तस्वीर: कृष्पा श्रेष्ठ/उकालो
काठमाडौँ– महिलालाई मात्र स्तन क्यान्सर हुन्छ भन्ने बुझाइ धेरै जनाको छ। तर ज्ञानु पाख्रिन लामा त्यस्ता पुरुष हुन्, जसलाई स्तन क्यान्सर भएको थियो। आफू पीडित हुनुअघि उनलाई पनि पुरुषलाई समेत स्तन क्यान्सर हुन्छ भन्ने थाहा थिएन।
ज्ञानुलाई ५७ वर्षको उमेरमा स्तन क्यान्सर भएको थियो। स्तन क्यान्सर भएर निको भएका वा यो रोगसँग लडिरहेका (सर्भाइभर)हरूको भेलामा गत असोज २६ गते उनी गुलाबी रङको कमिज लगाएर पुगेका थिए। काठमाडौँमा आयोजित उक्त कार्यक्रममा उनी मात्र पुरुष थिए।
कार्यक्रममा उपस्थित स्तन क्यान्सरका सबै सर्भाइभरले पहिचानका लागि गुलाबी रङको लुगा लगाएका थिए। अधिकांश महिला उपस्थित कार्यक्रममा गुलाबी कमिज लगाएका एक्ला पुरुष ज्ञानुले सबैको ध्यान ताने। अधिकांशका लागि यो नौलो विषय थियो।
ज्ञानुको परिवार यसअघि पनि क्यान्सर रोगबाट पीडित भएको थियो। उनकी श्रीमतीलाई पेटको क्यान्सर थियो। त्यही कारण २०७४ सालमा उनले श्रीमती गुमाए।
श्रीमतीलाई पेटमा ट्युमर देखिएपछि उपचारका लागि भारतसमेत लगेका थिए। उपचारमै धेरै पैसा सकिएको थियो। तर उनले श्रीमती बचाउन सकेनन्।
त्यसको एक वर्षपछि २०७५ सालमा उनका छोरा पढाइको सिलसिलामा अस्ट्रेलिया गए। त्यसपछि घरमा उनी एक्लो भए। एक्लोपनको दिक्दारी महसुस गर्थे।
छोरा विदेश गएको केही समयपछि उनको दाहिने स्तनको निप्पलबाट एक थोपा पानी आएको थाहा पाए। उनलाई आश्चर्य लाग्यो। तर धेरै वास्ता गरेनन्। त्यसको चार पाँच घण्टापछि फेरि अर्को थोपा पानी निस्कियो। त्यसपछि भने उनलाई चिन्ता लाग्यो।
ज्ञानुले अस्ट्रेलियामा भएका छोरालाई फोन गरेर आफ्नो समस्या सुनाए। छोराले आफ्नो साथीको आमाको उपचार चिरायु अस्पतालमा भएको भन्दै त्यहीँ जान सुझाव दिए। उनी डा. रञ्जन सापकोटासँग पुगे। “डा. रञ्जन सापकोटाले मेरो युयसजी, मेमोग्राम सबै जाँच्नुभयो। जाँचका क्रममा सेतो पानी आयो। कालो पानी आएको भए डर हुने भन्दै सामान्य अवस्था रहेको बताउनुभयो। नुहाउँदा धेरै नमाड्न भन्नुभयो। उहाँले दिएको औषधि खाएपछि ठीक पनि भयो।”
ज्ञानुलाई रोग निको भएको विश्वास थियो। तर उनलाई स्तन क्यान्सर भइसकेको थियो। त्यसको जानकारी पाएका थिएनन्।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको थियो। २०७६ जेठतिर दिउँसो सुतेर उठेपछि उनले छातिनेर कमिजमा रगत देखे। तर लामखुट्टेले टोकेको भन्ने ठानेर खासै वास्ता गरेनन्। बेलुका सुत्ने बेलामा कमिजमा फेरि एक थोपा रगत देखियो।
ज्ञानुकी काकाकी छोरी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिइन्। उनले तिनै बहिनीलाई फोन गरेर समस्या सुनाए। बहिनीले तुरुन्तै अस्पताल आउन भनेपछि त्यतै गए। “डाक्टर भनेको मेरा लागि भगवान हो। उहाँ नभएको भए सायद आज म हजुरहरू सामु यसरी बोलिरहेको हुने थिइँन,” आफ्नो उपचारका दिनहरू सम्झिएर उनी भावुक भए।
शिक्षण अस्पतालका चिकित्सकले जाँच गरेर रिपोर्ट दिए। तर रोगबारे केही बताएनन्। उनले सोध्दा बहिनीलाई बताउने जनाए। बहिनीले ‘निको हुन्छ, चिन्ता नलिनू’ मात्र भनिन्।
घरमा आएर अंग्रेजी ‘डिक्सनरी’ पल्टाउँदै चिकित्सकले दिएको रिपोर्ट पढ्न थाले। अनि पो आफूलाई क्यान्सर लागेको थाहा पाए। शुरूमा त निराश भए। तर बिस्तारै सम्हालिँदै गए। ज्ञानु भन्छन्, “क्यान्सर लागेपछि हामीलाई मरिन्छ जस्तो लाग्छ, तर त्यो होइन। आफ्नो आत्मबल बलियो पार्नुपर्छ। डाक्टरहरूको सल्लाह सुझाव लिनुपर्छ, औषधि नियमित खानुपर्छ।”
क्यान्सर पत्ता लागेपछि शिक्षण अस्पतालमा नै शल्यक्रिया भयो। त्यसयता तीन वर्षदेखि उनी औषधि नियमित सेवन गरिरहेका छन्। अहिले आफू क्यान्सरबाट मुक्त भएको, तर चिकित्सकको सल्लाहअनुसार आठ वर्षसम्म औषधि खानुपर्ने उनी बताउँछन्।
क्यान्सर सर्भाइभर ज्ञानु अहिले जनचेतना फैलाउने काम गर्छन्। चेतना अभावमा अन्य पीडितले आफूले झैँ संघर्ष गर्नु नपरोस् भनेर चेतना फैलाउने अभियानमा सामेल भएको उनको भनाइ छ। मानिसहरू अझै पनि क्यान्सर/स्तन क्यान्सरबारे सचेत नभएको उनले बताए।
“अधिकांश मानिस स्तन क्यान्सरबारे अनभिज्ञ छन्। लक्षण देखिए पनि अस्पतालको सट्टा धामी झाँक्रतिर जान्छन्,” उनी भन्छन्, “क्यान्सर सर्भाइभरहरूमार्फत सचेतना फैलाउन आवश्यक छ। एकातिर यसले संघर्षरतहरूमा आत्मविश्वासको विकास गर्छ, अर्कोतिर क्यान्सर अब समयमै निदान गर्दा निको हुन्छ भन्ने थाहा पाउँछन्।”
काठमाडौँको बानेश्वरमा जन्मेका ज्ञानु धुमपान र मध्यपान गर्दैन थिए। क्यान्सर हुने कारण धेरै वटा भएको उनी बताउँछन्। कतिपयलाई फोहोरको कारणले पनि क्यान्सर हुने हुँदा फोहोरमैलाबाट बच्नुपर्ने ज्ञानु बताउँछन्।
नेपाल क्यान्सर अस्पतालका डा. प्रफुल्ल शाक्य पनि कतिपयले फोहोरमा काम गर्ने क्रममा स्वास्थ्यलाई ख्याल नगर्दा क्यान्सर भएको पाइएको बताउँछन्। उनी भन्छन्, “सामान्यतया सबैले सरसफाइमा ध्यान दिनु महत्त्वपूर्ण छ। तर विशेषगरी गोठमा काम गर्ने वा फोहोर उठाउने काम गर्ने मानिसले धेरै ध्यान दिन जरुरी छ।”
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २०२३ जुलाई १२ मा प्रकाशन गरेको रिपोर्टअनुसार सन् २०२० मा विश्वभरिमा २३ लाख महिलाहरूको स्तन क्यान्सरको निदान भएको थियो। ६ लाख ८५ हजार जनाले स्तन क्यान्सरकै कारण ज्यान गुमाएका थिए।
पछिल्लो पाँच वर्षमा स्तन क्यान्सरको निदान भएकामध्ये सन् २०२० को अन्त्यसम्म सात लाख ८० हजार महिला जीवित थिए। डब्लूएचओका अनुसार स्तन क्यान्सरबाट अन्य अंगमा लाग्ने क्यान्सरबाट भन्दा धेरै मानिस प्रभावित छन्।
किशोरावस्थापछि जुनसुकै उमेरमा महिलालाई स्तन क्यान्सर देखिन सक्छ। पुरुषको तुलनामा महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ। पुरुषलाई भने नगन्य मात्रामा स्तन क्यान्सर हुन्छ। महिला र पुरुषमा स्तन क्यान्सरको उपचार पद्धति एउटै हुने चिकित्सक बताउँछन्।
नेपाल क्यान्सर अस्पतालका डा. मुरारीमान श्रेष्ठ पुरुषभन्दा बढी महिला स्तन क्यान्सरको उपचार गर्न आउने बताउँछन्। “उपचारका लागि पुरुषभन्दा बढी महिला आएका छन्। यदाकदा मात्र पुरुषलाई स्तन क्यान्सर भएको पाइएको छ,” डा. श्रेष्ठ भन्छन्, “क्यान्सरको उपचार भनेको धनको नास र जीवनको बर्बादी होइन। यदि कसैमा क्यान्सरको लक्षण देखिएको छ भने तुरुन्तै अस्पताल जानुपर्छ।”
नेपाल क्यान्सर अस्पतालका डा. कपेन्द्रशेखर अमात्यका अनुसार स्तनको एक तिहाइ भागमा रातो, गुलाबी वा बैजनी रङको दाग देखिनु क्यान्सरको लक्षण हो। त्यसैगरी, एउटै स्तन दुखिरहे, सोला उठे, चिलाए, एउटा निप्पल भित्रतिर उल्टो भएर फर्केर बसे क्यान्सर हुनसक्छ। एउटा स्तनमा जलन वा भारीपन हुनु, स्तनको छाला बाक्लो हुनु, आकार बढ्नु वा सुन्निनु पनि क्यान्सरका लक्षण हुन्।
क्यान्सरबाट जोगिन दैनिक सामान्य व्यायाम गर्नुपर्छ। हरियो सागपात, फलफूल र गेडागुडी प्रशस्त खानुपर्छ। सकेसम्म रातो र पोेलेको मासु खान नहुने डा. अमात्य बताउँछन्। माछा र कुखुराको मासु खान मिल्ने उनको भनाइ छ।
“कोकाकोला, फ्यान्टा जस्ता कार्बोनेटेड पेय पदार्थको सट्टा ताजा फलफूलको जुस खाँदा स्वास्थ्य राम्रो हुन्छ। जंक फुडहरू खानु हुँदैन। यी वस्तु नखाँदा शरीरलाई पोजेटिभ इनर्जी दिन्छ भने किन खाने त्यस्तो घातक चिज?” डा. अमात्य भन्छन्, “शरीरको तौल वृद्घि हुन नदिन पनि विशेष ध्यान दिनुपर्छ।”