Saturday, April 27, 2024

-->

सम्भावित साम्प्रदायिक तनावको सन्त्रास

दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।

सम्भावित साम्प्रदायिक तनावको सन्त्रास

दशैँ सकिएको केही समय यो चाड मनाउने समुदायका सदस्यको भेटमा कुराकानीको शुरूआत ‘के छ हालखबर?’लाई ‘दशैँ कस्तो रह्यो?’ले विस्थापित गर्छ। सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियारलाई पनि यस्ता प्रश्न आउँछन नै, तर उनले ‘अच्छासँग बित्यो’ भन्ने कारण फरक छ। उनी घटस्थापना होइन कि सोह्र श्राद्ध नलाग्दै दशैँमा सम्भावित दंगा–फसाद कसरी हुन नदिने भनेर पिरोलिएका थिए, घटना नहोस् भनेर योजना बनाउन केन्द्रित थिए। 

प्रहरीको पूर्वसक्रियताले ठूला हिंसात्मक घटना भएन। घटना त भयो, दुई प्रहरी घाइते भए, काठमाडौँमा ‘इलाज’ चलिरहेको छ। राहतको कुरा, कर्फ्यू/निषेधाज्ञाको डण्डा प्रयोग गरिरहन परेन। बिहीबार बिहान ‘दशैँ कस्तो बित्यो त सर?’ भन्ने प्रश्नमा डीएसपी पञ्जियारको जवाफ थियो, “खासै अप्रिय घटना हुन दिइएन। उल्लासपूर्वक चाड मनाउने त आशा गरिएकै थिएन।”

यसअघि सर्लाहीमा चाड सम्पन्न भएपछि मूर्ति विसर्जनका क्रममा विवाद–झडप हुने गरेका थिए। मूर्ति विसर्जन गर्न मस्जिद रहेको मुस्लिम बस्तीको बाटो हुँदै जाने र झडप निम्त्याउने खाले हर्कत गरिने कारण तनाव सिर्जना हुन्थ्यो। यसपालि मस्जिद/मुस्लिम बस्ती हुँदै जाने मूर्ति विसर्जनकर्ताको प्रयत्नलाई पुलिसले नै विफल पारिदियो। आफूले तोकेको रुट हुँदै जानुपर्ने मूर्ति विसर्जनकर्ता र सम्भावित झडप रोक्न अर्कै रुटमार्फत लैजान पुलिसको दबाबले सिर्जित विवादबीच मूर्ति लोड गरिएको गाडीका चालक नै भागे। अनि, पुलिसकै चालकले गाडी चलाएर मूर्ति नदीसम्म पुर्‍याइदिए। तनाव सिर्जना गर्ने प्रयत्न विफल भएपछि ‘आगबबुला’ भएको समूहले प्रहरीसँगै झडप गरेको थियो, जसमा दुई प्रहरी इलाज गर्न काठमाडौँ पुर्‍याउनपर्ने गरी घाइते भएका थिए।

मधेशमा मुस्लिम समुदायले घरेलु हतियारसहित प्रदर्शन गर्दै यात्रा निकाल्ने ताजियामा हिन्दू बस्ती भएको क्षेत्रलाई रुट बनाइ शक्ति प्रदर्शन गर्ने र हिन्दूले पनि मूर्ति विसर्जनका क्रममा मुस्लिम बस्ती भएको रुट रोज्ने पुरानै चलन हो। पछिल्लो समय चाहिँ यस्तोमा झडपै भइहाल्न थालेको छ।          

दशैँ नजिकिँदै गर्दा उल्लासपूर्ण वातावरणबीच मधेशका जिल्लाहरूमा सम्भावित धार्मिक तनावलाई लिएर सुरक्षा निकाय यसै दबाबमा थिए। स्थानीय पनि सन्त्रस्त थिए। गणेश चतुर्थीको भोलिपल्ट मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएपछि जारी कर्फ्यू/निषेधाज्ञाले सर्लाहीको मलंगवा तंग्रिन लामो समय लागेको थियो। असोज ४ देखि १४ गतेसम्म कर्फ्यू र निषेधाज्ञा लगाउन परेको थियो। यसअघि कृष्ण जन्माष्टमीको (जन्माष्टमी भदौ २०, मूर्ति विसर्जन २२ गते) मूर्ति विसर्जनका क्रममा भदौ २३ देखि २७ गतेसम्म कर्फ्यू र निषेधाज्ञामार्फत सम्भावित दंगा पार लगाइएको थियो। 

डीएसपी पञ्जियारका अनुसार निषेधाज्ञा/कर्फ्यूबाट पूरै मुक्त हुनासाथ सुरक्षा निकायले नजिकिँदै गरेको दशैँमा सम्भावित अप्रिय घटना रोक्न सुरक्षा समितिको बैठक बसेर आवश्यक सतकर्ताका लागि विभिन्न निर्णय गरेका थिए। यसबाहेक दुवै समुदायका टाठाबाठाहरू सम्मिलित बैठकहरू गराइएको थियो।

यसअघि, जिल्लाकै गोडैता नगरपालिकामा मुस्लिम पर्व ताजियाका बेला पनि दंगा भड्काउने नियतबाट सिर्जित तनावबाट गुज्रिसकेको थियो।

“नवलपरासीको मलंग बाबा बढी प्रसिद्ध रहेको भए पनि मलंगवा बस्तीका सूत्रधार मदारिया सिलसिलाका कुनै नाम, जात र भाषाको बन्धनबाट मुक्त भक्ति परम्पराका मुसलमान सन्त थिए,” विश्लेषक सिके लाल लेख्छन्, “उनैको नाम बोकेको मलंगवामा धार्मिक द्वन्द्व फैलिनुलाई विडम्बना नै मान्नुपर्ने हुन्छ।”

लालका अनुसार मलंग एक प्रकारका मुसलमान फकिर वा साधु हुन्। उनीहरू निश्चिन्त एवं मस्त प्रकृतिका हुन्छन्। तिनले कपाल काट्दैनन्। आजीवन अविवाहित रहन्छन्। तिनको मनमौजी चरित्र हुन्छ। जीवनका आवश्यकताहरूप्रति बेपरवाह रहने भएकाले बस्तीको किनार वा जंगलको छेउछाउ छाप्रो हालेर बस्छन्। निडर हुन्छन्। हिन्दू धर्मले ‘अछुत’ ठहर्‍याएका समूहहरूमा मलंग बाबाले गर्ने चमत्कारको आकर्षण व्यापक हुन्थ्यो। मन्दिर प्रवेश निषेध, पण्डित र पुरेतको आशीर्वादबाट वञ्चित एवं अन्य वैद्य, धामी वा झाँक्रीले झारफुकसमेत गर्न नमान्ने पाद–दलित जातीय समूहका लागि मलंग बाबा आशाको पहिलो र अन्तिम स्रोत हुने गर्दथे।

हिन्दू–मुस्लिम दंगा–फसाद गराउने प्रयत्न सर्लाहीमा मात्र सीमित छैन, हिन्दू मधेशी–मुस्लिमको संयुक्त आवादी भएको मधेशभर नै भइरहेको छ। गत रामनवमीताका कुनै संस्थाले जानकी मन्दिरनेर रहेको मस्जिद त्यहाँबाट हटाउन माग गर्‍यो, केही स्थानीय अखबारले त्यसलाई ‘ब्यानर न्यूज’ बनाइदिए। रामनवमीकै दिन (२०७९ चैत १६) एउटा समूहले मस्जिद अघिल्तिर पुगेर होहल्ला गर्‍यो। सामान्य तनाव उब्जिए पनि हिंसात्मक झडप भएन।

उक्त मस्जिद जानकी मन्दिर निर्माणार्थ टिकमगढबाट आएका मुस्लिम कालीगढहरूले निर्माण गरेकाले जानकी मन्दिरजत्तिकै पुरानो मानिन्छ। गणेश चतुर्थीको मूर्ति विसर्जनका क्रममा तनाव भई मलंगवामा कर्फ्यू जारी रहेकै बेला असोज ६ गते वीरगन्जमा हिन्दूत्ववादीहरूको जुलुसले पसल बन्द गराउँदै हिँडे। एकाध पसल तोडफोडसमेत गरेपछि शहर तनावग्रस्त बनेको थियो, जसलाई भोलिपल्ट सद्‍भाव र्‍याली निकालेर थामथुम पारिएको थियो।

धार्मिक तनाव बढाइ दंगा भड्काउने नियतले काम भइरहेको भन्दै असोज ४ गते प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले नै नियन्त्रण चुनौतीपूर्ण भएको गुनासो गरिसकेका छन्। दुवै संगठनको ‘इन्टेलिजेन्स’ले खासगरी मधेशमा हिन्दू–मुस्लिम दंगा भड्काउन भरपूर प्रयत्न भइरहेको सूचना दिन थालेको पनि कम्तीमा ६ महिना बितिसकेको छ। “राजनीतिक फाइदाका लागि धार्मिक आवरण हुने सम्भावित हिंसात्मक गतिविधिको जिम्मा सुरक्षा निकायलाई सुम्पेर मात्र पुग्दैन,” सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल भन्छन्, “यसमा सर्वदलीय, सम्भव भएसम्म सर्वपक्षीय पहल अपरिहार्य छ।”

इन्टेलिजेन्समा कार्यरत र अरू प्रहरी वरिष्ठ अधिकारीहरू पनि भारतमा सन् २०२४ मा हुन गइरहेको (तारिख घोषण हुन बाँकी) लोकसभा चुनावका लागि नेपालका सीमावर्ती क्षेत्रमा नियोजित धार्मिक द्वन्द्वको प्रयत्न भइरहेको बताउने गर्छन्। जिल्ला तहमा पनि त्यस्तै गफ चल्छ। वीरगन्जमा केही स्थानीयसँग कुरा गर्दा त्यहाँको प्रशासन/पुलिसका अधिकारी जो पनि ‘यो त भारतमा चुनावी फाइदाका लागि त्यहाँको सरकारबाटै प्रायोजित द्वन्द्व हो’ भनिरहेको सुनिन्छ। भारत सरकार नै लागेको छ भन्ठानेरै होला, यसको नियन्त्रणका लागि सुरक्षा निकायले खासै काम गरेको छैन। तनाव सिर्जना भएपछि ठूलो झडप नहुँदै तत्कालै कर्फ्यू/आदेश जारी गरिहाल्ने र सामसुम भएपछि खोल्दिने काम गरिरहेको छ। तर तनावको अवस्थै सिर्जना हुन नदिनेतर्फ प्रयत्न छैन।

मधेशका जिल्लाहरूमा थरिथरिका हिन्दूवादी संस्थाको घोषणा भइरहेका छन्। सुरक्षा निकायहरूका अनुसार पछिल्लो समय मुस्लिमबहुल क्षेत्र पनि सल्बलाउन थालेको सूचना आउन थालेका छन्। तर सुरक्षा निकायको इन्टेलिजेन्सले कतै दर्ता नभएका यस्ता संस्थाको नाम, संख्या, पदाधिकारीको विस्तृत विवरण नै पत्ता लगाउन सकेको छैन।   

अहिले तनाव सिर्जना गर्नमा सबैभन्दा निर्णायक सामाजिक सञ्जाल भनिने ‘प्लाटफर्म’हरू छन्। त्यसमा पनि टिकटक र फेसबुकको प्रयोग धार्मिक तनाव सिर्जना गर्न सबैभन्दा बढी प्रयोग भइरहेका छन्। ‘हिन्दू सम्राट सेना’कै नाम जोडिएका सयौँ ट्विटर खाता सक्रिय छन्, जसको कामै मुस्लिमविरुद्ध उत्तेजक सामग्री उत्पादन र पोस्ट गर्नु हो। मुस्लिमको पनि संस्थाको नाममै त फेला परेन, व्यक्तिका नाममा खाताहरू खोलेर हिन्दूविरुद्ध उत्तेजक पोस्टहरू भइरहेको देखिन्छ। नेपालगन्जमा असोज १६ गते कर्फ्यू आदेश जारी गर्नपर्ने गरी तनाव सिर्जना हुनुमा वडाध्यक्ष सराफत अली खानको गैरजिम्मेवार हर्कत पनि जिम्मेवार थियो। कुनै गुमनाम व्यक्तिले सामाजिक सञ्जालमा गरेको टिप्पणीविरुद्ध सामाजिक सञ्जालमै उत्तेजक बने। सीडीओलाई ज्ञापनपत्र बुझाउन गएको समूहले जिल्ला प्रशासन कार्यालय परिसरमै मुस्लिम धर्मको प्रतीक हरियो झण्डा गाडिदिँदा अर्को समुदाय उत्तेजित हुन पुगेको थियो।   

दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा पोस्टहरू गर्ने काम लामो समयदेखि भइरहे पनि यस्तो हर्कत गर्नेलाई नियन्त्रण गर्न सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकायका प्रमुखहरूले सामाजिक सञ्जालहरू नै बन्द गर्नुपर्ने राय व्यक्त गर्ने गरेका छन्। तर हिन्दू सम्राट सेना नामको खाताबाट टिकटकलगायतका प्लेटफार्म प्रयोग गरी धार्मिक भावना आहत हुने गतिविधि नियन्त्रणमा कसैले चासो राखेको छैन। धार्मिक अराजकहरूका पोस्ट खोजी गर्ने, अध्ययन गर्ने, कारबाही गर्ने, खाता बन्द गराउने, कानूनी कारबाही गराउने आदिमा सुरक्षा निकायले सिन्को भाँचेको छैन भन्दा हुन्छ। “हामीकहाँ कुनै प्लेटफार्म कम्पनीको पनि अफिस छैन,” सुरक्षा निकायका अधिकारीहरू भन्ने गर्छन, “बरु यसलाई बन्द गरी जवाफदेही हुन दबाब दिनुपर्छ।”

जनकपुरमा गौहत्याविरोधी कार्यक्रममा खुकुरी नचाउँदै उत्तेजक अभिव्यक्ति दिएपछि असोज १२ गते पक्राउ परेका आचार्य श्रीनिवास दुई दिनपछि ५०० रुपैयाँ जरिवाना तिरेर रिहा भए। रिहाइपछि उनलाई स्वागत गर्न जानकी मन्दिरका ‘जुनियर’ मठाधीश रोशनसहितको समूह नै पुगेको थियो। श्रीनिवास २०७५ चैत २५ गते आफ्नै अंगरक्षकलाई आफूमाथि गोली प्रहार गर्न लगाएको आरोपमा पक्राउ परेका थिए। मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारीले २०७६ जेठ १६ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। उनले हिन्दू राज्य स्थापनाको आन्दोलन उकास्न सो हर्कत गरेको अनुसन्धानमा खुलेको थियो।

सबै निकाय मधेशमा हिन्दू–मुस्लिम दंगा भड्काउने प्रयत्न भारतको सन् २०२४ को लोकसभा चुनाव लक्षित भएको भनेर पल्ला झारिरहेका छन्। के मधेशमा दंगा भड्किए भारतीय जनता पार्टी (बीजेपी) सन् २०२४ मा हुने लोकसभा चुनावमा लाभान्वित हुन्छ त? विश्लेषक हरि शर्मा सीमापारी यसको प्रदर्शनात्मक प्रभाव (डेमोन्स्ट्रेटिभ इफेक्ट) हुने बताउँछन्। नियन्त्रणका लागि सरकारको पूर्वसक्रियता नभई  हुँदैन। 

“सन् १९९२ मा बाबरी मस्जिद विध्वंशपश्चात् भारतमा साम्प्रदायिक दंगा भड्किएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शेष इद्रिससहितका मुस्लिम नेतालाई बोलाएर भारतको घटनाको प्रतिरोधमा यहाँका मुस्लिम समुदायले केही नगरुन् भनेर सचेत गराउँदै मुस्लिममाथि आक्रमण भए सरकारले कुनै कसर नछाड्नेमा आश्वस्त गराएका थिए,” त्यतिबेला प्रधानमन्त्रीको स्वकीय सचिव रहेका शर्मा सुनाउँछन्, “सीमापारि त्यत्रो विध्वंश हुँदा पनि वारि कुनै अप्रिय घटना भएन।”

भारतमा हिन्दू–मुस्लिम तनावमै बीजेपीको कमल (चुनाव चिन्ह) फूल्ने गरेको इतिहास छ। सन् १९८४ को लोकसभा चुनावमा इन्दिरा गान्धीको हत्याबाट सिर्जित सहानुभूतिमा कांग्रेस बलियो बन्दा बीजेपी तीन सिटमा खुम्चिएको थियो। तर राम मन्दिर आन्दोलनको जगमा सन् १९८९ को चुनावमा बीजेपी ८५ सिटमा उक्लियो। इतिहासकार विनय सीतापतिले ‘जुगलबन्दी’ पुस्तकमा उल्लेख गरेअनुसार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले आफूसम्बद्ध विश्व हिन्दू परिषद् आदिमार्फत सन् १९८३ देखि नै राम मन्दिर आन्दोलन गरे पनि सन् १९८९ मा आएर बल्ल बीजेपीले आन्दोलनको स्वामित्व ग्रहण गरेको थियो। 

सन् १९९१ मा भएको मध्यावधि चुनावमा बीजेपी १२० सिट जित्न सफल भयो। सीतापतिले बीजेपी नेतालाई उदधृत गरी लेखेअनुसार सन् १९८९–९१ मा अध्यक्ष लालकृष्ण आडवाणीको रथयात्रालगायत आक्रामक ‘मन्दिर आन्दोलन’ चलाएको बीजेपीले सो चुनावमा २०० सिटसम्म जित्न सक्थ्यो, तर चुनाव प्रचारकै दौरान राजीव गान्धीको हत्या भएका कारण कांग्रेसको पक्षमा सहानुभूति गयो। सन् १९९२ मा बाबरी मस्जिद विध्वंशलगायतका घटनाक्रम र अनेकन साम्प्रदायिक दंगापछि सन् १९९६ मा सम्पन्न लोकसभा चुनावमा बीजेपीले १६१ जितेको थियो। सन् १९९८ मा त १७९ सिट जितेर सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो।  

गोधरा नरसंहारपछि गुजरातभरि फैलिएको साम्प्रदायिक दंगाले गुजरातमा बीजेपीलाई अपराजेय बनाएको छ नै, दंगाको दाग लागेका नरेन्द्र मोदीलाई प्रधानमन्त्रीसम्म बन्ने मार्ग निर्माणमा पनि सघायो। अयोध्याबाट फर्किंदै गरेका कारसेवक (धार्मिक वा परोपकारी काममा परिचालित स्वयंसेवक) रहेको डिब्बाहरूमा स्थानीय मुस्लिम समूहले आगो लगाइदिँदा २००२ फरवरी २७ मा गोधरा स्टेशनमा ५९ हिन्दू मारिए, जसमा अधिकांश कारसेवक थिए। विश्व हिन्दू परिषदले ती शवलाई प्रान्त परिक्रमा गराइ परिवारलाई बुझायो। 

जुगलबन्दीमा उल्लेख भएअनुसार २८ फेब्रुअरीमा गुजरात बन्दको घोषणा गरियो र सूची बनाएर मुस्लिमका पसलहरूमा आक्रमण शुरू भयो। गुजरात दंगामा १२ सय ७२ जना मारिए। एक लाख ४० हजार विस्थापित भए। दंगाको १० महिनापछि १२ डिसेम्बरमा भएको चुनावमा बीजेपीले १८२ मध्ये १२७ सिट जितेर नरेन्द्र मोदी पुनः मुख्यमन्त्री बनेका थिए। त्यसपछिका चार विधानसभामा बीजेपीले अनवरत जित हासिल गरिरहेको छ। पछिल्लो (सन् २०२२ डिसेम्बर) चुनावमा त बीजेपीले विधानसभाको १८२ मध्ये १५६ सिट जितेर गुजरातमा अहिलेसम्मकै सबैभन्दा ठूलो जितको कीर्तिमान कायम गरेको थियो।

सन् २०२४ को लोकसभा चुनावसम्मै नेपालमा नियोजितरूपमा हिंसात्मक साम्प्रदायिक झडप गराउने गतिविधि नथामिने सुरक्षा निकायका उच्चपदस्थका साथै ठूल्ठूलै नेताहरू पनि बताउने गर्छन्। तर प्रहरी प्रवक्ता कुबेर कडायत दशैँमा सम्भावित झडप निस्तेज पार्न प्रहरीले विशेष योजना बनाएकाले अप्रिय घटना हुन नपाएको बताउँछन्। “मूर्ति विसर्जनजस्ता झडपको सम्भावना हुने उत्सव त प्रहरीकै अगुवाइमा (शान्तिपूर्ण) भएको थियो,” उनले भने।

तर केन्द्रदेखि जिल्ला तहका नेताहरू भारत रिसाउने वा भोट बैंक बिग्रिने डरले सहीलाई सही र गलतलाई गलत भन्न डराइरहेका छन्। मंसिर पहिलो सातादेखि राप्रपा नेपालद्वारा घोषित हिन्दू राष्ट्रका लागि देशव्यापी आन्दोलन हुँदैछ। राजनीतिक नेतृत्व र सुरक्षा निकायको यही ताल रहने हो भने अहिलेसम्म सामान्य झडपपछि कर्फ्यू/निषेधाज्ञामार्फत टुंग्याएका तनाव त्यतिमै सीमित नहुनसक्छ।


सम्बन्धित सामग्री