Monday, April 29, 2024

-->

जनकपुरधाममा जनप्रतिनिधिको रमिताः मेयरसँग ‘स्वार्थ नमिल्ने’ कर्मचारी जथाभावी सरूवा गरिँदै

गैरकानूनी गतिविधिको 'गोपनीयता' भंग हुने डरले मेयर र प्रशासकीय अधिकृतले मनपरी सरूवा गरेको उपमहानगरका कर्मचारीहरू बताउँछन्। अवैधानिक बिदाको हिसाबकिताब माग्दा उनीहरू आफूमाथि जाइलागेको मेयर साहको दाबी छ।

जनकपुरधाममा जनप्रतिनिधिको रमिताः मेयरसँग ‘स्वार्थ नमिल्ने’ कर्मचारी जथाभावी सरूवा गरिँदै
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह (बायाँ) का साथै त्यसपछि क्रमश: प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की र मेयरका निजी सचिव मनोज महतो। मनोमानी सरूवामा तीनै जनाको मिलेमतो रहेको कर्मचारीहरूको आरोप छ।

काठमाडौँ– जनकपुरधाम उपमहानगरपालिकाका कम्प्युटर अधिकृत उमाशंकर मल्लिकले कात्तिक १४ गते दिउँसो अचानक राजीनामा दिए। त्यस दिन बिहान साबिकबमोजिम नै कार्यालय पुगेका भए पनि दिउँसो एक्कासि राजीनामापत्र लेखेर उनी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई बुझाई घर फर्केका थिए। तर उनको राजीनामा स्वीकृत भएन।

राजीनामा बुझाएको केही बेरपछि नै उनलाई प्रमुख प्रशासकीय अधिकृत कार्कीले सम्पर्क गरेर कार्यालयमा हाजिर हुन भने। तर त्यो दिन घरबाटै काम गरेका मल्लिक भोलिपल्ट कार्यालयमा उपस्थित भएसँगै राजीनामा फिर्ता लिएर नियमित कामकाजमा फर्किए। 

दुई दशकभन्दा लामो समयदेखि उपमहानगरपालिकामा कार्यरत मल्लिकले अचानक राजीनामा किन लेखे? त्यो निर्णय उनको स्वेच्छामै आएको थियो या बाध्यतामा? सोही दिन कार्यालय समय शुरू भएलगत्तैको एउटा घटनाले यी प्रश्नको जवाफ दिन्छ। कम्प्युटर अधिकृत मल्लिक कात्तिक १४ गते पनि सधैँझैँ समयमै कार्यालय आएर कामकाज गरिरहेका थिए। करिब साढे १० बजे उनलाई उपमहानगरपालिका प्रमुख मनोज साहका निजी सचिव मनोज महतोले आफ्नो कार्यकक्षमा बोलाए।

मल्लिकका अनुसार उनलाई महतोले अनायासै निर्देशनको शैलीमा भनेका थिए, “तपाईं आजदेखि आफ्नो कुर्सीमा उहाँ (सँगै रहेका अर्का व्यक्ति) लाई बस्न दिनुस्। आफ्नो ल्याप्टप र मोटरसाइकल पनि उहाँलाई नै दिनुस्, यो मेयरसाबको आदेश हो।” 

तर आफूले उनको त्यस्तो 'आदेश'लाई स्वीकार नगरेको मल्लिकले बताए। “मैले उहाँलाई प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर भएको पत्र ल्याउनुस्, अनि कुर्सी छोडिदिन्छु भनेँ। यतिका वर्ष काम गरेर पनि यसरी बेइज्जति सहनुपर्दा मेरो आत्मसम्मानमा चोट पर्‍यो अनि तुरुन्तै राजीनामा लेखेर बुझाएँ,” उनले उकालोसँग भने। तर पछि प्रशासकीय अधिकृतको आग्रहमा राजीनामा फिर्ता लिन सहमत भएको उनी बताउँछन्। 

त्यो एउटा प्रतिनिधि घटना थियो। केही दिनदेखि उपमहानगरपालिकाभित्र कर्मचारी सरूवा गर्ने सिलसिला शुरू भएको छ। मेयरका निजी सचिव महतोकै स्वार्थमा त्यसरी सरूवा गर्ने क्रम चलिरहेको कर्मचारीहरू बताउँछन्। 

महतो भने त्यसमा आफ्नो कुनै हात नभएको दाबी गर्छन्। “कर्मचारी सरूवा गर्ने काम त प्रशासकीय अधिकृतको हो नि। यसमा मेरो कुनै संलग्नता छैन, न मेयरसाबको छ,” उनले भने, “सबै काम प्रमुख प्रशासकीय अधिकृतले आफ्नो तरिकाबाट गरेका हुन्। मलाई यो विषयमा केही जानकारी छैन।”

एक महिनामै १० कर्मचारीको सरूवा
गएको असोज १ गते उपमहानगरभित्र रहेका शिक्षा शाखाका प्रमुख मेहिलाल यादवको सरूवा भयो। उनलाई अहिले उपमहानगरकै सामाजिक विकास प्रमुखको जिम्मेवारी दिइएको छ। उनी १०औँ तहका अधिकृत हुन्। तर उनलाई त्यहाँबाट हटाएर ८औँ तहकी अन्जु पाण्डेलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको छ। 

“मेयरका आसेपासेहरू के के कागजमा सहीछाप गराउन मकहाँ आए। मैले कानूनी रूपमा त्यस्तो गर्न नमिल्ने भन्दै फर्काइदिएँ। त्यसैको झोँकमा मलाई त्यहाँबाट हटाए,” यादव भन्छन्, “दैनिक त्यस्तो खट्पट् हुन थालेपछि उनीहरूले जतिसक्दो चाँडो मलाई हटाउन चाहेका थिए। पछि गाली बेइज्जति नै सुन्न परेपछि मलाई पनि त्यहाँ बस्न मन लागेन।” तर सामाजिक विकास शाखामा पनि आफू सुरक्षित नभएको यादव बताउँछन्। 

त्यस्तै, उपमहानगरको कृषि शाखा अधिकृत गुरुदेव साह सरूवा गरिएकै कारण असोजको ६ गते वडा नं १९ को कार्यालयमा हाजिर हुन बाध्य भए। उपमहानगरले उनलाई कृषि शाखाबाट सोझै वडा सचिव बनाएर पठाइदियो। शुरूदेखि नै कृषि क्षेत्रमा काम गरिरहेको जान्दाजान्दै उपमहानगरले वडामा पठाएपछि साह अहिले अलमलमा परेका छन्। 

“न मेरो काममा भएको त्रुटिको कुरा गरे न त कुनै कमजोरी र अयोग्यताको नै। नयाँ हाकिम आएपछि सिधै मकहाँ सरूवाको पत्र आइपुग्यो। अब खै कसले किन गरे मेरो सरूवा, मैले कुनै मेसो पाइनँ,” उनी भन्छन्, “म बालीनाली र बोटबिरुवा हेर्ने मान्छेलाई यहाँ जन्मदर्ता, मृत्युदर्ता हेर्न पठाउँदा काम गर्न एकदमै गाह्रो भइरहेको छ। अनुभव नहुँदा यहाँ कुन दिन फसिन्छ भन्ने ठेगान छैन। त्यसकारण राजीनामा गर्ने मनस्थिति बनाइसकेको छु।”

अर्का कर्मचारी सुनील गुप्ता उपमहानगरपालिकाको लेखा शाखामा ५ वर्षदेखि कम्प्यूटर अपरेटरको जिम्मेवारीमा थिए। तर असोज १६ गते उनलाई अचानक वडा नं १८ मा सरूवा गरियो। जबकि वडामा कम्प्यूटर अपरेटरको दरबन्दी नै छैन। लेखा शाखामा कार्यरत रहँदा भुक्तानीको सवालमा कुरा नमिलेपछि आफू सरूवामा पर्नु परेको गुप्ता बताउँछन्।

“मेयरसबाको घरको पर्दाको बिल भुक्तानी गर्नुपर्ने थियो। तर मैले  त्यसो गर्न नमिल्ने जवाफ दिएपछि मेयरका छोराले मलाई उनकै कार्यकक्षमा हातपात गरे,” गुप्ताले उकालोसँग भने, “त्यसपछि नै होला मेरो सरूवाको योजना बनेको। मेरो ठाउँमा अहिले मेयरसाबकै गाउँले श्रवनकुमार साहलाई खटाइएको छ। म स्थायी कर्मचारी थिएँ, उहाँ करारमा हुनुहुन्छ।”

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत कार्की भने आवश्यकता अनुकूल नै सबैको सरूवा भएको बताउँछन्। “उहाँहरू सबैको सरूवा मैले नै गरेको हुँ। म यो कार्यालयमा आएको धेरै भएको छैन। तर यो सरूवामा कुनै तलमाथि भएको छैन,” कार्की भन्छन्, “बितेको महिनामा १० जनाको सरूवा भएको चाहिँ सत्य हो।”

कार्की आफैँ पनि विवादमा पर्दै आएका छन्। खटाइएको ठाउँमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ सालमा उनलाई दुई महिनाको लागि निलम्बन नै गरेको थियो। त्यस्तै, २०७७ सालमा बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा पनि उनी आर्थिक हिनामिना र कर्मचारीको सरूवा विवादमा मुछिएका थिए।

'गैरकानूनी क्रियाकलापका सूचना खुल्ने डरले सरूवा'
कानून विपरीत भइरहेका गतिविधिको 'गोपनीयता' भंग हुने डरले मेयर र प्रशासकीय अधिकृतले सरूवाको अस्त्र चलाएको उपमहानगरका एक कर्मचारी बताउँछन्। उपमहानगरभित्रका शाखाहरूबाट त्यस्ता 'गोप्य सूचना चुहावट हुन थालेपछि' मेयरले आफू सुरक्षित रहन यस्तो तरिका अपनाएको उनको भनाइ छ।

“उपमहानगरका प्रत्येक शाखामा मेयरका एजेन्ट छन्। कुनै योजना वा विकास निर्माणको काम गर्नुअघि उनीहरूमार्फत् कमिशनको डिल हुने गर्छ। मेयरसाबको इच्छाप्रतिकूल हुने गरी काम गर्नै मुश्किल छ,” ती कर्मचारी भन्छन्, “पहिलाका मेयर लालकिशोर साह के बदनाम थिए र? अहिलेका मेयर साह त उहाँभन्दा पनि माहिर हुनुहुन्छ। सबैले राम्रै अपेक्षा गरेका मेयरको यस्तो रवैयाले चाँडै नै उपमहानगर स्वाहा हुने निश्चित छ।”

मेयर साहका कुरा नमान्दा पनि कर्मचारीको सरूवा हुने गरेको शिक्षा शाखाका प्रमुखबाट सरूवा गरिएका यादव बताउँछन्। “चुनावका बेला उहाँले आफ्ना कार्यकर्ताहरू थुप्रैलाई जागिरको आश्वासन दिनुभएको रहेछ। तिनीहरूलाई अहिले जबरजस्ती जागिर दिन खोजिरहनुभएको छ। जहाँ दरबन्दी नै छैन त्यहाँ जबरजस्ती कर्मचारी भर्ना गरेर कहाँ हुन्छ?,” यादव भन्छन्, “मनपरी त घरमा गर्ने हो नि, कार्यालयमा त त्यस्तो गर्न कसरी मिल्छ र?”

मेयर साह नेपाली कांग्रेसमा आवद्ध छन्। साबिकका नगर सभापति भए पनि २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनले बागी उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित भएका साह पुन: कांग्रेसमै फर्किसकेका छन्।

पार्टी कार्यकर्ता नै मेयरको विरोधमा 
कम्प्यूटर अपरेटर गुप्तासँग भएको खट्पट्जस्तै कुरा नमिल्नेहरूलाई मेयर साहले पाखा लगाउने गरेको उनकै पार्टीका एक कार्यकर्ता बताउँछन्। यसअघिका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीसँग कुरा नमिल्दासमेत उनको सरूवाका लागि मेयर साहले काठमाडौँ गएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लबिइङ गरेको उनी बताउँछन्।

“पहिलेका अधिकृत स्थानीय भएर होला, मेयरसाबको केही लागेन। अहिलेका अधिकृत बाहिरका छन्। उनलाई मिलाइ मिलाई आफूलाई लाभ मिल्ने काम गराइरहेका छन्। मेयरले भनेको ठाउँमा गुपचुप हस्ताक्षर गरिदिन्छन्,” ती कार्यकर्ता भन्छन्, “तर अहिलेका अधिकृत पनि अब आजित भइसकेका छन्। नगरपालिकाको अवस्था दिनदिनै बर्बाद हुँदै गएको छ। हरेक काममा पैसा खान खोज्ने र नगरपालिकामा भाइभतिजाको रजगजले उनी अब अख्तियारको फन्दाबाट धेरै दिन  जोगिन सक्दैनन्।” 

मेयर साह भने कर्मचारीउपर कुनै मनपरी नभएको बताउँछन्। कर्मचारीको सरूवा मनलाग्दी ढंगबाट भएको भन्ने कुरामा कुनै सत्यता नभएको उनको भनाइ छ। “मसँग कोही कर्मचारीको पनि कुनै किसिमको विवाद छैन। मलगायत मसँग सम्बन्धित मेरो निजी सचिव र प्रशासकीय अधिकृतमाथिका सबै आरोप निराधार छन्,” मेयर साहले उकालोसँग भने, “कर्मचारीहरू आफैँ स्वीकृतिबिना बिदा बसिरहेका छन्। त्यसकै हिसाबकिताब माग्दा उनीहरू सबै मिलेर ममाथि जाइलागेका हुन्।”


सम्बन्धित सामग्री