Monday, May 06, 2024

-->

भेपमा ९ किलो सुन तस्करी प्रकरण
सुन छुटाउन पहल गरेका माओवादी नेता महरालाई उन्मुक्ति, छोरा राहुलसहित चारजनाविरूद्ध मुद्दा

तस्करीको सुन छुटाउन पूर्वसभामुख महराका बाबुछोरा दुवैले समान भूमिका निर्वाह गरेको प्रहरीकै अनुसन्धान प्रतिवेदनले छर्लङ्ग पार्छ। तर बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र मुद्दामा प्रतिवादी बनाइएको छ।

सुन छुटाउन पहल गरेका माओवादी नेता महरालाई उन्मुक्ति छोरा राहुलसहित चारजनाविरूद्ध मुद्दा

काठमाडौँ– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट–भेप) भित्र लुकाएर नौ किलो सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरासहित चारजनालाई प्रतिवादी बनाएर बुधबार काठमाडौँ जिल्ला अदालतमा अभियोग–पत्र दर्ता गरेको छ। 

आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा अदालतमा अभियोग–पत्र दायर गरिएको सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए। गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूरक अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर अनुसन्धानका क्रममा केही प्रमाण नपुगेको भन्दै कार्यालयले आइतबार प्रतिवेदन फिर्ता गरिदिएको थियो।

सरकारी वकिलको कार्यालयको निर्देशनअनुसार थप अनुसन्धानका विषय समेटेर सीआईबीले प्रतिवेदन दिएपछि बुधबार अभियोग–पत्र दायर भएको हो।

राहुलसँगै चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडीचालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा दर्ता गरिएको छ। दावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६० किलोभन्दा धेरै सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामा छन्। राहुल महरालाई भने सीआईबीले गत भदौ ३१ गते पक्रेर अनुसन्धान गरेको थियो। छोरालाई प्रतिवादी बनाए पनि चिनियाँ नागरिकले तस्करीमा ल्याएको सुन छुटाउन पहल गरेका वर्तमान सत्ता गठबन्धनको दल माओवादीका नेता महरालाई भने प्रतिवादी बनाइएको छैन। 

सीआईबीले पूरक अनुसन्धानका क्रममा महराको बयान लिए पनि प्रतिवादी बनाउन राय दिएको थिएन। त्यसै अनुसार सरकारी वकिलको कार्यालयले पनि उनलाई प्रतिवादी बनाएन। तस्करीको सुन टाउन महरा बाबुछोरा दुवैले समान भूमिका बहन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू नै बताउँछन्। तर अनुसन्धान प्रतिवेदन तयार पार्दा प्रहरीले नै बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र प्रतिवादी बनाउन राय दियो। सोहीअनुसार सरकारी वकिलको कार्यालयले अभियोग–पत्र दायर गर्‍यो। 

प्रमाण उम्काएर पक्रिँदा अनुसन्धान कमजोर 
भदौ ३१ गते राहुल पक्राउ परेपछि तस्करी प्रकरणको थप ‘कनेक्सन’ खुल्न सक्ने आशा सीआईबीले गरेको थियो। तर उनले प्रयोग गर्दै आएका तीनमध्ये कुनै पनि मोबाइल फोन प्रहरीलाई उपलब्ध नै गराएनन्।

राहुलले चलाएका मोबाइल फोन नहुँदा अनुसन्धान केही प्रभावित भएको अनुसन्धान अधिकारीहरू बताउँछन्। “पहिलो चरणकै अनुसन्धान भइरहेका बेला उनलाई पक्राउ गरेको भए धेरै सहज हुन्थ्यो। तर पूरक अनुसन्धानसम्म त उनले चलाएका फोन नै गायब बनाए,” एक अनुसन्धान अधिकृत भन्छन्, “ती फोन भेटिएको भए फरेन्सिक ल्याबमा परीक्षण गरिन्थ्यो र अपराधको थप सम्बन्ध स्थापित गर्न सजिलो हुन्थ्यो। तर त्यो हुन सकेन।” 

अभियोग–पत्रमा समेटिएको राहुलकै बयानअनुसार उनले आईफोन–१३ प्रो म्याक्स, आइफोन–१४ प्रो म्याक्स र ह्वावेको फोन सेट प्रयोग गरेको देखिन्छ। तर प्रहरीले अनुसन्धानका क्रममा ती तीन वटै फोन बरामद गर्न सकेन।

“आईफोन–१३ प्रो म्याक्स मोबाइल फुटेर बिग्रिएकाले दुई–तीन पटक मर्मत गर्दासमेत नबनेपछि घरमै फालिदिएको र त्यसपछि बोकेको आइफोन–१४ प्रोम्याक्स साथी गोपाल शर्मासँग मागेर केही समय चलाएपछि फिर्ता गरिदिएको हुँ। ह्वावेको फोन चाहिँ घरमै राखेको थिएँ,” उनले बयानमा भनेका छन्, “मेरो आफन्तले उल्लिखित आईफोन प्रो म्याक्स र ह्वावे मोबाइल घरमा खोजी गर्दा फेला पार्न नसकेकाले उपलब्ध गराउन सक्दिनँ।”  

राहुलले फोन नभेटिएकाले उपलब्ध गराउन सक्दिनँ भनेर पन्छिएकै भरमा सीआईबीले पनि अनुसन्धानका क्रममा ती फोन बरामद गर्न थप प्रयास नगरेको देखिन्छ। आइफोन–१४ प्रो म्याक्स गोपाल शर्मालाई फिर्ता दिएको बताए पनि भाइ नाता पर्ने होमबहादुर थापाको नाममा रहेको सिमकार्ड प्रयोग गरेर उक्त सेट राहुलले नै चलाउँदै आएको भेटिएको थियो। तर उनले यस विषयमा पनि आफू जानकार नभएको बताएका छन्। 

“मेरो मामाको छोरा होमबहादुर थापाले प्रयोग गर्ने मोबाइल नम्बर हो। गोपाल शर्माको फोन मैले २०८० असार पहिलो हप्ता फिर्ता दिएको हुँ। तर उक्त मोबाइल (आईफोन–१४ प्रो म्याक्स) मा त्यो नम्बर कसरी प्रयोग भएको रहेछ, मलाई थाहा छैन,” उनले प्रहरीसँगको बयानमा भनेका छन्।

सीआईबीले होमबहादुर थापालाई गराएको बयान कागजमा थापाले पनि ‘दाइले नेट चलाउने भनी सिमकार्ड मागेकाले २०८० भदौ ११ गते प्रयोग गर्न दिएको र अहिलेसम्म फिर्ता नलिएको’ उल्लेख गरेका छन्। 

मोबाइल नभेटिँदा थप प्रमाण संकलन प्रभावित भएको अनुसन्धान अधिकारीले बताए पनि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य भने फोनमा मात्रै अनुसन्धान केन्द्रित नहुने बताउँछन्। “व्यक्ति नै पक्राउ गरेर अनुसन्धान गरिसकेपछि मोबाइल भेटिएन भनेर सबै कुरा सिद्धियो भन्न मिल्दैन। हिजो प्रविधि नहुँदा पनि अनुसन्धान भएकै थियो,” उनले भने, “भेटिएको भए थप प्रमाणका केही वस्तु हुन्छन् कि भन्ने आशा मात्र हो।”

सामान छुटाउन पहल गरेको महरा बाबुछोराको स्वीकारोक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा गत वर्ष पुस १० मा ‘फ्लाई दुबई’ एयरलाइन्सबाट आएको भेप शंकास्पद देखिएपछि कार्यालयले रोकिदिएको थियो। पुस २९ गतेसम्म उक्त भेप प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखिएको थियो। त्यसपछि जफत भएर मुद्दा तथा लिलाम शाखामा दाखिला भएको थियो। 

कृष्णबहादुर महरा, उनका छोरा राहुललगायतले जफत भएको सामान छुटाउन पटकपटक प्रयास गरेपछि शंका लागेर प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेका थिए। त्यसपछि प्रहरीको अनुसन्धानबाट भेपभित्र तस्करी गरेर भित्र्याइएको सामान सुन भएको र भन्सार कर्मचारीकै मिलमत्तोमा चोरी भएर बिक्री पनि भइसकेको खुलेको थियो। 

सुन ल्याउने समूह, सुन किन्ने समूह र भन्सारबाट सुन चोरेर बेच्ने समूह भनेर सीआईबीले तयार पारेको ‘लिंक चार्ट’ जसमा महरा बाबुछोरासँग भएको पटकपटकको सम्पर्क प्रष्टसँग उल्लेख छ।

अभियुक्तहरूले सीआईबीलाई दिएको बयान र भन्सार प्रमुख लगायतको बयानले पनि चिनियाँ नागरिकको जफत भएको सामान छुटाउने विषयमा महराका बाबुछोरा दुवैले पहल गरेको अभियोग–पत्रबाट पुष्टि हुन्छ। पहिलो चरणको अनुसन्धानकै क्रममा चिनियाँ नागरिकसँग महरा र उनका छोराको पटकपटक संवाद भएको देखिएको थियो। तर त्यतिखेर महरा बाबुछोरालाई अनुसन्धानको दायरामा नै ल्याइएको थिएन। दुवैलाई उन्मुक्ति दिएको भन्दै चौतर्फी विरोध भएपछि मात्र प्रहरीले पूरक अनुसन्धान अघि बढाएको थियो। त्यस क्रममा भदौ ३१ गते राहुललाई सीआईबीले पक्राउ गरेको थियो। 

पूर्वसभामुख महराले नै प्रमुख भन्सार प्रशासक पोखरेललाई फोन गरेर भेपबारे जानकारी मागेको पोखरेलले बयान कागजमै उल्लेख गरेका छन्। “कृष्णबहादुर महराले निजको मोबाइल नम्बरबाट फोन गरी मेरो छोरा राहुल महरा आउँछ, के रहेछ हेरिदिनू, सहयोग गरिदिनू भनेका थिए। त्यसपछि राहुलले मलाई फोनमा मेसेज लेखेर भेट्न आउने जानकारी गराएका थिए। मसँग पहिले चिनजान नभएको, आफूलाई राहुल महरा भनी चिनाउने व्यक्ति मेरो कार्यालयको कार्यकक्षमा आएर इलेक्ट्रिक सिगरेटको चाँडो लिलाम गरी मेरो समूहलाई नै दिलाइदिनु भनेका थिए,” पोखरेलले बयान कागजमा उल्लेख गरेका छन्। 

राहुलसहितका व्यक्ति छ–सात पटकसम्म सोही विषयलाई लिएर कार्यालयमा दबाब दिन आउने क्रममा एक दिन उक्त समूहले ‘सिगरेट हेर्न दिनुपर्‍यो’ भनेको पनि प्रमुख भन्सार प्रशासक पोखरेलले वयानमा खुलाएका छन्। राहुलले दिएको वयानमा पनि भन्सारमा रोकिएको भेपबारे बुझ्न आफू विमानस्थल पुगेको, तर त्यसमा सुन भएको जानकारी आफूलाई नभएको उल्लेख छ। 

“इलेक्ट्रिक सिगरेट विमानस्थलमा रोकिएको र निकाल्न मिल्छ भने बुझिदिनुपर्‍यो भनेपछि प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको हुँ। त्यसपछि पनि चिनियाँ साथीले भन्सारमै बुझिदिन भनेपछि वाङका चालक लोकेन्द्र पौडेल र तिब्बतियन नागरिक जस्तो देखिने व्यक्ति (उनले भनेअनुसार दावा छिरिङ) सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा गएको हो,” राहुलले भनेका छन्, “एकपटक भेटेको हो, तर पोखरेलले भनेजस्तो छ–सात पटकसम्म गएर छुटाउन दबाब दिएको होइन।” 

यो पनि: इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?

वाङका चालक पौडेलले पनि सामानका विषयमा जानकारी लिन राहुलसहित भन्सार कार्यालय पुगेर आफूले बुझेको उल्लेख गरेका छन्। प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले गरेको बयान कागजमा पनि राहुलले फोन गरेर जफत भएको सिगरेटको लिलामी प्रक्रिया के हो, कसरी हुन्छ भनेर सोधेको उल्लेख गरेका छन्।  

उता पूर्वसभामुख महराले वाङसँग आफ्नो पुरानो चिनजान भएको र सामान रोकिएको भन्दै बुझिदिन उनैले आग्रह गरेपछि फोन गरेर बुझेको बयान कागज गरेका छन्। “भन्सार कार्यालयमा सामान जफत भएको तीन दिन भयो, के कसो भएको हो, कानूनबमोजिम के गर्न मिल्छ हेरिदिनुहोला भनी फोन गरेको हो। दाओजिन वाङसँग पुरानो चिनजान हो। फलफूल व्यापारीका रूपमा आफूले चिने पनि अन्य विषय जानकारीमा छैन,” महराको बयान कागजमा उल्लेख छ।

यसअघि पहिलो चरणको अनुसन्धानका क्रममा सीआईबीले विमानस्थल भन्सारका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यवसायी वेदप्रकाश अग्रवाल, भारतीय व्यापारी साहेब राव पाण्डुरङ मरगले, अमृत कार्की र पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेको थियो। उनीहरू सबै यसअघि नै काठमाडौँ जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका छन्।


सम्बन्धित सामग्री