Tuesday, May 07, 2024

-->

नेपाल दोस्रोपटक टी२० विश्वकपमा

टी२० विश्वकप एशिया छनोटको से‍मिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ मा हुने विश्वकपमा छनोट भएको छ। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक टी२० विश्वकप खेलेको थियो।

नेपाल दोस्रोपटक टी२० विश्वकपमा

काठमाडौँ–  नेपाल दोस्रोपटक टी२० विश्वकपमा पुगेको छ। टी२० विश्वकप एशिया छनोटको से‍मिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो। यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक पूरा गरे। उनले ५० बलमा अविजित ६३ रन बनाए। उनले दुई छक्का र ६ चौका प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित रहँदै ३५ रन बनाए।

नेपालका ओपनर कुशल भुर्तेल तेस्रो ओभरको अन्तिम बलमा मोहम्मद वाजिमबाट सिधै क्याच आउट भए। भुर्तेलले २० बलमा २ चौकासहित ११ रन प्रहार गरे।

तेस्रो नम्बरमा उत्रिएका गुलशनकुमार झाले २४ बलमा ३ चौकासहित २२ रन प्रहार गरे। उनी बसिल हाम्मेदको बलमा बोल्ड भए। उनले दोस्रो विकेटका लागि ओपनर आशिफ सेखसँग ४१ रनको साझेदारी गरे।

नेपाल सन् २०१४ मा ग्लोबल क्वालिफायर पार गरेर बांग्लादेशमा सम्पन्न विश्वकपका लागि छनोट भएको थियो। पहिलो विश्वकपका दुई खेलमा हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपाल तेस्रो खेलमा भने बांग्लादेशसँग पराजित भएपछि दोस्रो चरण पुग्न सकेको थिएन।

टी२० आईमा आशिफको चौथो अर्धशतक
ओपनर आशिफ सेखले टी२० आईमा चौथो अर्धशतक पूरा गरेका छन्। माथिल्लो मूलपानीमा भएको शुक्रबारको खेलमा यूएईविरुद्ध उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले १७ अप्रिल २०२१ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए। उनले ३३औँ इनिङ्समा चौथो अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि नेदरल्यान्ड्स, मलेसिया र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

यूएईले ९ विकेट गुमाएर १३४ रन बनायो
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले ९ विकेट गुमाएर १३४ रन बनायो। यूएईका लागि वृत्य अरविन्दले अर्धशतक पूरा गरे। उनले ५१ बलमा ६४ रन बनाए।  विकेटकिपर तथा ब्याटर वृत्यले योसँगै पाँचौँ अर्धशतक पूरा गरेका छन्।   

२३ फेब्रुअरी २०२० मा इरानविरुद्ध डेब्यू गरेका उनले ४० इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन्। उनले नेपालविरुद्ध ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन प्रहार गरेका थिए। उनले यसअघि आयरल्यान्डविरुद्ध २ र बहराइनविरुद्ध १ पटक अर्धशतक प्रहार गरेका थिए। उनी २०औँ ओभरको पहिलो बलमा गुलशनकुमार झाबाट क्याच आउट भए। अन्य ब्याटरको फितलो प्रदर्शन गरे‍।

यूएईका ओपनरद्वय मोहम्द वाजिम र खालिद शाहले राम्रो शुरूआत गरेका थिए। उनीहरूले शुरूआती ३ ओभरमा २९ रन बनाएका थिए। यद्यपि, चौथो ओभरको पहिलो बलमा नन स्ट्राइकमा रहेका रहेका खालिद रन लिने क्रममा बलर सोमपाल कामीबाट आउट भए। उनले ४ बलमा ३ रन मात्रै बनाए। सोही ओभरको चौथो बलमा कप्तान वासिम पनि आउट भए। आउट साइड लेगमा आएको बललाई प्रहार गर्ने क्रममा उनी ब्याक बिहाइन्ड स्क्वायरमा करण केसीबाट क्याच आउट भए। उनले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।

३.४ ओभरमा २-३० को स्थितिमा रहेको अवस्थामा यूएईको इनिङ्स वृत्य अरविन्द र आशिफ खानले उकास्ने प्रयास गरेका थिए। उनीहरूले तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

तर, १०औँ ओभरको अन्तिम बलमा सन्दीपबाट आशिफ आउट भए। १४ बलमा १ चौकासहित १३ रन प्रहार गरेका उनी सन्दीप लामिछानेबाट एडबीडब्यू आउट भएका हुन्। सन्दीपले फ्याँकेको बल उनको प्याडमा लागेको थियो।

१४औँ ओभरको चौथो बलमा अलिशान शराफू पनि क्याच आउट भए। उनले १४ बलमा ३ चौकासहित १६ रन प्रहार गरे। उनी र वृत्यबीच चौथो विकेटका लागि २६ रनको साझेदारी भएको थियो। कुशल मल्लको बलमा शराफू डाउन्ड द ग्राउन्डमा सोमपाल कामीबाट क्याच आउट भएका हुन्।

१५औँ ओभरको पाँचौँ बलमा अली नासेर पनि क्याच आउट भए। उनी रोहितको बलमा डिप एक्स्ट्रा कभरमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्। उनले ७ बलमा ४ रन मात्रै बनाउन सके।

यूएईका मिडिल अर्डर ब्याटर बसिल हम्मेद एक रनमा क्याच आउट भए। सन्दीपले फ्याँकेको बललाई उनले डिप फरवार्डमा प्रहार गरेका थिए। यद्यपि, गुलशनले क्याच गरे।

आयन खान १ र जुनेद सिद्दिकी ३ रनमा आउट हुँदा निलन्स केशवानी अविजित रहे। नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। सन्दीप लामिछानेले २ विकेट लिँदा रोहितकुमार पौडेल र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो।

विश्वकपमा २० टिम
सन् २०२४ जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा टी२० विश्वकप आयोजना गर्दै छन्। उक्त विश्वकपमा २० टिमले सहभागिता जनाउने छन्। तीमध्ये १८ टिमको छनोट भइसकेको छ। अब अफ्रिकाबाट दुई टिम मात्र छनोट हुन बाँकी छ। आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका छनोटबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन्।

एशियाको छनोट पार गरेर नेपाल र ओमानले विश्वकपमा स्थान बनाएका छन्। शुक्रबार नै कीर्तिपुरमा भएको भएको अर्को सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान पनि विश्वकपमा छनोट भएको हो। अब एशिया छनोटको उपाधिका लागि फाइनलमा नेपाल र ओमान प्रतिस्पर्धा गर्नेछन्।

त्यसबाहेक, वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा विश्वकपमा सिधै छनोट भइसकेका छन्। सन् २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि सिधै छनोट भएका छन्।

टी-२० वरीयतामा माथि रहेका आधारमा बांग्लादेश र अफगानिस्तान पनि विश्वकपमा सिधै छानिएका छन्। आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्यू गिनी र क्यानडाले भने टी-२० विश्वकप क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान बनाएका छन्।


सम्बन्धित सामग्री