Monday, May 06, 2024

-->

इजरायलविरुद्ध इस्लामिक देश एकजुट, मध्यपूर्वमा थपियो त्रास

गाजा अस्पताल विष्फोटमा प्यालेस्टिनीहरू मारिएपछि इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे छलफल गर्न साउदीको जेद्दामा भएको ओआईसी बैठकले इजरायलमाथि तत्काल पूर्ण प्रतिबन्ध लगाउन इस्लामिक देशहरूलाई आह्वान गरेको छ।

इजरायलविरुद्ध इस्लामिक देश एकजुट मध्यपूर्वमा थपियो त्रास
युद्धग्रस्त गाजाको दृश्य। तस्वीरहरू: एएफपी

काठमाडौँ– इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच जारी युद्धले डरलाग्दो रूप लिँदैछ। इजरायलमा एक हजार ४०० र गाजामा साढे तीन हजारको ज्यान गइसकेको छ। यो युद्धमा घाइते हुनेको संख्या १७ हजार पुगिसकेको छ। इजरायलको आक्रमणले गाजाको अधिकांश क्षेत्र खण्डहरमा परिणत भएको छ।

मंगलबार मात्रै गाजाको अल–अहली अरब बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा ४७१ प्यालेस्टिनीको ज्यान गयो। त्योभन्दा धेरै घाइते भएका छन्। यसलाई यो युद्धको अहिलेसम्मकै ठूलो आक्रमण भएको बताइएको छ।

इजरायली सेनाले आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरिरहेको छ। यो आक्रमण प्यालेस्टिनी सशस्त्र विद्रोही समूह प्यालेस्टाइन इस्लामिक जिहाद (पीजेआई) ले गराएको उसको आरोप छ। इस्लामिक जिहादले इजरायलतर्फ प्रक्षेपण गरेको रकेट गन्तव्यविमुख हुँदा अस्पतालमा खसेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) को भनाइ छ। तर इस्लामिक जिहादले इजरायलको आरोप अस्वीकार गरेको छ।

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अस्पतालमाथि गरिएको आक्रमणमा इजरायलको हात नभएको भन्दै यो अरू कसैले गराएको हुनसक्ने बताएका छन्। प्यालेस्टाइन र इजरायलबीचको युद्धमा अमेरिका इजरायलको पक्षमा उभिएको छ। अक्टोबर ७ मा युद्ध छेडिएको केही दिनमै अमेरिकाले इजरायललाई सामुद्रिक एयरक्राफ्ट लगायत युद्धमा आवश्यक सामग्री सहयोग गरेको थियो। 

बुधबारको भेटमा पनि बाइडेनले नेतान्याहुलाई भरपुर सहयोग गर्ने आश्वासन दिएका छन्। उता संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा बुधबार नै पेश भएको गाजालाई मानवीय सहायता प्रदान गर्ने प्रस्तावमा निषेधाधिकार (भीटो) प्रयोग गर्दै अमेरिकाले असहमति प्रकट गरेको छ। 

नेतान्याहुलाई सहयोगको थप भरोसा दिलाउन र सम्भव भएसम्म इजरायल र हमासबीच मध्यस्थता गर्ने उद्देश्यका साथ बाइडेन इजरायल पुगेका थिए। तर अस्पतालमा भएको विस्फोटपछि इस्लामिक देशहरू उनीसँग बिच्किएका छन्। यही हप्ता जोर्डनमा हुने अरब राष्ट्रहरूसँगको महत्वपूर्ण बैठक पनि रद्द भएको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस जस्ता मानवअधिकारका लागि काम गर्ने संस्थासहित धेरै देशले यसप्रति कडा प्रतिक्रिया दिइरहेका छन्। विश्वका धेरै शहरमा यस विषयमा विरोध प्रदर्शन पनि भइरहेका छन्।

मध्यपूर्वमा त्रास
गाजामा इजरायलको तीव्र आक्रमण जारी छ। यो युद्धमा अझ धेरै देशहरू संलग्न हुनसक्ने सम्भावनाले अझ बढी त्रास सिर्जना भएको छ। 

लेबनानको विद्रोही सशस्त्र संगठन हिज्बुल्लाहले इजरायलमा आक्रमण गर्न शुरू गरिसकेको छ। इजरायलले पनि प्रत्याक्रमण गर्दा दुई देशको सीमानामा बारुदको धुवाँ मडारिइरहेको छ। इरान समर्थित लेबनानी चरमपन्थी समूह हिजबुल्लाह र इजरायली सेनाबीच इजरायल सीमामा पनि समय–समयमा गोलाबारी भइरहेको छ। त्यस क्रममा सयौँको ज्यान गएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसदमा बोल्दै इरान र हिजबुल्लाहलाई चेतावनी दिँदै उनले गएको सोमबार संसदमा भनेका थिए– ‘हाम्रो परीक्षा लिन नखोज, तिमीहरूलाई गम्भीर चोट पुग्नेछ।’

इरानको सरकारी समाचार सेवा प्रेस टिभीका अनुसार इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खोमेनीले इजरायलले आक्रमण जारी राखे मुस्लिमहरूलाई कसैले रोक्न नसक्ने बताएका छन्।

इजरायलमा हमासको आक्रमणमा इरानको हात रहेको भन्ने प्रश्न उठेको छ। हमासले धेरै भिडियोहरू सार्वजनिक गरेको छ जसमा इरानी हतियारहरू देखिन्छन्। यसैबीच हमासका नेताहरूले आक्रमणपछि आफ्नो बयानमा आफूलाई इरानको समर्थन रहेको बताएका छन्। इजरायल–हमास द्वन्द्व शुरू भएदेखि नै इरानले हमासलाई खुलेर समर्थन गर्दै आएको छ। इरानी विदेशमन्त्रीले सिरिया, इराक, लेबनान र कतारको भ्रमण गरी त्यहाँका शीर्ष नेताहरूसँग भेट गरेका छन्। 

इजरायल–हमास द्वन्द्व शुरू भएदेखि नै इरानले हमासलाई खुलेर समर्थन गर्दै आएको छ। इरानी विदेशमन्त्रीले सिरिया, इराक, लेबनान र कतारको भ्रमण गरी यहाँका शीर्ष नेताहरूसँग भेट गरेका छन्। यहीबेला अस्पतालमा गरिएको आक्रमणपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी नागरिकमाथि गरिएको अपराधको इस्लामिक देशहरूले कडा बदला लिने बताएका छन्। 

यस्तै सिरिया पनि इजरायलको विरोधमा छ। इजरायल सिरियाबीचको सम्बन्ध राम्रो छैन। सिरियाले त इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता पनि दिएको छैन। अहिले जारी युद्धकै बीच  सिरियाको एलेपो विमानस्थलमा इजरायलले आक्रमण गरेको सिरियाको दाबी छ। यही मौका छोपेर उसले इजरायलमा आक्रमण गर्न चाहेको देखिन्छ। सिरियाका राष्ट्रपति बसर अल असादले इरानलाई युद्धमा सहयोग गर्न विश्वास दिलाएको बताइएको छ।

जोर्डन पनि इजारयलको लागि चुनौती बनेको छ। जोर्डनमा हुने भनिएको अरब देशहरूको बैठक पनि स्थगित गरिएको छ। उक्त बैठकमा अमेरिकी राष्ट्रपति बाइडेन पनि सहभागी हुने बताइएको थियो। जोर्डनले बोलाएको बैठक रद्द गरेको घोषणा गर्दै त्यहाँका विदेशमन्त्री अयमान सफादीले इजरायलले प्यालेस्टिनीमाथि अत्याचार गरेको बताएका छन्। जोर्डनले बोलाएको बैठक रद्द गरेको घोषणा गर्दै उनले ‘युद्ध अन्त्य र प्यालेस्टाइनको नरसंहारको विरुद्धमा उभिन’ सबै पक्ष सहमत भए मात्रै यस विषयमा बैठक बस्न सकिने बताएका थिए। 

गाजाको अस्पतालमा भएको भयानक आक्रमणलगत्तै इजरायल पुगेका अमेरिकी राष्ट्रपति बाइडेन (दायाँ) लाई स्वागत गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहु।

साउदी अरेबियाले पनि प्यालेस्टाइनको पक्षमा रहेको जनाएको छ। प्यालेस्टिनी नागरिकको अधिकारको लागि आफू लागिरहने साउदीका राजकुमार मोहम्मद बिन सलमानले बताएका छन्। 

कतारले पनि इजरायलको आक्रमणको विरोध जनाएको छ। अन्तर्राष्ट्रिय युद्ध कानूनको उल्लंघन गरेको भन्दै कतारले इजरायलको आलोचना गरेको छ। कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजा क्षेत्रमा इजरायलले गरिरहेको आक्रमणले गम्भीर रूप लिँदै छ, यसले गर्दा पूरै क्षेत्रमा शान्ति र स्थिरता भंग हुने देखिन्छ।”

इस्लामिक समुदाय एकजुट
बुधबार साउदी अरेबियाको जेद्दामा इस्लामिक सहयोग संगठन ओआईसीको कार्यकारी समितिको बैठक बसेको थियो। उक्त बैठकमा इजरायलको गाजा अस्पतालमा भएको मिसाइल आक्रमणको आलोचना र इजरायलमाथि प्रतिबन्ध लगाउने कुरा पनि भएको थियो। बैठकमा इजरायलमाथि पूर्ण प्रतिबन्ध लगाउन अनुरोध गरिएको बीबीसीले जनाएको छ।

विशेषगरी गाजा अस्पताल विष्फोटमा प्यालेस्टिनीहरू मारिएपछि बढ्दो इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे छलफल गर्न साउदीको जेद्दामा ओआईसीको बैठक बसेको थियो। बैठकले इजरायलमाथि इस्लामिक देशहरूबाट तत्काल र पूर्ण प्रतिबन्ध लगाउन आह्वान गरेको छ। साथै इजरायली राजदूतहरूलाई निस्कासन गर्ने र तेल निकासीमा प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको छ।

५७ सदस्य राष्ट्र भएको ओआईसीको मुख्यालय साउदी अरबको जेद्दा शहर मा छ। ओआईसीमा खाडी राष्ट्र साउदी र उसका सहयोगीहरूको प्रभुत्व रहेको मानिन्छ। यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सद्भाव कायम गर्दै मुस्लिमहरूको रक्षा गर्नु हो। चार महादेशका ५७ देशको यो संगठनले करिब एक अर्ब ५० करोड जनसंख्याको प्रतिनिधित्व गर्छ र यसका सदस्य राष्ट्रहरूको कुल ग्राहस्थ उत्पादन करिब ७ ट्रिलियन डलर रहेको छ। शक्तिशाली संगठन मानिएको ओआईसी प्यालेस्टाइनको पक्षमा उभिए यो युद्धको स्वरूप के होला भन्ने प्रश्न पनि उठेको छ।

(एजेन्सीहरूको सहयोगमा)


सम्बन्धित सामग्री