लागि हराएका छन्। केही समयका लागि हराएकाहरू केही थान सुटकेश बोकेर फर्किन्छन् भने सधैँका लागि हराएकाहरू रातो बाकसमा फर्किन्छन्।

अहिले दैनिक दुई हजारभन्दा बढी नेपाली पासपोर्ट बोकेर रोजगारीको खोजीमा विदेसिन्छन्। उच्च शिक्षा पढ्नको लागि विदेसिनेको ताँती पनि बढिरहेको छ। 

रोजगारीमा जानेहरूसँगै गाउँघरमा मर्दापर्दा साथ दिने तन्नेरीहरू भेटिँदैनन्। विद्यार्थी पलायनले गर्दा अहिले क्याम्पसहरूले विद्यार्थी पाउनै छाडिसके। यस्तै अवस्था रहने हो भने, हाम्रा नानीबाबुहरूले शिक्षक पाउने छैनन्, सरकारले विषयविज्ञ पाउने छैन।

देशमै पढ्ने वातावरण र रोजगारीका अवसर नबनाएसम्म परदेशबाट नेपालीहरूले यस्तै आलाप गरिरहनेछन्। देशमै केही गर्ने हुटहुटी भएकाहरू कुन देशका कुन कुनामा अलपत्र परिरहेका हुनेछन्, कसैलाई मत्लब हुने छैन।

इजरायलमा फसेका नेपाली विद्यार्थीहरू र मृतकका शव नेपाल ल्याउने प्रक्रियामै छ सरकार। उद्धारको गति बढायो भने केही दिनमा आफ्नो भाइको शव लिन विकास पनि काठमाडौँ आउनेछ। 

त्यतिबेला विकासलाई भन्नु छ– हामीले कुराकानीका क्रममा बारम्बार भन्दै आएको ‘देशको यस्तै अवस्था’ले गर्दा ‘गणेशहरू’ हामीमाझ रहेनन् यार!


सम्बन्धित सामग्री