Monday, April 29, 2024

-->

महिलाको फिस्टुला उपचारले फेरिएको कर्णाली

देवीदेवताको श्रापका कारण दिसापिसाब चुहिएको सामाजिक मान्यताले फिस्टुलाका बिरामी अपहेलित र तिरस्कृत हुन्थे। कतिपय बिरामीले मानसिक सन्तुलन नै गुमाउँथे। अहिले एउटा अस्पतालका कारण कर्णालीको कथा फेरिएको छ।

महिलाको फिस्टुला उपचारले फेरिएको कर्णाली

काठमाडौँ– “तपाईंहरू आउन त आउनुभयो, तर दुई वर्ष ढिला आउनुभयो। नत्र एक जना महिला बच्न सक्थिन्।”

फिस्टुलाका बिरामी पहिचानको क्रममा तीन वर्षअघि रोल्पाको लिवाङ पुग्दा कान्ति शर्माले पाएको पहिलो प्रतिक्रिया थियो यो। कान्ति सुर्खेतको कालागाउँस्थित प्रदेश अस्पतालको फिस्टुला उपचार केन्द्रकी ‘आउटरिच टिम लिडर’ हुन्। फिस्टुलाबाट समस्या भोगिरहेका महिला खोज्दै उनी आफ्नो समूह लिएर कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला पुग्छिन्।

यद्यपि, लिवाङ पुग्दा पाएको प्रतिक्रियाले कान्तिको स्मृतिमा गहिरो छाप परेको छ। फिस्टुलाको उपचार र जानकारीको अभावमा यस्ता घटना दोहोरिन सक्ने सम्भावनाप्रति सजग हुनुपर्ने उनी बताउँछिन्।

“लिवाङकी ती महिलामा फिस्टुला देखिएछ, तर यो रोग के हो भन्ने जानकारी भएन। उहाँको अवस्था जटिल हुँदै गयो। दिसा र पिसाबले भिजेको साडी लगाएर लिवाङ बजारमा हिँड्नुपर्ने बाध्यता भयो। त्यहीकारण मानसिकस्थिति असन्तुलित भएछ र अन्तमा बित्नुभएछ।”

यही घटनाले कान्तिलाई फिस्टुलाको जनचेतना जगाउन र बिरामी खोज्न प्रेरित गरिरहन्छ। उनकै समूहको माध्यमबाट कैलालीको गोदावरी नगरपालिका–१० की जयन्ती अयर गएको असारमा फिस्टुला उपचार केन्द्र आइन्। रोग लागेको १५ वर्षपछि उनको शल्यक्रिया भयो।


१५ वर्षअघि जयन्तीको पत्थरीको शल्यक्रिया भएको थियो। शल्यक्रिया भएको केही समयपछि पिसाब चुहिने समस्या देखिन थाल्यो। शरीरबाट अनवरत बग्ने पिसाबले उनलाई आफन्त, साथीभाइमाझ उभिन लाज लाग्थ्यो। उनकै गाउँकी स्वास्थ्य स्वयमसेविकाले यो रोगबारे बताएपछि फिस्टुला उपचार केन्द्र आएको जयन्ती बताउँछिन्। “हिँड्डुल गर्न अप्ठ्यारो थियो, साथीसंगिनीमाझ बस्न सक्दिनँ थिएँ। १५ वर्षदेखि शरम र हैरानी बोकेर बाँचिरहेको थिएँ, बल्ल मुक्ति पाएँ,” उनी भन्छिन्।

फिस्टुला उपचार केन्द्रकी डा. शुभेच्छा देवा श्रेष्ठका अनुसार चेकजाँचको क्रममा जयन्तीको पिसाब नलीमा फिस्टुला (सानो प्वाल) थियो। उक्त समस्या शल्यक्रियामार्फत निको पारिएको डा. शुभेच्छा बताउँछिन्।

सामान्यतः आफ्नो शरीरमा रोगको लक्षण देखिएपछि जो कोही अस्पताल जान्छन्। तर फिस्टुलाको सवालमा ठ्याक्कै विपरीत थियो। देवीदेवताको श्राप मानेर फिस्टुला उपचारका लागि अस्पताल नै नजाने महिला कर्णाली र आसपास क्षेत्रमा धेरै थिए। यस्तो समस्या चिर्न बेलायतबाट आएर फिस्टुला उपचार केन्द्रमा काम गरिरहेकी डा. शेर्ली हेवुडको योजनामा आउटरिच टिम बनाइएको थियो। 

“हाम्रो  लागि बिरामीको पहिचान आवश्यक थियो, कारण हामीले विभिन्न ठाउँमा गएर गर्ने शिविरबारे मानिसहरूले धेरै ढिलो थाहा पाउँथे,” डा. शेर्ली भन्छिन्, “यसले गर्दा शिविर सकिएपछि वा अन्तिम समयमा मात्र बिरामी आउँथे। बिरामी शिविर नआइपुग्नु एउटा समस्या थियो भने, रोग लुकाएर बस्नु अर्को समस्या थियो। यसको लागि घरदैलोमै पुग्न आउटरिच टिम बनायौँ।”

विकट स्थानमा पुगेर बिरामी खोज्न सहज छैन। बिरामी र बिरामीका परिवारका सदस्य सबैलाई विश्वस्त बनाएपछि मात्र अस्पतालसम्म ल्याउन सकिने आउटरिच टिमको नेतृत्व गरिरहेकी कान्ति बताउँछिन्। त्यसो त, बिरामीको उपचार मात्र नभई बाटो खर्च, खानेबस्ने सुविधा, कुरुवाको व्यवस्था र फर्किंदा लाग्ने खर्चसमेत उपचार केन्द्रले बेहोर्छ।

“सबै निःशुल्क हुन्छ भन्दा पत्याउनुहुन्न। निःशुल्क हुँदा पक्कै पनि केही गडबडी छ भन्ने शंका हटाउनु अर्को चुनौती हो। नकारात्मक कुराले जितिहाल्ने रहेछ। काउन्सिलिङ गरेर यहाँसम्म ल्याउछौँ। ल्याउने बेला जति गाह्रो हुन्छ, फर्कने बेला त्यति नै खुशी भएर जानु हुँदा आनन्द लाग्छ,” कान्ति भन्छिन्।

इथियोपियाको अभ्यासबाट प्रेरणा
२० वर्षअघि महिला स्वास्थ्य विशेषज्ञको रूपमा नेपाल आएकी बेलायती नागरिक डा. शेर्ली कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य शिविर जान्थिन्। ती अस्थायी शिविरमा टेन्ट गाडेर उपचार हुन्थ्यो। त्यहाँ फिस्टुलाका पनि केही बिरामी आउँथे।

डा. शेर्ली फिस्टुला शल्यक्रियाको तालिम लिन सन् २००६ मा इथियोपिया गइन्। त्यहाँ फिस्टुला सेन्टरको सुविधा सम्पन्न भौतिक संरचना थियो। नेपालमा पनि त्यस्तै संरचना बनाउने सोच गरिन्। त्यसका लागि इथियोपियामा नै दाता खोजिन्। त्यहाँ उनका गुरु डा. एन्ड्रयु ब्राउनिङले पनि उनलाई सहयोग गरे।

फिस्टुला उपचार केन्द्र।


१७ शय्याको भवन निर्माणको लागि सन् २०११ मा योजना बन्यो। निर्माण शुरू भने सन् २०१६ मा मात्र भयो। “१७ शय्याको भवन निर्माणको लागि हामीले प्रयास गरिरहेको थियौँ। सन् २०१५ मा नेपालमा भूकम्प आयो, त्यसपछि नाकाबन्दी भयो। सामान महँगियो। सन् २०१६ बाट बनाउन शुरू गरेर दुई वर्षमा मात्र पूर्ण भयो,” उनले भनिन्।

सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालमा फिस्टुला उपचार केन्द्रको व्यवस्थापन सम्हाल्दै आएका कान्तप्रसाद सुवेदी स्थापनाकालदेखि नै डा. शेर्लीसँग काम गरिरहेका छन्। यहाँ १७ शय्याको अस्पतालसहित शल्यक्रिया कक्ष, क्यान्टिन, कुरुवा घर, भान्सा घरसमेत छ। सुवेदीका अनुसार यो भवन इन्टरनेसनल फेलोसिप नेपालको मातहतमा बनेको हो। 

यो पनि – बेलायतकी डा. शेर्ली हेवुडले कर्णालीलाई दिएका २० वर्ष

केन्द्रमा २२ स्वास्थ्यकर्मीको टोलीले सेवा दिइरहेको छ। यहाँ कर्णालीका मात्र नभई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामी पनि आउँछन्।

के हो फिस्टुला?
केन्द्रमा कार्यरत डा. शुभेच्छाका अनुसार शरीरको कुनै पनि अंगमा प्वाल पर्नुलाई फिस्टुला भनिन्छ। महिलालाई सुत्केरी हुन लामो प्रसव पीडा हुँदा पनि फिस्टुला हुन्छ। २४ घन्टादेखि नौ दिनसम्म प्रसव पीडा हुने र ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य चौकी वा अस्पताल नजाँदा फिस्टुला हुन्छ।

लामो प्रसव पीडाको कारण पिसाब र दिशा गर्ने अंगबीचको भागका मांसपेशी खुम्चने र खुकुलो हुने हुन्छ। यस्तो बेला प्रायः मृत बच्चा जन्मन्छन्। मृत बच्चा निस्कने क्रममा बच्चाको शरीर र पाठेघरबीच घर्षण हुँदा छाला फाट्छ। यसरी बनेको प्वालबाट पिसाब र दिशा निरन्तर बग्न थाल्छ।


यो समस्या प्रायः लामो प्रसव पीडाबाट सुत्केरी हुँदा देखिए पनि कतिपय महिलालाई जन्मजात हुन्छ। कसैलाई चोटपटक लागेर, शल्यक्रियाबाट पाठेघर निकाल्दा वा सुत्केरी गराउँदा हुने शल्यक्रियाको क्रममा हुने लापर्बाहीले पनि फिस्टुला हुनसक्ने डा. शुभेच्छा बताउँछिन्। 

शरीरबाट लगातार दिशा र पिसाब बग्ने कारण बिरामीले खाना, पानी कम खाने हुँदा फिस्टुला रोगीलाई कुपोषण र पत्थरीको समस्या पनि देखिने हुन्छ। मानसिक स्वास्थ्यमा समेत असर पर्ने डा. शुभेच्छा बताउँछिन्। उनी भन्छिन्, “फिस्टुलाको उपचारपछि केही समयसम्म भारी काम गर्न हुँदैन। ६ महिनासम्म शारीरिक सम्बन्ध पनि राख्न हुँदैन। दुई वर्ष बच्चा पाउन र नर्मल डेलिभरी गराउन हुँदैन।”

सुर्खेतस्थित फिस्टुला उपचार केन्द्रमा हालसम्म ५ देखि ७७ वर्ष उमेरका बिरामी आएका छन्। फिस्टुला भएको पाँच वर्षभित्रै आउनेलाई उपचारपछि छिटै निको हुने सम्भावना धेरै हुन्छ। तर पाँच वर्ष नाघेर आउने बिरामीको जति ढिला उपचार हुन्छ, निको हुन लाग्ने समय पनि बढ्दै जान्छ। चाँडो अस्पताल आउने बिरामीलाई पहिलो चरणमा पाइपबाट दिइने औषधिले ६ हप्तामा निको हुने शुभेच्छा बताउँछिन्। समस्या जटिल भइसकेपछि भने शल्यक्रिया नै गर्नुपर्ने उनको भनाइ छ। 

‘चेतनाको अभावले समस्या झनै जटिल’
कर्णालीलगायत विकट क्षेत्रका महिलाले फिस्टुला ‘श्राप’ वा ‘भूत लागेको’ रूपमा मान्ने गरेको डा. शेर्ली बताउँछिन्। विकट क्षेत्रका महिला शिक्षा, चेतना र आर्थिक अभावमा हुँदा फिस्टुला रोगबारे जानकारी नपाएको उनको भनाइ छ। त्यसमा पनि गुप्तांगमा लाग्ने रोगबारे नेपाली समाजमा उदार भएर कुराकानी नहुने उनी बताउँछिन्।

बिरामीलाई माया र स्याहार हुनु त परको कुरा, समाजले अपहेलना गर्छ। जसकारण बिरामीको आत्मबल हराउने उपचारका लागि फिस्टुला उपचार केन्द्र पुगेकी बिन्द्राकुमारी थापा बताउँछिन्। उनी भन्छिन्, “धन्न मेरो परिवार शिक्षित थियो, मलाई त्यस्तो सहन परेन। तर कोही नचिनेका मानिस घर आए मलाई उनीहरूसामु जानै मन लाग्दैन थियो। मेरो शरीरबाट आउने गन्धका कारण उनीहरूले के सोच्लान् भन्ने हिनताबोध हुन्थ्यो।”

डा. शुभेच्छाका अनुसार फिस्टुला बिरामी खोज्दै गाउँ जाने आउटरिच टिमलाई अझै पनि सहज छैन। आउटरिच टिमका सदस्यले नै विभेद भोग्नुपर्छ। “टिमका साथीहरू सकी–नसकी विकटमा पुग्नुहुन्छ। हप्तौँ लगाएर जानु भएको हुन्छ। कतिपय ठाउँमा पानी माग्दासमेत छुई (महिनावारी) भए/नभएको सोध्नु हुन्छ रे। होटलमा बास पाउनु पनि ठूलो कुरा हुन्छ,” उनी भन्छिन्।

बेलायतकी नागरिक डा. शेर्ली महिला स्वास्थ्यमा काम गर्न सन् २००३ मा नेपाल आएकी थिइन्। वितेका दुई दशकमा कर्णालीमा उल्लेखनीय परिवर्तन आएको उनको भनाइ छ। “शिक्षा, स्वास्थ्य, सडकलगायत अन्य सेवा विस्तारको क्रममा रहँदा अबको लागि अज्ञानता र सामाजिक बन्देजका कारण यी तीन प्रदेश (लुम्बिनी र सुदूरपश्चिमसमेत)का महिलाले ज्यान गुमाउन नपरोस्,” उनी भन्छिन्, “अब महिलाले श्राप लागेको भनेर जीवनको ३०–४० वर्ष दर्दनाक परिस्थितिमा नकटाउन्।”

युनाइटेड नेशन्स पपुलेसन फन्ड (यूएनएफपीए)ले सन् २०११ देखि आठ वटा देशमा २० वर्षभित्र फिस्टुला हटाउने अभियान चलाइरहेको छ। तर त्यसबेला फिस्टुलाबारे नेपालका तर्फबाट चासो देखाइएको थिएन। अहिले नेपाल पनि त्यही लक्ष्यमा अगाडि बढेको डा. शुभेच्छा बताउँछिन्। “सन् २०३० सम्ममा नेपालबाट फिस्टुला अन्त्य गर्ने योजना छ। अब सात वर्ष मात्र बाँकी छ, हामीलाई प्रेसर छ,” उनले भनिन्।

यसका बाबजुद सामाजिक संरचनाले महिलालाई अस्पतालसम्म पुग्नबाट रोक्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने डा. शुभेच्छा बताउँछिन्। “रोग पहिचान भइसकेको हुन्छ। उहाँहरूलाई उपचारको लागि बोलाउँछौँ, बच्चाको परीक्षा सकेर, खेतीपाती सकेर आउँछौँ भन्ने प्रतिक्रिया आउँछ,” उनी भन्छिन्, “त्यो ठाउँमा पुरुष भएको भए कुनै पनि कुराले रोक्दैन थियो होला।”


भिडियो


सम्बन्धित सामग्री