Saturday, December 14, 2024

-->

हाँडीगाउँको चोक्टे नारायण जात्रालाई यसकारण भनिन्छ ‘कहीँ नभएको जात्रा’

हाँडीगाउँवासीमाझ प्रचलित विभिन्न किंवदन्तीलाई सार्थक पार्ने जात्राका खट, मैनको फूल, पूजाविधि लगायतका विभिन्न अद्वितीय कारणले ‘चोक्टे नारायण जात्रा’ले  कहीँ नभएको जात्राको उपमा पाएको हो।

हाँडीगाउँको चोक्टे नारायण जात्रालाई यसकारण भनिन्छ ‘कहीँ नभएको जात्रा’
तस्वीरहरू: किसन पाण्डे र कृष्पा श्रेष्ठ/उकालो

काठमाडौ– ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा।’ यो उखान त तपाई‌ंहरूले सुन्दै आउनुभएको होला। जात्रा नै चाहिँ देख्नु भएको छ कि छैन? देख्नेका लागि पनि साँच्चै नै यो जात्रा ‘कहीँ नभएको जात्रा’ नै लाग्ने गर्छ। कारण, नेपाल मण्डलमा हामीले देख्दै, सुन्दै आएका अन्य जात्राभन्दा अलग छ हाँडीगाउँको जात्रा। 

नेपालको इतिहासमा लिच्छविकालीन समयको राजधानी मानिने विशालनगरको केन्द्र थियो हाँडीगाउँ जसलाई नेपाल भाषामा ‘नरः दे’ भनिन्छ। 

जनजिब्रोमा ‘कहीँ नभएको जात्रा हाँडीगाउँ’मा भनिए पनि यो जात्राको असली नाम भने ‘चोक्टे नारायण’ जात्रा हो। चोक्टे नारायण जात्रा कसरी ‘कहीँ नभएको जात्रा’मा परिणत भयो यसबारे कोही यकिनसाथ भन्न सक्दैनन्। यद्यपि केही किंवदन्ती र अन्य जात्राको तुलनामा यसमा पाइने पृथकताले यसरी कहलिन गएको हुनसक्ने जानकारहरूको अनुमान छ।

काठमाडौँ उपत्यकामा मनाइने हरेक जात्राको अभिन्न पाटो बनेको छ खट (पांग्रा नभएको, मानिसले बोक्ने काठको सिंहासन) अथवा रथ (पांग्रा भएको र मानिसले डोरीको सहायताले तान्ने  बाहन)। यो जात्राको विशेष आर्कषण भनेको जात्रामा पुजिने र नगर परिक्रमा गराइने तीन खट हुन्। साबिकका जात्राको रथ अथवा खट प्यागोडा शैलीमा बनाउने गरेको पाइन्छ। तर हाँडीगाउँमा मनाइने जात्राको खट त्यसको ठ्याक्कै उल्टो हुन्छ। खटको गजुर फेदमा र भगवान‍्को मूर्ति टुप्पोमा हुन्छ। 

तीनतले छत्रजस्तो देखिने गजुर मुनितिर फर्काई सिस्वाँ (मैनको फूल)ले छोपेर विचित्र ढंगले जात्रा हुन्छ। “कुनै पनि मन्दिरको माथि देवता बसेको देख्नुभएको छ?” पूजारीगणमध्येका एक पूजारी दर्पण शर्मा राजोपाध्याय भन्छन्, “यी, खटको टुप्पोमा देवताका मूर्ति स्थापना गरिएको हुन्छ, नौलो कुरा भएन त यो?” सोही कारण पनि यस्तो जात्रा अन्यत्र कहीँ नभएको उनको दाबी छ। 

खटको टुप्पोमा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकको मूर्ति राखिएको हुन्छ। नरःवासी मानन्धर गुठीले ‘लांका रूख’ र बाँसले बाँधेर देवताको खट बनाउँछन्। खटको गजुरलाई घुमाउन त्यसलाई चिउरा कुट्ने ओखलमाथि काठको थाममा राखिन्छ। तीनतले छत्रजस्तो देखिने देवताको खट पल्टाएर राखी सबैभन्दा माथि हिमालय पर्वतको प्रतीक सेतो कपडाले बेरिएको हुन्छ ।

खटको तल्लो तलामा रातो कपडाले बेरेर तामाको बाटालाई थामको बीचमा पारेर राखी ओखलमा दुई पुजारी चढेर दुईतिर डोरी घुमाउँदै सन्तुलन मिलाएर खट परिक्रमा गराइन्छ। 

पूजाविधि पनि फरक
पूजारी राजोपाध्यायका अनुसार धेरै समयसम्म नरः देमा अनिकाल पर्‍यो। सत्यनारायणलाई इष्टदेव मान्ने नरः देवासीले  सत्यनारायणको पूजाआराधना तथा जात्रा गरे। यद्यपि अनिकाल रोकिएन। त्यसपछि स्थानीयले सत्यनारायणमात्र नभई ब्रह्मा र महेश्वरको समेत पूजा गरी जात्रा निकाले। त्यसपछि मात्र अनिकालको अन्त्य भई सहकाल छाएको जनविश्वास चलिआएको छ। 

त्यससँगै यस जात्रालाई सत्यनारायण नभनी चोक्टे नारायणको जात्रा भनिन थालेको राजोपाध्याय बताउँछन्। यद्यपि ‘चोक्टे नारायण’ नै किन भनियो त्यो भने आफूलाई जानकारी नभएको उनी बताउँछन्। रथको बनोट चक्का आकारमा हुने कारण पनि चोक्टे नारायण भनिएको हुनसक्ने स्थानीयको मत छ। 

यो जात्राको फरकपन पूजा विधिसँग पनि जोडिएको राजोपाध्याय बताउँछन्। “हामीले गर्दै आएको अन्य पूजामा पहिले ब्रह्मा, विष्णु अनि महेश्वरको पूजा हुने गर्दथ्यो। यहाँ ठ्याक्कै उल्टो हुन्छ। पहिले महेश्वरको पूजा हुन्छ, त्यसपछि विष्णु र अन्तिममा ब्रह्माको हुने गर्छ,” उनले भने।

चोक्टे नारायणको जात्रामा हाँडीगाउँको तीन टोलका तीन खट स्थापित हुन्छन्। गहनापोखरीको सिधा पूर्वमा रहेको टोल कोटोल हो जहाँ महेश्वरको  खट बनाइन्छ। त्यस्तै, बीचको टोल हो न्याल्मटोल जहाँ विष्णुको खट राखिएको हुन्छ भने वडा कार्यालयबाट पूर्वमा रहेको टोललाई थतुटोल भनिन्छ। यस टोलमा ब्रह्माको खट बनाइन्छ। यसरी तीन भिन्न टोलमा तीन देवताका खट स्थापना गरी पूजा गरिन्छ। 

पूजारी राजोपाध्यायकै भनाइअनुसार पहिले कोटोलमा खटको पूजा गरेर न्याल्मटोलमा विष्णु र थतुटोलमा ब्रह्माका खटको पूजा हुन्छ। तीनै टोलमा पूजा हुनुअघि जात्राका मुख्य पूजारीको मूल घरमा पूजा हुन्छ। उक्त पूजा कोटोलको महादेवको चोकमा हुन्छ अनि भगवतीको मन्दिरमा हुन्छ। यससँगै टोलका खटको पूजा शुरू हुने राजोपाध्यायले बताए। यसरी जात्रामा कुल ६ पूजा हुन्छन्। जात्राका पूजारीले निराहार बसेर पूजामा सामेल हुनुपर्छ भने उनीहरूले खुट्टामा जुत्ता–चप्पल लगाउन पाउँदैनन्।

अनेकौँ किंवदन्ती
एक किंवदन्तीअनुसार परापूर्वकालमा नरःदेकी महारानी निसन्तान थिइन्। सन्तान नहुनुको कारण जान्न ज्योतिषीलाई देखाउँदा रानीले कुनै समयमा नारायण देवताको उपेक्षा गरेको कारण त्यस्तो भएको पत्ता लाग्यो। त्यस समय देवताको उपेक्षा गर्नु ठूलो पाप मानिन्थ्यो जसको निवारणको लागि हिमालयमा तपस्या गरिरहेका नारायण देवतालाई उपत्यकामा ल्याउन सकिएमा रानीको बच्चा हुने उपाय ज्योतिषीले सुझाए। यो सुनेर राजाले कतै नगरिएको विधिबाट र कहीँ नचढाएको पूmल चढाएर जात्रा गर्छु भन्ने वाचा गरी नारायण देवतालाई नरःदेमा ल्याएको जनविश्वास चलिआएको छ ।

मिल्दोजुल्दो अर्को किंवदन्ती भने नरः देका दुई दिदीबहिनीसँग सम्बन्धित छ। त्यसमा दुवै दिदीबहिनी गर्भवती हुन्छन्। उनीहरूको सुत्केरी हुने बेला आउँछ। बहिनीले सत्यनारायणको जप गर्नु भनी दिदीलाई सल्लाह दिन्छिन्। यद्यपि देवीदेवता नमान्ने कारण दिदीले त्यसको उपेक्षा गर्छिन्। सोही क्रममा बाटो परेका नारायण देवताले उनको कुरा सुनेर रुष्ट भई दिदीको प्रसुती नहुने श्राप दिन्छन्। 

त्यसपछि बहिनीले दिदीलाई क्षमा माग्न आग्रह गर्छिन्। तर दिदीले अटेर गर्छिन्। यसरी नै १२ वर्ष बित्छ। त्यसपछि दिदीका श्रीमान्ले नारायणलाई रिझाउन कतै नभएको विधि र कतै नचढाएको फूल चढाई जात्रा गर्ने वाचा गरेसँगै उनले सजिलै बच्चा पाउँछिन्। त्यस बेलादेखि जात्रा शुरू भएको यो किंवदन्ती पनि हाँडीगाउँवासीमाझ प्रचलित छ। 

कहीँ नभएको फूलका रूपमा भने मैनलाई फूलको रूपमा चढाइन्छ। उक्त फूल सुत्केरी व्यथा लागेका महिलालाई घोटेर पिलाएमा वा ढोग्न लगाएमा व्यथा कम हुने जनविश्वाससमेत चलिआएको छ। हाँडीगाँउवासीसँग साक्षात्कार गर्दा यस्ता अनेकन् किंवदन्ती सुन्न पाइन्छ।  

जात्राको दिन घर–घरबाट नारायण देवतालाई फलफूल र रोटी लिएर पूजा गर्न आउने चलन छ। साथै नरःवासीले घर अगाडिका पेटीहरूमा १०८ बत्ती बाल्ने गर्छन्। थतुटोल पुग्नेबितिक्कै ब्रह्मालाई तीन पटक ओहोरदोहोर गरी बिसाएपछि विष्णुको खट न्याल्मटोलमा र महेश्वरको खट कोटोलमा लगेर बिसाइन्छ। तेस्रो दिन देवतालाई पूजा गरी देवघरमा भित्र्याएपछि खट भत्काइन्छ। 

यो जात्रा कहिलेबाट शुरू भयो भन्ने हालसम्म पनि केही यकिन नहुँदा लेखक सन सायमिले ‘नेवारहरूका जात्राहरू’ (नेपाल भाषामा लेखिएको) पुस्तकमा जात्राका देवताको मूर्तिमा ने.सं ८९६ अंकित भएको कारण सोही समयदेखि जात्रा शुरू भएको मान्न सकिने अनुमान गरेका छन्।  

कसैको कामलाई होच्याउँदा वा अनौठो र अमिल्दो हुँदा “कहीँ नभएको जात्रा हाँडीगाउँमा” भन्ने उखान नेपाली समाजमा प्रयोग हुने गरेको छ। “आफ्नो जात्राको नाममा कसैलाई होच्याइँदा जात्राको उपेक्षा भएकोजस्तो लाग्दैन?” हाम्रो प्रश्नमा पुजारी राजोपाध्याय हाँस्दै भन्छन्, “अब उहाँहरूले हाम्रो जात्रा नै देख्नुभएको छैन होला। कति राम्रो हुन्छ, जात्रै नहेरी आएको यस्तो प्रयोगमा हामीलाई केही आपत्ति छैन।”


सम्बन्धित सामग्री