Tuesday, April 30, 2024

-->

नेपाली कागजको बजार छ, लोक्ता पाउनै मुस्किल (भिडियो कथा)

नेपाली कागज बनाउन प्रयोग हुने लोक्ता ताप्लेजुङ, बझाङ, बाजुरालगायत जिल्लाका वनमा पाइन्छ। तर लोक्ता संकलन गर्ने युवा विदेश पलायन हुँदा काठमाडौँका नेपाली कागज उद्योग प्रभावित बनेका छन्।

नेपाली कागजको बजार छ लोक्ता पाउनै मुस्किल भिडियो कथा
तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ- अर्पणा डंगोलले नेपाली कागज बनाउन थालेको ३० वर्ष भयो। काठमाडौँमा जन्मिएकी उनी बिहे गरेर भक्तपुर पुगेपछि जीवनको बाटो बदलिएको थियो। त्यही बाटोले उनलाई उद्यमी बनाएको हो।

अर्पणाले २०४६ सालमा रामनारायण प्रजापतिसँग मागी विवाह गरेकी हुन्। काठमाडौँ र भक्तपुरका नेवारको भाषा र संस्कृति फरक छ। नयाँ ठाउँ र परिवेशमा नेवारकै भाषा र संस्कृति फरक भएको चाल पाउँदा त्यसबेला उनलाई अचम्म लागेको थियो।

फरक परिवेशमा दैनिकी चलाउन उनलाई शुरूमा अप्ठ्यारो भएको थियो। उनका श्रीमान् रामनारायण काष्ठकलाको काम गर्थे। भक्तपुरको दत्तात्रेय मन्दिर छेउमै काष्ठकलाको पसल थियो। विवाहपछि यो दम्पतीले काष्ठकलासँगै नेपाली कागजको पसल पनि राख्ने निर्णय गरे। 

उनीहरूले युनिसेफको सहयोगमा कागज आयात गरेर बेच्ने गरेका थिए। मागअनुसार कागज आयात हुन र ग्राहकलाई सन्तुष्ट पार्न नसक्दा यो दम्पतीले आफैँले कागज बनाउने उद्योग थाले।

नेपाली कागज लोक्ताबाट बन्छ। तर प्रविधिको विकाससँगै कागज बनाउने तरिका फेरिएको अर्पणा बताउँछिन्।

पहिला कागज बनाउन लोक्तालाई हातैले कुट्नुपर्थ्यो। त्यसपछि घाममा समेत गरी २४ घण्टा सुकाउन पर्थ्यो। अचेल भने मेसिनले लोक्तालाई पेलेर कागज तयार गरिन्छ। नेपाली कागज बनाउन लोक्ताबाहेक अन्य कच्चा पदार्थ चाहिँदैन। लोक्ता वनमा पाइने भएकाले सङ्कलन गर्न भने समस्या हुने अर्पणा बताउँछिन्।

"जंगलमा लोक्ता अभाव हुँदा कतिपय कागज उद्योगहरू बन्द भइरहेका छन्। हामीले भने हाम्रो लागि आवश्यक पर्ने लोक्ता अगाडि संकलन गरेर राख्ने हुदाँ अहिलेसम्म समस्या भोग्नु परेको छैन," उनी भन्छिन्।

उनीहरू विशेषगरी ताप्लेजुङ, बझाङ, बाजुरालगायत जिल्लाबाट लोक्ता मगाउँछन्। काठमाडौँको गोकर्णबाट पनि लोक्ता मगाएर भण्डारण गर्ने गरेका छन्।

लोक्ता टिप्न सरकारको स्वीकृति लिएर मात्र जंगलमा प्रवेश गर्न पाइन्छ त्यसकारण लोक्ता सङ्कलन गर्न समस्या भइरहेको अर्पणा बताउँछिन्। उनी भन्छिन, "सरकारले हामीजस्तो उद्यमीको लागि केही गरेको छैन। डीएचएल पोस्ट महँगो हुने भएकाले कति ग्राहकहरूबाट आएको मागसमेत पूरा गर्न गार्हो भएको छ। माग गर्ने कतिपयलाई त हामीले दिनै सकेका छैनौँ।"

लोक्ताबाट बनेका नेपाली कागज धेरै समयसम्म टिकाउ हुन्छ। अदालत, मालपोतलगायत सरकारी कार्यालयको अभिलेखका लागि नेपाली कागजको प्रयोग हुन्छ। तर सरकारी कार्यालयले उचित मूल्य नदिने गरेको कारण अहिले पुर्‍याउन छाडेको उनी बताउँछिन्।

चित्र, कुण्डली आदिका लागि पनि नेपाली कागज प्रयोग हुन्छ। अक्षर नमेटिने र किराले पनि नखाने हुदाँ लामो समय राख्नुपर्ने कागजपत्रका लागि नेपाली कागज प्रयोग हुने अर्पणा बताउँछिन्। कुनै समय जिरा, मसला, मिठाईलगायत खाद्यसामग्री प्याक गर्नसमेत नेपाली कागज प्रयोग हुन्थ्यो।

युवा पुस्ता विदेशिएसँगै लोक्ताको गुणस्तर कमजोर हुँदा कागजको गुणस्तर पनि घटेको अर्पणा बताउँछिन्। लोक्ता संकलन गर्न जंगल जाने युवा नै गाउँबाट पलायन भएको उनको भनाइ छ। जसकारण कागजमा लोक्ता मात्र नभएर अन्य कागज पनि मिसाउने गरेको पाइन्छ। "लोक्ताको गुणस्तर घट्दा बजारमा यसको माग पनि घट्दै गइरहेको छ," अर्पणा भन्छिन्।

पहिला अर्पणा दम्पतीको उद्योगमा विदेशीले लोक्ताबाट बनेको कागज धेरै मगाउँथे। अहिले नेपालीले पनि उपहारमा लोक्ताबाट बनेका नोटबुक, डायरी वा ग्रिटिङ कार्डहरू पनि दिने गरेका छन्।

नेपाली कागजको मूल्य लोक्ताको गुणस्तरअनुसार फरक हुने गरेको छ। आफूहरूले लोक्तामा मिसावट नगरी कागज बनाउने हुँदा केही महँगो पर्ने अर्पणा बताउँछिन्। उनीहरू एक कुरी अर्थात् २०० पिस कागजको मोटाइअनुसार ८ हजार देखि १० हजार रुपैयाँमा बेच्छन्। पहिले १५० रूपैयाँमा बच्ने गरेको डायरी अहिले ५०० रुपैयाँसम्म पर्ने उनी बताउँछिन्।

उनीहरूको उद्योगमा पनि कोरोना महामारीको प्रभाव पर्‍यो। कोरोनाअघि २० कामदार थिए। कोरोनामा लामो समय काम बन्द हुँदा आर्थिक नोक्सानी भयो। अहिले उद्योगमा आठ कामदार मात्र छन्। "कोरोनापछि त उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको थियो। अहिले एक वर्ष मात्र भयो राम्रोसँग उद्योग संचालन हुन थालेको," अर्पणा भन्छिन्।

अहिले छोरी समृद्धिले पनि उद्योगको काममा सघाउन थालेकी छन्। लोक्ता कागजको व्यापारलाई आधुनिक तरिकाबाट अझै राम्रो बनाउँदै लैजाने समृद्धिको योजना छ। पढाइ सकेपछि यही उद्योगलाई निरन्तरता दिने उनी बताउँछिन्।

भिडियो कथा


सम्बन्धित सामग्री