Sunday, May 12, 2024

-->

उद्यममा महिला: कानून र नीतिले मात्र हुँदैन

सन् २०१९ मा गार्डियनमा क्यारोलाइन क्रियाडो पेरेजले उल्लेख गरेअनुसार अहिले पनि कारको डिजाइन पुरुषलाई सहज हुने गरी बनाइन्छ, जबकि महिला र पुरुष दुबैलाई ख्याल गरेर त्यसको डिजाइन हुनुपर्ने हो।

उद्यममा महिला कानून र नीतिले मात्र हुँदैन

'जब नारी अगाडि बढ्छन्, परिवार चल्छ, गाउँ चल्छ र राष्ट्र चल्छ,' पण्डित जवाहरलाल नेहरू यसै भन्ने गर्थे। महिला सशक्तीकरण र देश विकासका प्रमुख आधारका रूपमा महिला उद्यमीलाई लिन सकिन्छ। जुनसुकै खालका व्यावसायिक उद्यम गर्ने महिलाले हाम्रोजस्ता समाजमा आत्मविश्वास, रचनात्मकताको सञ्चार गर्छन्, किनभने युगौँदेखि महिलालालाई घरधन्दा र खेतबारीभन्दा पर पुग्न दिइएको थिएन। पुरुषसत्ताले त्यसमा आफू अत्यन्त असुरक्षित रहेको ठान्नेगर्थ्यो।   

१९औँ शताब्दीबाट 'महिला उद्यमी' शब्दको प्रयोग शुरू भएको मानिन्छ। मध्य १८औँ शताब्दीमा भारतीय महिलाहरू खुद्रा पसल, साना हाते करघा (तान) र अन्य खालका व्यवसायमा संलग्न थिए। तर थोरै मात्र महिला आफ्नै पेशा र सीपका सञ्चालक या मालिक हुने गर्थे, आफ्नै सिर्जनाका हर्ताकर्ता भने अरू नै हुन्थे। धेरैजसोको हालत मजदुर या दासको थियो। 

खासगरी २० र २१औँ शताब्दीमा विश्वभर आएका मानवअधिकार र लोकतन्त्रका जागरणले महिलाको समेत स्थिति बदल्न मद्दत गर्‍यो। बिस्तारै चोटाकोठा र बिच्छ्यौनाबाट निस्केर महिलाले सम्पत्तिमा आफ्नो हक दाबी गरे। त्यसबाट आर्थिक स्वतन्त्रताको मार्ग खुकुलो हुँदै गयो। अझै पनि पैतृक सम्पत्तिमा महिला लडाइँ सर्वत्र जारी छ, तर कतिपय मुलुकका संविधान र कानूनले महिलाले सम्पत्ति राख्न पाउने हक प्रदान गरेका छन्। व्यावहारिक पाटो अर्को रह्यो।   

सम्पत्तिमा अधिकारसँगै २१औँ शताब्दीमा महिला उद्यमीहरूको संख्या विश्वभर बढ्दै गएको छ। नेपालमा प्रजातन्त्रको दोस्रो झुल्केघाम उदाउनुपूर्व उद्यमहरूमा महिलाको भूमिका सहायक र सहयोगी थियो, ठूला व्यापार गर्न या साना दोबाटोका दोकान चलाउने सन्दर्भमा महिलालाई धौ नै थियो। सन् १९९० ताका देशले प्रजातान्त्रिक राजनीतिक पद्धति अपनाएपछि बिस्तारै महिलाको सार्वजनिक उपस्थिति देखिन थाल्यो। उसो त, राजनीतिक आन्दोलनमा समेत महिलाहरू जुटेकै थिए।  

भुईंतहमा महिला उद्यमीका हामीसँग रेकर्ड छैनन्, तर पनि याङ्जी शेर्पा, अम्बिका श्रेष्ठ, रिता थापा, म्याग्गी शाह, रेन्चिन योञ्जन, श्याम बदन श्रेष्ठ, शान्ति चड्ढा, नीलम पाण्डे, मोहिनी लामा, वृन्दा राणालगायतका अनुहार उद्यमीका रूपमा उदाए, तर यी नामले खास वर्गको प्रतिनिधित्व गर्छन्। 

केन्द्रीय तथ्यांक कार्यालयले आफ्नो पछिल्लो प्रतिवेदनमा नेपालको २९.८ प्रतिशत उद्योगमा महिलाको स्वामित्व रहेको र २ लाख ४७ हजार ८८० नेपाली उद्यम रहेको बताएको छ। यो वास्तवमै राम्रो संकेत हो र यसले नेपालमा महिलाहरू आर्थिक रूपमा स्वतन्त्र हुँदै गएको संकेत गर्छ। यसले महिलाको बदलिँदो भूमिकाको संकेत पनि गर्छ, तर यो यस तथ्यांकमा अनौपचारिक तथा दर्ता नभएका साना क्षेत्र समेटेको छैन।  

उद्यमी हुनुको अर्थ आर्थिक रूपमा स्वतन्त्रताको यात्रा तय गर्नु हो। त्यसो हुँदा आम महिला र उद्यमी महिलाको जीवनमा धेरै भिन्नता पाइन्छन्। उद्यम गर्ने महिला आर्थिक रूपमा अन्यभन्दा स्वतः सबल हुन्छन्। आर्थिक रूपमा बलियो हुनुले आत्मविश्वास बढाउँछ। त्यसो हुँदा उद्यमी महिलाले आफू र आफ्नो परिवारलाई शिक्षित र समृद्धि, स्रोत सम्पन्न बनाउँछन्। 

त्यसमाथि, उद्यमीको मात्र नभएर तिनले सिर्जना गरेको व्यवसायमा अरूहरूले कामको अवसर पाउँछन्। महिला र पुरुष दुवैका निम्ति अवसर सिर्जना गर्छन्। लामो समयसम्म संसारका व्यापार–व्यवसाय पनि पुरुषमैत्री भयो र आर्थिक धन्दा पनि पुरुषकै कोणबाट गरियो। सन् २०१९ मा गार्डियनड्टकममा क्यारोलाइन क्रियाडो पेरेजले उल्लेख गरेअनुसार अहिले पनि कारको डिजाइन पुरुषलाई सहज हुनेगरी बनाइन्छ, जबकि महिला र पुरुष दुवैलाई ख्याल गरेर त्यसको डिजाइन हुनुपर्ने हो। यसबाट महिलाहरू उद्यममा सहभागी नहुनुको परिणामलाई संकेत गर्छ। 

उद्यममा महिला सहभागी हुनेबित्तिकै तिनले महिलाका आवश्यकता र अवस्थालाई ख्याल गरेर नयाँ उत्पादन र सेवासमेत सिर्जना गर्ने सम्भावना बढ्छ। उद्यममा महिलाको सहभागिताले कतिपय सामाजिक आवश्यकताका नयाँ समाधानसमेत निस्कन्छन्। 

उद्यममा महिलाको सहभागिताले परिवार र समुदायको कल्याण, गरिबी निवारण र महिला सशक्तीकरणमा योगदान गर्छ। तिनको आत्मसम्मान र समताका विषयसमेत महिला उद्यममा जोडिन्छन्। उद्यमशीलतामा महिलाको संलग्नताले महिलाप्रति पहिलेदेखि राखिएको सोचमा पनि परिवर्तन आउँछ। 

घरपरिवारको आर्थिक अवस्था र बढ्दो महँगीमा जीवनस्तर कायम राख्न थप आम्दानीको आवश्यकता भएका कारण महिलाहरू व्यापार व्यवसायमा प्रवेश गर्न थालेका छन्। महिलालाई उद्यमी बन्न बाध्य पार्ने अर्को बलियो प्रेरक शक्ति भनेको आत्मविश्वास र आत्मसम्मानका साथ स्वतन्त्र जीवन बिताउनु पनि हो। 

चुनौती र अवसर
आम महिलाले झैँ नेपाली महिला उद्यमीले पनि लैंगिक विभेदको सामना गर्नुपर्ने हुन्छ, घरदेखि समाजसम्म। आर्थिक रूपमा महिला बलियो हुँदा खासगरी आफ्ना पतिले महसुस गर्ने थ्रेट (असुरक्षा) घरबाटै शुरू हुन्छ। पुरुष पार्टनरले महसुस गर्ने असुरक्षा त छँदैछ, घरबाहिरका यात्रामा महिला स्वयंले महसुस गर्ने असुरक्षा पनि थपिन्छ, जबकि उद्यम र व्यापारमा जनसम्पर्कका लागि यात्रा प्राय: अनिवार्य हुन्छ। सोही कारण व्यावसायिक सञ्जाल बनाउनसमेत महिलालाई सहज हुँदैन, उनीहरूलाई ग्राहक, साझेदार, आपूर्तिकर्ता, वा लगानीकर्ताहरू फेला पार्न असहज हुन्छ।

जति नै आर्थिक रूपमा बलियो भए पनि महिला पुरुष अधीन हुन् र हुनुपर्छ भन्ने सोच पुरुषसत्ताले लामो समय लगाएर निर्माण गरेको मनोविज्ञान हो, जसबाट अत्यन्त शिक्षित पुरुष पनि हत्तपत्त मुक्त हुन सकेका छैनन्। त्यसका अलावा महिलाका पारिवारिक र खास गरी भावनात्मक दायित्व धेरै हुनेगर्छ।  

नेपालको संविधानले आमाबाबु वा पैतृक सम्पत्तिमा महिलाहरूलाई समान अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेको छ। यद्यपि,  पितृसत्ताका अभ्यास, मान्यता र परम्पराले महिलालाई आफ्नो अधिकार प्रयोग गर्नसमेत गाह्रो बनाएको छ। यसबीच पनि सबै खालका पारिवारिक झमेला र उत्पीडन झेल्दै कतिपय महिलाहरू उद्यमीका रूपमा उदाइरहेका छन्, उदाउँदै छन्। कतिपयले त साना र सीमान्तकृत बागवानी किसान स्थानीय युवासँग मिलेर आर्थिक अवसर सिर्जना गरेका छन्। 

बढ्दो पुरुष जनसंख्याको श्रम आप्रवासन, तथा बढ्दो लैंगिक समानता र महिला शिक्षाका कारण हिजोसम्म घरकोठामा सीमित महिला उद्यममा संलग्न हुन थालेका त छन् नै, बैंक तथा सहकारी संस्थाले पनि आर्थिक साथ दिएका छन्। कतिपय प्रगतिशील परिवारले महिला उद्यमीलाई प्रोत्साहनसमेत गर्दै आएका छन्।

व्यापार तथा व्यवसायमा महिलाको बढ्दो संलग्नता देखेर नेपाल सरकारले महिला उद्यमीका निम्ति अलि सहज हुने गरी नियम बनाएको छ। छोराछोरी दुवैलाई समान सम्पत्तिको हक दिने, महिलालाई आयकरमा छुट, महिलाका नाममा घरजग्गा खरिद गर्दा कर छुटका प्रावधान छन्। विभिन्न तहका सरकारले महिला उद्यमीलाई उद्यमबारे सीप र ज्ञानसम्बन्धी तालिम पनि दिँदै आएको छ। नेपाल सरकारले महिला उद्यमीहरूलाई आर्थिक र प्राविधिक सहयोगसमेत प्रदान गर्दै आएको छ। तर दुःखको कुरा, यी सुविधा र प्रावधानबारे थोरैले मात्र जानकारी पाउँछन्। महिला हक, अधिकार, सुविधा र नयाँ जानकारीबारे एकीकृत सूचना प्रणाली छैन। 

समाजको विकासलाई समग्रतामा हेर्नुपर्छ। आर्थिक तथ्यांकमा मात्र नभएर सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक र लैंगिक न्यायका कुरा पनि जोडिन्छन्। आजसम्म व्यापारी र उद्यमी भनेका केबल पुरुष हुन् भन्ने भाष्य स्थापित भइरहेका अवस्थामा महिलाहरू उद्यमीमा रूपमा उदाउनु सुन्दर हो। तर अनेकन् जटिलता र जिम्मेवारीका कारण महिलाको उद्यम यात्रा सहज छैन। त्यसका लागि महिलाका समस्या बुझेर  राज्यका निकायले नीति नियम मात्रै बनाएर हुँदैन, नियम लागू गराउनका लागि पनि सबै खालका प्रयत्न गर्नु आवश्यक छ।


चौधरी पक्लिहवा कृषि क्याम्पस रुपन्देहीमा कृषि स्नातक तह पाचौँ सतान्तमा अध्यनरत छन्।
 


सम्बन्धित सामग्री