Saturday, May 04, 2024

-->

एशियाडमा आशा नै नगरिएको पदक जिताउने कबड्डीको कथाः प्रशिक्षण स्थलसमेत थिएन

चीनमा भएको १९औँ एशियाली खेलकुद अन्त्यतिर पुग्दै गर्दा पदक तालिकामा महिला कबड्डीमार्फत नेपालको नाम चढेको थियो। पदक आशै नगरेको यो खेलले कास्य जित्नु राखेपका लागि पनि 'सर्प्राइज' थियो।

एशियाडमा आशा नै नगरिएको पदक जिताउने कबड्डीको कथाः प्रशिक्षण स्थलसमेत थिएन

काठमाडौँ- १९औँ एशियाली खे‍लकुद प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको थियो। तर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलाई तेक्वान्दो, बक्सिङ र करातेबाट मात्रै पदकको आशा थियो। विगतमा पनि नेपाललाई पदक तालिकामा ‘निल’ हुन बचाएका खेल यी नै थिए।

पदकको आशा गरिएका खेलमा कतिपय खेलाडी पहिलो चरणबाटै बाहिरिए। कोही प्रि-क्वार्टरफाइनलसम्म पुगे। एकपछि अर्को हारको श्रृंखला जारी रहँदा नेपालको इज्जत धानिदिने खेल बन्यो कबड्डी। समूह ‘बी’को पहिलो खेलमै बंगलादेशलाई ४३-१९ अंकले पराजित गरेर महिला टोली कास्यको हकदार बनेको थियो।

महिला कबड्डीको इतिहास नराम्रो भने छैन। बंगलादेशको राजधानी ढाकामा भएको ११औँ र भारतको गुवाहाटी तथा सिलोङमा भएको १२औँ दक्षिण एशियाली खेलकुद (साग)को महिला कबड्डीमा नेपालले कास्य जितेको थियो। घरेलु मैदानमा भएको १३औँ सागमा नेपाल फाइनल पुगे पनि भारतसँग पराजित भएर रजत जितेको थयो। त्यसपछि लय समात्नुपर्ने महिला कबड्डीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर नै पाएन।

कबड्डी संघले आर्थिक समस्या देखाउँदै घरेलु प्रतियोगिता नै आयोजना गरेन। सिनियर पुरुष टोलीले बंगबन्धु कप र जुनियर विश्व कबड्डीजस्ता अन्तर्राष्ट्रिय र मुख्यमन्त्री राष्ट्रिय प्रतियोगिता खेले पनि महिला टोलीले त्यो अवसर पाएन। गत असोज-कार्तिकमा पोखरामा सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भरमा एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हो। 

यद्यपि, आफूहरूले महिला टोलीमा पदक ल्याउने सामर्थ्य रहेको विश्वास गरेको कबड्डी संघका सचिव तर्कराज भट्ट बताउँछन्। “१३औँ सागपछि धेरै प्रतियोगिताहरू आयोजना गर्नुपर्थ्यो। तर यो संघमा सम्पन्न व्यक्तिहरू नजोडिएका कारण बजेट अभावले घरेलु प्रतियोगिता नै गर्न सकेनौँ,”  उनी भन्छन्, “खेल शून्य भएपछि एशियाली खेलकुदमा पदक ल्याउँछ भनेर अरूहरूले आशा नराख्नु स्वभाविकै हो। तर हामीलाई पदक ल्याउँछन् भन्ने आशा थियो।”

नेपालको पहिलो प्रतिद्वन्द्वी बंगलादेश पर्नुले पनि पदक जित्न केही सहज भयो। १३औँ सागमा नेपालले बंगलादेशलाई ३६-२५ अंकले पराजित गर्दै २० वर्षे इतिहासमा पहिलो जित हासिल गरेको थियो। उक्त खेलमा अनुजा राईले सर्वाधिक ८ अंक प्राप्त गरेकी थिइन्। 

“यसपटक नेपाल रहेको समूहमा इरान र बंगलादेश थिए। एक खेल जिते मात्रै पनि पदक आउने लगभग पक्का थियो। पुरूष टोलीलाई सहभागी गराएको भए कठिन समूहमै पर्ने सम्भावना थियो। त्यसैले पदक ल्याउन भनेर नै महिला टोलीलाई पठाएका थियौँ,” उनी भन्छन्।

नेपाली महिला कबड्डी टोलीले पहिलोपटक एशियाली खेलकुदमा सहभागिता जनाएको हो। पुरुष टोलीले भने सन् १९९० मा चीनको बेजिङमा भएको १२औँ एशियाली खेलकुददेखि नै सहभागिता जनाउन थालेको थियो। नेपाल त्यतिखेर ६ टोली सहभागी प्रतियोगितामा चौँथो भएको थियो। 

त्यसपछि नेपाली पुरुष टोलीले सन् १९९४ मा जापानको हिरोसिमा र १९९८ मा थाइल्यान्डको बैंककमा भएका एशियाली खेलकुदमा सहभागिता जनायो। तर दुवै प्रतियोगितामा जितविहीन हुँदै स्वदेश फर्कियो। लगातारको हारपछि नेपाली पुरूष कबड्डी टोलीले एशियाली खेलकुद प्रतियोगितामा आठ वर्ष सहभागिता नै जनाएन। 

सन् २०१० मा चीनको हन्झाउमा भएको १६औँ एशियाली खेलकुदमा पुरुष टोलीले ‘कमब्याक’ गर्‍यो। तर पुन: समूह चरणबाटै बाहियो। त्यही प्रतियोगितामा महिला टोलीले पनि ‘डेब्यू’ गर्ने तयारी थियो। उक्त टोलीमा सरस्वती थापा, अम्बिकाकुमारी मण्डल, आशाकुमारी चौधरी, नेत्रकुमारी थापा, शान्तिकुमारी मल्ल, कोशमाया बस्नेत, रमिताकुमारी थापा, नितु गुरुङ, मिनु गुरुङ, सञ्जना तामाङ, निर्मला विष्ट र संगीता गौतम थिए। अन्तिम समयमा नेपालले नाम फिर्ता लिएपछि यी खेलाडी निराश बन्न पुगे। 

पुरूष टोलीले सन् २०१४ दक्षिण कोरियाको इन्चोङ र २०१८ मा इन्डोनेशियाको जाकार्तामा भएको प्रतियोगितामा पनि भाग लियो। ती खेलकुद उत्सवमा पनि कुनै पदक आएन।

प्रशिक्षण गर्ने ठाउँसमेत थिएन
१३औँ सागमा फाइनलमा भारतसँग पराजित भएर रजत जितेको महिला भलिबल टोलीको जति चर्चा भयो, त्यसरी नै भारतसँग हारेर ऐतिहासिक रजत पदक जितेको कबड्डी टोलीको चर्चा भएन। भलिबलले त्यसपछि लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिरह्यो। केन्द्र र प्रदेश सरकारले आर्थिक सहयोग गरिरहे। राखेपको साथ र सहयोग पाइरह्यो। तर कबड्डी संघ गुमगाम रहँदा निकै अभाव बेहोर्नुपर्‍यो।

एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउनुअघि पनि कबड्डी टोलीले स्वदेशमा राम्रो तयारी नै गर्न पाएन। आफ्नै कभर्ड हल नभएको कारण प्रशिक्षणका लागि भारत पुग्नु परेको थियो। भारतमा गर्मीका कारण प्रशिक्षण गर्न कठिन भएको कप्तान मेनुका राजवंशी बताउँछिन्। “हामीलाई नेपालमै प्रशिक्षण गर्न मन थियो। तर हाम्रो आफ्नै कभर्ड हल छैन, कोर्ट पनि छैन। त्यही कारण प्रशिक्षणको लागि हरियाणा पुग्नु परेको हो,” उनी भन्छन्। 

नेपाली टोलीले हरियाणामा करिब एक महिना प्रशिक्षण गर्दा स्थानीय टोलीसँग आधा दर्जन अभ्यास खेल खेलेको थियो। “नेपाल फर्किएपछि भने हरियाणामा जस्तो प्रशिक्षण गर्ने मौका पाइएन। प्रतियोगिता खेल्न जानुभन्दा अगाडि करिब एक हप्ता ग्याप भयो। त्यो ग्यापमा प्रशिक्षण गर्न कहिले रंगशालाको ट्र्याक कुर्नु पर्‍यो त कहिले टेनिस कोर्ट,” कप्तान राजवंशी भन्छिन्, “आफ्नै हल भएको भए राम्रो तयारी हुन्थ्यो होला। जहिले पनि गएर अभ्यास गर्न पाइन्थ्यो। त्यसले अझ माथि पुर्‍याउँथ्यो होला।” 

एशियाली खेलकुद शुरू हुन १०० दिन बाँकी हुँदा कबड्डी संघ प्रशिक्षणका लागि तातिएको थियो। संघ अध्यक्ष तुलसा थापा र महासचिव अरविन्द्र झाले पार्टी प्यालेस भाडामा लिएर भए पनि प्रशिक्षण गराउने आश्वासन दिएका थिए। गएको असारमा  खेलाडीहरू घरमै बसेर एक समय प्रशिक्षण गर्थे। त्यसपछि चौमतीमा प्रशिक्षण शुरू भयो। उक्त प्रशिक्षणको लागि संघले राखेपसँग २०० वटा म्याट मागेको थियो। त्यहाँ केही दिन प्रशिक्षण गरेपछि टेबुल टेनिस हलमा प्रशिक्षण गरेको मुख्य प्रशिक्षक पार्वती राई बताउँछिन्।

“राखेपले हाम्रो लागि छुट्याएको म्याट त थियो, तर ओछ्याउने ठाउँ पाएनौँ। त्यो म्याट त्यसै राखिराख्ने कुरा पनि भएन। त्यसलाई ओछ्याएर प्रतियोगिता गरेको भए र नियमित अभ्यास गर्न मिल्ने वातावरण सिर्जना गर्दिएको भए यो टिम अझै खारिएर आउँथ्यो होला,” उनी भन्छिन्।

भारतबाट फर्किएपछि कबड्डी संघसँग आफ्नै म्याट भएर पनि ओछ्याउन पाएन। दशरथ रंगशालाको ट्र्याकमा अन्य विधाका खेलाडीले समेत प्रशिक्षण गर्ने हुँदा ओछ्याउने ठाउँ उपलब्ध भएन। उनीहरू रंगशालामा वामअर्प र साधारण अभ्यास गरेर घर फर्किन्थे।

कबड्डीले पाएको सफलता 'टिम गेम'मा अहिलेसम्मकै ठूलोमध्येको भएको प्रशिक्षक विष्णुदत्त भट्ट बताउँछन्। तर खेल विज्ञहरूले कबड्डीको महत्त्व नबुझेको उनको भनाइ छ। नेपालभन्दा आर्थिक रूपले कमजोर राष्ट्रले पनि एशियाली खेलकुदमा स्वर्ण जितेको उनी बताउँछन्। 

“हाम्रोमा इच्छाशक्ति नै देख्दिँन। बर्दियामा हल छ, प्रशिक्षक छैन र खेल्ने खेलाडी छैनन्। पायक पर्ने ठाउँ काठमाडौँ भन्छौँ, तर हाम्रो संघको लागि खै त जग्गा? सरकारसँग यत्रो जग्गा छ, अलिकति छुट्याइदिए त संघ आफैँले हल बनाउन सक्थ्यो नि,” प्रशिक्षक भट्ट भन्छन्।

के छ संघको योजना?
भारत र बंगलादेशमा कबड्डी फस्टाउँदै गएको छ। भारतमा ठूलो प्रतियोगिता प्रो-कबड्डी लिग हुने गर्छ। सन् २०१४ सम्म गुमगामजस्तै रहेको 'एम्याचुर कबड्डी फेडेरेसन अफ इन्डिया'ले यो लिग आयोजना गर्छ। 

प्रो-कबड्डी लिगमा जापान, इरान, नेपाललगायतका राष्ट्रका खेलाडीले सहभागिता जनाउँछन्। १२ टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनमा चल्छ। करिब एक महिना चल्ने प्रतियोगिताबाट खेलाडीले मनग्य आम्दानी गर्छन्। 

नेपाल कबड्डी संघले पनि यस्तै प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेको सचिव तर्कराज भट्ट बताउँछन्। तर प्रतियोगिता गर्न हलको समस्या रहेको उनको भनाइ छ। हलको समस्या समाधान हुनेबित्तिकै 'क्यालेन्डर' बनाएर अगाडि बढ्ने उनको भनाइ छ।

“हाम्रो नतिजा राम्रो नै भइरहेको छ। अहिले नयाँ कार्यकालमा छौँ र सबैलाई केही गरौँ भन्ने इच्छाशक्ति छ। अबको दुई महिनापछि नयाँ क्यालेन्डर नै बन्छ,” सचिव भट्ट भन्छन्।


सम्बन्धित सामग्री