Thursday, May 09, 2024

-->

बेलायतकी डा. शेर्ली हेवुडले कर्णालीलाई दिएका २० वर्ष

नेपालमा स्वास्थ्य सेवाकै लागि बेलायती नागरिक शेर्ली हेवुड चिकित्सक बनेकी थिइन्। २० वर्षअघि नेपाल आएकी डा. शेर्लीको कारण कर्णालीका महिलाको लागि ‘निको नहुने रोग’ बनेको फिस्टुलाको उपचार सामान्य भएको छ।

बेलायतकी डा शेर्ली हेवुडले कर्णालीलाई दिएका २० वर्ष
तस्वीर: उकालो

सुर्खेत– आफ्नो नाच्ने पालो आएपछि आस्कली बुढा (९) ले अरू दुई साथीलाई पनि तानिन्। तर उनीहरूलाई नाच्न सजिलो थिएन। तीनै जनाको शरीरमा पाइप राखेर पिसाब बाहिर निकालिएको थियो। पिसाब जम्मा गर्ने थैलो शरीरमै थियो। त्यैपनि गएको असोज १ गते उनीहरूले छमछमी नाचेर तीज मनाए।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको फिस्टुला उपचार केन्द्र (फिस्टुला सेन्टर) मा लामो समय उपचार गरेपछि आस्कली भोलिपल्ट डिस्चार्ज हुँदै थिइन्। बाजुरा घर भएकी उनलाई जन्मजात फिस्टुलाको समस्या थियो। पिसाब नै थामिँदैन थियो। परिवारले उपचार हुन्छ भन्ने थाहा नहुँदा ९ वर्षको उमेरसम्म समस्या भोग्नु परेको थियो।

स्कुल गएको बेला पनि कपडा भिज्थ्यो। अनि साथीहरूले जिस्काउँथे। राति ओच्छ्यान भिज्नु सामान्यजस्तै भइसकेको थियो। आस्कलीलाई मात्र नभएर उनका अभिभावकलाई पनि त्यस रोगबारे जानकारी थिएन। “अबदेखि कपडा भिज्दैन, ओच्छ्यान पनि भिज्दैन, त्यही भएर खुशी छु,” आस्कलीले मुसुक्क हाँसेर भनिन्।

सुर्खेतको वीरेन्द्रनगर–१० घर भएकी बिन्द्राकुमारी थापा (४८) को समस्या पनि दर्दनाक थियो। एक वर्षअघि कर्णाली प्रदेश अस्पतालमा उनको पाठेघरको शल्यक्रिया भयो। शल्यक्रियाको नौ दिनपछि निरन्तर पिसाब बग्न थाल्यो। रोकिँदै रोकिएन।

उपचारका लागि उनी पुनः प्रदेश अस्पताल पुगिन्। उनलाई फिस्टुला सेन्टर पठाइयो। शरीरमा शल्यक्रियाको आलो घाउ थियो। अब पिसाब बाहिर निकाल्ने पाइप र थैलो पनि झुन्डाउनु पर्ने भयो। सामान्य उपचारपछि डाक्टरले घरैमा आराम गर्न सल्लाह दिए।

घर आएपछि समस्या बढ्दै गयो। पाइपबाहिरबाट समेत पिसाब चुहिन थाल्यो। घाउमा संक्रमण भयो। उनी पुनः फिस्टुला सेन्टर पुगिन्। तत्कालै शल्यक्रिया हुने अवस्था थिएन। फिस्टुला देखिएको तीन महिनापछि गएको भदौ २३ गते बल्ल शल्यक्रिया गर्न मिल्यो र उनले समस्याबाट मुक्ति पाइन्।

“एकपटक मेरो पिसाब नै ब्लक भएछ। त्यसबेला रातको समयमा पनि डा. शेर्ली आफैँ खटेर मेरो रेखदेख गर्नु भयो,” बिन्द्रा भन्छिन्, “मेरो शरीर जीवित भएर पनि मरेको महसुस हुन्थ्यो। कति रात देवीदेउता, कुलदेवता सम्झेर भाकल गर्थें। अहिले नयाँ जीवन पाएको छु।” 

कुराकानीका क्रममा उनले धेरैपटक डा. शेर्ली हेवुड (६६) लाई धन्यवाद दिइन्। दुई दशकदेखि नेपाल बसिरहेकी शेर्लीले आस्कली र बिन्द्राजस्तै धेरै महिलाको उपचार गरेकी छन्। कर्णाली प्रदेश अस्पताल परिसरमा रहेको फिस्टुला उपचार केन्द्रका लागि सन् २०१८ मा सुविधा सम्पन्न भवन बनेयता मात्र डा. शेर्लीको नेतृत्वमा ४०० भन्दा बढीको शल्यक्रिया भइसकेको छ।

डा. शेर्ली कर्णालीका महिलाको ‘आमा’ बनेकी छन्। त्यहाँका महिलाका लागि वर्षौंदेखि ‘निको हुन नसक्ने रोग’ फिस्टुलाको उपचार अब सामान्य बनेको छ।

बेलायती नागरिक डा. शेर्लीले नेपाल आउने अठोट भने ५० वर्षअघि नै गरिसकेकी थिइन्।

उनी १६ वर्षकी हुँदा भारतबाट आएको एउटा चिठी पढ्न पाइन्। त्यो चिठीमा नेपालका डाक्टरको संख्या उल्लेख गर्दै ज्यादै कम भएको जनाइएको थियो। त्यसपछि उनलाई डाक्टर बन्ने हुटहुटी चल्यो। डाक्टर बनेर नेपाल नै जाने लक्ष्य बनाइन्।

उनी स्त्री रोगको विद्यार्थी बनिन्। अन्तिम परीक्षापछि नेपाल आउने पहिलो लक्ष्य थियो। तर मिसिनरी सोसाइटीले पाकिस्तान पठाउने निर्णय गर्‍यो। उनले नेपाल नै जाने अडान लिइन्। तत्काल त्यो मौका नपाएपछि दुई वर्ष बेलायतमै बसिन्।

दुई वर्षपछि आवेदन गर्दा पनि पाकिस्तान नै जानुपर्ने भयो। तीन वर्ष पाकिस्तानको स्वास्थ्य सेवामा काम गरिन्। त्यहाँबाट बेलायत फर्किएपछि शिक्षण गर्ने योजना बनाइन्। त्यसका लागि उनले आफ्नो प्रयास जारी राखिन्।

भन्छिन्, “बेलायतका हरेक अन्तर्वार्तामा म नेपाल जाने चाहना जाहेर गर्थें। एउटा अन्तर्वार्तामा मेरो रुचिको विषयको लागि पपुवा न्यू गिनी अथवा हङकङ जान सल्लाह दिए। त्यही हप्ता ब्रिटिस मेडिकल जर्नलमा पपुवा न्यू गिनीमा लेक्चरर माग भएको देखेँ। मैले निवेदन दिएँ र छानिएँ पनि।”

तीन वर्षको लागि पपुवा न्यू गिनी गएकी उनी आठ वर्ष बसिन्। शिक्षण पेसासँगै त्यहाँ स्वास्थ्य सम्बन्धी ‘फिल्ड रिसर्च’को मौका पनि पाएकी थिइन्। उनको चाहना पनि त्यस्तै थियो।

त्यस बेलाको पपुवा न्यू गिनी र नेपालको स्वास्थ्य अवस्था उस्तै थियो। त्यहाँ पनि डाक्टरको संख्या कम थियो। हेल्थ पोस्टहरूमा ‘पारामेडिकल’हरूले काम गरिरहेका थिए। “त्यहाँ एउटा जर्नलमा मैले नेपालसम्बन्धी तथ्य प्राप्त गरेँ। नेपालमा सरकारी अस्पतालको महिला स्वास्थ्य सेवा विस्तारको लागि एक जना विशेषज्ञ डाक्टरको आवश्यकता उल्लेख थियो। त्यो पढ्नेबित्तिकै यो आफ्नै काम हो भन्ने लागेर निवेदन दिएँ,” उनी भन्छिन्।

डा. शेर्लीलाई त्यही विज्ञापनले नेपाल ल्याइपुर्‍यायो। उनले सन् २००३ मा पहिलोपटक नेपाल टेकिन्। यसरी, १६ वर्षको उमेरमा देखेको सपना ३० वर्षपछि मात्र पूरा भयो।

मुगुकी महिलाको पीडा र शल्यक्रिया तालिम
डा. शेर्ली पहिलोपटक आइपुग्दा इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ)मार्फत काम गर्न तत्कालीन मध्यपश्चिम विकासक्षेत्र पुगेकी थिइन्। आईएनएफले महिला स्वास्थ्यको क्षेत्रमा बाँके, जुम्ला, सुर्खेत र दाङमा काम गर्थ्यो। 

त्यतिबेला जिल्ला अस्पताल सुर्खेतमा २५ शय्या थियो। उनले जनरल फिजिसियन न्हुछेमान डंगोल र मेडिकल अफिसर डा. डम्बर खड्कासहितको टिममा काम गर्न थालिन्। डा. डंगोल जनरल फिजिसियन भएका कारण उनले पाठेघर खस्ने समस्याको उपचार गर्न डा.शेर्लीलाई अनुरोध गरेका थिए।

डा. शेर्लीले जर्मन संस्था जीटीजेडको सुरक्षित मातृत्व कार्यक्रमको सल्लाहकारका रूपमा पनि काम गरिन्। त्यही बेला उनी नेपालमा फिस्टुलाको अवस्थाबारे बुझ्न कौतुहल भइन्। “सन् २००३ मा नेपाल आउँदा मैले यहाँ फिस्टुलाबारे सोधेको थिएँ। त्यो बेला आईएनएफकै अधिकारीहरूले यहाँ फिस्टुला नभएको बताएका थिए। भेटिइहाले पाटन अस्पताल पठाउने गरेको उत्तर पाएँ। तर मैले भने फिस्टुलाको उपचार सेवा नै नभएर नदेखिएको अनुमान गरेको थिएँ,” उनी भन्छिन्। 

डा. शेर्ली नेपाल आउँदा नेपालगन्ज र सुर्खेतका अस्पतालमा मात्र गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकाल्न सकिने अवस्था थियो। मुगु, जुम्लाजस्ता विकटका महिलालाई लामो प्रसव पीडा खपेर बच्चा जन्माउनुपर्ने बाध्यता थियो। उनी भन्छिन्, “विकट क्षेत्रका महिलालाई लामो समयको प्रसव बेथाका कारण फिस्टुला रोग लाग्नु नौलो विषय थिएन, तर ती महिला यो रोगबाट पूर्णरूपमा अन्जान थिए।”

सन् २००६ मा मुगुमा भएको एउटा स्वास्थ्य शिविरमा उनको अनुमान सही निस्कियो। शिविरको अन्तिम दिन एक जना महिला आइन्। उनले डा. शेर्लीलाई आफ्नो वृत्तान्त बताइन्। १३ वर्षमा बिहे भएर १४ वर्षमा पहिलो गर्भ रहेको थियो। तीन दिनको लगातार प्रसव पीडापछि उनले मृत बच्चा जन्माएकी थिइन्। त्यही प्रसव पीडाको कारण उनलाई फिस्टुला देखियो। परिवारले उनलाई तिरस्कार गर्न थाल्यो। अनि ज्याला मजदुरी गरेर एक्लै बस्न थालिन्। 

“मेरो दिमागमा एउटै प्रश्न थियो, मुगुकी ती महिला काठमाडाँै गएर उपचार गर्न सक्लिन् त? उनको साथमा कोही थिएन। त्यसपछि मैले फिस्टुला सर्जरीबारे अझ जान्न चाहेँ,” उनी भन्छिन्, “यदि, मैले फिस्टुलाको जटिलभन्दा जटिल सर्जरी गर्ने विशेषज्ञता हासिल गरेँ भने उनीजस्ता धेरैको लागि केही गर्न सक्छु भन्ने लाग्यो।”

त्यसपछि डा. शेर्ली फिस्टुला विशेष सर्जरी तालिमको लागि इथियोपिया गइन्। उनले त्यहाँ आफ्नो गुरु डा. एन्ड्रयु ब्राउनिङसँग अभ्यास गर्ने मौका पाइन्। शल्यक्रियाको तालिम सकाएपछि नेपाल फर्किइन्। उनले सन् २००९ मा तत्कालीन मध्यपश्चिम अस्पतालको पछाडिको भागमा अस्थायी शिविर स्थापना गरी फिस्टुला शल्यक्रिया सेवा शुरू गरिन्। आफ्ना गुरु डा. एन्ड्रयुलाई नेपाल नै बोलाइन् र पोखराका डाक्टरहरूको एउटा टोलीसँगको सहकार्यमा तिनै मुगुकी महिलाको सफल शल्यक्रिया गरिन्।

बिरामी र स्वास्थ्यकर्मीकी प्रेरणा
कर्णालीका विभिन्न स्वास्थ्य शिविरमा आएका फिस्टुलाका बिरामीको शल्यक्रिया सुर्खेतमा हुन थालेको थियो। तर ती स्वास्थ्य शिविर पनि गाउँका कतिपय बिरामीको पहुँचमा नभएको डा. शेर्लीलाई महसुस भयो। रोगबारे बेलैमा थाहा नपाउँदा पीडित महिला समयमै स्वास्थ्य चौकी जान वा शिविर आउन सक्दैन थिए। सरकारले गर्ने शिविरमा त फिस्टुलाको जाँचै हुँदैन थियो। फिस्टुलाको समस्या फाट्टफुट्ट मात्र भएको सरकारी अधिकारीहरूको अनुमान थियो।

सन् २०१० मा कर्णालीमा स्वास्थ्य सम्बन्धी ठूलो शिविरको आयोजना हुँदै थियो। तर त्यो शिविरमा फिस्टुला जाँचको कुनै कार्यक्रम नराख्ने मनसायमा सरकारी अधिकारी थिए। डा. शेर्ली भन्छिन्, “सुर्खेतमा रहेको (तत्कालीन) मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई फिस्टुला कार्यक्रमबारे जानकारी गराउँदै थिएँ। त्यहाँ सरकार पक्षका एक जना योजना अधिकृतले फिस्टुलाको कार्यक्रम आवश्यक नभई पाठेघर खस्ने रोगको मात्र शिविर गर्न आग्रह गरे। मैले फिस्टुलाको लागि सहयोग रकम आएको र कार्यक्रम नराखे फिर्ता जाने बताएपछि मात्र उनी राजी भए।”

उनले रेडियोमार्फत पनि फिस्टुलाको जानकारी प्रवाह गराउन थालिन्। त्यसमा १७ जनाले प्रतिक्रिया जनाए। त्यसपछि, २०११ फेब्रुअरीको पहिलो तीन हप्तामै ५६ जनाको फिस्टुलाको शल्यक्रिया भयो। बल्ल सरकारले कर्णालीमा फिस्टुलाको भयाभह अवस्थाबारे जानकारी पायो।

यसपछि डा. शेर्लीले काम गर्ने तरिका परिवर्तन गरिन्। फिस्टुला उपचार केन्द्रकै दिलकुमारी गिरीलाई तालिम दिएर प्रशिक्षक दिइन्। अनि उनैमार्फत कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका आठ जिल्लाका हरेक स्वास्थ्य चौकीका एक–एक जनालाई फिस्टुलाबारे तालिम दिलाइन्। ती तालिम दिएका स्वास्थ्यकर्मीले रेडियोबाट फिस्टुलाबारे जनचेतना फैलाउन थाले।

सोही वर्ष युनाइटेड नेशन्स पपुलेसन फन्ड (युएनएफपीए)ले ‘फिस्टुला मिट्स इन नेपाल’ नामको अध्ययन गर्‍यो। बल्ल नेपालमा फिस्टुला भएको र उपचारको आवश्यकता रहेको मान्न थालियो। 

प्रदेश अस्पताल, सुर्खेत।

स्वास्थ्य चौकीमा रोगीहरूको पहुँच बढाउन तीन वर्षयता ‘आउटरिच टिम’को नेतृत्व कान्ति शर्माले सम्हालिरहेकी छन्। आउटरिच टिम बनाउने अवधारणा डा. शेर्लीकै भएको कान्ति बताउँछिन्। उनी डा. शेर्लीलाई ‘कर्णालीकी आमा’ मान्छिन्।

आउटरिच कार्यक्रममा सम्बन्धित गाँउपालिका, वडा कार्यालयमार्फत स्वास्थ्य स्वयंसेविकाहरू घरघरै पुगेर बिरामीको खोजी गर्छन्। आमा समूह र विभिन्न महिला समूहमार्फत पनि बिरामी खोजिन्छ। 

यसरी ल्याइएका बिरामीसँग चिकित्सकलगायत स्वास्थ्यकर्मीले नजिकको सम्बन्ध कायम गर्नुपर्ने डा. शेर्लीको मत छ। फिस्टुला सेन्टरका शय्यामा नम्बर राखिएको छैन। बिरामीको नामबाटै थाहा हुनुपर्ने उनी बताउँछिन्। “उनीहरू अस्पताल छिरेको समयदेखि नै शारीरिक मात्र नभई मनोवैज्ञानिक उपचार पनि हुनुपर्छ,” उनी भन्छिन्, “बिरामीसँग कुराकानी गर्ने, घुलमिल गराउने हाम्रो पहिलो प्राथमिकता हो।”

फिस्टुला सेन्टरमा सर्जन रहेकी डा. शुभेच्छा देवा श्रेष्ठ साढे दुई वर्षदेखि डा. शेर्लीको सुपरवेक्षणमा काम गरिरहेकी छन्। त्यसअघि उनी तानसेन अस्पतालमा कार्यरत थिइन्। आफू डा. शेर्लीबाट प्रभावित भएको र उनी आफूलाई कर्म दिने आमा भएको शुभेच्छा बताउँछिन्। 

“बिरामीप्रति समर्पित भएर कसरी काम गर्ने भनेर सिकाउनु भएको छ। आफ्नो कामप्रति उहाँको लगाव मेरो लागि सिकाइ भएको छ,” उनी भन्छिन्, “मलाई पोखराबाट यहाँ आएर काम गर्न कति धेरै सोच्नु पर्‍यो। उहाँ २३ वर्षदेखि नेपालमा बसेर काम गरिरहुन भएको छ। उहाँले आफ्नो जीवनको कति ठूलो पाटो बलिदान गर्नुभएको होला?”

शेर्लीलाई झस्काइरहने एउटा घटना
डा. शेर्लीको दैनिकी निवास र अस्पतालमै बित्छ। उनी आफ्नो देश बेलायत जाने–आउने गरिरहन्छिन्। केही समयअघि मात्र उनको आमाको मृत्यु भएको कारण शोकमा छिन्। शोक भुल्न पनि उनी व्यस्त रहन्छिन्।

उनलाई कुखुरा पाल्ने सोख छ। बिहान केही समय कुुखुरालाई चारो दिने र चराउने गर्छिन्। फुर्सदमा पुस्तक पढ्न र क्लासिक गीत सुन्न मन पराउँछिन्। एकल जीवन बिताइकी उनी विवाहको लागि सोच्न नपाउँदै समय कटेको बताउँछिन्।

दुई दशक नेपालमा सेवा गर्दा बटुलेका अनुभवले आफूलाई आनन्द दिने उनको भनाइ छ। पीडा र दिक्दारी खपेर फिस्टुला सेन्टर आइपुगेका बिरामी खुशी भएर फर्किएको देख्दा सबैभन्दा बढी आनन्द लाग्ने उनले बताइन्।

यद्यपि, एउटा घटनाले उनलाई सधैँ झस्काउँछ। 

एक महिला पहिलोपटक सुत्केरी हुने तरखरमा थिइन्। लामो प्रसव पीडापछि मात्र उनलाई अस्पताल ल्याइयो। शल्यक्रियामार्फत उनको बच्चा निकालियो, तर मृत अवस्थामा। उनले अर्कोपटक अस्पतालमै सुत्केरी गराउन सल्लाह दिएर पठाइन्।

दोस्रोपटकको गर्भ रहँदा उनकी सासूले सुत्केरी गराउन अस्पताल लैजान दिइनन्। उनको बच्चा फेरि पनि मृत नै जन्मियो। तेस्रोपटकको गर्भमा पनि सासूको मन बदलिएन। उनी आफ्नो माइती गइन्। माइती पक्षले अस्पताल लगेर सुत्केरी गराए पनि ढिला भइसकेको थियो। फेरि पनि मृत सन्तान जन्माइन्। तीन पटकसम्म उनका सन्तान मृत त जन्मिए नै, यही कारण उनलाई फिस्टुलाको समस्या भयो। 

त्यसपछि उनको दैनिकी झन् दयनीय भयो। फिस्टुलालाई ‘देउताको श्राप’ मानिने कारण उनी परिवारबाट तिरस्कृत भइन्। यद्यपि, डा. शेर्ली नेतृत्वको टोलीले उनको उपचार गरेको थियो।

“उनी अहिले सासूलाई हेरिरहेकी छन्, एउटा बुहारीले गर्नुपर्ने जिम्मेवारी निभाइरहेकी छन्। तैपनि सासूले माया गर्दिनन्। फोनमा कुराकानी हुँदा उनी भन्छिन्– मेरो जीवनमा कुनै खुशी छैन, माया गर्ने कोही पनि छैन,” डा. शेर्ली भन्छिन्, “यदि उनकी सासूलाई थोरै ज्ञान र चेतना भएको भए उनकोे जीवन यस्तो रुखो हुँदैन थियो होला।”


भिडियो


सम्बन्धित सामग्री