Sunday, April 28, 2024

-->

सामाजिक सद्‍भाव र सहअस्तित्वका लागि खुलापत्र

कोही आएर तपाईंलाई विभाजनका निम्ति उक्साइरहेको छ भने प्रश्न गर्नुहोस्, उसलाई र आफैँलाई पनि। राष्ट्रलाई 'विभाजित हामी' होइन 'एकीकृत हामी'को खाँचो छ। आउनुस्, विभाजनलाई परास्त गरौँ।

सामाजिक सद्‍भाव र सहअस्तित्वका लागि खुलापत्र

प्रिय पाठकवृन्द, तपाईंहरूलाई सिधै केही भन्नैपर्ने भएकाले यो पत्र लेख्दैछु। आज हामी युगान्तकारी राजनीतिक र सामाजिक परिवर्तनपछि आर्थिक रूपान्तरण र समृद्धिको बाटोमा छौँ। भ्रष्टाचारलाई साझा शत्रु मानेर परास्त गर्दै सुशासन स्थापना गर्ने अभिभारा हामी सबैको काँधमा छ। व्यक्तिवादी होइन, प्रणालीकेन्द्रित लोकतान्त्रिक व्यवस्था निर्माण गर्न हामीलाई अलि धेरै समय लागिरहेको छ। गणतन्त्र स्थापना भएको १५ वर्ष र संविधान बनेको पनि आठ वर्ष बितिसक्दा आमनागरिकको आशा र अपेक्षाका विपरीत सङ्क्रमणकालीन अवस्था अलि लामो समयसम्म चलिरहेको छ। राजनीतिक नेतृत्वले वाचा गरेको भुलेका कारण तपाईंहरूले धोका पाएको महसुस गर्दै हुनुहुन्छ। 

शायद यीलगायत यस्तै कारण हामीमा हिजोआज आक्रोश बढिरहेको छ। हामी एकआपसमा विभिन्न राजनीतिक, धार्मिक, जातीय र सामाजिक पहिचानका आधारमा असहिष्णु हुने एकाध घटना सार्वजनिक भइरहेका छन्। सामाजिक विखण्डन र वैमनस्यका छिटफुट घटना हाम्रासामु देखिन थालेका छन्। नेपाली समाजको विशिष्ट विशेषतामध्येको एक सहिष्णुतालाई हामीले गुमाइरहेका छौँ कि भन्ने प्रतीत भइरहेको छ। विविध पहिचान मिलेर बनेको हाम्रो समाजको संवेदनशीलता र सामाजिक सद्‍भावलाई कायम राख्न हाम्रो सामु चुनौती देखापरेको छ। 

तपाईंहरूले कत्तिको ख्याल गर्नुभएको छ- विगत केही वर्षदेखि जम्मा भएको निराशा र अन्योलपूर्ण स्थितिलाई आक्रोशमा परिवर्तन गराएर केही व्यक्ति र समूहले निजी स्वार्थका लागि तपाईंहरूको भावनाको दुरुपयोग गरिरहेको मेरो बुझाइ छ। हामी जति पनि सामाजिक सद्‍भाव बिथोल्ने किसिमका विवादका उदाहरणहरू हेरौँ, ती सबैमा दुई वटा कुरा समान भेटिन्छन्- राजनीतिक/सामाजिक नेतृत्वको संलग्नता र मानिसमा अन्य समुदायप्रति संवेदनशीलताको अभाव। 

सामुदायिक-जातीय-धार्मिक सहिष्णुता कायम गर्न भूमिका खेल्नुपर्ने नेताहरू र सामाजिक सञ्जालका प्रभावशाली प्रयोगकर्ता (इन्फ्लुएन्सर)हरूले या त द्वन्द्वको शुरूआत गर्ने अभिव्यक्ति दिइरहेका देखिन्छन्, या विवादलाई लिएर राजनीतिक, आर्थिक लाभ उठाउने दाउमा भेटिन्छन्।

किन यस्तो भइरहेको होला?
तपाईंहरूले कत्तिको ख्याल गर्नुभएको छ? जबजब ठूला अनियमितता र भ्रष्टाचारमा उच्च राजनीतिक नेतृत्वको संलग्नता उजागर हुन्छ- तबतब नागरिकको ध्यान अन्तै मोड्न यस्ता विवादहरू सतहमा आउने गर्छन्। भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन प्रकरणलगायत काण्डैकाण्ड भइरहेको बेला विषयान्तर गर्न र नागरिकलाई विभाजन गर्न योजनाबद्ध रूपमा विवादका विषय तयार गरिएजस्तो देखिन्छ। 'विभाजन गर अनि शासन गर' भन्ने औपनिवेशिक सिद्धान्त हामीमाथि पनि प्रयोग भइरहेको छ।

प्रिय पाठकवृन्द, एकैछिनलाई व्यक्तिगत पृष्ठभूमि, आग्रह, पूर्वाग्रह र आस्थालाई बिर्सिएर सोचौँ। तपाईंहरूको आक्रोशको मसालमा जसले आगो सल्काइरहेको छ, के ऊ आफूमा त्यो मुद्दाप्रति साँच्चै नै इमानदार र गम्भीर छ? त्यो मसाल उसले परिवर्तनको बाटो खन्न उज्यालोका रूपमा प्रयोग गर्दैछ वा त्यसको तातोमा आफ्नो रोटी मात्र सेकिरहेको छ?  हामीले नेपालका प्रमुख दलहरूले आफ्नो सुविधा र तत्कालीन आकारअनुसार कहिले एकातिर त कहिले अर्कातिर आक्रोशको आगो सल्काउने प्रवृत्ति देखेकै छौँ।

नागरिकको भावना, समुदाय, धर्म, पहिचान, जाति आदिबारे राजनीतिक नेतृत्वलाई मतलब नै नभएका दृष्टान्त प्रशस्तै छन्। सबै प्रसङ्गहरू व्याख्या गर्न यस पत्रमा सम्भव नहोला। उदाहरणका लागि, कोशी प्रदेशको नामकरणलाई नै हेरौँ। दशकौँदेखि पहिचानको राजनीति गर्दै आएको एउटा राजनीतिक दलले कोशी नामका पक्षमा मतदान गर्‍यो। अधिकार र पहिचानका लागि यतिका लामो समय वकालत गरेर सङ्घीयता स्थापनासम्म बलियो भूमिका खेलेको त्यस दल अन्त्यमा आज सत्ता सहकार्यका लागि किन आफ्नो सिद्धान्त छोड्न बाध्य भयो? के हिजोको पहिचानको नारा जनताको आँखामा छारो हाल्न मात्र थियो?

तपाईंहरूलाई थाहै हुनुपर्छ- प्रदेशको नामकरणपछि त्यस पार्टी पुनः पहिचानका आधारमा नाम राख्ने अभियानमा लागिसक्यो। विभिन्न आन्दोलन भइरहेकै छन् र तिनै पार्टीका नेताले 'हामीलाई दुईतिहाइ दिनुस्, पहिचानको आधारमा नाम राखिदिन्छु' भन्नसम्म भ्याइसके। म यो पत्रमा पहिचान सही वा गलत भनिरहेको छैन। यसका पक्ष र विपक्षमा अनेक धारणा र विचार हुन्छन्, दुवैको सम्मान गर्नुपर्छ। तर आफ्नो राजनीतिक लाभका लागि एकैछिनमा पक्षमा र एकैछिनमा विपक्षमा उभिने अवसरवादी नेतृत्वलाई तपाईंहरूले चिन्नुपर्छ।

राजनीतिक नेताहरूको व्यवहार यस्तो छ कि, तिनका लागि नागरिक भनेको भोट बैंकसिवाय केही पनि होइनन्। केन्द्रमा र प्रदेशमा बाँडीचुँडी राजनीति गर्नका लागि सौदाबाजीको हतियारका रूपमा जनताको प्रयोग भइरहेको छ- आन्दोलनमा नागरिक भिडाएर, तिनका टाउको गनेर नेताहरूले मोलतोल गरिरहेका छन्। आफू सान्दर्भिक रहिरहनकै लागि कुनै विवादित विषयमा समाजलाई विभाजनतर्फ लागिरहने प्रवृत्ति हाम्रो राजनीतिमा व्याप्त देखिएको छ। यो किन भइरहेको छ? मतदातामाझ आफ्नो प्रभाव कायमै राख्न। जनता मिलेर एकजुट भए भने- कसका लागि उत्तेजित भाषण दिने? कसलाई दुश्मनका रूपमा प्रस्तुत गर्ने?

प्रिय पाठकवृन्द, यो केवल एउटा उदाहरण हो। प्रायः राजनीतिक दलले फरक फरक प्रसङ्गमा तपाईं-हामीलाई भोट बैंकबाहेक अस्तित्वविहीन बनाएको र राजनीतिक लाभका लागि विभाजनतर्फ उन्मुख गराएको इतिहास हाम्रै सामुन्ने छ। यो सबैको माझमा एकैछिन हाम्रो राष्ट्रको अवस्था हेरेर आत्मसमीक्षा गरौँ न। हाम्रो प्रमुख साझा शत्रु के होला? हामी सबै मिलेर आजको अवस्थामा देशबाट उन्मूलन गरिहाल्नुपर्ने चीज भ्रष्टाचार हो कि होइन? अनियमितताको अन्त्य गर्दै सुशासन कार्यान्वयन गर्ने हाम्रो साझा जिम्मेवारी होइन र? भ्रष्टाचार र अनियमितताका सबै काण्डमा राजनीतिक नेतृत्व मिलेको छ र हामीलाई कमेडी, गाई र धर्मलगायतका विषयमा विभाजन गराइरहेको छ। तर नागरिकले सुशासन, जवाफदेहिता र उत्तरदायित्वका लागि घच्घच्याउन प्रयोग गर्नुपर्ने समय आफैँमाझ लडेर व्यतित गर्न बाध्य पारिएको छ र राजनीतिक नेतृत्वलाई सहज भइरहेको छ।

धार्मिक सहिष्णुतामा उदाहरण मानिएको हाम्रो मुलुकलाई किन धार्मिक द्वन्द्वमै जान लागे जसरी यतिखेर प्रस्तुत गरिँदैछ? हिन्दू- मुसलमान मिलेर देउसी भैलो खेल्ने र इफ्तार खाने आदि उदाहरण हामीमाझ नभएका होइनन्। तपाईंहरूमध्ये कतिलाई याद छ, पत्रकार गनी अन्सारीले कुनैबेला ट्वीट गरेका थिए- ‘म यस्तो भाग्यमानी मुस्लिम हुँ, जसलाई रमजानको दिनभरिको व्रत तोड्दा साँझपख खाइने खाना (इफ्तार) को निम्तो एक जना हिन्दू साथीले दिन्छ।’

हिन्दू-बौद्ध सहिष्णुता त एउटै चैत्यमा सँगै गएर पूजा गर्ने चलनले नै स्पष्ट पार्छ। किराँत धर्म मान्नेहरू पनि अन्य धर्मावलम्बीसँग एकआपसको चाडपर्व मान्दै एकै ठाउँ मिलेर हाम्रो समाजको निर्माण भएको हो। तर आज किन परिस्थिति फेरिँदैछ? कसले निर्माण गर्दैछ हामी एक अर्काको शत्रु भएजसरी यो नयाँ 'न्यारेटिभ'? यसबारेमा सोच्नुभएको छ?

तपाईं-हामी सबैजना राजनीतिको यो विद्रुप खेलको घानमा परिरहेका छौँ। मानवीय स्वभाव न हो- रिस र आवेगमा आउन सक्छौँ। जबजब हामीलाई सामाजिक विभाजन र विखण्डन निम्त्याउन सक्ने विषयमा रिस उठ्छ, त्यस्तो बेला ध्यान दिएर हामीले सोच्नुपर्छ- हामीलाई कसैले उक्साइरहेको छ कि? कसैको अभिव्यक्ति वा विचारमा भर पर्दै हामी कतै बेकारमा आफ्नो ऊर्जा त प्रयोग गर्दैछैनौँ? के हामीले उत्तेजना फैलाउने व्यक्तिहरूको पृष्ठभूमि बुझेका छौँ? 

त्यस व्यक्तिले हाम्रो विश्वास आर्जन गर्नका लागि के गरेको छ? उसको स्वार्थ के हुनसक्छ? के ऊ राजनीतिक नेता हो? सामाजिक विभाजनबाट उसलाई कति फाइदा हुने सम्भावना छ? यी प्रश्नहरूको विश्लेषण गरिसकेपछि सायद हाम्रो प्रतिक्रिया र उठाउने कदम फरक हुनसक्छ।

प्रिय पाठक, तपाईंलाई एउटा राजनीतिकर्मीले आफ्ना मतदातालाई कसरी हेरोस् भन्ने चाहना छ? विवेकशील चेतनशील नागरिकको रूपमा हेरोस् कि उही भूपी शेरचनले लेखेजस्तै 'स्ट्राइकरद्वारा सञ्चालित क्यारेमबोर्डका गोटी'को रूपमा? आजसम्म नेताका लागि उसका मतदाताको हैसियत स्वस्तिक छापमा सीमित भएको छ, एउटा जिन्दावाद र मुर्दावादमा खुम्चिएको छ। कसरी विभाजन सिर्जना गर्ने र एकका विरुद्ध अर्कालाई उचाल्ने भनेर राजनीतिक नेतृत्व उद्यत देखिन्छ। बोल्दै नबोलेका कुरालाई लिएर हामी सांसदमाथि नै आक्रमण भइरहेको हुन्छ। राष्ट्रिय हैसियत पाएका पार्टीकै कतिपय सांसदले 'सुमनाले नेपाललाई कोस्टारिका बनाऊँ' भनिन् भनेर अनर्गल वक्तव्यबाजी गरे। तर मलाई थाहा छ कि यो मविरुद्धको आक्रमण होइन, नागरिकमा विभाजन सिर्जना गर्ने एउटा माध्यम मात्रै हो।

तपाईंहरूलाई थाहा भएकै कुरा हो- यस्तै विभाजन हामीले एमसीसी परियोजनाका सन्दर्भमा पनि देख्यौँ। आफू सरकारमा हुँदा जो कोही पनि त्यसको पक्षमा हुने र सरकारमा नहुँदा अत्यन्त राष्ट्रघाती करार गरेर नागरिकलाई सडकमा उतार्न पछि नहट्ने प्रवृत्ति स्पष्टसँग देखेकै हौँ। योलगायत माथिका उदाहरणबाट समेत के प्रष्ट हुन्छ भने मुद्दाको राजनीति कसैलाई गर्नु छैन, बस् विभाजनको राजनीति गर्नु छ। किन? किनकि त्यसमा मिहिनेत कम र फल छोटो समयमा नै ज्यादा पाइन्छ र 'भाइरल' हुन पाइन्छ।

विश्वभरि नै देखिइरहेको ध्रुवीकरण, विभाजन, अतिवाद र लोकप्रियतावादको सत्तारोहण हुने राजनीतिको बाछिटा हाम्रो देशमा पनि परिरहेकै छ। यो राजनीतिको फाइदा अत्यन्त कम समयमा विशाल राजनीतिक सफलता प्राप्त गरिन्छ र विभाजनको बलमा लामो समय सत्तामा टिक्ने आधार पनि निर्माण हुन्छ। तर के तपाईं तपाईंको राजनीतिकर्मीले यस्तै राजनीति गरोस् भन्ने चाहनुहुन्छ? तपाईंको नेताको राजनीतिमा तपाईंको भूमिका यस्तै होस् भन्ने अपेक्षा छ? पक्कै पनि छैन। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक वृत्तमा नागरिकको अर्थपूर्ण सहभागिता आवश्यक हुन्छ। तपाईं पनि यही चाहनुहुन्छ भने राजनीतिक नेतृत्वको जालझेल बुझ्न ढिला गर्नुहुँदैन।

प्रिय पाठक, केहीअघि सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार ३४ वटा जिल्लाको जनसङ्ख्याको वार्षिक वृद्धिदर ऋणात्मक छ भने काठमाडौँ महानगरसहित ५८ वटा नगरपालिकाको समेत जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ। रोजगारी र रोजगारीको सुरक्षा नागरिकका समस्या हुन्। महँगी यसरी आकासिएको छ कि दिनभरिको ज्याला लिएर बजार निस्किँदा एक छाकको लागि रासन किन्न सकिँदैन। देश हुँदाहुँदै पनि तपाईं हामी नागरिकले एकदमै असहाय महसुस गरिरहनुपरेको छ। हामीले यी समस्या समाधान गर्नेबारे सोच्ने हो कि राजनीतिकर्मीहरूको खेलमा गोटीकै भूमिका निभाएर विभाजित र विचलित रहिरहने हो? 

पत्र निकै लामो भइसक्यो। हामीमाझ विभाजन गराउने प्रयास गरिएका उदाहरणहरू हेरिसक्यौँ। हामीले समस्या पहिल्यायौँ। अब के त? मेरो विचारमा जबजब अनेक निहुँमा विभाजनको बीउ रोपिन्छ- तबतब हामीले गम्भीर भएर सोच्नुपर्छ- अन्य सबै पहिचानलाई छेउमा राखेर हेर्दा हामी सबै नेपाली हौँ। हामी एउटै राष्ट्रगान गाउँछौँ। सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली...! हाम्रो राष्ट्रगान वास्तवमै समावेशी, सहिष्णु र शान्तिमय छ। समानता, समता, सहअस्तित्व र सामाजिक सद्‍भावको भाव हामीले राष्ट्रगानमा व्यक्त भएको पाउँछौँ।

प्रिय पाठकवृन्द, तपाईं हामीले मनाउने जात्राहरू एकै छन्। चाडपर्वहरू समान छन्। माघे सङ्क्रान्तिमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै जातजाति, धर्म, समुदायका मानिसले उपलब्ध भएसम्म सख्खरखण्ड वा तरुल खाने चलन छ। सँगसँगै हामीमाझ पहिचानका यति धेरै विविधता छन् कि- हामी फरक छौँ, त्यसैले उस्तै छौँ। धान भित्र्याउँदा गरिने विधिहरू हाम्रो भूगोल र संस्कृति अनुसार फरक छन्, तर हामी धान भित्र्याउँदा विधि गरेरै भित्र्याउँछौँ, जुन समान किसिमको छ। यो विविध पहिचानका बीच देखिने समभावपूर्ण सहअस्तित्व विश्वका लागि उदाहरण बन्नुपर्ने हो। समाजशास्त्री र मानवशास्त्रीहरूले सदिऔँदेखि मिलेर बसेको यो समाजको अध्ययन गरेर नसकिनुपर्ने हो।

नेपालको राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दैगर्दा तपाईं हामी सबै त्यही तीनकुने झण्डामुनि उफ्रिन्छौँ। अर्कोतर्फ-अरब गएर दुःख गरेर आफ्नो श्रीमान श्रीमतीलाई मोबाइल फोन किनेर ल्याइदिँदा सरकारको मजदुरमारा नियमका कारण सबै एकैसाथ पिल्सिन्छौँ। हामीलाई लाग्ने रोग र त्यसविरुद्ध खाने औषधि फरक छ र? कोभिड महामारीले सबैलाई बराबरी आक्रान्त गरेको होइन? आफ्ना छोरा, छोरीहरूलाई राम्रो शिक्षा दिने सबै बाबुआमाको समान चाहना हुँदैन र? छोराछोरीलाई बुवा आमाको उपचारका लागि राम्रो अस्पताल र दक्ष जनशक्ति भएको स्वास्थ्य सेवा प्रणाली विकास होस् भन्ने एउटै चाहना छैन र? राजनीतिक अनियमितता कुनै एउटा धर्म वा जातका विरुद्ध मात्रै हुँदैन, यो राष्ट्रका विरुद्ध हुन्छ र त्यसको पीडित हामी सबै हुन्छौँ। राजनीतिक उक्साहटमा आन्दोलनमा सरिक भइरहँदा अर्को कुनै राजनीतिक उद्देश्यप्राप्तिका लागि प्रहरीको बन्दुक चल्छ र त्यो गोलीको निशानामा पनि हामी फरक देखिँदैनौँ।

प्रिय पाठक, तपाईंहरूलाई थाहा छ, हाम्रो समस्या भनेको- हाम्रो देशमा हुनेखाने र हुँदा खाने वर्गको बीचमा रहेको खाडल झन् झन् ठूलो हुँदै गइरहेको छ र हामी मूकदर्शक मात्र बनिरहेका छौँ। धनी गरीब बीचको यो खाडल पुर्नका लागि उपयुक्त नीति र कार्यक्रमको अभावमा यसका विरुद्ध उठ्नसक्ने नागरिक आक्रोशलाई अन्तै मोडेर नागरिकलाई विचलित बनाउन राजनीतिकर्मीहरू अनेक तरिका अपनाउने गर्छन्। पहिचानको विविधताका आधारमा नयाँ शत्रु खडा गरिदिन्छन् र एकआपसमा लड्न लगाउँछन्।

अन्त्यमा पाठकवृन्द, यो विभाजनको अवस्थाको दुइटा पाटोबाट विश्लेषण गर्न आवश्यक छ। पहिलो- हामीलाई जोड्ने कडी के छ? हामीलाई हाम्रो सहअस्तित्व र समान जीवनशैलीले, खेलप्रेम र राष्ट्रप्रेमले हरबखत जोडिरहेकै छ। दोस्रो- हामीलाई छुट्याउने कडी के छ? राजनीतिक उद्देश्यप्राप्तिका निमित्त क्षणिक स्वार्थपूर्तिका लागि व्यक्त गरिएका राजनीतिक अभिव्यक्तिहरू। जुन केही समययता हाम्रो समाज विभाजनको प्रमुख कारणका रूपमा देखापरेको छ।

यसो भन्दैगर्दा, तपाईंहरू एउटा विषयमा स्पष्ट हुनुहोस् कि- राष्ट्र र नागरिकका विरुद्ध कार्य गर्दैगर्दा नेताहरूले यो मेरो मान्छे, यो अर्काको मान्छे भन्दै विभेद गर्ने छैनन्। सबैलाई एकै घानमा हालेर एकीकृत धोका दिनेछन्। त्यसैले भ्रममा नपर्नुहोस्, कोही आएर तपाईंलाई विभाजनका निम्ति उक्साइरहेको छ भने प्रश्न गर्नुहोस्, उसलाई र आफैँलाई पनि। राष्ट्रलाई 'विभाजित हामी' होइन 'एकीकृत हामी'को खाँचो छ। आउनुस्, विभाजनलाई परास्त गरौँ। कसैको राजनीतिक महत्त्व र स्वार्थको गोटी नबनौँ। हामीलाई खासमा चाहिएको के हो? त्यसमा केन्द्रित बनौँ।

तपाईंकी प्रतिनिधि,

सुमना श्रेष्ठ


सम्बन्धित सामग्री