Monday, May 06, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ: ‘पहुँचवाला’सामु निरीह राज्य–संयन्त्र, मौन बालेन र सुपारीबाट कमाउने दाउ

जेल सजाय पाएका पहुँचवालाहरू बिरामीको बहानामा अस्पतालका सुविधासम्पन्न शय्यामा, सुपारी आयात खोलेर ९ अर्ब कमाउने दाउ, नेपालमा टेस्लाका गाडीको गैरकानूनी आयातसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ ‘पहुँचवाला’सामु निरीह राज्य–संयन्त्र मौन बालेन र सुपारीबाट कमाउने दाउ

गम्भीर अपराधमा पक्राउ परेका वा अदालतबाट जेल सजाय पाएका पहुँचवालाहरूले बिरामी भएको बहानामा अस्पतालका सुविधासम्पन्न शय्यालाई नै हिरासत र नयाँ कसुरको थलो बनाइरहेका छन्। उकालोमा यस हप्ता प्रकाशित विशेष फिचरमा कसरी केही शक्तिशाली कसूरवारहरूले पहुँचका आडमा राज्य–संयन्त्रलाई निरीह तुल्याउँदै अस्पतालहरूलाई ‘थुनुवा कक्ष’ बनाउने छुट पाएका छन् भन्नेबारे विस्तृतमा वर्णन गरिएको छ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा, तत्कालीन त्रिवेणी समूहका निर्देशक गोविन्द संघई, कोशी प्रदेशसभाका पूर्वसदस्य बिन्दिया कार्कीका छोरा रवीनसिंह कार्की, भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ, अभिनेता अनमोल केसी, पृथ्वी मल्ल आदिले कसरी साम–दाम–दण्ड भेदको प्रयोग गरेर आफ्नो पहुँचको दुरूपयोग गरिरहँदा कमजोर वर्गका भागमा भने सकस मात्र परेको छ। अर्काथरि यस्ता पनि छन्, जसले अदालतबाट दोषी ठहर भएअनुसार कैद भुक्तान गरिसक्दा पनि आर्थिक अभावका कारण थुनामा बसिरहनुपरेको छ।     

पहुँचका आधारमा शक्तिको अधिकतम दुरूपयोग गर्दै फाइदा लिनेमध्ये अर्का त्यस्तै पात्र हुन् ल्हारक्याल लामा। कांग्रेस, एमाले हुँदै पछिल्लो समय माओवादीको छत्रछाया पाएका उनी जोडिएका थुप्रै काण्ड छन्। ल्हारक्याल लामाले अख्तियार दुरूपयोग गरेर सार्वजनिक जग्गा मिचेकोबारे असोज ३० गते प्रकाशित यस विशेष रिपोर्टले राजनीतिक दलको छत्रछायाँमा उनले कसरी बुढानीलकण्ठमा २ रोपनी १ आना सरकारी जग्गा कब्जा गरेर महल बनाए भनेर बताउँछ।

यसैगरी, व्यापारीका आँखा लागेपछि बर्बाद भएको जुद्धोदय स्कुलबारे गरिएको फलोअपमा बेथिति देखिएपछि छानबिन गर्न अह्राएको काठमाडौँ महानगरपालिका प्रतिवेदन पाएपछि किन हच्कियो भनेर प्रश्न उठाइेको छ। 

व्यापारीसँगको मिलेमतोमा विद्यालयका पदाधिकारीले नै जुद्धोदय स्कुल तहसनहस पारेको तथ्य उजागर भएपछि काठमाडौँका मेयर बालेन साहले तत्काल छानबिन समिति बनाएका थिए, तर समितिले प्रतिवेदन दिएपछि उनी ‘चुपचाप’ छन्। यो प्रकरण उजागर भएपछि काठमाडौँ महानगरपालिकाले चासो देखाएर छानबिन गरेको थियो। तर, छानबिन समितिले प्रतिवेदन बुझाएको तीन महिना बित्न लाग्दासम्म महानगरपालिकाले कुनै पहल अघि बढाएको छैन।

अब हेरौँ यस साता प्रकासित केही प्रमुख हेडलाइन 

अर्थ/बजार

पदयात्रामा धमाधम निस्कन थाले नेपाली, यस्तो छ विगत – एक दशकअघि पदयात्रामा जाने नेपाली फाट्टफुट्ट भेटिन्थे। अहिले हिमाली भेगमा विदेशीभन्दा बढी नेपाली पदयात्री भेटिन्छन्। नेपालमा व्यावसायिक पदयात्राको शुरूआत भने करिब ५८ वर्षअघि बेलायती नागरिकले गरेका थिए।

सुपारी आयात खोलेर विदेशी मुद्रा अपचलनबाट ९ अर्ब कमाउने दाउविदेशबाट नेपाल भित्रिने सुपारीको भन्सारसहितको मूल्यभन्दा भारतीय बजारको भाउ औसतमा ३६६ रुपैयाँ ७२ पैसाले बढी छ। यही अन्तरबाट फाइदा लिन सुपारी आयात खुलाउने चलखेल दोहोरिने गरेको छ।

नेपालमा टेस्लाका गाडी : भन्सारबाट गैरकानूनी आयात, अनधिकृत कम्पनीबाट बिक्री – नेपालमा टेस्लाको आधिकारिक बिक्रेता नरहेको अरेत इन्टरनेसनलले हङकङमा दर्ता देखिने साउथ चाइना एक्जिममार्फत गैरकानूनी रूपमा गाडी आयात गरिरहेको छ। प्रक्रिया पूरा नगरी भन्सारबाट कसरी गाडी पास भइरहेका छन्?

चाडपर्वमा ‘नभई नहुने’ नयाँ नोटः जतन नगर्दा नोटको आयु घट्छ, लागत बढ्छ – केन्द्रीय बैंकले बर्सेनि पुराना, झुत्रा भइसकेका वा खुइलिएका नोटहरू फिर्ता लिएर नष्ट गरी नयाँ नोट बजारमा पठाउँदै आएको छ। तर प्रयोगकर्ता सचेत नहुँदा नेपाली नोटहरू औसत आयु नसकिँदै प्रयोगबाट बिदा हुन्छन्।

चिनी खोज्दै नुवाकोट र धादिङबाट काठमाडौँ आएकाहरू भन्छन्, ‘गाउँमा यस्तो अभाव – गाउँमा अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले बेच्ने दुई किलो चिनी किन्न उपत्यका आसपासका जिल्लाबाट समेत सर्वसाधारण काठमाडौँ आउन थालेपछि सुपथ मूल्य पसलहरूमा भीड लागेको छ।

राजनीति 

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त – शनिबार प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयाघात, अस्पताल भर्ना – श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

विश्व 

इजरायलविरुद्ध इस्लामिक देश एकजुट, मध्यपूर्वमा थपियो त्रास – गाजा अस्पताल विष्फोटमा प्यालेस्टिनीहरू मारिएपछि इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे छलफल गर्न साउदीको जेद्दामा भएको ओआईसी बैठकले इजरायलमाथि तत्काल पूर्ण प्रतिबन्ध लगाउन इस्लामिक देशहरूलाई आह्वान गरेको छ।

गाजास्थित अस्पतालमा विस्फोट, १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु – हजारौँ विस्थापित मानिसलाई आश्रय दिइरहेको अल–अहली ब्याप्टिस्ट अस्पतालमा शक्तिशाली बम विस्फोट हुँदा ठूलो जनधनको क्षति भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य: महिलाको फिस्टुला उपचारले फेरिएको कर्णाली – देवीदेवताको श्रापका कारण दिसापिसाब चुहिएको सामाजिक मान्यताले फिस्टुलाका बिरामी अपहेलित र तिरस्कृत हुन्थे। कतिपय बिरामीले मानसिक सन्तुलन नै गुमाउँथे। अहिले एउटा अस्पतालका कारण कर्णालीको कथा फेरिएको छ।

घुमघाम: काठमाडौँको 'हटारु' कर्णालीमा – जंगली रातो च्याउ सुकाएपछि किलोको ९ हजार रुपैयाँसम्ममा बिक्ने रहेछ। प्राकृतिक स्रोतमा हामी यति सम्पन्न छौँ। तर न पहिचान गर्न सकेका छौँ, न प्रयोग। यी जडीबुटी अब चीन पुग्नेछन्।

भिडियो कथा: नेपाली कागजको बजार छ, लोक्ता पाउनै मुस्किल – नेपाली कागज बनाउन प्रयोग हुने लोक्ता ताप्लेजुङ, बझाङ, बाजुरालगायत जिल्लाका वनमा पाइन्छ। तर लोक्ता संकलन गर्ने युवा विदेश पलायन हुँदा काठमाडौँका नेपाली कागज उद्योग प्रभावित बनेका छन्।

विचार 

शाहरुख खान: उदारवादका ‘रेजिलियन्ट’ अवतार – जब सम्बन्धित अल्पसंख्यक समुदायमाथि अन्याय भयो, शाहरुखको अस्तित्वमाथि निशाना साँधियो। त्योबेला उनले उदेकलाग्दो मौनधारण गरे। पहिले सरकारी अत्याचारविरुद्ध बोलेका उनी हालका ज्यादतीबारे मौन नै छन्।

उद्यममा महिला: कानून र नीतिले मात्र हुँदैन – सन् २०१९ मा गार्डियनमा क्यारोलाइन क्रियाडो पेरेजले उल्लेख गरेअनुसार अहिले पनि कारको डिजाइन पुरुषलाई सहज हुने गरी बनाइन्छ, जबकि महिला र पुरुष दुवैलाई ख्याल गरेर त्यसको डिजाइन हुनुपर्ने हो।

अनर्वार्ता

'घरमा रक्सीको बोतल सजाउनुभन्दा किताब सजाउनु राम्रो' – प्रारम्भमा कसैले पाउलो कोएल्हो पढ्छ भने त्यो राम्रो नै हो,तर जीवनभर कोएल्होकै मात्र किताब पढ्छु भन्ने कुरा समस्या हो।


सम्बन्धित सामग्री