Friday, May 10, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ: ढलमल अर्थतन्त्र, जलवायु परिवर्तनको कहर र किसानलाई संकट बनेका वन्यजन्तु

भूकम्पले नेपालको पश्चिमी भूभाग प्रभावित भइरहँदा जलवायु परिवर्तन, ढलमल अर्थतन्त्र, कमजोर नीतिको मार खेपिरहेका नेपाली किसानमाथि अहिले अर्को समस्याको भार थपिएको छ– बाँदर, बँदेल र दुम्सी!

उकालो साप्ताहिक ब्रिफिङ ढलमल अर्थतन्त्र जलवायु परिवर्तनको कहर र किसानलाई संकट बनेका वन्यजन्तु

सन् १९८० यता पृथ्वीको तापक्रम हरेक दशक औसत ०.०८ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको छ। यसको मतलब, ५० वर्षमा यस ग्रहको तापक्रम लगभग २ डिग्रीले बढेको छ। विभिन्न कारणवश उकालो लाग्दै गरेको तापक्रमले निम्त्याएको जलवायु परिवर्तनले विश्वभर प्रभाव पारिरहेको छ, जसबाट नेपाल अक्षुण्ण छैन।

उकालोमा आइतबार प्रकाशित एक लेखका अनुसार यस वर्षको मनसुन अवधिमा सरदरभन्दा १२ प्रतिशत कम पानी परेको छ। यद्यपि, नेपालबाट मनसुन अझै बाहिरिसकेको छैन। जल तथा मौसम विज्ञान विभागले यो हप्ताको अन्त्यतिर मात्र मनसुन बाहिरिने जनाएको छ।

विभागका अनुसार जेठ १८ देखि असोज १२ गतेसम्म सरदरभन्दा १२.४ प्रतिशत कम वर्षा भएको छ। उक्त अवधिको सरदर वर्षा एक हजार ४७२ मिलिमिटर हो। तर असोज १२ गतेसम्म एक हजार ३०१ दशमलब ४ मिलिमिटर मात्र वर्षा भएको छ। यस्तो मौसमी परिवर्तनले तराईमा धानखेती प्रभावित हुने, हिमालमा बाढी आउने जस्ता 'अप्राकृतिक' घटना घटिरहेका छन्।

नेपालले सम्भावित हिमताल विस्फोटनको चुनौती पनि सामना गरिरहेको छ। जोखिम न्यूनीकरण गर्न नेपालले राज्यस्तरमा चिनियाँ सरकारसँग वार्ता गर्नुपर्ने विज्ञहरूको सुझाव यसै खेर गइरहेको छ।

जलवायु परिवर्तनको असर त छँदै छ, नेपालको पश्चिमी भूभाग अहिले भूकम्पको उच्च जोखिममा पनि छ।

मंगलबारयता मात्र बझाङ जिल्लामा ४ म्याग्निट्युडभन्दा बढीका दर्जन भूइँचालो गइसकेका छन्। यसमध्ये त्यसदिन दिउँसो ३:०६ मा ६.३ म्याग्निट्युडको भूकम्प गएको थियो। एक जनाको ज्यान गएको उक्त भूकम्पमा १३५ घर भत्किएका थिए भने जिल्लासँग जोडिएको राजमार्ग पनि अवरुद्ध भएको थियो। भूकम्पपीडितको अवस्था अवलोकन गर्न बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रकम उपलब्ध गराउने र भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिने घोषणा गरेका छन्।

यही समयमा उता भारततर्फ नेपालसँग सिमाना जोडिएको सिक्किममा भारी वर्षाका साथ आएको बाढीमा १८ जनाको ज्यान गएको थियो। बुधबार बिहान एक्कासि आएको उक्त बाढीले करोडौँको जनधनलाई क्षति पुर्‍याएको थियो।

जलवायु परिवर्तन, ढलमल अर्थतन्त्र, कमजोर नीतिको मार खेपिरहेका नेपाली किसानमाथि अहिले अर्को समस्याको भार थपिएको छ– बाँदर, बँदेल र दुम्सी! 

पहाडी जिल्लामा बाँदर, बँदेल र दुम्सीले बालीनाली उठाउनै नपाउने गरी नष्ट गरिदिइरहेका छन्। पाल्पामा बाँदरले चराउन लगिएका ३ बाख्रा नै मारिदिए। हैरान बनेका किसान ती जनावर मार्ने अधिकार माग्न थालेका छन्। नेपाली किसानले सामना गर्दै आएको 'फरक' समस्याबारे पढ्नुहोस् यो रोचक लेख: बाँदर, बँदेल र दुम्सीले यसरी हुँदैछ किसानको उठिबास 

साताका विशेष हेडलाइन : 
काठमाडौँ उपत्यकाका माछा पसल चार दिनदेखि बन्द, किन आन्दोलनमा छन् व्यवसायी? –– सरकारले भारतबाट आयात हुने ताजा माछामा भ्याट लगाउन थालेको भन्दै काठमाडौँका माछा व्यवसायी आन्दोलनमा छन्। तर भन्सार विभागले भने भ्याटसम्बन्धी नयाँ व्यवस्था गरेको नभई व्यवस्थित मात्र गरेको जनाएको छ।

इच्छाविपरीत स्थानीय तहको सरुवामा पर्दा बेवारिसे बनेका शिक्षक ब्रह्मदेव –– संसद‍्मा विचाराधीन विद्यालय शिक्षा विधेयकले शिक्षक र स्थानीय सरकारबीचको सम्बन्धबारे स्पष्ट प्रावधानसहित कानूनको रूप नलिँदासम्म जीतपुरसिमरा उपमहानगरपालिकामा देखिएजस्तै समस्या देशभर सतहमा आइरहन सक्छन्।

मधेशमा मन्त्री आवासका लागि ‘जनक दरबार’ ठड्याउने तारतम्य, घोषणासँगै आलोचना पनि चुलिँदै –– मधेश प्रदेशका अन्य प्राथमिकतालाई पन्छाएर मुख्यमन्त्री सरोजकुमार यादवको ध्यान 'जनक दरबार' बनाउन केन्द्रित भएपछि उनीविरुद्ध आलोचनात्मक टिकाटिप्पणी शुरू भएको छ।

आफ्नै गरिमा घटाउँदै सांसदः हाजिर गरेर बैठकमै नबस्नेदेखि विषय नबुझी बोल्नेसम्म –– संसद्‍मा उपस्थित भएर जनताको आवाज उठाउने र आवश्यक कानून निर्माण गर्ने जिम्मेवारीसहित निर्वाचित भएका सांसद हाजिर मात्र गरेर वा बीचैमा ‘टाप कस्दा’ चल्दै गरेको बैठकसमेत रोक्नुपर्ने अवस्था आउने गरेको छ।

अर्थतन्त्रको अहिलेको अवस्था के हो, लयमा कहिले फर्किन्छ? –– विशेषगरी ठूला व्यवसायीहरूले अहिले आर्थिक गतिविधिमा मन्दी छाएको र राष्ट्रिय अर्थतन्त्र नै गम्भीर संकटमा परेको बताइरहँदा तथ्यांकले भने त्यस्तो नदेखाउने दाबी अर्थविद्हरूले गरेका छन्।

सामाजिक सद्‍भाव र सहअस्तित्वका लागि खुलापत्र –– कोही आएर तपाईंलाई विभाजनका निम्ति उक्साइरहेको छ भने प्रश्न गर्नुहोस्, उसलाई र आफैँलाई पनि। राष्ट्रलाई 'विभाजित हामी' होइन 'एकीकृत हामी'को खाँचो छ। आउनुस्, विभाजनलाई परास्त गरौँ।

पद्मा ब्रिज निर्माणमा संलग्न नेपाली इन्जिनियरको अनुभूति– ‘नेपालमा ठूला आयोजनामा राजनीति नै बाधक छ’ –– व्यक्तिगत रूपमा नेपालका इन्जिनियरहरूको क्षमता एकदमै राम्रो छ। हामीकहाँ राम्रो नतिजा नआउनुको पछाडि यहाँको संगठनात्मक संरचना, काम गर्ने वातावरण आदिलाई हेर्नुपर्छ। मेरो विचारमा यो सबै राजनीतिसँग जोडिन्छ।

सरकारी अस्पतालमा बिरामी कुरुवालाई सधैँ सास्ती –– काठमाडौँका अधिकांश सरकारी अस्पतालमा बिरामी कुरुवालाई बस्ने व्यवस्था छैन। वीर र पाटन अस्पतालले भएका कुरुवा घर पनि मासेका छन्। अस्पतालका प्यासेज, सिँढी वा खुला ठाउँमा बिरामी कुरुवा पल्टिरहेका भेटिन्छन्।

उपचारमा संकट बन्दै बिरामी–आफन्त र चिकित्सकबीचको द्वन्द्व, किन रमिते मेडिकल काउन्सिल? –– उपचारका क्रममा आफन्त गुमाउनेहरू चिकित्सकमाथि जाइलाग्ने क्रम बढेको छ। यसबाट गम्भीर रोगका बिरामी अस्पताल पुगेर उपचार गर्न डराइरहेका छन् भने चिकित्सकले पनि त्यस्ता बिरामीको उपचारमा हात कमाउन थालेका छन्।

गोरखामा पहिलाेपटक दिइयाे आमाको नामबाट नागरिकता –– नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि गाेरखामा पहिलाेपटक आमाकाे नामबाट नागरिकता दिइएकाे हाे।

चाडपर्वका बेला कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी –– सरकारले चाडपर्वमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

कृषिमा उदाहरण बन्दै रोल्पाका स्थानीय तह, फेरिँदैछ किसानको जीवन–– रुन्टीगढी गाउँपालिकाले कृषि उत्पादन व्यवस्थित गर्दा भारतको सीमावर्ती क्षेत्रबाट समेत तरकारी खरिदकर्ता स्थानीय हाट पुग्ने गरेका छन्। अहिले रोल्पाका पालिकाहरूले कृषिबाटै समृद्धिको योजना बनाइरहेका छन्।

वैदेशिक रोजगारीः विदेशबाट फर्किंदा मोबाइल, टीभी र सुन के–कति मात्रामा ल्याउन पाइन्छ, थाहा पाउनुस् –– सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाहरूले जुनसुकै आकार प्रकारको टीभी ल्याउँदा भन्सार तिर्नु पर्दैन।

९ केजी सुन प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीको सोधपुछ –– ‘भेप’मा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ।

अमेरिकी सभामुख केभिन म्याकार्थी पदमुक्त –– डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो।

कोरोनाविरुद्धको खोप विकासमा योगदान पुर्‍याउने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार –– यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।


सम्बन्धित सामग्री