Monday, April 29, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ : रिगलको कैद मिनाहा बदर, सडक ताक्दै माओवादी र टी२० विश्वकप यात्रामा नेपाल

सर्वोच्चद्वारा गुन्डानाइके रिगल ढकाललाई कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर, माओवादीको सडकमा ‘जनपरिचालन’ अभियान, सम्भावित साम्प्रदायिक तनावको सन्त्राससहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ  रिगलको कैद मिनाहा बदर सडक ताक्दै माओवादी र टी२० विश्वकप यात्रामा नेपाल

बिहीबार सर्वोच्च अदालतले गुन्डानाइके रिगल भनिने योगराज ढकाललाई कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद छुट पाएका रिगलको हकमा सर्वोच्चले निर्णय बदर गर्ने आदेश गरेको हो।

उच्च अदालतले बाँकी कैद भुक्तानीका लागि पक्राउ गरी कारागार पठाउन परमादेश दिएलगत्तै ढकाललाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको थियो। उनलाई शुक्रबार बाँके जिल्ला कारागार चलान गरिएको छ। 

अब अदालतको आदेशानुसार ढकालले ११ वर्ष, ११ महिना, पाँच दिन बाँकी कैद भुक्तान गर्नुपर्ने छ। पछिल्लो समय सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा कैद सजाय 'मिनाहा' गरिएको यस घटनाको व्यापक विरोध भएको थियो।

दशैँलगत्तै रिगल प्रकरणसँगै चर्चामा रह्यो सत्ताको नेतृत्वमा बसेर सडक संघर्ष गर्ने नेकपा माओवादी केन्द्रको घोषणा। सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौँका सडकमा जनपरिचालन र खबरदारी सभा गर्ने अनौठो घोषणा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कात्तिक १२ गते बसेको माओवादी पदाधिकारी बैठकले कार्यकर्तालाई सडकमा उतार्ने निर्णय गरेको हो। 

लोकतन्त्रमा सरकारको कामप्रति चित्त नबुझे प्रतिपक्षी दलहरूले सदनमा आवाज उठाउने र सडक संघर्ष गर्ने गर्छन्। तर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भने सडकमा ‘जनपरिचालन’ कार्यक्रम ल्याएको बारे बिस्तृतमा पढ्नुहोस् : आफैँप्रति अविश्वास कि विपक्षीको डर?

अब हेरौँ यो हप्ता उकालोमा प्रकाशित केही  प्रमुख हेड्लाइन:

तीन महिनामै भित्रिए साढे ९ अर्बका स्मार्टफोन : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल आयातको करिब ७०.९७ प्रतिशत अर्थात् चार लाख ५५ हजार ८९८ वटा स्मार्टफोन उत्तरी छिमेकी देश चीनबाट आयात भएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विद्युतीय गाडी आयात तीन गुणाले वृद्धि : भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म आयात भएका कुल ३ हजार ७८८ गाडीमा विद्युतीय सवारीको हिस्सा ५६.३६ प्रतिशत रहेको छ।

कालोबजारीले आकासियो प्याजको भाउ, १४ दिनमा ६५ प्रतिशत मूल्यवृद्धि : कालीमाटी थोक बजारमै प्याजको औसत मूल्य १२२ रुपैयाँ ५० पैसा पुगेको छ। यहाँको दैनिक मूल्यसूचीअनुसार कात्तिक १ गतेदेखि मंगलबारसम्मको १४ दिनमा प्याजको भाउ ६५ प्रतिशतले बढेको छ।

संरक्षित क्षेत्र व्यापारीलाई सुम्पन वन मन्त्रालय नै सक्रिय : मन्त्रालयले राष्ट्रिय निकुञ्जसहित संरक्षित इलाकामा निजी क्षेत्रलाई व्यावसायिक क्रियाकलाप सञ्चालन र केबलकार, हाइड्रोपावर लगायतका पूर्वाधार बनाएर आयआर्जन गर्न सजिलो हुने कार्यविधि ल्याउन लागेको छ।

कानून मिचेर फेवाताल किनारको बसुन्धरा पार्क मास्ने तयारी ४३ वर्ष पुरानो निर्णय र सर्वोच्च अदालतका दुई वटा आदेशको समेत अवज्ञा हुने गरी फेवा किनारमा बसुन्धरा पार्क मासेर नयाँ संरचना बनाउने महानगरको महत्त्वाकांक्षी योजनाले विवाद ल्याएको छ।

सांसदले सदनमा मातृभाषामा बोल्न पाउँछन्, अभिलेख नेपालीमा बोल्नेको मात्र!  : २०१६ सालको संसद्‍मा पनि कतिपय सांसदले मातृभाषामा बोलेका थिए। २०६२/६३ सालपछि सबै सांसदले बोलेको सम्पूर्ण विवरण राख्नुपर्ने नियम बनाउन थालियो। तर मातृभाषामा सांसदले के बोलेका थिए भन्ने विवरण नै पाइँदैन।

जनकपुरधाममा जनप्रतिनिधिको रमिताः मेयरसँग ‘स्वार्थ नमिल्ने’ कर्मचारी जथाभावी सरूवा गरिँदै : गैरकानूनी गतिविधिको 'गोपनीयता' भंग हुने डरले मेयर र प्रशासकीय अधिकृतले मनपरी सरूवा गरेको उपमहानगरका कर्मचारीहरू बताउँछन्। अवैधानिक बिदाको हिसाबकिताब माग्दा उनीहरू आफूमाथि जाइलागेको मेयर साहको दाबी छ।

घुंघटको घेरा तोडेर डेढ दशकदेखि परिवारको रथ हाँकिरहेकी चन्द्रदेवी : २० लिटर दूध टाउकोमा राखेर दिनहुँ ६ किलोमिटर टाढाको जनकपुर हिँडेरै आउजाउ गर्ने उनी बिहान ४ बजे नै उठ्छिन्। शहरका सडक र गल्ली चहार्दै दूध बाँडेर फर्किँदा दिउँसोको २ बजिसक्छ। यो १५ वर्षदेखिको दैनिकी हो।

आफ्नै सरकारको ‘असहयोग’बीच डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा भिडिरहेका डा. आचार्य सक्षम र योग्य उम्मेदवार डा. आचार्यको पक्षमा प्रधानमन्त्री नै सार्वजनिक रूपमा एक शब्द नबोली मौन बसेपछि सरकार उदासीन देखिएको टिप्पणी निर्वाचनको अन्तिम घडीसम्म आइपुग्दा पनि भइरहेको छ।

स्तन क्यान्सर भएका पुरुष, रोग जितेर जनचेतना फैलाउँदैछन् स्तन क्यान्सरबाट महिला मात्र नभई पुरुष पनि पीडित छन् भन्ने उदाहरण हुन् ज्ञानु पाख्रिन। महिलाको तुलनामा पुरुषलाई निकै कम मात्र स्तन क्यान्सर हुन्छ। अहिले रोगमुक्त ज्ञानु जनचेतना फैलाउने काममा छन्।

भिडियो: दुर्गमका कुना कन्दरामा रेडियो बजाउने 'रेडियो नेपाल दाइ' : मुगु जिल्लाकै अग्लो स्थानमा रहेको स्टेसन हो मुर्मास्थित रिले स्टेसन। २०० किलोवाट क्षमताको सोलार पावरबाट सञ्चालित यो स्टेसन कर्णालीको एक मात्र सोलार बत्तीजडित रेडियो स्टेसन हो। भिडियो:


हाँडीगाउँको चोक्टे नारायण जात्रालाई यसकारण भनिन्छ ‘कहीँ नभएको जात्रा’  : हाँडीगाउँवासीमाझ प्रचलित विभिन्न किंवदन्तीलाई सार्थक पार्ने जात्राका खट, मैनको फूल, पूजाविधि लगायतका विभिन्न अद्वितीय कारणले ‘चोक्टे नारायण जात्रा’ले  कहीँ नभएको जात्राको उपमा पाएको हो।

गगनलाई पत्र: राजनीतिका नयाँ अनुहारसँग सहकार्य गर्नुहोस् : राजनीतिक बदलाबका लागि हिजो चर्को र उत्तेजक भाषण आवश्यक थियो, तर नेताका चर्का आदर्शवादी भाषणले अब युवाको भविष्य सुनिश्चित हुँदैन।

सम्भावित साम्प्रदायिक तनावको सन्त्रास : दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।

उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि केही सुझाव : आजको दिनमा निजी क्षेत्रमा राज्यको पूर्ण नियन्त्रण असम्भव प्राय: छ, तर हाम्रोजस्तो मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रको भरमा मात्रै वा निजी क्षेत्रको सुझावका आधारमा मात्रै निर्देशित गरिनु हुँदैन।

नेपाल दोस्रोपटक टी२० विश्वकपमा : टी२० विश्वकप एशिया छनोटको से‍मिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ मा हुने विश्वकपमा छनोट भएको छ। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक टी२० विश्वकप खेलेको थियो।


सम्बन्धित सामग्री