Friday, May 03, 2024

-->

चाडपर्वमा ‘नभई नहुने’ नयाँ नोटः जतन नगर्दा नोटको आयु घट्छ, लागत बढ्छ

केन्द्रीय बैंकले बर्सेनि पुराना, झुत्रा भइसकेका वा खुइलिएका नोटहरू फिर्ता लिएर नष्ट गरी नयाँ नोट बजारमा पठाउँदै आएको छ। तर प्रयोगकर्ता सचेत नहुँदा नेपाली नोटहरू औसत आयु नसकिँदै प्रयोगबाट बिदा हुन्छन्।

चाडपर्वमा ‘नभई नहुने’ नयाँ नोटः जतन नगर्दा नोटको आयु घट्छ लागत बढ्छ

काठमाडौँ– नयाँ र कट्कटाउँदा नोटहरू दशैँको पर्याय जस्तै भइसकेका छन्। मान्यजनहरूले टीका, जमरा र आशीर्वादसँगै दिने दक्षिणामा नोट नभई हुँदैन। राष्ट्र बैंकले प्रत्येक वर्ष दशैँका बेलामा ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउँछ। दशैँ र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १५ अर्ब रुपैयाँ हाराहारीको नयाँ नोट सटहीमार्फत सर्वसाधारणको हातमा पुग्ने गरेको छ।  

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार २०६० सालअघि दशैँका बेलामा नयाँ नोट सर्वसाधारणलाई वितरण गर्ने चलन थिएन। सीमित व्यक्तिको पहुँचमा मात्र यस्तो सुविधा थियो।

“नयाँ नोट भनेको निरन्तर प्रक्रिया हो। अर्थतन्त्रलाई कति पैसा चाहिन्छ त्यसैअनुसार कुन–कुन दरको नोट कति छपाइ गर्ने भन्ने निर्धारण नियमित प्रक्रियाबाटै हुने हो। तर पहिला जसलाई चाख लाग्छ उनीहरूले लिएर जान्थे। क्रमशः शक्ति र पहुँच लगाएर लैजाने क्रम बढ्यो। त्यसपछि यसलाई सामान्य किसिमले सबैको पहुँचमा किन नपुर्‍याउने भनेर २०६०/६१ सालदेखि सटही सुविधा शुरू गरिएको हो,” उनले भने।

यसरी दशैँमा राष्ट्र बैंकबाट बजारमा गएको नयाँ नोट निकै छोटो अवधिमै पुनः फर्किने गरेको पनि क्षेत्री बताउँछन्। दशैँमा यसरी बाहिर निस्किएको नोट करिब–करिब दशैँ सकिएको १०/१५ दिनपछि नै फेरि फर्किएको राष्ट्र बैंकको इतिहास छ। पहिले वितरण गर्दा सफा र सुकिलो देखिने नोट फर्किने बेलामा भने दशैँको टीकाले पूरै रंगीचंगी भएर फर्किन्छ। “धेरैजसो नोटहरू अबिर र तेल लगाएको अवस्थामा राष्ट्र बैंक आइपुग्छन्,” पूर्वगभर्नर क्षेत्रीले भने।

हरेक वर्ष नयाँ नोट बजारमा पठाउनु र पुरानो भएर झुत्रिएका, मैला र पुनः प्रयोग गर्न नमिल्ने नोटहरू बजारबाट उठाएर नष्ट गर्नुलाई केन्द्रीय बैंकले एउटा नियमित कामका रूपमा निरन्तर गर्दै आएको  छ।  


राष्ट्र बैंकले पाँच, दश, बीस, पचास, एक सय, पाँच सय र एक हजार दरका गरी विभिन्न सात प्रकारका नोटहरू तीन वर्षलाई पुग्ने गरी छपाइ गर्छ। नेपाली मुद्राको छपाइ अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट सुरक्षण मुद्रण कम्पनी (सेक्युरिटी प्रिन्टिङ कम्पनी) छनोट गरी सोही कम्पनीमार्फत गरिन्छ। कच्चा पदार्थ बाहिरबाट आयात गरेर नेपालमा नोट छाप्नुभन्दा ‘ग्लोबल टेन्डर’बाट छानिएका मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने भएपछि इन्डोनेसिया, चीन लगायतका मुलुकहरूमा छपाइ गर्दै आएको छ। 

मुलुकको आवश्यकता र मागअनुसार एक पटकमा २० देखि ४० करोड थान नोटहरूको छपाइ हुने राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ। मुद्रास्फीतिको दर, बजेटको आकार, विनिमयदरको अवस्था, विपे्रषणको प्रवाह, भुक्तानी सन्तुलन, नोटको मौज्दात लगायतका मापदण्डलाई हेरेर नोट छपाइ प्रक्रिया अघि बढाइन्छ। नोट छपाइका लागि मात्र वार्षिक दुई अर्ब रुपैयाँ खर्च हुने गरेको तथ्यांक छ।

साना दरका नोट छपाइ बढी खर्चिलो
केन्द्रीय बैंकका अनुसार सानो दरका नोटको छपाइ बढी खर्चिलो हुन्छ। पाँच सय र एक हजार दरका ठूला नोटभन्दा साना नोटको छपाइ बढी खर्चिलो हुने राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल बताउँछन्। “सानो नोटलाई हामी जतन गर्दैनाँै। छिट्टै सानो नोट पुरानो हुन्छ। एक हजारको नोट चलनचल्तीमा पनि कम चल्ने भयो। राख्दा पनि अलिकति सुरक्षित राखिन्छ। पाँच, दश र बीसको नोट मन्दिरमा चढाउनेदेखि धेरै ठाउँमा प्रयोग हुन्छ। सानो दरको नोटमा लागत बढी भएको त्यही कारणले पनि हो। त्यसको आयु पनि कम हुन्छ, तीन वर्षभन्दा बढी चल्नै सक्दैन। थोरै आर्थिक कारोबार गर्ने वर्गहरूमा त्यस्ता नोटहरू धेरै चल्छन्। यी विविध कारण लागत बढी पर्न जान्छ।”

लागत महँगो पर्ने हुनाले नै केन्द्रीय बैंकले एक–दुई रुपैयाँ दरका नोट छाप्न बन्द गरिसकेको छ। एक र दुई रुपैयाँका सिक्काहरू मात्र बन्दै आएका छन्। एक रुपैयाँको सिक्का छपाइका लागि त्यसको मूल्यभन्दा दोब्बर बढी अर्थात् साढे दुई रुपैयाँ ४० पैसा खर्च हुने गरेको छ। टेन्डर प्रक्रिया, ढुवानी खर्च, कामदारको ज्याला लगायतका कारणले यस्तो खर्चमा सधैँ एकरूपता भने हुँदैन। 


एक हजार रुपैयाँको नोट छपाइ गर्नुभन्दा ५०० दरका नोट छपाइ बढी खर्चिलो छ। राष्ट्र बैंकका अनुसार ५०० रुपैया“ दरको नोट छपाइका लागि प्रतिनोट ६ रुपैयाँ ६८ पैसा र एक हजार दरको नोट छपाइका लागि तीन रुपैयाँ ३७ पैसा खर्च हुन्छ । यस्तै पाँच रुपैयाँको नोट छाप्न  औसतमा एक रुपैयाँ ६८ पैसा,  पचास रुपैयाँको नोट छाप्न दुई रुपैयाँ ६७ पैसा र १०० को नोट छाप्न दुई रुपैयाँ ९९ पैसा खर्च लाग्छ। ५०० रुपैयाँ दरको नोटमा अतिरिक्त सुरक्षा विशेषताका कारण छपाइ खर्च बढी लाग्ने केन्द्रीय बैंकका सहप्रवक्ता पोखरेल बताउँछन्।

केन्द्रीय बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अघि सारे पनि चलनचल्तीमा नोटको प्रयोग नै उच्च छ। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्म ६ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा छन्। त्यसअघिको वर्ष भने ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका नोटहरू चलनचल्तीमा थिए। बजारमा हरेक वर्ष नयाँ नोट थपिँदै जाँदा काम नलाग्ने बनेर ठूलो परिमाणमा नोटहरू फेरि केन्द्रीय बैंकमै फिर्ता भइरहेका हुन्छन्। नोटको सुुरक्षा गर्नुुपर्छ भन्ने चेतना कम हुुँदा नेपालमा औसत आयु अगावै नोट झुत्रा हुन पुुग्छन्। 

नयाँ नोटले बढाउँछ लागत
मानिसहरूले नोट कति समयसम्म टिक्छ भन्ने कुरा हेक्का नराखीकन चाडपर्वका बेला अबिर लगाउने, तेलमा पार्ने, पानी छर्किनेजस्ता क्रियाकलाप गर्दा नोटको आयु घटेको पूर्व गभर्नर क्षेत्री बताउँछन्। “यसले छपाइ लागत बढी हुनुका साथै चाडपर्व लक्षित वितरण गर्दा नोटको आयु पनि घट्छ। हाम्रो आफ्नो मुलुकमा नोट छपाइ गर्ने प्रेस छैन। बाहिरबाट छपाउने गर्दा लगातार लागत बढ्दै गएको छ,” उनले भने।

नोटको जतन गर्दा राज्यलाई कम भार पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्य बताउँछन।


नोटको आयु कति हुन्छ?
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार नोट अनुसारको मोल फरक भएजस्तै यसको आयु पनि फरक हुन्छ। औपचारिक अध्ययन नगरिए पनि एक सयभन्दा साना दरका नोटको आयु साढे दुई वर्षसम्म हुन्छ । पाँच सय र एक हजार दरका नोटहरू साढे तीनदेखि चार वर्षसम्म टिक्छन्। केन्द्रीय बैंकले सर्वसाधारणले दैनिक रूपमा प्रयोग गरिसकेका झुत्रा, मैला, च्यातिएका, केरमेट भएर प्रयोगमा ल्याउन नमिल्ने नोटहरू संकलन गरेर त्यसलाई नष्ट गर्दै आएको छ। 

काम नलाग्ने भएका नोटहरू २०२२ सालदेखि नष्ट गर्दै आएको राष्ट्र बैंकले डेढ वर्षदेखि त्यसको ब्रिक्रेट बनाउँदै आएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख शाक्यका अनुसार, झुक्रिएका तथा काम नलाग्ने नोटहरू राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित, नेपालगञ्ज, वीरगन्ज, पोखरा, विराटनगर, धनगढी, जनकपुर र भैरहवा शाखा कार्यालयहरूबाट पनि ब्रिक्रेट बनाउने काम हुन्छ। आगो लगाएर जलाउँदा प्रक्रिया झन्झटिलो हुनुका साथै वातावणमैत्री समेत नहुने भएकाले अयोग्य नोटलाई बिक्रेट बनाएर बिक्री गरिएको शाक्य बताउँछन्।

केन्द्रीय बैंकले वार्षिक रूपमा ४० अर्बभन्दा बढी मूल्य बराबरका विभिन्न सात वटा दरका नोटबाट बिक्रेट बनाउँदै आएको छ । 

नोट जतन नगर्दा कस्तो सजाय हुन्छ?
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि २०७३ वैशाख १२ गते ‘सफा नोटसम्बन्धी नीति २०७३’ जारी गरेको थियो जसमा आफ्नो बैंक तथा वित्तीय संस्थामा प्राप्त हुन आएका नोटहरूलाई एटीएम लगायतका मेशिनहरूको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनु पर्ने व्यवस्था छ। 


नोटमा ‘स्टिच’को प्रयोग गर्न नहुने, आवश्यकताअनुसार रबर, प्लास्टिक, पेपर ब्यान्ड प्रयोग गर्न सकिने नीतिमा उल्लेख छ। साथै नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने/गराउने व्यवस्था मिलाउनुपर्ने पनि सफा नोटसम्बन्धी नीतिमा उल्लेख छ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ लागेको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई पुनः निष्कासन अयोग्य नोटको रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। त्यस्ता नोटलाई चलनचल्तीमा नपठाउन बैंक तथा वित्तीय संस्थालाई भनिएको छ।

यस्तै, नोटलाई नोक्सान हुुनबाट जोगाउन नेपालको कानूनमै नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुुने व्यवस्था गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २६३ मा अधिकारप्राप्त अधिकारीको आदेशबिना कसैले बैंक नोट वा सिक्कालाई जलाउने, त्यसलाई काम नलाग्ने गरी गाल्ने वा च्यात्ने र बैंक नोटमा लेख्ने वा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिबाना लाग्ने कानूनी व्यवस्था छ। 


सम्बन्धित सामग्री