प्रारम्भमा कसैले पाउलो कोएल्हो पढ्छ भने त्यो राम्रो नै हो,तर जीवनभर कोएल्होकै मात्र किताब पढ्छु भन्ने कुरा समस्या हो।
झापामा जन्मेर काठमाडौँलाई कर्मभूमि बनाएका नवीन तिवारी युवा पुस्ताका आलोचनात्मक चेतसहितका 'भोरासियस रिडर' (उद्विग्न पाठक) र अध्येता हुन्। उनको रुचि नेपालीभन्दा बढी अंग्रेजी पुस्तकमा छ। उनी पढ्छन् र जीविकाका लागि विभिन्न औपचारिक कोर्ससमेत पढाउँछन्। दशैँको छेकोमा पठन संस्कृतिबारे सामाजिक सञ्जालमा बहस चलिरहँदा उकालोले उनीसँग सोहीबारे छोटो कुराकानी गरेको छ:
किन पढ्नुपर्छ?
पढ्नुका विभिन्न आयाम छन्। नेपाली सन्दर्भमा कुनै औपचारिक परीक्षा पास गर्नका लागि पढ्ने गरिन्छ। तर पढ्नु त्यति मात्रै होइन। हाम्रो समाज त्यसै पनि पछाडि परेको छ। यसकारण समाज बदल्नका लागि पनि हामीले पढ्नुपर्छ। पढेर मात्रै हुँदैन, बुझ्नु र आत्मसात् गर्नुपर्छ, त्यहीअनुसार अभियान चलाउनु पनि पर्छ। यसो भन्दै गर्दा केबल आफ्नो मज्जाका लागि होइन, व्यक्तिको समाजप्रति दायित्व हुने भएकाले त्यसलाई ख्याल गर्दै पढ्नुपर्छ।
कतिपय धार्मिक मान्छे आफ्ना सम्प्रदायका पुराना पुस्तक पढे जीवन बदलिने दाबी गर्छन्। त्यही किताबमै जीवनका सबै सार भेटिने कुरा गर्छन्। तर साँच्चै समाज र व्यक्तिको जीवन बदल्न कस्ता र कुन किताब पढ्ने?
यो आत्मपरक प्रश्न भयो। व्यक्तिपिच्छे किताबी रुचि फरक हुन्छ। धार्मिक ग्रन्थहरू पनि पढ्नुपर्छ, तर जुनसुकै पुस्तक पढ्दा 'क्रिटिकल्ली' हेर्नुपर्छ। धर्मग्रन्थहरूले इतिहासमा समाजलाई एकताबद्ध राख्न पक्कै भूमिका खेल्यो होला, तर संसार बदलेको धर्मग्रन्थले होइन। विज्ञान, प्रविधि र नयाँ समाज विज्ञानलगायत अनेकौँ कारणले समाज यतिसम्म उन्नत भएको हो।
युवल नोआ हरारीले मानव समाजका तीन चरण; संज्ञानात्मक विकास, कृषि क्रान्ति र औद्योगिक विकास बताएका छन्। मान्छेलाई जंगलीबाट आजको सभ्यतासम्म ल्याइपुर्याउन मूल रूपमा विज्ञानको ठूलो योगदान छ। मानव जाति र सभ्यताको पछिल्लो तीव्र विकासमा विज्ञानकै हात छ। कुनै समय मान्छेलाई नियन्त्रण र अनुशासनमा राख्न विभिन्न धर्मले काम गरे, तर हरेक कुरालाई पुरानै ग्रन्थले समेट्छ भन्ने कुरा समस्याग्रस्त चिन्तन हो।
यस युगको मान्छेले आख्यान, गैरआख्यान के पढ्ने?
पढ्नुको पछाडि प्रयोजन हुन्छ। जेसुकै पढे पनि त्यसबाट व्यक्तिले के ग्रहण गर्छ भन्ने कुरा महत्त्वपूर्ण हो। आफ्नो व्यवहार र समाज रूपान्तरणमा किताबबाट के शिक्षा लिइन्छ भन्ने नै हो। थोमस पिकेटी नामका फ्रेन्च अर्थशास्त्रकी केही किताबमा फिल्महरूका उदाहरण दिन्छन्, उपन्यासका पात्रका कुरा झिक्छन्। जर्ज अर्वेल आफ्नो 'एनिमल फार्म' र '१९८४' उपन्यासका लागि प्रसिद्ध छन्। आख्यान भए पनि तिनले समाजको सही चित्रण गर्छन्। कतिपय सन्दर्भमा गैरआख्यानभन्दा बढी प्रभावकारी लाग्छ, आख्यानका सन्दर्भ। लेखक प्रेमचन्दको कफन (कात्रो) अत्यन्त प्रभावकारी छाप छोड्न सफल छ आम मान्छेमा। एल्डस हक्स्लीको 'ब्रेभ न्यु वर्ल्ड'लाई धेरै चिन्तकहरूले उद्धृत गरिराखेका हुन्छन्। जर्ज अर्वेललाई धेरै राजनीतिशास्त्रीहरूले उल्लेख गरिराखेका हुन्छन्। भन्न खोजेको के हो भने आख्यान पनि अत्यन्त प्रभावकारी हुन्छन्। त्यस कारण, पढ्ने कुरामा हामीले कन्जुस्याइँ गर्नुहुँदैन। तर एउटा मान्छेले जीवनमा सबै कुरा पढ्न सम्भव हुँदैन, त्यसकारण कमसेकम व्यक्तिले आफ्नो क्षेत्रअनुसार रुचि र विधाचाहिँ छुट्ट्याएर पढ्नु राम्रो।
पठन संस्कृति नेपाली समाजमा कस्तो छ? यदि राम्रो छैन भने किन छैन?
हाम्रो पठन संस्कृति बिजोग छ। हाम्रोमा पहिले त साक्षरता पनि कम छ, कोर्सबुक पढ्नु मात्रै पढ्नु हो भन्ने बुझाइले समस्या थपेको छ। त्यसो हुँदा सम्भव भएसम्म जीवनभर अनेकन् किताब पढ्नुपर्छ, त्यसले हाम्रो व्यक्तित्व विकासमा मद्दत गर्नुका साथै समाज बुझाउने र रूपान्तरण गर्ने काममा सहयोग गर्छ। समाज न्यायमूलक हुन्छ, जतिखेर त्यसमा समाजका मान्छे उन्नत र चेतनशील हुन्छन्।
पछिल्लो पटक केही युवा पठन संस्कृतितर्फ आकर्षित भएका छन्, केही चलेका लेखकहरू पढिरहेका पनि छन्। तर एउटा मात्रै पुस्तक र विधामा सीमित भएर पनि हुँदैन। प्रारम्भमा कसैले पाउलो कोएल्हो पढ्छ भने त्यो राम्रो नै हो, तर जीवनभर कोएल्होकै मात्र किताब पढ्छु भन्ने कुरा समस्या हो।
पठन संस्कृति कमजोर हुनुको कारण के हो?
पहिलो त गतिलो पुस्तकालय हामीकहाँ प्रशस्त छैनन्। काठमाडौँमा सीमित संख्यामा लाइब्रेरी भए पनि दूरदराजमा लाइब्रेरीहरू छैनन्। गतिला किताब पाइने पसलसमेत छैनन्। मेरै गाउँ र स्कुलमा कोर्सबुकबाहेकका किताब देख्न पाइएन। यो समस्याग्रस्त कुरा हो। बाहिरी पुस्तक पढ्ने कुरा त बच्चा हुँदाको बेलादेखि नै हामीले सिकाउनुपर्छ। शिक्षक आफैँ पनि पढ्ने संस्कारको भए त्यसले विद्यार्थीमा पनि प्रेरणा भर्छ। हाम्रोमा त अभिभावक र शिक्षकमै त्यस्तो संस्कृति कम छ।
युरोपेली र अमेरिकी साहित्य पढ्दा के थाहा लाग्छ भने टोल र गाउँमा पुस्तकालयहरू छन्। बाआमा र शिक्षकले कोर्सबुकबाहिरका पुस्तक पढ्न प्रेरणा दिइरहेका हुन्छन्। त्यसबाट अन्ततः गतिलो जनशक्ति निस्कन्छ। हाम्रोमा चाहिँ विश्वविद्यालय पढेका मान्छेले पनि कोर्सबुकबाहिरका पुस्तक बिरलै पढ्छन्। विश्वविद्यालय पढ्दा मेरा शिक्षकहरू 'कोर्सबुकको कुरा छाडौँ, विद्यार्थीहरू गेस पेपर पढेर पास हुन्छन्' भन्ने गर्थे।
कुनै समय ज्ञानको प्रमुख स्रोत किताब हुनसक्थ्यो। किताबले जे भन्थ्यो, त्यही अन्तिम सत्य हुन्थ्यो। छापिएका सबै कुरा सत्य हुन्छन् कि हुँदैनन्?
छापिएका सबै चीज सत्य हुँदैनन्। पछिल्लो पटक मैले पढिराखेको किताब 'पावर एन्ड प्रोग्रेस' भन्ने छ। त्यसमा विश्व सभ्यताका अनेक कुरा छन् र पानामा नहर बनाएको सन्दर्भ पनि छ। त्यो सबै भनिरहँदा लेखकले एउटा तथ्य लुकाएका छन्। कोलम्बियाबाट अमेरिकाले पानामा खोसेको भन्ने इतिहासकारहरूको मत छ। तर उनले त्यसमा यो कुरा उल्लेख गरेका छैनन्। तर त्यो थाहा पाउन हामीले यसबारे अन्य पुस्तकहरू पढ्नुपर्छ। हामीले बहुआयामिक 'न्यारेसन' पक्डिन सक्यौँ भने सत्यको नजिक पुग्छौँ।
जीवनमा एक-दुई वटा मात्र किताब पढ्दा त्यसबाट मात्रै मान्छे प्रभावित हुने रहेछ। धेरै किताब पढ्दा चाहिँ सबै पुस्तकका ज्ञान सँगालेर मान्छे थप 'क्रिटिकल' र सामग्री सम्पन्न हुनपुग्नेरहेछ, हाेइन?
कतिपय मान्छे जन्मजातै आलोचनात्मक चेत राख्ने पनि हुँदा रहेछन्। थोरै साक्षर मान्छे पनि एकदमै जिज्ञासु, समालोचनात्मक र तर्कशील भेटिन्छन्। यता, धेरै पुस्तक र कोर्स पढेका कतिपय मान्छे आधारभूत विषयमा समेत आलोचनात्मक दृष्टि राख्न नसकिरहेका भेटिन्छन्। तर पुस्तक अध्ययनले मान्छेलाई टेवा त अवश्य पुर्याउँछ। त्यसो हुँदा सम्भव भएसम्म पढ्नुपर्छ।
हाम्रो समाजमा आलोचनात्मक चेतको विकास नहुनुमा हाम्रो पठन संस्कृति पनि जिम्मेवार छ?
एकदमै छ। जस्तो कि: सानैदेखि हामीलाई क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाए भनियो। अहिले पनि विद्यालयको पाठ्यपुस्तकहरू हेर्दा हामी त्यही भेट्छौँ। तर इतिहासकारहरू नोम चोम्स्की, हवार्ड जिन र डेरेन एस मुग्लुले समेत पत्ता लगाएको भन्ने विषयलाई कथित भनिएको छ। अनेकौँ विरोधी मतहरूले कोलम्बसले अमेरिका पत्ता लगाएको नभएर उनी त्यहाँ पुग्नुअघि नै लाखौँ करोडौँ मान्छेहरू त्यहाँ बस्ने गरेको बरु उनले त्यहाँ गएर त्यहाँका आदिवासीमाथि नरसंहार मच्चाएको उल्लेख छ। यसबाट के ठहर्छ भने समाजको चेतना विकासमा पठन संस्कृति आवश्यक छ।
पहिले ज्ञान छापा माध्यममा सङ्गृहीत हुन्थ्यो, तर अहिले त वेब माध्यममै पनि तथ्यहरू अनेकौँ स्वरूपमा उपलब्ध छन्। त्यसो हुँदा ज्ञानका लागि किताबै पढ्नुपर्छ भन्ने छ त अब?
ज्ञान प्राप्त गर्न किताब मात्रै पढ्नुपर्छ भन्ने छैन। समाज आफैँमा खुला किताब हो।समाजमा ज्ञानका प्रशस्त स्रोत छन्। कतिपय व्यक्तिका अनुभव आफैँमा ज्ञानका स्रोत हुन सक्छन्। सामाजिक सञ्जालबाट कतिपय महत्त्वपूर्ण तथ्य र जानकारी प्राप्त हुन्छन्। मूलधारका मिडिया र लेखकले नल्याएका न्यारेटिभसमेत सामाजिक सञ्जालमा भेटिन्छन्। अहिले इजरायल र प्यालेस्टाइन संकट बढ्दो छ। सीएनएन र बीबीसीले गरेको 'कभरेज' र सञ्जालमा समालोचात्मक धारणा राख्नेका बीच धेरै फरक देखिन्छ। त्यसको अर्थ ज्ञानका स्रोतका माध्यम र सन्देशवाहकहरू बिस्तारै बदलिँदैछन्। यी सबै कुरा हुँदै गर्दा हामीले तथ्यहरूको कत्तिको परीक्षण (फ्याक्ट चेक) गरिरहेका छौँ भन्ने कुरा महत्त्वपूर्ण छ।
तपाईंलाई महत्त्वपूर्ण लागेका किताबहरूको नाम उल्लेख गर्नुस् न।
नोम चोम्स्कीको हेजिमोनी एन्ड सर्भाइबल, हवार्ड जिनको अ पिपुल्स हिस्ट्री अफ दि युनाइटेड स्टेट्स, हा जुन चाङको ट्वन्टी थ्री थिङ्स दे डन्ट टेल अबाउट क्यापिटलजिम्। एन्ड्रयु फाइन्स्टाइनको स्याडो वर्ल्ड। नाओमी क्लेनको द शक डक्ट्रिन, अर्नेस्टो स्क्रेपेन्टीको लिबर्टेरियन कम्युनिजम। मिखाइल बाकुनिनको स्ट्याटिजम् एन्ड अनार्की। पिटर क्रोपोट्किनको द कन्क्वेस्ट अफ् ब्रेड। कार्लमार्क्सको जर्मन आइडियोलोजी।
अन्त्यमा केही भन्न बाँकी छ?
कतिपय घरमा पुस्तक छैनन्, तर तिनै घरमा मदिराको बोतल सोकेसमा सजाएर राखिएको हुन्छ। हाम्रा अभिभावकदेखि सबै व्यक्ति यस्ता कुरामा अलि जिम्मेवार हुनुपर्छ। परिपक्व मान्छेलाई म रक्सी नखानुस् भन्दिनँ, तर रक्सी सेवनभन्दा बढी चाहिँ पुस्तक सेवनतिर लाग्नैपर्छ। घरमा एउटा गतिलो लाइब्रेरी मात्रै हामीले बनायौँ भने त्यस घरमा पुग्ने पाहुनालाई त्यसले पक्कै प्रभाव पार्ला। बालबालिकालाई त झनै बढी प्रभाव पर्छ। त्यसो गर्न सक्दा पठन संस्कृतिको हामीले प्रवर्द्धन गर्न सक्ने थियौँ। पढ्ने मान्छेले नै समाजको अन्तर्वस्तु नियाल्न सक्ने भएकाले पठन संस्कृतिको प्रवर्द्धन आवश्यक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
