Tuesday, May 07, 2024

-->

नेपालमा टेस्लाका गाडी : भन्सारबाट गैरकानूनी आयात, अनधिकृत कम्पनीबाट बिक्री

नेपालमा टेस्लाको आधिकारिक बिक्रेता नरहेको अरेत इन्टरनेसनलले हङकङमा दर्ता देखिने साउथ चाइना एक्जिममार्फत गैरकानूनी रूपमा गाडी आयात गरिरहेको छ। प्रक्रिया पूरा नगरी भन्सारबाट कसरी गाडी पास भइरहेका छन्?

नेपालमा टेस्लाका गाडी  भन्सारबाट गैरकानूनी आयात अनधिकृत कम्पनीबाट बिक्री

काठमाडौँ– टेस्ला ब्रान्डका विद्युतीय सवारी (ईभी) अहिले काठमाडौँ र बाहिरका सडकमा प्रशस्तै देखिन थालेका छन्। यी ईभी नेपालमा गुड्ने महँगोमध्येका हुन्। नेपालमा अहिले बिक्री भइरहेका टेस्ला गाडीको मूल्य १ करोड ३५ लाखदेखि २ करोड १० लाख रुपैयाँसम्म पर्छ। तर नेपालमा यी गाडी गैरकानूनी रूपमा भित्र्याएर बिक्री भइरहेको छ।

टेस्ला कम्पनीले नेपालमा कसैलाई पनि आधिकारिक विक्रेता बनाएको छैन। तर काठमाडौँ–५, नक्सालको ठेगानामा दर्ता रहेको अरेत इन्टरनेसनल प्रालिले यो गाडीको आयात गर्छ। टेस्लाको आधिकारिक वेबसाइटमा भने नेपाल र भारत दुवै देशमा टेस्लाको आधिकारिक विक्रेता भेटिँदैन।

टेस्ला कम्पनीले विश्वभरिका विक्रेताहरूको जानकारी आफ्नो वेबसाइटमा राखिदिएको छ। त्यहाँ नेपालमा कुनै विक्रेता भेटिँदैन। नेपालमा भने निर्धक्क भन्सार पास भएर टेस्ला भित्रिइरहेको छ।

टेस्ला कम्पनीले दिएको एजेन्सी दर्ता गरेको प्रमाण हेरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमअनुसार दिएको प्रमाणपत्रका आधारमा अरू गाडीसरह उक्त ब्रान्डका गाडी आयात गर्न दिएको भन्सार विभागले जनाएको छ। तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्ता कम्पनी अरेत इन्टरनेशनल प्रालि त्यहाँ फर्मको रूपमा दर्ता भएको र एजेन्सी दर्ता गराएको प्रमाण फेला नपरेको जनाएको छ। अरेत इन्टरनेसनलका मुख्य संचालकमा नागार्जुन नगरपालिका–१० का विनोद श्रेष्ठको नाम छ।

आर्थिक ऐन २०६६ को अनुसूची १ को दफा २ देखि २१ सम्मका सम्पूर्ण व्यवस्थाहरू खारेज गरी आर्थिक अध्यादेश २०६७ ले सवारी साधन विक्री गर्न आधिकारिक विक्रेता अनिवार्य चाहिने व्यवस्था गरेको छ। उक्त अध्यादेशमार्फत संसोधित ऐनको अनुसूची १ को दफा १२ मा ‘सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्था’ छ। त्यसको उपदफा १ (क)मा लेखिएको छ, “निर्माता कम्पनी वा निजको आधिकारिक विक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरू नेपालस्थित आधिकारिक विक्रेताहरूले मात्र पैठारी गर्ने पाउने छन्।” 

प्रक्रिया पूरा नगरी भन्सारबाट निर्बाध पास!
नेपालमा गैरकानूनी रूपमा सन् २०१९ देखि नै बिक्री भइरहेको टेस्लाले भारतमा भर्खर मात्र आधिकारिक बिक्रीको तयारी गर्दैछ। भारत विश्वकै सर्वाधिक जनसंख्या भएको देश हो र गाडीको बजार पनि ठूलो छ। विदेशी गाडी आयातमा १०० प्रतिशत शुल्क लिने भारतीय भन्सार नीतिका कारण टेस्ला त्यहाँ भित्रिन ढिलाइ भएको हो।

टेस्लाका सीईओ एलन मस्कले गत असार ५ गते न्युयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर भारतमा महत्त्वपूर्ण लगानी गर्न इच्छुक भएको बताएका थिए। त्यसपछि साउन १८ गते टेस्लाका वरिष्ठ सार्वजनिक नीति र व्यापार विकास कार्यकारी रोहन पटेल र आपूर्ति उपाध्यक्ष रोशन थोमसले भारतीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटेका थिए। उनीहरूले ‘इन्भेस्ट इन्डिया’ नामको निकायसँग छलफल पनि गरेका थिए। टेस्लाले यही वर्ष भारतमा आधिकारिक बिक्री शुरू गर्ने तयारी गरिरहेको छ।

नेपालमा भने चार वर्षदेखि अनधिकृत रूपमा भन्सारबाट टेस्ला भित्रिइरहेको छ। “नेपालमा गाडी उत्पादन नहुने हुनाले विदेशबाट वा भारतबाट आयात गर्नुमा भन्सार महसुलले धेरै फरक पार्दैन। यहाँ टेस्ला भित्रिन भन्सार महसुलले छेक्दैन,” एक अटोमोबाइल व्यापारी भन्छन्, “सवारी उत्पादनकर्ताको आधिकारिक विक्रेता भएकालाई मात्र आयात गर्न दिने व्यवस्थाको चाहिँ उल्लंघन भएको छ। यसमा राजस्व छलीको सम्भावना प्रबल छ।” 

अन्य व्यापारी र आम उपभोक्ताका लागि आधिकारिक विक्रेताको प्रावधान लाग्ने, तर एउटा कम्पनीलाई महँगो गाडी भित्र्याउन दिने काम शंकास्पद भएको र यसमा भन्सार कार्यालय दोषी रहेको विक्रेताहरू बताउँछन्। “भन्सारलाई आधिकारिक विक्रेता को हो भनेर थाहा पाउने तरिका थाहा नभएको हो त?” ती व्यापारी भन्छन्, “यसमा सरकारले छानबिन गरोस्, लहरो तान्दा पहरो जान्छ।” 

भन्सार विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक पुण्यविक्रम खड्का भने भन्सारले कागजातहरू हेरेर मात्र कुनै पनि मालवस्तु भित्रिन दिने गरेको बताउँछन्। आयातकर्तासँग ऐजेन्सी दर्ताको प्रमाणपत्र भएकै कारण भन्सारले नियमअनुसार गाडी भित्रिन दिएको उनको दाबी छ।

टेस्लाका गाडी वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार भएर भित्रिने गरेका छन्। सम्बन्धित कम्पनीको आधिकारिक विक्रेता भए/नभएको प्रमाणहरू बुझेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमअनुसार एजेन्सी दर्ता प्रमाणपत्र दिने गरेको कारण एउटा अधिकारप्राप्त निकायले जारी गरेको कागजातलाई अविश्वास गर्ने कारण नभएको खड्का बताउँछन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक भेषबहादुर कुँवर भने अरेत इन्टरनेशनल प्रालि २०७९ असार ८ मा फर्मको रूपमा दर्ता भएको र उसको नाममा कुनै कम्पनीको एजेन्सी दर्ता नभएको बताउँछन्। अरेत इन्टरनेशनल प्रालिको एजेन्सी दर्ताको प्रमाण रेकर्डमा फेला नपरेको कारण त्यो कम्पनीले कुन ब्रान्डको गाडीको ऐजेन्सी लिएको भनेर बताउन नसकिने कुँवरले बताए।

“कम्पनीको उद्देश्यमा समुद्रपार आयात निर्यात गर्ने जनाइएको छ। कारोबार गर्ने वस्तुको रूपमा सवारी साधानलगायतको व्यापारमूलक कारोबार गर्ने भन्ने छ,” निर्देशक कुँवरले उकालोसँग भने, “हामीले कार्यालयको रेकर्ड केलाउँदा यहाँ एजेन्सी दर्ता गराएको भेटिएन।”

राजस्व छलीको सम्भावना
२०७२ असोज ३ गते संविधान जारी भएपछि असोज ६ गतेदेखि करिब साढे चार महिना नेपालमा भारतीय नाकाबन्दी भयो। त्यसले नेपालको अर्थतन्त्र प्रभावित बन्यो। विश्वमा अलगअलग स्वरूपमा देखिएको आर्थिक मन्दीको नेपाली संस्करणले यहाँको बजार, वित्तीय क्षेत्र र मानिसहरूको किनमेल क्षमतालाई प्रभावित पारेको भन्दै अर्थशास्त्रीहरूले कोरोनापछि मन्दी झनै भयाभह भएको बताइरहेका छन्। यस्तो अवस्थामा आयात तथा बजार व्यवस्थापनमा ठूलो पुँजी परिचालन गर्नुपर्ने महँगो ब्रान्ड मानिने अमेरिकी कम्पनी टेस्लाको गाडीको कारोबारमा किन हात हालियो त?

सवारी उत्पादनकर्ताले नेपालको लागि आधिकारिक बिक्रेता नबनाई अन्य एजेन्सीमार्फत बिलिङ भएर आउने सवारीमा न्यून बिजकीकरण भई राजस्व छली हुने जोखिम हुन्छ। भन्सारको अभिलेखअनुसार अरेत इन्टरनेसनलले हङकङमा दर्ता भएको देखिने साउथ चाइना एक्जिम कम्पनीबाट टेस्लाका गाडी आयात गरेको देखिन्छ।

साउथ चाइना एक्जिम नेपालको कानूनअनुसार यहाँ गाडी निर्यात गर्न योग्य सवारी उत्पादनकर्ता होइन। साउथ चाइना एक्जिम हङकङमा टेस्लाको आधिकारिक विक्रेता रहेको देखिँदैन। त्यहाँ टेस्ला क्युआरई कम्पनी आधिकारिक विक्रेता हो। यसबाहेक टेस्लाका लागि तीन वटा सर्भिस सेन्टर छन्। साउथ चाइना एक्जिम टेस्लाको सर्भिस सेन्टर संचालकसमेत होइन।

आर्थिक ऐन २०७३ को अनुसूची १ को दफा १२ को सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्था अन्तरगत उपदफा १ (क) मा भनिएको छ, “निर्माताबाट खरिद नगरी निजको आधिकारिक विक्रेताबाट खरिद गरी पैठारी गरेको अवस्थामा निर्माता, विदेशस्थित निजको आधिकारिक विक्रेता र नेपालस्थित आधिकारिक विक्रेताबीचको त्रिपक्षीय सम्झौता पैठारीकर्ताले भन्सार अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ।”

सम्झौतासम्बन्धी व्यवस्था २०७३ सालदेखि थपिएको हो। यही ऐनमा निर्माता कम्पनी वा निजको आधिकारिक विक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरू नेपालस्थित आधिकारिक विक्रेताहरूले मात्र पैठारी गर्न पाउने व्यवस्था पनि गरिएको छ।

निर्यातकर्ता देखिएको साउथ चाइना एक्जिम कम्पनी टेस्लाको आधिकारिक बिक्रेता वा अन्य कुनै काम गर्ने कम्पनी नभएको सन्दर्भमा यो विषय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेर्ने भन्सार विभागका निर्देशक खड्काले बताए। वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले यसबारे बुझेर मात्र आफूले बताउन सक्ने प्रतिक्रिया दिए।

सवारी उत्पादनकर्ताले नेपालको लागि आधिकारिक विक्रेता नबनाई अरू एजेन्सीमार्फत बिलिङ भएर आउने सवारीमा न्यून बिजकीकरण भई राजस्व छली हुने जोखिम हुन्छ। नेपालमा टेस्ला आयातको प्रक्रिया हेर्दा यो सम्भावना अझ बढी छ। 

उही व्यक्तिले हङकङबाट निर्यात, नेपालमा आयत
हङकङस्थित साउथ चाइना एक्जिमका संचालक नेपालमा व्यापार व्यवसाय गर्दै आएका व्यक्ति राकेशकुमार अडुकिया हुन्। जानकार स्रोतहरुका अनुसार नेपालमा टेस्लाको कारोबार पनि पर्दा पछाडिबाट उनले नै संचालन गर्ने गरेका छन्।

टेस्लाको आयातकर्ता अरेत इन्टरनेसनल विनोद श्रेष्ठको नाममा दर्ता भए पनि काठमाडौँ नक्सालस्थित कार्यालयमा अडुकिया बस्ने गरेका छन्। आफूहरूले अडुकियालाई नै ‘साहु’ भनेर चिन्ने एक कर्मचारी बताउँछन्। अरेतको ‘सेल्स’ प्रमुख रेश्मा सिंहले भने अडुकिया उक्त कम्पनीको संचालक नभएर सल्लाहकार मात्र भएको दाबी गरिन्। यसरी एउटै व्यापारी हङकङमा आपूर्तिकर्ता र नेपालमा आयातकर्ता रहेको देखिन्छ। 

अरेत इन्टरनेसनलको वेबसाइटमा टेस्लाको आधिकारिक विक्रेता भएको दाबी।

टेस्लाको आधिकारिक विक्रेता नै आफूहरू रहेको सिंहले दाबी गरिन्। आफू सेल्सको विषयमा मात्र जानकार रहेकोले त्यससँग जोडिएको सवालमा मात्र बोल्न सक्ने उनले बताइन्। टेस्लाको आधिकारिक विक्रेता भए/नभएको प्रष्ट पारिदिने व्यक्ति कम्पनीमा को रहेको भनेर चाहिँ उनले बताउन चाहिनन्। 

नेपालमा अरेतले ५० भन्दा बढी टेस्ला बिक्री गरिसकेको जनाउँदै सिंहले अहिले प्रिमियम मोडेल कार आएकाले उच्च वर्गीय ग्राहकले टेस्ला रोज्ने गरेको बताइन्। उनका अनुसार नेपालमा अरेतसँग टेस्ला–मोडेल ३ (स्ट्याण्डर्ड रेन्ज) १ करोड ३५ लाखमा, टेस्ला–वाई (स्ट्याण्डर्ड रेन्ज) १ करोड ८९ लाखमा र टेस्ला–वाई (लङ रेन्ज) २ करोड १० लाख रुपैयाँमा उपलब्ध छन्।

नेपालमा ईभीको माग पछिल्लो समय बढ्दो रहेको भदौ २६ देखि ३१ गतेसम्म चलेको ‘नाडा अटो शो–२०२३’ले देखाएको छ। सवारी साधनको प्रदर्शनी तथा किनबेचका लागि चर्चित अटो शोमा ईभीको क्रेज देखियो। तर नेपालमा टेस्लाको आधिकारिक विक्रेता मात्र होइन, सर्भिस र चार्जिङ सेन्टर पनि छैन। भन्सारले यो तथ्य नदेखेकोमा व्यवसायीहरू आश्चार्य मान्छन्।

टेस्ला आयातको विषयमा दुई वटा बेग्लाबेग्लै विषयमा अनुसन्धान हुनु पर्ने एक अटोमोबाइल व्यवसायी बताउँछन्। “एक, टेस्ला कम्पनीले विभिन्न देशमा रहेका आफ्ना विक्रेताहरूको जानकारी आधिकारिक वेबसाइटमा सजिलै देखिने गरी राखिदिएको कुरा भन्सारले किन देखेन? वा एउटा इमेल लेखेर जानकारी माग गर्न सकिने विषयमा किन खोजी भएन?” उनले भने, “दोस्रो, निर्यातकर्ता र आयातकर्ता एउटै भएपछि न्यून बिजकीकरणको जोखिम त हुने नै भयो, कति पैसा यसमा राजस्व छली भएको छ?” 

नेपालमा टेस्ला आयात गर्ने अरेत इन्टरनेसनलका सल्लाहकार मात्र भएको भनिएका अडुकियाले हङकङमा निर्यातकर्ताको हैसियतले समेत बनाइदिनेगरेको खुलेको छ।


सम्बन्धित सामग्री