Monday, April 29, 2024

-->

पदयात्रामा धमाधम निस्कन थाले नेपाली, यस्तो छ विगत

एक दशकअघि पदयात्रामा जाने नेपाली फाट्टफुट्ट भेटिन्थे। अहिले हिमाली भेगमा विदेशीभन्दा बढी नेपाली पदयात्री भेटिन्छन्। नेपालमा व्यावसायिक पदयात्राको शुरूआत भने करिब ५८ वर्षअघि बेलायती नागरिकले गरेका थिए।

पदयात्रामा धमाधम निस्कन थाले नेपाली यस्तो छ विगत
तस्वीर: मनीष पौडेल/उकालो

काठमाडौँ– नेपालमा पर्यटक आगमनको समय शुरू भएको छ। खासगरी सेप्टेम्बरदेखि नोभेम्बरसम्म (असोज, कात्तिक र मंसिर) तथा अप्रिल र मेमा (चैत मध्यदेखि जेठ मध्यसम्म) विदेशी पर्यटक आउँछन्। नेपालका उच्च हिमाली क्षेत्रमा पर्ने अन्नपूर्ण पदमार्ग, लाङटाङ तथा खुम्बु क्षेत्र घुम्नेको भिडभाडले त्यहाँको चहलपहल बढ्छ। यति बेला ती क्षेत्रका होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई भ्याइनभ्याइ छ।

अध्यागमन विभागका अनुसार गएको सेप्टेम्बरमा नेपाल आउने विदेशीको संख्या ९१ हजार १२ थियो। विदेशी पर्यटकहरू शरद ऋतुमा हिमाल आरोहण र पदयात्राका लागि आउँछन्। पर्यटन विभागका अनुसार असोज १२ गतेसम्म ५६ वटा समूहले २६ वटा हिमाल आरोहणको अनुमति लिएका छन्। त्यसमध्ये सबैभन्दा बढी आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गर्न २६ वटा समूहका ३०१ जनाले अनुमति लिएका छन्।

पछिल्लो समय हिमाली भेगतिर घुम्न जानेहरूमा विदेशीसँगै नेपालीसमेत धेरै छन्। विगतमा पदयात्रामा ननिस्कने नेपाली अहिले उल्लेख्य संख्यामा हिमाली भेगतिर जाने गरेका छन्।

हिँड्न थाले नेपाली
एक दशक अघिसम्म पदयात्रामा जाने नेपाली फाट्टफुट्ट भेटिन्थे। नेपालका चर्चित पदमार्ग अन्नपूर्ण, लाङटाङ, खुम्बु तथा कञ्चनजंघामा विदेशी पर्यटकहरू मात्र भेटिन्थे। अहिले अवस्था फेरिएको छ।

सन् २०२२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा प्रवेश गर्ने विदेशीको संख्या एक लाख २० हजार ३३ थियो। तीमध्ये करिब ४० हजार भारतीय भएको आयोजना कार्यालय पोखराका प्रमुख रविन कडरिया बताउँछन्। भारतीयहरू मुक्तिनाथ दर्शनका लागि त्यता जाने गरेका छन्।

नेपालीहरूको अभिलेख राख्ने नगरिए पनि वर्षमा चार लाख जना अन्नपूर्ण संरक्षण क्षेत्र जाने कडेरियाको अनुमान छ। तीमध्ये करिब एक लाख ५० हजार पदयात्राकै लागि जाने उनी अनुमान गर्छन्। अन्नपूर्ण संरक्षण आयोजना क्षेत्रमा पर्ने अन्नपूर्ण बेसक्याम्प, मार्दी तथा मनाङको तिलिचो, नार्फुलगायत ठाउँमा पदयात्राका लागि जाने विदेशीभन्दा नेपालीको संख्या धेरै हुने उनी बताउँछन्। 

मनाङको धारापानीमा होटल व्यवसाय गर्ने लमु लामा १५ वर्ष अघिसम्म छिटफुट नेपाली मात्र देखिने गरेको, तर अहिले विदेशीभन्दा नेपाली दोब्बर हुने बताउँछिन्। “१५ वर्षअघि त विदेशीलाई घुमाउन आउने पर्यटक गाइडबाहेक दुईचार नेपाली मात्र देखिन्थे,” उनी भन्छिन्, “अहिले हाम्रो होटल व्यवसाय नै नेपालीहरूको कारण धानिएको छ।”

अन्नपूर्ण पदमार्गमा जस्तै अन्य पदमार्गमा पनि नेपालीको संख्या बढ्न थालेको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार सेप्टेम्बरमा निकुञ्ज क्षेत्रमा पदयात्रामा जाने विदेशीभन्दा नेपालीको संख्या धेरै छ। अक्टोबर १७ सम्मको तथ्यांकमा भने नेपाली र विदेशीको संख्या झण्डै बराबर छ।

त्यहाँ सेप्टेम्बरमा पदयात्राका लागि जाने विदेशी ७९८ जना र नेपाली एक हजार १८७ भएको निकुञ्ज कार्यालयको तथ्यांक छ। अक्टोबर महिनामा १७ तारिखसम्म एक हजार १६ विदेशी र ८१६ नेपाली पदयात्राका लागि लाङटाङ गएका छन्। 

रसुवाको प्रसिद्ध पर्यटकीयस्थल क्यान्जिङमा होटल व्यवसाय गर्ने ग्याल्बु तामाङ १० वर्ष अघिसम्म विदेशी मात्र लाङटाङमा देखिने गरेको बताउँछन्। अहिले भने नेपाली र विदेशीको संख्या बराबरजस्तै हुने उनको भनाइ छ।

नेपालमा पदयात्राको शुरूआत
नेपालमा पदयात्राको इतिहास लामो छैन। राणा शासनको अन्त्यसँगै विदेशी पर्यटकका लागि नेपालको ढोका खुलेको थियो। त्यसअघि बन्द नेपाली समाजमा विदेशी पर्यटक खासै आउँदैन थिए।

नेपालमा पहिलो ट्रेकिङ कम्पनी दर्ता गरेर पदयात्रामा लैजाने व्यवसाय शुरू गरेका बेलायती नागरिक जिम्मी रोबर्टले उल्लेख गरेअनुसार सन् १९४८ सम्म नेपालमा विदेशीहरूका लागि प्रतिबन्धजस्तै थियो। राणा र नेपालमा रहेको बेलायती दूतावासको निमन्त्रणामा मात्र विदेशीहरू आउन पाउँथे। राणा शासनको अन्त्यसँगै बन्द समाजमा बिस्तारै खुलापन आयो।

जिम्मी रोबर्ट।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा सन् १९५० लाई नेपालको पदयात्राको ‘टर्निङ पोइन्ट’ मान्छन्। सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि नेपालको पदयात्रा संसारभर फैलिएको उनको भनाइ छ। “अन्नपूर्ण आरोहणको समाचारले पनि नेपालको पदयात्रामा मानिसहरूको चासो बढ्यो,” शेर्पा भन्छन्।

मौरिस हर्जोगले लेखेको पुस्तक ‘अन्नपूर्ण’ खेलसम्बन्धी विश्वमै धेरै बिक्री हुनेमध्ये पर्छ। यो पुस्तकमा उनले आरोहणको कठिन अवस्था, हिउँका कारण हुने अन्धोपन, मृत्युनजिक पुग्दाको अनुभूतिजस्ता विषयलाई शिखरमा पुग्दाको वीरतापूर्ण क्षणसहित उल्लेख गरेका छन्। यो पुस्तकले पनि नेपालको हिमाल आरोहणलाई संसारभर चिनाउन मद्दत गरेको छ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको आरोहण गरेपछि विश्वका ठूला र शक्तिशाली मुलुकमा नेपालको नाम फैलिएको थियो। त्यसपछि नेपालको पदयात्राको प्रवर्धन विदेशीहरूले नै गरेका थिए। नेपालको पहिलो व्यवसायिक ट्रेकिङ कम्पनी खोल्ने श्रेय ब्रिटिस नागरिक जिम्मी रोबर्टलाई जान्छ। काठमाडौंस्थित बेलायती दूतावासमा सुरक्षा प्रमुखका रूपमा नेपाल आएका उनले अवकासपछि नेपालको पदयात्रा प्रवर्धनको काम गरे। 

रोबर्टले सरकारबाट पाएको ट्रेकिङ कम्पनी दर्ताको प्रमाणपत्र।

रोबर्टले सन् १९६५ मा नेपालकै पहिलो ट्रेकिङ कम्पनी माउन्टेन ट्रेकिङ दर्ताको प्रमाणपत्र पाए। त्यसपछि उनले विभिन्न देशबाट समूहमा पर्यटक ल्याएर नेपालको हिमाली क्षेत्रमा पदयात्रा गराउन थालेका थिए।

त्यसैगरी नेपालको पदयात्रालाई संसारभर चिनाउने र अवकासपछिको सम्पूर्ण जीवन नेपालमै बिताउने अर्का बेलायती नागरिक हुन्, माइकल चेनी। चेनी ब्रिटिश सेनाको गोर्खा राइफल्स ९१९४६–१९५७० मा कार्यरत थिए। जागिरे जीवनपछि केही समय उनी भारतको दार्जिलिङमा चियाको प्रवर्धनमा खटिए। सन् १९६५ मा नेपाल प्रवेश गरेर पूर्वीइलाममा चिया प्रवर्धनमा लागेको उनीसँगै काम गरेका नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष सन्तवीर लामा बताउँछन्। 

माइकल चेनी।

चेनीले त्यति बेला नेपालको पर्वतारोहणलाई विश्वसँग जोड्ने काम गरेका थिए। नेपाली पर्वतारोहीहरूका अनुसार उनले विश्वका धेरै ठाउँमा पर्वतारोहण र पदयात्राको प्रचार गरेर विदेशीहरूलाई नेपाल भित्र्याएका थिए। “नेपाललाई बाटो देखाएर विश्वसँग जोड्ने काम गरे,” पर्यटन व्यवसायी कर्मा शेर्पा लामा भन्छन्, “त्यो समय अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गरेर पर्यटन भित्र्याउनु सजिलो थिएन।” 

चेनीले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचार मात्र होइन, नेपालका शेर्पा भरियाको जीवनस्तर सुधार तथा नयाँ पदमार्गको पहिचानमा पनि योगदान गरेका थिए। उनी शेर्पा सहकारीमार्फत हिमालमा भरियाको काम गरिरहेका शेर्पाहरूको जीवनस्तर सुधार्न खटिएका थिए।

पर्वतारोहण संघ पूर्वअध्यक्ष लामाका अनुसार त्यति बेला शेर्पाहरू कम ज्यालामा  भारी बोक्थे। तिनलाई कामअनुसार ज्याला दिलाउन चेनीले वकालत नै गरेका थिए। अन्नपूर्ण, थोरङ्ला क्षेत्रको पदमार्ग पहिचानमा समेत चेनीको योगदान रहेको लामा बताउँछन्। 

हिमालय रेस्क्यू एसोसिएसन, ट्रेकिङ एजेन्ट्स एसोसिएसन, हिमालयन क्लबलगायत आधा दर्जनभन्दा बढी संस्थामा आबद्ध चेनीको निधन सन् १९८८ मा काठमाडौँमै भएको थियो। उनको अन्त्येष्टि पनि नेपालमै गरियो। 

बेलायतको स्कटल्यान्डस्थित एडिनबराकी स्थायी बासिन्दा तथा चेनीकी भतिजी रेचेल फेरे काकासँग नेपाल घुमेको सम्झँदै उनकै प्रेरणाबाट नेपाली महिलाहरूले बनाएका हस्तकलाका सामानहरूको अन्तर्राष्ट्रिय प्रवर्धन गर्न खटिएकी छन्।

रेचेल फेरे।

त्यति बेला अहिलेजस्तो होटल, लज तथा यातायातको सुविधा थिएन। पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हिमाल आरोहण तथा पदयात्राका लागि जानेहरू प्रायः सुत्नका लागि टेन्ट, खाना पकाउन भाँडाकुँडासहित बन्दोबस्तीका सामान बोकेर जान्थे। अहिलेको जस्तो होमस्टेको चलन भए पनि संगठित थिएन। पर्यटकहरू गाउँघरमै बास बस्थे, शुल्क लिने चलन थिएन। “स्थानीयले पैसा लिन मान्दैनथे, पर्यटकले जबर्जस्ती गरेपछि मात्र पैसा समाउँथे,” ५० वर्षअघिको नेपाल सम्झँदै शेर्पा भन्छन्। 

उनका अनुसार सन् १९७० मा खुम्बु क्षेत्रमा एउटा मात्र होटल नाम्चेमा थियो। तर अहिले खुम्बु क्षेत्रमा ६०० भन्दा बढी लज तथा सयौँ रेष्टुरेन्ट खुलेका छन्। पर्यटक आउने सिजनमा ती लज र रेस्टुरेन्टलाई भ्याइ नभ्याइ हुन्छ।

पञ्चायतमा पदयात्रा र आरोहण व्यवसाय
२००७ सालमा राणा शासनको अन्त्य भएर नेपाली समाज खुला भए पनि २०४६ सालमा प्रजातन्त्र नआउँदासम्म नेपालको पदयात्रा व्यवसायमा सीमित व्यक्तिको मात्र एकछत्र राज थियो। सीप, पैसा, क्षमता भएर पनि पदयात्रा व्यवसायमा प्रवेश पाउँदैन थिए।

पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार ट्रेकिङ कम्पनी खोल्न राजदरबारमा वा मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य वा सरकारको सचिव आफ्नो हुनुपर्थ्यो। अरूले ट्रेकिङ कम्पनी खोल्नु कल्पना बाहिरको कुरा थियो। 

शेर्पाले भने तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य पिताम्बर थापाले दर्ता गरेको एशियन ट्रेकिङ कम्पनी किनेका थिए। “उहाँले दर्ता गराउनुभएको रहेछ, नवीकरण भएको थिएन। कागजी रूपमा मात्र दर्ता थियो,” उनी भन्छन्, “त्यति बेला सीप, क्षमता, दक्षता र पैसा भएर पनि सामान्य मान्छेले कम्पनी खोल्न पाउँदैनथे।” 

अहिले नेपालमा तीन हजारभन्दा बढी ट्रेकिङ कम्पनी दर्ता छन्। यी कम्पनीले विदेशी र नेपालीलाई सरोबरी रूपमा पदयात्रामा लैजान्छन्।


सम्बन्धित सामग्री